17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एकल

कथा हेमराज अर्याल June 3, 2012, 1:09 am

सगरको उपल्लो ओठ फाटेको बेला पूर्वि क्षितिजमा रक्त रंगीलो गगनांश देखियो । बोटहरुको हरियालीले बातावरण स्वच्छ एवं शान्तमयी बनाएको थियो । एउटा कडा परिश्रम पछि प्राप्तो मृदुफलको स्वादपानमा पुलकित मूहार जस्तो पृथ्वी हाँसिरहेको थियो । तल वेशीवाट कुहिरो अझै हटिसकेको भने थिएन । खासमै भन्नुपर्दा नैराश्यताको वातावरण थियो । यद्यपी नैराश्यताका विरुद्ध चराहरुको चिरविर ‌ओजपुर्ण नै सुनिन्थ्यो । लाग्थ्यो मिठो नाद्रामा लीन भएका पंक्षिहरु आजको चाहरा विषयक पंक्षि गोष्ठी संचालन गर्दै थिए । वतासको हलुकै र सानै झोकाले पनि छेवैमा रहेको रुखका वाहिरी पत्रहरु हल्लाएर जान्थ्यो । क्षितिजपारी देखिएको स्वेत हिमवेष्ठि त पहाडलाई चुम्बन गर्दै फर्केको चिसो वायु कानमा ठोकिँदा आङै सिरिङग भएर आउँथ्यो र एउटा आन्तरिक कुतकुतीले मुटुलाई स्पर्श गर्थ्यो । जसको आनन्द अव्यक्त हुन्थ्यो । जतिजति सुर्यको रातो किरण धर्ति तिर आउँथ्यो त्यति त्यति नै ढकनी झैँ वनेर छोपिएको सेतो कुहिरोको घुम्टोले पनि वेशीलाई छोडेर माथिमाथि उड्थ्यो । कुहिरोको लाजले होला सायद् जगचच्छु पनि कताकाता अनन्तमा विलाएजस्तो देखियो । कहाँ हो कहाँ कुहिरोको भित्रवाट रातो ठूलो गोलाकार विन्दुजस्तो देखिन्थ्यो । जसै उज्यालोले विस्तारित रुप ग्रहण गर्थ्यो विस्तारै ठूलाठूला गुलाफका थुँगाहरुमा तप्केको चिसो शित पनि आफुलाई एकदिनको लागि मात्रै भएपनि विलाईदिन्थ्यो । अब त घाम माथिसम्म आईपुगेको थियो¸ गुलाफको रातो रंग चहकिलो घाममा टल्किँदा बातावरणमा उष्णता र अलि वढि उन्मत्तता छाएको भान हुन्थ्यो । न्याउलीको उराठिलो स्वर पनि सुनिन छाडिसकेको थियो । तथापी कौवाको नमिठो काँ काँ आवाज भने धेरै सुनिन्थ्यो ।

केहिदिन देखि त्यो सानो बच्चा मेरै घरको छेउनिरको चौरमा देखा परिनैरह्योो । म त्यति हिड्डुल गर्न सक्दिनथेँ र घिसारिन्थेँ आफ्नै शरिरको भार बोकेर । मलाई क्षणक्षणमा हिँडुहिँडु लागिरहन्थ्यो । म त्यै सानो वालक रहेको ठाउँमा जान मन लागिरहन्थ्यो । लाग्थ्यो त्यो वालक कोही कसैको खोजी गरिरहेछ । सायद् उसको वावा आमा …… । एकलाश ठाउँमा त्यो विशाल गगनलाई हेरिरहेका दुई नयनमा टाढैवाट एउटा कारुणिक कथा प्रतिविम्वित हुन्थ्यो । एउटा अद्भुात सपनाको भयाभह दृष्यवाट भर्खर विउँझिएको आँखा जस्तो त्यो कोमलचक्षु निरस देखिन्थ्यो । बातावरणिय स्वच्छन्दताको परवाह विना नै त्यो वालकले आफ्नो मनलाई एकदम निरास वनाएको भान हुन्थ्यो । एउटा वास्तविक जीवनयुद्धवाट कलिलैमा पाठवोध भएको शिसु आफ्नो बौद्धिकता भन्दा चञ्चलता कम देखाउँथ्यो । पर पर चरिरहेका बाख्राहरुको हुललाई धपाउँदै ऊ टाढासम्म पुग्थ्यो अनि पुनः त्यै ठाउँमा आएर पिपलको वोटमूनि सुस्ताउँथ्यो । झट्ट हेर्दा कुनै पनि पराईले उसलाई एउटा सुखी वालक सम्झेलान् । म पनि त्यै समूहमध्येमा एक थिएँ । तर एकदिन मेरो भ्रम साफ भयो । बालकसँग मैले प्रत्यक्ष रुपमा भेट गरेँ । वालकको वरिपरी दुईचारवटा गुच्चा¸ हातमा आफैले वनाएको वाँसुरी देखेँ । मलाई खिन्नता महशुस भयो । मुख वाक्य शुन्य भएर आयो । गहिरो सागरका बिचभागमा पुगेर गन्तव्य विनाको पानीजहाज भएँ । वालकको आँखामा मैले सोचेजस्तो टिलपिल टिलपिल आँसुहरु अँध्यारो रात्रीमा माथि अनन्तमा झिलमिलाएका ताराझैँ देखियो । उसको आँखाले मलाई कौतुहलताका साथ हेर्योर साँच्चै भन्दा मेरो वैशाखीलाई हेर्योै । मेरा गोडाहरुमात्रै भाँचिएका थिएनन् । त्यस दुर्घटनाले मेरो हृदयपनि भाँचिएको थियो । तर जसरी आज यो शवावशेष जीवनमा बैशाखी हिँडाएर बाँच्न विवश छु त्यसरी नै भाँचिएको हृदयलाई एउटा विवशताको पुरानो बैसाखीले अड्याएर बाँच्न प्रयासरत छु । मलाई जीवनको रसस्वादन गर्ने वासना त्यो दिनदेखि नै मरिसकेको थियो¸जुन दिन मैले एउटा भयाभह दुर्घटनामा मेरा सारा परिवार लालावालाहरुलाई गुमाएको थिएँ । सायद् म पापी थिएँ त्यसैले बाँचें । एउटा विनाअसतित्वको बँचाई । समयले मलाई यस्तो वलियो झापड मारेर गयो जुन मेरो चुस्स गालामा अनन्तसम्म रहिरह्यो । ऊ बाँच्यो मलाई मारेर त्यस्तै उ मर्यो मलाई बँचाएर । किन्तु भावावेशमा डुवेर प्रत्येक विहानीलाई निर्ममतापूर्वक पैतालाले कुल्चेर मरुभूमीको यात्रा गर्न पनि म हिचकिचाएको थिइन । एउटा भोको संसारको अभागी योगी भएर रातदिन जीवनको भिख मागिरहेछु । त्यै अमिट सम्झनाको र त्यै अप्राप्य शान्तिको ।

हुरी वतास चाहे आँधिवेहरी नै किन नआओस् मलाई उडाएर लैजान सक्दैनथ्यो । यद्यपी मनको आँधिवेहरीले मलाई पोल्टा खुवाउँथ्यो लछार्थ्यो सुनामीलेझैँ । एउटा रात कालो लाग्थ्यो अर्को निलो विहानीको प्रतिक्षामा वसिरहने मेरा जिर्ण नयनहरु आज चिम्म भैसकेका थिए । जसरी मैले दिनलाई हेर्थेँ रात पनि ठिक त्यसैगरीनै देखिन्थ्यो । उदास मेरा आँखाहरु खुल्ला थिएनन् त्यो चाहीँ होइन किन्तु एउटा प्रकाश थिएन जो मेरो आँखामा ठोकियोस् र देखुँ म संसार ।

बालको आँखले मलाई प्रमोदको झझल्को दिलायो । मरो छोरा तिमी अहिले कन अलकापुरीमा आफ्ना कोमल आँखाहरुलाई दुवै हातले मिच्दै टाढाटाढा सम्म वावाको वाटो हेरिरहेका हौला ? त्यो एकलाश ठाउँमा मलाई तिमीले पाउने छैनौँ छोरा न त मेरो कालजयी निधार नै । तिमी त गयौ तिम्री आम¸वहिनी सँग म त यहाँ एक्लै वाँचिरहेछु एकएक थोपा रगतको भिख मागेर । छोरी तिमी पनि आफ्नै आमाको काखमा गयौ तर यो कसले देख्ला तिम्रो वावु यसलोकमा आफ्नो प्राणको वदलामा प्राणै तिरेर बाँचिरहेको छ । मेरीरु प्यारी तिमी त झनै आफ्ना समग्र सन्तानका साथमा छौ तर मलाई त्यो लाग्दैन तिमी खुसी छौ । म यहाँ जसरी एक्लो न्याउली झैँ उराठिलो विहानीमा कराइरहेछु त्यसरी नै तिमी नकुर्लनु कलाई थाहा लागिसक्यो आफन्तलाई बढी प्यार गर्नु भूल रहेछ ।

मैले त्यो वालकका हरेक अंगप्रत्याँगहरुमा मेरो परिवारलाई देखेँ । प्रमिला¸सुनमाया¸प्रमोद मलाई यो लाग्यो कि म यहाँ एक्लै छैन मेरा परिवारका सवै सदस्यहरु म सँगै छन् । म एकदमै भावुक हुँदै त्यै वालकलाई हेरिरहेको थिएँ । भावनाको धरातललाइ चिर्दै एक्कासी त्यो वालकले सोध्यो¸" बावा तपाइँको छेवैमा राखेको के हो ?" मलाई दुरुस्त प्रमोदको वोली जस्तो लाग्यो । र मैले बैशाखी उचाल्दै भनेँ¸"यो मेरो हिड्ने साहरा हो वावु जस्तो तिम्रा दुई गोडा छन् त्यस्तै " बालकले कौतुहलतापुर्ण प्रश्नै गर्योर ¸ " तपइँको खुट्‌टा छैनन् ?" मैले भनें " छ तर चल्दैन " बालक झनै दोधारमा पर्योग । उसलाई त्यो थाहा थिएन कि खुट्टाहरु पनि विग्रन सक्छन् मेशीन झैँ । "होइन होला " । "साँच्चै भन्दैछु नपत्याए हेर " भन्दै मैले मेरा पातला गोडाहरु त्यो वालकलाई देखाएँ । उसले बल्ल मेरा कुराहरुलाई पत्याए जस्तो गर्यो । अनि आफ्ना कोमल हत्केलाहरुले मेरा जिर्ण र सुस्क पातला दाउरे पाउहरुलाई समात्यो । मलाई एउटा अविस्मरणिय अनुभूति भयो । जस्तो मलाई हिजोसम्म भएको थिएन । एउटा भोको कैदीले खान पाएजस्तो रमाईलो अनुभूती मेरो मनअन्तरसम्म भैरह्योन । मेरो सागर भरियो आँसुको अनि बालकलाई नै हेर्नै सकिन । भर्खर सजिलैसँग खोलीएका मेरा नयनहरु बन्द हुन सकेनन् । जसरी मेरा आँसुग्रन्थीहरु खोलिए आँखा अगाडि सेतै तुवाँलोले पर्दा लगाईदियो । पर्दा पछाडिवाट कताकता मेरो छोरो प्रमोद छोरी प्रमिला र सुनमायाको तस्विर आयो । एउटा विपनाको साँचो झलकझैँ त्यो पारिवारिक समूहले आफ्ना आँखावाट वर्षादको निमन्त्रणा गरिरहेका थिए । कसैको वर्षादी थिएन साउनको भेलमा लछारिँदै थिए उनिहरु जस्तो म वर्तमानमा लछारिरहेको छु । रंगिन चलचित्रको पटकथामा झैँ मेरा विगतका अनुभव र अनुभुतिहरु दोहोररिरहे त्यै सेतो तुवाँलोको विचभागवाट मैले प्रमोदको वोली सुनेँ । वा वा के भयो ? मेरा आँखाहरु रसाइरहेका नै थिए । म एक्कासी विउँझिएँ त्यो भग्नावशेस वाट । त्यस वेलासम्म त्यो वालक मेरै नजिकै वसिरहेको थियो । आफ्ना ति कोमल नयनहरुले मलाइ नै हेर्दै टोलाइरहेको थियो । वास्तविकतामा मैले उसको आवाजमा सुनेँ "वावा के भयो ?" यथार्थमा त्यो मेरो छोरो प्रमोद होइनरहेछ । तर पनि त्यो सानो वालकले मलाइ वा भनेर जसै सम्वोधन गरेथ्यो ऊ मेरै प्रमोद बनेर आयो । आँखाभरी टाँसिइरह्योो नदिको छेवैको पाषणमा लेपिएको लेउ झैँ । म छुट्याउने प्रयासै गर्दैनथेँ उसलाई किनकि ऊ विना म एकल हुन्थेँ । जस्तो त्यो दिनपछि थिएँ । एउटा रातो ज्वलान्शिल आगाको लप्काले मेरो मुटुमा च्वास्स पोल्यो पोलाइको अनुभव लेश मात्र भएता पनि दग्द मुटु नै त्यसको पोल खोल्यो । मैले चाहेको पनि त्यहि थिएँ । खलखली पसिना आइरहेका थिए । वालकले मलाइ पानी ल्याएर दियो मेले एकै सन्कोमा पानी सनक्क पिइदिंएँ । ऊ दङग पर्दै मलाई नै हेरिरहेको थियो । लामो समयको हेराईपछि त्यसले सोध्यो "वावा किन रुनु भाः को ?" "केहि होइन नानी" उसले अझै जिद्धि गर्दै भन्छ "केहि त पक्कै हुनुपर्छ नत्र त्यसै आँसु झर्छ र ? मलाई पनि दुई वर्ष अगाडि आँसु झरेको थियो तपाइँलाई झैँ" त्यो वालकले मलाइ मन घोच्ने गरी भन्यो । एउटा भोग्य मान्छे झैँ । सम्पुर्ण जीवन भोगाईको तितो र नमिठो अतित काटिसकेको मान्छे झैँ । मैले त ठान्थेँ ऊ मेरो बोली वुझ्ने छैन । तर ठिक उल्टो उसको व्यवहार वुझ्न मलाई गाह्रो भैरहेको थियो । उसले मलाइ मेरो अतित भन्नै कर लगायो । मैले पनि मेरो सवैभन्दा नजिकको मान्छे नै ऊ हो जस्तो ठानेँ र आफ्नो अतितलाइ वताएँ ।

" हेर वावु म पनि कुनै दिन एउटा परिवारको मालिक थिएँ । जहाँ मेरा छोरा¸छोरी र श्रीमती थिए । एउटा अकाट्य बन्धन थियो हामीहरु विचमा । सबैले सबैलाइ माया गर्थ्यौँ । एउटा मायाको सागर थियो हामीहरु विचमा । तर एकदिन गाउँमा ठूलो पहिरो आयो जसमा हाम्रो मायाको सागर छचल्कियो र सम्पुर्णलाई लछार्यो । म मात्रै बाँचें भाग्यवश वा दुर्भाग्यवश । म मरेर पनि वाँचें सायद् मरेरै जानु पर्थ्यो । तर के गर्ने दैवको अगाडि कसैको केहि लाग्दो रहेनछ । म एक्लै वगरमा एकल भै पछारिनुपर्यो । जसरी उनीहरु परलोकमा पछारिए । एउटा निर्मम र कारुणिक आवाजमा ऐया आमा मरें भन्दै रोईरहेको हुँदो हुँ म कसैले लग्यो र बाँचें ।

मैले छोटकरीमा आफ्नो कथा सुनाएँ । बिचरा वालकपनि टिलपिल आँखामा आँसुहरु देखाइरहेको थियो । मलाई हेर्यो अनि आँफु पनि रोयो । वर्वरी आँसुका धाराहरु झारेर । उसका आँसुहरुले कोमल गालाहरुमा यस्तो धव्वा वनायो जसको अध्ययनवाट उसको अन्तरिक पिडाबोध हुन्थ्यो । मैले नसेध्धै उसले आफ्नो अतितलाई वतायो । र आफ्नो परिवारमा पनि हैजाको महामारीले गर्दा सवै मरेर सखाप भएको र आफु पनि एकदमै एक्लै रहेको कुरा मलाई जब सुनायथ्यो मलाई खपि नसक्नु भो । मैले मेरा नयनरसहरुलाई आफ्ना झुसिला वाहुमा उम्रेका औँलाहरुले पुछेँ । आफैँलाई नामर्द सम्झेँ । कठैवरा त्यो वालक त्यति सानो उमेरमा पनि कति धेरै पिडार कष्ठु वोकेर यस धर्तीमा रहिरहेको छ । म भने उसको भन्दा कोमल मन लिएर रोइरहेको थिएँ । त्यसदिन देखि मैले त्यही वालकलाई हेरेर चित्त वुझाएँ ।

मलाई धनको चिन्ता थिएन । धनविना खिन्नताबोध कहिल्यै भएन । किनभने मेरो पूर्वजदेखि नै धनि थिए । मलाई परिवारको मात्र खाँचो थियो । त्यसस्थानमा देखिएको त्यो वालकलाइ आफ्नै परिवार जस्तै गरी राख्न मन लाग्यो आखिर मैले त्यस वालकको मुहारमा प्रमोदको झझल्को पनि त देखेको थिएँ । यसैले पनि त्यसलाई मैले मेरो घरमा जाने र छोराको रुपमा पाल्ने कुरा सुनाएँ । ऊ वरा माउ विनाको चल्ला जस्तै भएको थियो । मेरो प्रस्तवलाई नकार्ने कुरै भएन । त्यसदिन देखि ऊ मेरो छोराको रुपमा आयो ।

मेरा अंगप्रत्यङगहरु जिर्ण प्रायः भैसकेका थिए । तर त्यो वालकको आगमन देखि नौलो जोश र उमंग भरिएर आयो । जस्तो जोश युद्ध मैदानमा जिरो आवरको प्रतिक्षामा वसेका सिपाहीहरुमा हुन्छ । बालक र म अव वावु छोराको नातामा आबद्ध भैसकेका थियौँ । उसको न्यानो मुहार भन्दा कोहीपनि मेरो भन्नु थिएन यस संसारमा । पल्लो संसारको माथिल्लो कुनामा वसी सायद् उनीहरु मलाई बोलाइरहेका होलान् । हरदिन वालकको मृदुवोलीमा मिसिएको अमृत पिएर मैले आफ्नो आयु लम्व्याइरहेको थिएँ । अझ उसले फूकेको मधुर स्वर वाँसुरीले त मलाई राधाकृष्णको यादै भुलाउँथ्यो । दुःख र पिडाको अनुभव लेश मात्र पनि थिएन । कहिँकतैवाट पिडाले झुक्याएर चियायो मात्रै भने पनि एउटा यस्तो पर्दा आइदिन्थ्यो जसले दुःखलाई सुखमा परिवर्तन गराइदिन्थ्यो । त्यो पर्दा अरु केही नभएर मेरो नयाँ छोरा नै थियो । मैले उसको नाम कहिल्यैपनि सोधिन किनकि म उसलाइ मेरो आफ्नै प्रमोद वनाउँन चाहन्थेँ । अरु कुनै नाम राखेर वा थाहा पाएर प्रमोदको अपेक्षालाई उपेक्षा गर्न चाहंदिनथेँ । सायद् उसको आफ्नै परिचय हुँदो हो छुट्टै आमा वा अनि परिवार पनि । तर म उसलाई मेरै छोरा वनाउन चाहन्थेँ र नभन्दै ऊ मेरै छोरा वन्यो मात्र मेरो जिन्दगीको अमीट सम्झना मात्र होईन भोगाई नै । घरमा एउटा नयाँ चन्द्र उदाएझैँ देखिन्थ्यो चारैतिर झलमल वत्तिहरु बलेझैँ लाग्थ्यो दीपावलीमा झैँ ।

दिनहरु एकनाशले वित्तै गए । त्यो वालक घरमा ल्याएको पनि ६ महिना जति भैसकेको थियो । मलाई वालकलाई कतैवाट ल्याएजस्तो लाग्दैनथ्यो बरु त्यो त्यहीँ कतैवाट उम्रेको जस्तो लाग्थ्यो । पलाएको जस्तो कलिलो मुना झैँ । मलाई हिड्डुल गर्न निकै गाह्रो हुन्थ्यो । बालकले मेरो धेरै सहायता दिन्थ्यो । ऊ विद्यालय जान शुरु गरिसकेको थियो । पढाइमा राम्रो थियो । प्रत्येक कक्षामा प्रथम हुन्थ्यो । खुसिको सिमा वाँध फोडेर वाहिर जान खोज्थ्यो । त्यसलाई पक्रन सकिँदैनथ्यो । मैले बर्तमानमा त्यस मृदुभाषी शैसवको व्यवहारमा भूलेर विगतलाई विर्सिसकेको थिएँ । मलाई थाहा थिएन के यो ठिक हो वा वेठीक हो । त्यो बालकलाई मैले प्रमोद भनेर वोलाउँथेँ । साँच्चै नै भगवानले मलाई एउटा प्रमोदको सट्टा नयाँ पठाइदिए । मलाई प्रमोदको पुनर्जन्म जस्तो लाग्थ्यो । त्यस बालकको अनुहारभरी नै मैले प्रमोदको नै प्रष्टर अनुहार देख्थेँ । म त्यसवेला दुखी थिइन तर वास्तविकतामा त्यति खुसी पनि थिइन । किनकि वर्तमानको धरातलमा प्रमोद रुपी वालक साथमै भए पनि यथार्थमा चाहिँ त्यो ठाउँमा मेरा सम्पुर्ण परिवार नै थिएनन् । क्रमश मैले त्यो संवेदनालाई भुल्दै गएको थिएँ । धेरैजसो समयमा मैले त्यसरी मेरा परिवारहरुलाई सम्झेर विताउदिनथेँ तर कतिपय अवस्थामा चाहिँ मेरो मनमा विगतका सम्झनाहरु आइनै रहन्थे । अनि यादहरुलाई विर्षाउन दुईथोपा आँसु श्रदा स्वरुप भुइँमा खसाल्थेँ ।

एकदिन मेरो प्रमोद विहानै घरवाट हिँडेको थियो गाउँदेखि अलि पर पोखरीमा नुहाउन । "वावा म जान्छु है" वालकको मधुर वोलीले मलाई मुग्ध वनायो । मैले नकरात्मक कुरै गरिन । "होसियार रहु है पोखरी गहिरो छ" । मेरो कुरालाई सायद् हृदयमा राख्यो होला उसले अनि आफ्नो सुनौलो टाउको हल्लाएर सकारात्मक कुरा फर्कायो र छिटै नै त्यहाँवाट हिँड्यो । मैले यसलाई सामान्य कुराको रुपमा लिएको थिएँ र धेरै ध्यान पनि दिइन । ऊ गयो म आफ्नै पिडामा जलिरहेको थिएँ । मनको व्यथा मनमा नै थियो त्यसलाई वाँडेर सकिँदैन रहेछ । जति वाहिरी आँखामा हाँसो उठ्थ्यो त्यति नै भित्री मनमा पिडा र विषादका डाहहरु रहिरहन्थे एउटा औंसिको रातझैँ डरालाग्दो बनेर । प्रमोद आफ्नै तालमा गयो विचरा त्यो केटाकेटी नै थियो ऊ आफ्नो वर्तमानको भोगाइमा नै प्रफुल्लित वनिरहेको थियो । वास्तवमा म झनै लंगडो वन्दै गैरहेको थिएँ । जसरी शारिरिक रुपमा एउटा अपाङग भएर पृथ्विमातालाई भार वनिरहेको थिएँ त्यसरी नै आत्मिक रुपमा पनि अल्पाङग नै हुँदै गैरहेको थिएँ । आत्मा टुक्रिएको थियो सिसाझैँ तैपिन त्यो वालक नयाँ प्रमोद वनेर टुक्रिएको आत्मालाई शितलताको अनुभूति दिलाउन चाहन्थ्यो । सायद् ऊ यसकुरामा असफलभन्दा सफल भएको थियो । हरेक साँझमा ऊ मलाई एउटा कथा सुनाउँथ्यो सारंशमा अनि एक्लिएको मन लिएर निद्रामा विलाउँथ्यो ।

घडीले १० वजाइसकेको थियो । प्रभातको सूर्यपनि माथिसम्म आइपुगेको थियो । पर डाँडाको विचभागमा सेतो कालो बादलको घेरा कताकति मात्रै देखिन्थ्यो । सिरसिर वतास चलिरहेको थियो¸ वताससँगै पानीका सानासाना थोपाहरु झरिरहेका थिए । मौषमले जाडो डाकेजस्तो लाग्थ्यो । मेरो घर जंगलको छेवैमा रहेको थियो स्वच्छ वायु स्वासप्रश्वाौसको लागि पाइरहन्थ्यो । चराहरु गन्तव्यहिन उडान भरीरहेका थिए । समय समयमा आकास गर्जिन्थ्यो त्यो आवाजले पर कतै सिंह कराएको भान गराउँथ्यो । साँच्चै त्यो ठाउँ स्वर्गको एक थुम जस्तो देखिन्थ्यो । समयले आफ्नो रफ्तारलाइ छोडेको थिएन किन्तु त्यसवेलासम्म स्नानार्थ गएको मेरो छोरा अझै फर्किएको थिएन । मलाई मनमा विभिन्न शंका उपसंकाहरुले घेरिरहे । म उसलाई खोज्न जान पनि सक्दैनथेँ । मेरा दुवै गोडाहरुले किनहो किन दुईदिनदेखि धेरै नै कष्ट। दिइरहेका थिए । मन अन्तरमा भए पनि मैले उसलाई खोजेँ । ऊ त्यहीँ कतै कुनामा निन्याउरो मुहारमा वसिरहेको देखेँ । मैले वोलाएँ "प्रमोद " काला नयनांशलाई सेतो पर्दाले आंशिक ढाक्दै मुस्कुरावटका साथै "हजुर" भन्यो । त्यतिनै वेला परवाट एकहुल मानिसहरुले केही वस्तुलाई वोकेर मेरै घरनजिकै ल्याइरहेको देखेँ । आखिर तिनिहरुले वोकि ल्याएको वस्तु मान्छे नै रहेछ । मेरो घरको तगारो नाघेर उनिहरु आगनमा नै छिरे । मैले अनुमान गरेँ कोही विरामी भएर ल्याएका होलान् । किनकी मैले सानोतिनो उपचार गर्ने पनि गर्थेँ । तर दृष्य विपरित देखियो उनिहरुले प्रमोदको मृत शरिरलाई ल्याएर आगनमा लडाए । म झसङग भएँ । ओठतालु सुकेर आयो । मुटुमा ठूलो ढुङगाले थिचेजस्तो लाग्यो । मैले केही वोल्न सकिन । कसरी यसो भयो भनि पनि भन्न सकिन । मुटु फूटेर रगत छताछुल्ल भएजस्तो पो भयो । कलेजो चोइटिएर कतै गएजस्तो । फोक्सो वटारिएजस्तो । मैले आवाज निकालेर रुन सकिन किनकी प्रमोदको सिंगो लास मेरो घाँटीमा झुण्डिएको थियो । जसलाई मैले न निल्न नै सकेँ न ओकल्न नै । यस घटनाले मलाई मेरो विगत पनि एकैपटक सम्झायो जुन दिन मैले मेरै आँखा अगाडि परिवारका ३ वटालाइ लाशमा भेट्टाएको थिएँ । मृतकले मलाईनै हेरिरहेको थियो । मैले पनि उसको उच्च निधारमा लामो समयसम्म हेरिँरहेँ । मात्र हेरिरहेँ अनि आफैलाई नितान्त एकल महशुस गरें । सायद् मेरो भाग्य नै यस्तै रहेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।