19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पानीको गीत

कविता साम्ब ढकाल June 2, 2012, 5:17 pm

बाहिर निस्कनुस् त महाशय

पानीले गीत गाइरहेछ ।

असार दर्केको बेला

पानीले गीत गाउन थालेको छ

र साउन पालो कुरेर बसेको छ

मेघाच्छन्न आकाशको चउरमा पानीको अकेष्ट्रा बजाउन ।

हरियो डाँडाको छाती चिरेर

टाढा जान हतारोमा निस्केका छङ्छङाउदा छहरा हेर्नोस त

अविराम यात्रामा निस्केका धमिलो/सङ्लो नदी हेर्नोस त

कसरी गाइरहेछन् पानीको गीत ।

हुन्छ, हुन्छ बलेसीमा सुन्दा नि हुन्छ तप्प तप्प

हुन्छ, हुन्छ हिँड्दाहिँड्दै छातामाथि बज्रेका

बिर्बिराउँदा वा जोडदार थोपासँग सुने नि हुन्छ ।

सुन्न त मलाइ टाढाको थुम्कोमाथि बसेर सर्सराएको झरीसँग

पानी गीत सुन्न मन थियो,

अझ आकाशबाट झर्दै गरेको मुसलधारे पानीगीत सुन्ने प्रबल

इच्छा थियो,

झन मलाई त बादलबाटै भुइँमा नझर्दै

दर्कने पानीको गीत सुन्ने मन थियो ।

जे होस पानीको गीत सुनेरै कता कता हराउने रहर अझै छ

जे होस पानीकै गीतमा जीवनको कुनै लय मिलाउने अठोट अझै छ ।

पानीको गीत ।

पानीको गीत ।

पानीको गीत ।

प्रेयसीका हातले धान रोप्दाका छुपुछुपु पानी गीत ।

हिलोमा लठारिएका लाठेहरूका छप्लाङ्छुप्लुङ् पानी गीत ।

तरेली परेका हरिया धान खेतबाट फाल हानेका समाहाको ध्वारारारारारारा पानी गीत ।

मकैका पातै बज्ने गरी बजारिएका थोपैथोपाका पानी गीत ।

मलाई कहिलेकाहीँ मेघमल्हार गाएर पानीपानी हुन मन छ ।

पानीको गतीशीलताको असाध्यै डाहा गर्न मन छ ।

बगिरहने पानीसँग केहि सिक्ने मन छ ।

मन छ ।

मन छ ।

मन छ ।

पानी गीत सुन्ने मन छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।