18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वर्षात् दर्लामीको 'नदीको छेउ' गजलसङ्ग्रह एक झलक

कृति/समीक्षा सदानन्द अभागी June 3, 2012, 1:25 am
सदानन्द अभागी
सदानन्द अभागी

सिद्धारा –८, अर्घाखाँचीमा २०३९ बैशाख–३मा जन्मेका वर्षात् दर्लामीको नदीको छेउ गजलसङ्ग्रह प्राप्त भयो र यसलाई सङ्क्षेपमा केही लेख्ने मन लाग्यो। दर्लामीले यो सङ्ग्रहभन्दा पहिला तिम्रै यादमा भन्ने गजलसङ्ग्रह २०६०मा प्रकाशन गरिसकेका छन्। गजल, मुक्तक, कथा, कविता, उपन्यास (एउटा मोड जिन्दगीको) प्रकाशन भैसकेको छ। सबै विधामा हात चलिसकेको छ र गजल भने उनले साह्रै प्यारो बस्तुका रूपमा ग्रहण गरेका छन्। यस विवेचनामा मैले गजलको संरचना, परिभाषा आदिमा जानुभन्दा सिधै गजलकारको धारणा र गजलकारले रचेका गजल सम्बन्धमा प्रकाश पार्ने अनुमति चाहान्छु। यो गजलसङ्ग्रहको आवरणपृष्ठमा देखाइएको नदीमा डुङ्गा चलाइरहेको दृष्यले गजलमा पार लागिने तवरले गजल लेखिरहेको छु भन्ने सन्देश दिन खोजे जस्तो देखिन्छ र उनका गजलले पनि त्यस्तै धारणा बोकेको अध्ययनले बताउँछ। आवरणको पछिल्लो पृष्ठमा भूमिकाकार दीन पन्थीको गजलप्रतिको अवधारणा र वर्षात्जीको व्यक्तिगत छोटो (जति दिनुपर्ने हो नदिइएको ) विवरण फोटो सहित दिएको पाइन्छ। यो गजलसङ्ग्रह नयाँ जनमत साप्ताहिक तम्घास गुल्मीले प्रकाशन गरेको हो। यसको व्यक्तिगत मूल्य रू. २५/– र संस्थागत मूल्य रू ५०/–राखिएको छ। गजलसङ्ग्रह (६१±१६)७७ पृष्ठको छ। गजलसङ्ग्रहको प्रकाशकीयमा प्रकाशकको कलमबाट –प्रेम र प्रेमिकाको श्रृङ्गारिक वर्णनबाट गजल हुँदै समसामयिक विषयमा लेखिएका गजल पाठकका ढुकढुकी बन्न सफल भएका छन्। गजलको शास्त्रीय संरचना तोडेर पनि गजल लेख्न थालेको छ' भन्ने अभिव्यक्ति पोखिएको छ । प्रकाशकले फुटकर छापेर मात्र जनताको मागलाई आपूर्ति नहुने देखेर कृतिकै रूपमा प्रकाशन गरेको अभिव्यक्ति दिएका छन्। वास्तबमा गजललाई दर्लामीजीले यही अनुरूप नै पस्किनु भएको छ। सुन्दर अभिव्यक्ति सहित सभ्य र सवल गजलका शेरले सबैको मन छुन्छ ।

वर्षात्का गजलगङ्गामा एकैछिन पौडी खेल्दा शीर्षक दिएर दीन पन्थीले लेखेको भूमिकाबाट केही सारतत्व यहाँ प्रस्तुत गर्न उपयुक्त ठानी त्यतैतिर लाग्न चाहान्छु – ' गजल–भावाभिव्यक्तिको एउटा सुरम्य मार्ग। वर्षात्ले आफ्ना अजस्र भावहरू पस्कन गजल रोजेका छन् । एउटा सांगीतिक बाटो । राम्रा विचारहरू राम्रो शैलीमा प्रस्तुत गर्ने काम दुर्लभ हुन्छ, यस्तै दुर्लभ काम गरेका छन् वर्षात्ले। '

स्वयम् गजलकारको गजलप्रति पोखेका भावनाले गजल लेखनको मार्मिक भावलाई प्रस्तुत गरेको छ । गजलकार भन्छन् – ' गजल साह्रै प्यारो वस्तु हो मेरो निम्ति। सुखमा गजल, दुःखमा गजल,। यस्तो लाग्छ–जीवनभर सहयात्रा गजलसँगै हुनेछ अब।' यसबाट थाहा लाग्छ, गजलप्रतिको लगाव कस्तो छ वर्षात्को। वर्षात्को आफ्नै कुरामा गजल किन लेखियो, गजलमा के छ आदि विषयमा हामीले सहजै गजलभित्र नपस्दै यथार्थबोध हुन्छ।

अब वर्षात्का गजलभित्र पसौँ। २०५९ साल साउनको ' विमोचन' मासिक'मा पहिलो गजल प्रकाशनबाट गजलयात्राको थालनी गरेका वर्षात्ले अब त गजलकै बर्षा बर्साउन थालेका छन्। उनका ६१वटा गजलहरू यो सङ्ग्रहमा समाबेस गरिएका छन्। गजलमा के छ त मैले अध्ययन गरेर प्राप्त भएको यथार्थतालाई र वर्षात्का आफ्नै कलमबाट पोखिएका भवनालाई यहाँ तुलना गर्न मन लाग्यो। उनी भन्छन्– ' पुग्नुपर्ने त सागरसम्मै हो तर त्योभन्दा अगाडि चुनौति र जोखिमपूर्ण यात्रा बाँकी छ।' बास्तवमा मैले जानेको कुरा के भने जीवन संघर्ष हो, संघर्षमा उत्रेपछि पार लाइन्छ तर संघर्षबाटै पन्छिन्छ भने त्यो कायरले जिन्दगीमा कुनै रणसङ्ग्राम जित्न सक्दैन। तपाइँको यात्रा गन्तव्यतिर लम्केको छ। निरन्तर बग्ने मूल फुटिसकेको छ। त्यो मूलको गन्तव्य समुद्रै हो। त्यसलाई कुनै बाँध, पहरा, कन्दरा, भङ्गालाले रोक्न सक्दैन र त्यो कतै बिलाउन सक्दैन। तपाईँले भन्नुहुन्छ –… मैले छोपेर सत्य कहाँ छोपिन्छ र आजसम्म सत्यलाई थुन्ने कारागार पनि त कहीँ बनेको छैन।Ú मेरो पनि यही यथार्थ हो भन्ने मान्यता छ तर आज सत्यलाई लुकाउन खोजिँदै छ। असतीहरूको चकचकी बढ्दो छ। देशलाई लुटिँदै छ। सूर्यलाई हत्केलाले छेक्ने प्रयास भएको छ। हत्या हिंसा बढेको छ । मानिसले आफूलाई कालजयी सम्झेको छ। देशका किनाराहरू छिमेकीले खोस्रँदैछन्। ठाउँ–ठाउँमा बारुदका गोला पड्कँदैछन् र बुद्ध जन्मेको देशमा बुद्धकै उपदेश उपहास बन्दै छ जो तपाईँले पनि स्वीकार्नु भएको छ –

“दिनानुदिन मर्दैछन् निर्दोष मान्छेहरू

उपदेश नै बुद्धको उपहास बन्दैछ

गजल–२, पृष्ठ (२)

धैर्य गर्नुपर्छ, क्षणिक दुःख पाए पनि सत्यको जीत सधैँ हुन्छ। हत्केलाले सूर्यलाई ढाक्न खोजेर ढाकिँदैन। तपाईँका गजलहरूले यी कुरालाई आत्मसात गरेका छन्।' सत्यं शिवं सुन्दरम् ' यो शब्दलाई आत्मसात गर्नु नै तपाइँका गजलको यथार्थता हो र समानताको धरातलमा उभिएर गजल लेख्नु नै आजको यो विषम समाजलाई चोटिलो प्रहार हो । उदाहरण तपाईँकै गजलको शेरलाई लिन सकिन्छ –

' मटन, कवाफ, पुरी होला कसैको 'किचन'मा

कसैको भान्सामा रित्तो – रित्तो थाल छ '

यो यथार्थता हो। आज देशमा धनी र गरीबबीचको खाडल निकै गहिरिँदै गएको छ। धनी, धनी बन्दै गएका छन् भने गरीब झन–झन गरीब बन्दै गएका छन्। वर्षात्जी तपाईँका गजल मात्र नभै आफ्नै कुराले मलाई घचघच्याउँछ र म त्यही शीर्षकतिर लाग्न मन लाग्छ – ' अंधकार भयंकर हुन्छ तर त्यसलाई उज्यालोले परास्त गरेरै छाड्छ।' ठीक हो तपाईँको धारणा। अवश्य दिनपछि रात र रातपछि दिन। यसैलाई जीवनका उकाली र ओरालीको रूपमा पनि लिन सकिन्छ । खास कुरा के भने प्रकृतिसँग मानिस लडेको छ। जित हार आफ्नो ठाउँमा छ। प्रकृतिलाई आजसम्म कसैले जितेको जस्तो लाग्दैन मलाई तर प्रकृति भन्दापनि अर्को डरलाग्दो कुरा के भने मानव प्रवृत्ति हो, जसले आज संसारभरि नै सत्य, शिव र सुन्दरतालाई हत्या गर्न अग्रसर भैरहेको छ। त्यसैले हामी सबैले दुःख झेली रहेका छौँ। तपाइँको गजलको अर्को उज्यालो पक्ष भनेको तपाइँका गजलहरू आत्मसमर्पणवादी छैनन्। प्रकृति र सत्यतामा आधारित भएर लेखिएका हरेक शेरले मानवतावादी संस्कार अथवा सकरात्मक पक्षलाई बोकेर अघि बढेको पाइन्छ। एउटा मार्मिक सेर पढौँ–

डुब्न लागेको जूनलाई फर्काइदेऊ चाँडै

आकाश कठोर भएपनि धर्ती आभारी हुनेछ

देशले हिजोदेखि नै भोग्दै आएको द्वन्द र आज विभिन्न नाउँमा चलिरहेको अर्थहीन द्वन्द्वले नेपाली आमाको सुन्दर प्राकृतिक छटा, मानवीय मान्यता र मूल्य, आन्दोलनमा नष्ट गरिएका भौतिक संरचना, राष्ट्रियविभूतिहरूका शालिक तोडफोड, देशका पत्रकार, साहित्यकार, सचेत व्यक्तित्वले भोगेका यथार्थ पीडा पनि तपाइँका गजलले मार्मिकरूपमा पस्केको छ। केही शेरहरू हामीले उदाहरणमा लिन सकिन्छ–

चुसेपछि आमाको रगत सबै उपियाँले

विकासको लहर गुम्दा यो देश नै बुङ्गा भयो

(पृष्ठ ३, गजल (३)

आफ्नै दाइको बन्दुकले श्रीमान मारिदिँदा

बहिनीले रूँदै के सम्झँदै होली

(पृष्ठ ९, गजल (९)

ती आमाहरूका शून्य काख रोए

नेपाल रोयो डाँडा र पाखा रोए

(पृष्ठ १७, गजल (१७)

भाइलाई हत्या गरे बहिनीलाई बलात्कार

उनको बिरोधमा लेख्दा कष्ट दिए तमाम फेरी

(पृष्ठ १८, गजल (१८)

हाम्रा नाताकुटुम्बलाई सखाप पार्यौए हाँसी–हाँसी

आफ्नो कुकुर मर्दाखेरि रुँदै ब्रजपात भन्छौ

(पृष्ठ ३२, गजल (३२)

अनेकतामा एकता नै हाम्रो मूल पहिचान हो

त्यसैले हिमाल, पहाड र मधेशलाई माया गर्नु होला

(पृष्ठ ३३, गजल (३३)

आमालाई बेचेर खान जसले तम्सियो

सचेत भई उसलाई हकार्न आएँ

(पृष्ठ ३४, गजल ३४)

वर्षात्जी तपार्इँका गजलमा के छ र? कसैले भन्छ भने म ठोकुवा गरेर भन्न सक्छु नदीको छेउ गजलसङ्ग्रहमा राट्र र राष्ट्रियताप्रति अगाध माया छ। गजलका शेरहरूले आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रलाई समेट्ने प्रयास गरेका छन्। व्याख्या जति गरे पनि सकिँदैन। एउटा तपाइँकै अभिव्यक्तिलाई यहाँ राखेर तपाइँको अमिट चाहना के हो प्रष्ट्याई दिन चाहान्छु – ' जतिसुकै अर्थ लाग्ने देखिए पनि शोषण, दमन र भ्रष्टाचारका विरुद्ध, विकृति र विभेदपूर्ण व्यवस्थाका विरुद्ध सुन्दर समाज निर्माणको पक्षमा अनवरत अगाडि बढ्नु नै मेरो अभिष्ट हो।'

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।