(क) विषय प्रवेश
ध्रुवचन्द्र गौतम (२००१) द्वारा रचित अलिखित (२०४०) नेपाली उपन्यास सिर्जनाको चर्चित एवं सुप्रसिद्ध रचना हो । यसको प्रसिद्धि संरचनागत नवीनता, मिथकीय प्रयोग, स्वैरकल्पनात्मकता, व्यङ्ग्यात्मक अभिव्यक्ति आदि प्रवृत्ति प्रस्तुत गर्नुमा ज्यादा चर्चित रहेको देखिन्छ र यसले व्यक्त गरेको सामाजिक यथार्थता र त्यसबाट समाज र व्यवस्थागत पक्षले ग्रहण गर्नु पर्ने सचेतनाको पक्ष पनि महत्त्वपूर्ण रहेको छ । यसमा विश्व साहित्यमा र खास गरेर अङ्ग्रेजी साहित्यमा प्रयोग भएका अत्याधुनिक रचना शिल्पहरू देखा पर्छन् (पोखरेल, २०६० ः ६१) । यस उपन्यासमा प्रस्तुत कथानकीय संरचनामा १४ वटा खण्ड वा परिच्छेद समावेश गरिएका छन् र तिनलाई भिन्न महिना र पात्रका नाममा नामकरण गरिएको छ । पहिलो खण्डको शीर्षक अनकन्टार भनेर राएिको छ भने अन्तिम खण्डलाई तेह्रौँ महिना ः अनुकल्पित गाउँ बिरहिनपुर बरेवा भनेर नामकरण गरिएको छ । उक्त सुरु र अन्तिम बाहेकका मङ्सिरदेखि कार्तिकसम्मका प्रत्येक महिनामा भिन्न चरित्रलाई नायकत्व प्रदान गरी बिरहिनपुर बरेवा गाउँका सर्व साधारण जनताको भयानक शोषण र दयानीयताको चित्रण गरिएको छ । यसमा तराईको अनुकल्पित सो गाउँमा कष्टकर जीवन भोगि रहेका जीवनका माध्यमबाट नेपालको समग्रतालाई टिप्न खोजिएको छ (भण्डारी र अरू, (२०६६ ः २९८) । प्रस्तुत आलेखमा यस उपन्यासले अभिव्यक्त गरेका कथ्यगत वा अन्तर्वस्तुगत पक्षका वैशिष्ट्यलाई मात्र तलका बुँदाहरूमा समाविष्ट गरी छानबिन गर्ने प्रयत्न गरिएको छ ।
(ख) जमिन्दारी शोषणको कू्ररता
ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको कथ्यगत वैशिष्ट्य राज्यको नक्सामै अलिखित रहेको बिरहिनपुर बरेवा गाउँमा व्याप्त सामन्तवादी आर्थिक आधारका उभिएका जमिन्दारी शोषणको विकराल स्थितिको उद्घाटन गर्नु हो । यसमा जमिन्दारी शोषण एवं शासन गरि रहेको चरित्र उक्त गाउँकै जिम्दार विश्वनाथप्रसाद सिंह हो र ऊ यस उपन्यासको बाह्रौँ खण्डका असोज महिनाको प्रमुख चरित्र र समग्र उपन्यासको खल चरित्रका रूपमा प्रस्तुत भएको छ । साथै यसमा ‘म’ पात्रको मामा पनि उक्त गाउँकै पहिलेको जमिन्दारका रूपमा प्रस्तुत भएको छ । त्यस गाउँका सर्व साधारण जनता सबै शोषित, पीडित र शासित चरित्रका रूपमा प्रस्तुत भएका छन् । पहिले कुनै राणाको बिर्ता अन्तर्गत रहेको सो गाउँ देशको नक्सामा छुटे पनि धरमपुरका नामबाट सरकारी कामकाज गर्न बाध्य छ र त्यहाँ पञ्चायती काल सुरु भएपछि भने विश्वनाथका प्रत्यक्ष एवं परोक्ष शासनको पीडाका साथ सकसपूर्ण जिन्दगी भोग्न विवश छ ।
प्रस्तुत उपन्यासमा जिम्दारी शोषणका विभिन्न पक्षहरू प्रतिबिम्बित गरिएका छन् । त्यस्ता शोषणका पक्षहरूमा जिम्दारले सर्व साधारण गरिब जनताको सीमित जमिन, घर तथा भएका कताकति शरीरका गहना पनि बन्धकी राखी चर्को ब्याजका साथ असुल गर्ने र सो वस्तु घुमाइ फिराइ आफ्नो बनाइ छोड्ने कार्य परेको छ । यसमा सामन्ती हैकम र संस्कार बोकेको विश्वनाथले आफूले भनेको कुरो सम्पूर्ण गाउँलेले मान्नै पर्ने र नमानेका खण्डमा विभिन्न यातना, आरोप, लाञ्छना, आक्रमण र हत्या नै गर्ने गरेको सन्दर्भ पनि प्रस्तुत गरिएको छ । यस उपन्यासका अनुपसिंह मिस्त्रीकी पत्नी बिननीले विश्वनाथको रतिरागात्मक चाहनालाई अस्वीकार गरेकीले उसले बँधुवी र बोक्सीको लाञ्छना भोग्नु परेको, जिम्दारले भनेको नमान्ने एउटी बिधुवीका खेतको बिचैबाट सडक निर्माण गरी दिएर भएको थोरै खेतमा पनि क्षति पु¥याएको, जिम्दारले गरेका शोषण र अत्याचारका खिलाफमा आवाज उठाउन खोज्ने इनराको हत्या नै गरी दोरहन्तल पोखरामा फाली दिएको, सुनरालाई काल्पनिक आक्रमण र घरका सामान चोरेको जाली योजनामा प्रहरी मार्फत यातना थोपरेको, जिम्दारकै शोषण विरुद्ध लागेको सलिमा मुसलमानलाई भारतबाट गाईको मासु ल्याएर दाजुकी छोरीको बिहामा भोज ख्वाएको भन्ने गलत आरोप लगाई मरणासन्न हुने गरी अज्ञात व्यक्तिबाट आक्रमण गराएको सन्दर्भले सो कुराको पुस्टि गर्दछ ।
प्रस्तुत उपन्यासमा जिम्दारी शोषणको पक्ष गाउँमै विकास निर्माणको कार्य गर्ने नाममा पनि प्रकट भएको छ । गाउँमा दुर्गन्धित भई भग्नावशेषमा परिणत हुन लागेको इनारको मरम्मत गर्न तथा खोलाको बाँध बाध्न आवश्यक रहे पनि त्यसका निम्ति जिम्दारको रबैया त्यहाँका गरिब जनतामाथि आतङ्क मच्चाउने गरी प्रकट भएको छ । विश्वनाथले जन भावना बुझ्ने त कुरै भएन, साथसाथै गरिबी र विपन्नताको कष्टपूर्ण पीडा झेली रहेका गाउँलेका जीवनमा नै चट्याङ पर्ने गरी चन्दा सङ्कलन गरेको, सरकारबाट आउने रकमबारे हिसाब किताबै नदेखाएको, विकास निर्माणका काम भने जन श्रमदानबाटै गराउने गरेको, श्रमदानमा नजाने वा गए पनि जिम्दारका इच्छा अनुसार नचल्नेमाथि तिखा गाली र छडीले आक्रमण गरी मरणासन्न पर्ने गरी कुटपिट गरेको सन्दर्भले पनि जिम्दारी शोषण र यातनाको कू्रर स्थितिलाई अभिव्यक्त गरेको छ ।
अलिखित उपन्यासमा देशको राजधानी र अन्य क्षेत्रबाट, सरकारी निकाय वा माथिल्ला तहबाट आएका व्यक्ति वा अन्य मानिसको सेवा र सुविधाको काममा पनि जिम्दारकै माध्यमबाट गाउँका मानिसले र त्यसमा पनि विशेष गरी महिलाहरूले पीडा झेल्नु परेको छ । ती निकायका मानिसले गाउँको स्थितिलाई जिम्दारकै सल्लाह अनुसार बुझ्ने गरेका छन् र गाउँले समक्ष यसो उसो गरि दिने भनी फोस्रा आश्वासन बाँडेर गाउँलेलाई भ्रममा पारी रहेका छन् । त्यसमा जिम्दारका आँखाबाट गाउँलाई हेर्ने प्रवृत्ति सरकारी वा अन्य माथिल्ला निकायका मानिसमा देखिन्छ । लहडी स्वभावको जिम्दारले सम्पूर्ण गाउँलेलाई त सताएकै छ, साथसाथै आफ्नो सेवा र टहल गरि रहेका मानिसमाथि पनि ज्यादती देखाएको छ । उसले आफ्नै घरमा काम गर्ने नथुनीलाई कोपरामा भात खान लगाएर, एउटा लोग्नेलाई उसकै सुत्केरी श्रीमतीको दुध राखेर बनाएको चिया पिउन लगाएर तथा एउटा भोको बालकलाई शरीरभरि सक्खर दली कमिलालाई टोक्न लगाएर पनि आफ्नो उरन्ठेउलो मोजमस्ती पुरा गरेको छ । अरूमाथि यातना थोपरेर वा गाउँलेका विवशताको नाजायज फाइदा उठाएर आत्मसन्तुष्टि लिने जिम्दारको उक्त प्रवृत्ति अमानवीय र निकृष्ट किसिमको छ । ऊ कतिसम्म निच र स्वार्थी छ भने उसले आफ्नै सेवा र चाकरीमा लागि रहने जोखुकी छोरीलाई रङ्गलाल पहलमान मार्फत अपहरण गर्न लगाएर पनि आफ्ना मान्छेलाई चुनावमा जिताउने स्वार्थ पुरा गर्ने योजना बनाई रहेको छ । पहिले सुनरालाई फँसाउन छोरीको अपहरणको नक्कली जाल रच्न जिम्दारलाई सहयोग गर्ने जोखु पछि साँच्चै नै छोरीको अपहरण भएपछि लाचार र विवश बनेर दौडी रहेको देखिन्छ । त्यसका साथै गाउँमा कुनै मान्छे तब मात्र ठिक हुन्छ जब जिम्दारलाई ठिक लाग्छ अनि त्यस गाउँमा अरू मान्छेलाई तब मात्र भोक लाग्न पाउँछ जब जिम्दारलाई भोक लाग्छ । यस प्रकारको अचम्मको विडम्बना भोग्न बिरहिनपुरबासी विवश र बाध्य भएको कुरा यस उपन्यासमा वर्णित छ । यसमा जिम्दारी शोषणको उग्र रूप ‘म’ पात्रकै जिम्दार मामाका क्रियकलापबाट पनि प्रकट भएको छ । गाउँले समक्ष जिम्दार मामा केही उदारता सहित पेस आएको देखिए पनि उसको कारिन्दो बाजे चरित्र मार्फत भएका मोहीमाथिका ज्यादतीपूर्ण क्रियाकलापले जिम्दारी शोषणका उग्र रूपलाई नै प्रतिबिम्बित गरेका छन् ।
प्रस्तुत उपन्यासमा आएका उपर्युक्त केही प्रतिनिधि प्रसङ्गहरूले नै पनि जिम्दारी शोषणका उग्र स्थिति र रूपहरूलाई प्रस्तुत गरेका छन् । यस उपन्यासको सुरुदेखि नै उपस्थित भएको विश्वनाथ र उसका गाउँलेलाई सताउने खालका अन्य विभिन्न क्रियाकलापले सामन्ती अर्थतन्त्र, अज्ञानता, अशिक्षा, अचेतनावस्थाका जनताको जीवनमाथि अमानवीय शोषण, यातना र कहर थोपरी रहेका छन् । यसमा जमिनदारको असीमित शोषण र उत्पीडन हुँदाहुँदै पनि जनताले अवाक् रहनु पर्ने अवस्था, जमिनदारको पुख्र्यौली प्रतिष्ठा, उसका आश्रयमा मान्छेको दुर्दशा, व्यवस्था र प्रशासनका यन्त्रलाई प्रयोग गरेर फाइदा लिने उसको कुचेष्टा आदिका मार्मिक सन्दर्भ प्रस्तुत गरिएका छन् । यसमा जिम्दारी शोषणका विरुद्ध इनरा र सुनराले केही विद्रोह गर्ने प्रयास गरेका भए पनि त्यो विद्रोह सङ्गठित र सामुहिक विद्रोहका रूपमा उठेको छैन (बराल, २०६४ ः १८८) । उपन्यासकारको उद्देश्य पनि त्यसरी विद्रोहलाई प्रस्तुत गर्ने देखिन्न । यति भएर पनि प्रस्तुत उपन्यासले देशमा तत्कालीन अवस्थामा रहेको पञ्चायती शासन र त्यस अन्तर्गतको जमिनदारी शोषणको क्रूरताका अनेक पक्षका यथार्थतालाई गहिराइका साथ विश्लेषण गरेको देखिन्छ र त्यसमा सूक्ष्म आलोचनात्मक दृष्टि पनि प्रकट भएको छ ।
(ग) गरिबी, अभाव र विपन्नताको कहाली लाग्दो स्थिति
ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासमा बिरहिनपुर बरेवाका सर्व साधारण जनताको गरिबी, अभाव र विपन्नताबाट कहाली लाग्दो बनेको जीवन चित्रित गरिएको छ । यसमा सम्पूर्ण बरेवाबासीका घरमा पेट भर्ने अन्न भित्रिँदैन, शरीरमा लगाउने लुगा हुँदैनन् र बास बस्ने सुरक्षित झुप्रो पनि उपलब्ध भएको देखिन्न । यस उपन्यासमा राजधानीबाट पुरातात्विक एवं सांस्कृतिक उत्खननका निम्ति गएका ११ जना विशेषज्ञ समेतको टोली कम महत्त्वको प्राचीनताको खोजमै रमाएको छ तर त्यस गाउँका जनताको जारी जीवनको दयनीयता र विवशताप्रति राज्यको र स्वयं उत्खनन टोलीका प्रमुखहरूको समेत कुनै चासो र सरोकार रहेको देखिन्न ।
प्रस्तुत उपन्यासमा पुरै गाउँको गरिबी, भोकमरी, महामारी र विवशताको कहाली लाग्दो बिम्ब उत्रेको छ । यस उपन्यासकी मतियाकी माईको शरीरको धोती च्यातिएर पिँडालुका झैँ गाँठैगाँठा पर्नु परेको मात्र होइन अरू मान्छेका अगाडि शरीरको लाज ढाक्न सानो बच्चालाई काखमै राखी रहनु पर्ने विवशता छ । ७५ । ८० वर्षकी कथनी बुढियाले जीवन धान्न घर घरमा जाँदै कथाहरू सुनाउँदै छाक टार्नु परेको छ । उसले आश्रय लिने झुप्रोमा पानी चुहिएर रात बिताउनै नसक्ने अवस्था छ । यस उपन्यासमा आएकी दुखनीको डेढ वर्षको बालकले आमाको दुध बाहेक केही खान नपाएर निदाउनका निम्ति आमाको पिटाइ खानु पर्ने र पिटाइकै कारण कमजोरीवश रुन नसकेर निदाउन बाध्य हुनु परेको दिनदिनैको मार्मिक स्थिति चित्रित छ । अन्ततः त्यही बालक अनिकालका कारण मरेपछि मातृबात्सल्यले विह्वल बनेकी दुखनीले दोरहन्तल पोखरीमा हुत्याई दिएको प्रसङ्क यस उपन्यासको मर्मभेदी घटनाका रूपमा चित्रित भएको छ । त्यस घटनाले पाठकलाई विदीर्ण, विह्वल र करुणार्द्र तुल्याएको छ । वस्तुतः एउटी आमाले मुटुको टुक्राजस्तो बच्चालाई चुटेरै सुताउनु पर्ने अवस्था र बात्सल्य विह्वल भई उसको लास पोखरीमा फाल्न पुग्ने अवस्था ज्यादै कहाली लाग्दो र भयानक विसङ्गतिले भरिएको देखिन्छ । उपन्यासमा दुखनीको लोग्ने पनि वर्ष दिनअघि हैजाले मरेको छ । यसरी गाउँँको गरिबी भयावह बनेर बाल, बृद्ध आदि सबैका लागि कहर बनेर प्रस्तुत भएको छ ।
प्रस्तुत उपन्यासमा १० वर्षको सुरजा नामको बालकले आफ्नोे र दिदी भिनाजुका घरको समेत गरिबी हटाउन दोरहन्तल पोखरामा हाम फालेर आत्महत्या गरेको छ । पोखरीमा अथाह धन सम्पत्ति रहेको र त्यो कलियुगको कुनै गरिबका नाममा लेखिएको भन्ने किंवदन्तीले सुरजालाई पनि लोभ्याएको छ र उसको कलकलाउँदो बाल्य जीवन नै पोखरीमा मिसिएको छ । एउटा परिपक्व उमेरका व्यक्तिले गरिबीको विवशता महसुस गरेर आत्महत्या गर्नु तै स्वाभाविक देखिएला तर सुरजाजस्तो अपरिपक्व बालकको दिमागमा गरिबीको विवशता कति नराम्रो गरी गढेको रहेछ भन्ने कुरा उपन्यासको उपर्युक्त मार्मिक प्रसङ्गले मुखरित गरेको छ ।
प्रस्तुत उपन्यासमा आएका उपर्युक्त प्रसङ्गका अतिरिक्त थुप्रै भयावह गरिबी र कहाली लाग्दा दरिद्रताका पक्षहरू तलका उद्धरण मार्फत पनि प्रतिबिम्बित भएका छन् ः
ड्ड अब दुःख वा दारिद्र्यमा त्यो तेज रहेन जसले आँखामा आँसु ल्याओस् (पृ.१०७) ।
ड्ड गरिबीको चर्चा नगरे पनि हुन्छ किनभने जुन दिन पेटभरि र राम्रो खाना खाए, तिनीहरू (गाउँले)
सोच्थे यो विलासिताले म बिग्रने भएँ (पृ.१८४) ।
ड्ड खान पाउँदैनन् अनि जुनसुकै रोग पनि त्यहाँ महामारी भइ दिन सक्छ । रोगले पनि हेपेको हुन्छ ।
तपाईँले विचार गर्नु भएको होला कुनै पनि महामारीको उद्घाटन यसै गाउँबाट हुँदो हो (पृ.१५२) ।
ड्ड जीवन समस्या पनि होइन, किनभने यिनीहरू जीवनले लात हिर्काएका मानिस हुन् (पृ.१२४) ।
गरिबीले ग्रस्त बिरहिनपुर बरेवाबासीहरूको जीवन पशुसँग केवल दुई र चार खुट्टाका कारणले भिन्न छ अनि सुँगुरको खोरभन्दा मानिस बस्ने घर केवल अटाउन र बस्न नसक्ने भएकाले मात्र भिन्न बनाइएको छ । यसरी प्रस्तुत उपन्यासले बिरहिनपुरवासी जनताका अभाव, गरिबी र कहाली लाग्दा दरिद्रताका पीडाहरूलाई राज्यले पटक्कै नसुनेको मार्मिक पीडालाई सूक्ष्म र कारुणिक तरिकाले प्रस्तुत गरेको देखिन्छ ।
(घ) राजनीतिक कुरूपता र राज्य संयन्त्रको दुरुपयोग
अलिखित उपन्यासमा देशका राज्य संयन्त्रको चरम दुरुपयोग भएको र राज्यको काम जनताका ताता र जारी समस्याको समाधानतिर नभई समस्यालाई झन् बल्झाउन र चर्काउनमा केन्द्रित रहेको यथार्थ प्रस्तुत गरिएको छ । प्रस्तुत उपन्यासले परोक्षतः २०४० सालताकको तत्कालीन नेपालको पञ्चायती कुशासनको प्रतिबिम्ब उतारेको छ । यसमा प्रत्यक्ष रूपमा पनि देशको शासनाधिकारमा पुगेका तत्कालीन जनप्रतिनिधि राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च पदको उल्लेख पनि गरिएको छ र तिनका जनविरोधी कार्यको चित्रण पनि गरिएको छ ।
प्रस्तुत उपन्यासमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ खालको राज्यको रबैयाप्रति व्यङ्ग्य गरिएको छ । यस उपन्यासका ११ जनाको पुरातात्त्विक एवं सांस्कृतिक उत्खनन टोली प्राचीन कालका वस्तु र स्मारकको सङ्कलनका निम्ति गएको छ तर गाउँका जनताको विवशता र बाध्यताको खोजबिन गर्ने काम राज्यबाट भएको देखिन्न । उत्खनन टालीकै सहभागीहरू पनि जीवित जनताको उद्धार गर्न छोडेर गढेका मुर्दाको उत्खननको कार्य गर्र्नुलाई बिडम्बनापूर्ण मानि रहेका पनि छन् । विरहिनपुर बरेवा गाउँ देशको नक्सामा पारिएको छैन । त्यहाँका गरिब एवं अनागरिक बनाइएका जनताले भोग्नु परेको गरिबी, शोषण, भयग्रस्त जीवन राज्यबाट उपेक्षित र अनुल्लिखित रहेको छ । तिनका बिहान बेलुकाका समस्याहरूप्रति राज्यलाई मतलब छैन । यस प्रकारको स्थिति उक्त विरहिनपुर बरेवा गाउँको मात्र होइन देशकै पनि हो भन्ने साङ्केतिक अभिव्यक्ति पनि यस उपन्यासले अभिव्यक्त गरेको छ । यसबारे कृष्णचन्द्रसिंह यसो भन्छन् ः
ड्ड यो देश आफै नै बिरहिनपुर बरेवा जस्तो छ र हाम्रो समाजले त्राण पाउन सकेको छैन, मान्छेहरू यस्तै शासना भोग्न श्रापित छन् अनागरिक सरह तथा देशको अभिन्न अङ्ग नलाग्ने उपेक्षित ठाउँहरू, जातिहरू मान्छेहरूलाई इङ्गित गर्न यस्ता बिम्ब आयोजित भएका हुन् मिथकीय परिकल्पना गर्नु परेको हो (प्रधान, २०४३ ः ४०७) ।
बिरहिनपुर बरेवा गाउँमा गएको ११ जनाको उत्खनन टोलीभन्दा पहिला पनि अर्कै टोली गएको तथा यो टोलीपछि पुनः अर्को टोली जाने कार्यक्रम पनि रहेको उल्लेख पनि उपन्यासमा गरिएको छ । यसरी जहाँ समस्याहरू छन् त्यसप्रति राज्यको कुनै चासो र सरोकार नरहेको तर जहाँ हुँदाखाँदा बुद्धिजीवी भनाउँदा र राज्यका माथिल्ला तहका मानिसलाई लाभ हुन्छ त्यहाँ चासो रहेको कुरो यसमा प्रस्तुत गरिएको छ । यही कुरो राज्यले नेपाली जनता र त्यस प्रकारका गाउँमाथि गरेको उपेक्षा हो भन्ने कुरो प्रतीकात्मक रूपमा प्रस्तुत उपन्यासले अभिव्यक्त गरेको छ ।
प्रस्तुत उपन्यासमा गरिब किसानका नाममा राज्यले गर्ने कृषि विकास बैङ्क मार्फतको ऋणको सुविधा पनि जिम्दारले नै लिने गरेको कुरो पनि प्रस्तुत गरिएको छ । पहिले लिएका ऋणको असुलीका निम्ति आएको बैङ्कको अधिकृतलाई सो ऋणको भुक्तानी त कता हो कता उल्टै जिम्दारले आफ्नै विधवा ३० वर्षे भतिजीको शरीरलोभ देखाएर थप ऋणको आश्वासन प्राप्त गरेको छ । त्यस्तै सरकारी सेवा र अन्य खालका राज्यको पहुँचवाला मानिस मार्फत पनि जिम्दारले नै फाइदा उठाउने गरेको, आफ्ना विरोधीलाई तह लगाउन पनि राज्यकै प्रहरी प्रशासनको दुरुपयोग गर्ने गरेको, आफ्नो मान्छे वैजनाथलाई प्रधानपञ्चको चुनावमा जिताउनका निम्ति पनि तिनै प्रहरीको उपयोग गरेको देखिएको छ । यसरी सर्व साधारण गरिबका पक्षमा लक्ष्यित रहनु पर्ने योजनाहरू कम महत्त्वका पुरातात्त्विक उत्खननमा र तिनै गरिबहरूका सुविधा र सुरक्षामा रहनु पर्ने प्रहरीहरू जनताकै विरुद्धमा लक्ष्यित रहेको बिडम्बनालाई अलिखित उपन्यासले प्रस्तुत गरेको छ । यस सन्दर्भमा कृष्णचन्द्रसिँह प्रधानकै भनाइ यस्तो छ ः
ड्ड जनश्रुतिमा आधारित उपन्यासको मिथकीय परिकल्पना एउटा संयोग हो यथार्थको प्रतीकात्मक चित्र– यिनीहरूले व्यक्त गर्ने दुर्घटनाहरू बिरहिनपुर बरेवामा मात्र होइन, नेपालको जुनसुकै ठाउँमा घट्न सक्ने र घटिरहेको हुनाले त्यहाँ देश ओर्लेको छ (प्रधान, २०४३ ः ४०४) ।
यसरी प्रस्तुत उपन्यासले पञ्चायत कालीन राजनीतिका कुरूप पक्षको चित्रण गर्नुका साथै नेपालको कुनै गाउँ विशेषको दयनीयताको मात्र होइन सिङ्गो देशकै गरिबीलाई उतारेको छ । यसबाट अलिखित उपन्यास मार्फत गरिबीले ग्रस्त गाउँ, सम्पूर्ण जनता र देशप्रति नै राज्यले गरेको चरम वेवास्ताको यथार्थ अभिव्यञ्जित भएको छ ।
(ङ) यौनजन्य क्रियकलाप र नारी उत्पीडनको यथार्थता
अलिखित उपन्यासमा उत्खनन टोलीका व्यक्तिका साथै सरकारी टोली, जिम्दार तथा गाउँकै पुरुषहरूका विकृत यौन दुराचार र त्यसबाट प्रताडित नारी जीवनको विवशता चित्रित भएको छ । यस उपन्यासका सबै नारी पात्रहरू शोषित पीडित र निरीह अवस्थाका छन् (बराल, २०६४ ः १८९–१९०) । यसमा उत्खनन टोलीकै कर्णबहादुरले प्लेव्वाई पत्रिकाका नाङ्गा फोटाहरू हेरेर मनोरचना पुरा गर्ने मानिसिक विकृतिलाई देखाएको छ । उसले गरिबीले ग्रस्त गाउँले केटीहरूलाई ती नाङ्गा फोटाहरू देखाउने र रजकलिया, लजकलिया तथा जयकलियालाई १० । १० का नोट दिएर यौन शोषण गरेको छ । उसले मामाघर बस्न आएकी विधुवी फुलवाको नाङ्गो शरीर हेर्न र आफूप्रति आकर्षित गर्न अनेक प्रयत्न गरेको छ । यस उपन्यासमा उत्खनन टोलीको प्रमुख ५० वर्षमाथिको अङ्गुरमान जिम्दारकी भतिजी सावित्रीप्रति हुरुक्क भएको छ । त्यति मात्र होइन ऋषिराम भुर्तेलको मतियासँगको आवेगात्मक चुम्बन लगायत टोलीका विभिन्न सदस्यले परिवारबाट बेग्लिएर बस्दाका रतिरागात्मक कुराकानीका अनेकौँ यौनजन्य प्रसङ्गहरू पनि यस उपन्यासमा समाविष्ट गरिएको छ ।
प्रस्तुत उपन्यासमा जिम्दार विश्वनाथले गाउँका र आफ्नै घरका ४० वर्षमुनिका आइमाईको उपयोग आफ्नो आर्थिक वा अन्य फाइदाका निम्ति गरेको निच प्रवृत्तिको चित्रण पनि गरिएको छ । ऊ बैङ्कबाट ऋण सुविधा लिनका निम्ति भतिजी सावित्रीलाई अधिकृतसँग साहित्यिक गफ र हिमचिम बढाउन लगाउनेसम्मको निच किसिमको काम गरी रहेको छ । सामन्तहरू पैसाका निम्ति कतिसम्म निचता प्रदर्शन गर्न सक्छन् भन्ने कुरो सो प्रसङ्गले उद्घाटित गरेको छ । बाहिरबाट खटिएर आएको डोर, नापी, नेताजी, पुलिस वा नातेदारका निम्ति जिम्दार कुखुरा र आइमाईको व्यवस्था गर्ने गर्छ । त्यसमा नाइँ गर्न नसक्ने बरेवा गाउँका नारीहरूको दयनीयताको चित्रण यसरी गरिएको छ ः
ड्ड आइमाईका आँखामा अन्धाकार हुन्थ्यो । केही गर्नु असम्भव । एउटा कुरा अवश्य थियो । कुखुराको त्रास त काटिएपछि समाप्त हुन्थ्यो र त्यसमा नुन–मसलाको रङ्ग चढ्न थाल्थ्यो । ठीक त्यसै क्षणदेखि आइमाईको आतङ्कचाहिँ वास्तविक मानेमा थालिन्थ्यो (पृ. ८०) ।
उपर्युक्त प्रसङ्गले बाहिरबाट गाउँमा गएकाहरूको सेवामा हुने कुखुरा कटाइ र नारीका शरीरमाथिको शोषणको यथार्थता प्रस्तुत गरिएको छ । मामाघर बस्ने फुलवामाथि उसकै मामाहरूले यौन दुव्र्यवहार गरेर गर्भवती बनाएको तथा जिम्दारले नै जोधवा भन्ने व्यक्तिलाई ४० मन धान सहित फुलवालाई स्याहार्न लगाएको प्रसङ्ग पनि यसमा प्रस्तुत गरिएको छ । यसका साथै किंवदन्तीका शैलीमा प्रस्तुत गरिएको विरहिणीमाथिको छोराछोरीका सामुन्नेको बलात्कारको प्रसङ्गका साथै मेलामा हुने यौनक्रिया, यौनक्रियाका निम्ति हुने सानातिना लेनदेनका प्रसङ्ग पनि यस उपन्यासमा ठाउँ ठाउँमा प्रस्तुत गरिएको छ । यस प्रकारका विभिन्न प्रसङ्गले यस उपन्यासमा यौनजन्य पक्षहरूको चित्रण गर्नुका साथै त्यसबाट पुरुषको विकृत विलासिता पनि प्रकट भएको छ र नारीको विवशता र उनीहरूमाथिको उत्पीडनको यथार्थता पनि उद्घाटित भएको पाइन्छ ।
(च) भय र सन्त्रासको आतङ्कराज
अलिखित उपन्यासमा प्रस्तुत बिरहिनपुर बरेवा गाउँमा रहेको दोरहन्तल पोखराका साथै जिम्दार विश्वनाथ, धरमपुर गाउँ मुख्यतः गाउँबासीका आतङ्क, भय र सन्त्रासका स्रोतका रूपमा रहेका छन् । यसमा छिमेकी गाउँ धरमपुरका मानिसहरू सबैभन्दा पापी, उद्दण्ड र क्रूर देखिन्छन् भने विश्वनाथ गाउँका लागि साक्षात् दैत्यको अवतार सावित भएको छ (बराल र एटम, २०५६ ः २८१) । उपन्यासको निम्न कथन यस सन्दर्भमा महत्त्वपूर्ण छ ः
ड्ड बरेवा, धरमपुर गाउँ, जिम्दार, पुलिस र दुर्भाग्य सबैलाई एकै पटक झेल्नमा खप्पिस भइ सकेको थियो । डाँकु, बाढी, सुक्खा र महामारीजस्ता छोटामोटा छोटामोटा किन मानिन्थे भने यी गाउँमा कहिले काहीँ मात्र भ्रमण गर्न आउँथे, दैनिक रूपमा होइन (पृ.२०१) ।
यस उपन्यासमा दोरहन्तल पोखरा तत्कालीन शासन व्यवस्थाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । यसको स्वैरकाल्पनाले बरेवा गाउँलाई नै त्यस पोखराले निलेको सन्दर्भ प्रस्तुत गरेको छ । जसरी राज्यबाट नक्साङ्कनका निम्ति गएको टोलीले बरेवा गाउँलाई छोडि दिएको छ त्यो छोडाइ शासकीय लापर्वाही वा गाउँ र जनताप्रतिको गैरजिम्मेवारीपनको चरम रूप हो । अझ गाउँलाई र त्यहाँका जनताको विवशतालाई अनदेखा गर्ने कुनियतको उदाहरण हो । उपन्यासको अन्तिम खण्डमा आएको स्वैरकल्पना तत्कालीन शासकीय लापर्वाही र कुनियतलाई उदाङ्ग पार्ने एउटा विधि मात्र हो । त्यसैले यसमा प्रस्तुत उक्त पोखराले प्रतीकात्मक रूपमा तत्कालीन कुशासन र गैरजिम्मेवारीपन खुलस्त पारी दिएकोे छ ।
प्रस्तुत उपन्यासमा दोरहन्तल पोखरा गरिबीबाट मुक्ति प्राप्त गर्ने मृगतृष्णा बनेको छ । दुर्योधनले त्यहाँ अथाह धनराशी छोडेको र त्यो कलियुगका कुनै गरिबका नाममा लेखी दिनु भन्ने किंवदन्ती त्यहाँ प्रचलित छ र त्यही गरिब आफू नै रहेको कल्पना वेरेवाबासी धेरैले मात्र होइन मामाघर गएका यस उपन्यासका ‘म’ पात्रले पनि गरेको देखाइएको छ । सुरजाले गरिबीबाट मुक्ति प्राप्त गर्ने सपनाले नै त्यसमा हाम फालेको हो । यसरी गरिबीबाट मुक्ति प्राप्त गर्ने नाममा पोखरी मृत्युको कारण र आतङ्कको स्रोत पनि बनेको छ ।
प्रस्तुत उपन्यासको भयानकताको जिउँदो रूप जिम्दार विश्वनाथ नै हो । उसका अगाडि कसैले केही बोल्ने र विरोध गर्ने साहस गर्नै सक्दैन । उसले विरोध गर्नेमाथि हुने परिणामका बारेमा त इनराको लास पोखरीमा फाली दिएरै सचेत गराई सकेको छ भने अलिअलि विरोध गर्न खोज्ने सुनरा र सलिमामाथिको कारबाहीबाट सबैमा सचेतना प्रदान गरेको छ । त्यसैले जिम्दार उक्त गाउँको आतङ्कको जीवित व्यक्तित्व हो । जिम्दारकै मान्छे रङ्गलाल पहलमान गाउँलेमाथि यसरी आतङ्क मच्चाई जिम्दारको सेवा पु¥याई रहेको छ ः
ड्ड पहलमानी र लट्ठी खेल्ने दुवै महान् गुण एउटै शरीरमा देखिएकाले गाउँमा रङ्गलालको अतिरिक्त आदर थियो । त्यस कारण रङ्गलाल वा उसको लट्ठी दुईमध्ये जुन देखे पनि जिल्लाबजारका मानिस आत्मैदेखि झुक्न सुरु गर्थे र तबसम्म झुकि रहन्थे जबसम्म उसको शरीर तिनीहरूलाई सबुत छाडेर अगाडि बढ्दैनथ्यो (पृ.१६४)।
जिम्दारकै स्वतस्फूर्त निर्देशनमा चल्ने प्रहरी आतङ्कबारे यस उपन्यासमा यसो भनिएको छ ः
ड्ड हत्या र बलात्कारमा निकै सन्तुलित किसिमको न्याय गरिन्थ्यो । बलात्कारको बदला कहिले काहीँ बलात्कार हुन सक्थ्यो । ... शरीर कसैको पनि छोइन्नथ्यो, प्रजातन्त्रको सिद्धान्त अनुसार र छुनै प¥यो भने पहिले हातमा लट्ठी फिट गरिन्थ्यो र त्यसपछि एउटा कम्बलजस्तो वस्तु भिजाएर शरीरलाई हिफाजत गर्ने दृष्टिले बेरिन्थ्यो । त्यसपछि मात्र शरीरलाई छुने काम गरिन्थ्यो (पृ.१६५–६६) ।
बिरहिनपुर बरेवाका जनतामा धरमपुर गाउँबाट हुने डकैती ठुलो आतङ्कको स्रोत बनेको छ । बरेवा गाउँमा केही लुट्न लायक रकम वा वस्तु जम्मा भएको लागेमा धरमपुरवासी आई पुग्छन् । मतियाको बुलाकी लुट्न उसकै दाजु सरजुको साथी धरमपुरकै शङ्कर आएको छ र मतियालाई रक्ताम्मे पारेर बुलाकी लुटेको छ । सुनराका घरमा आगो लगाइएको छ भने प्रत्येक घरघरमा पसेर धरमपुरबासीले गरेको लुट र ज्यादतीप्रति कोही प्रतिवाद र प्रतिरोधका निम्ति उत्रिन सक्तैन । यस प्रकारको गतिहीना, सन्त्रास र भयावह आतङ्क बिरहिनपुर बरेवा गाउँमा व्याप्त रहेको चित्रण उपन्यासमा गरिएको छ । उक्त भयावह स्थिति बाहेक सर्व साधारण गरिब जनतामाथि प्रहरी प्रशासनको आतङ्क, पसाहा नदीमा आउने भयानक बाढी, बगेर आउने गरेका लास, सर्पको टोकाइ र सर्पलाई खेलाउने धरीछन कोइरीको नै पनि सर्पकै टोकाइबाट भएको मृत्युको सन्दर्भले पनि गाउँबासीले झेल्नु परेको त्रास र आतङ्ककै सन्दर्भलाई अभिव्यक्त गरेको छ ।
(छ) अशिक्षा, अज्ञानता र विवशता
अलिखित उपन्यासमा बिरहिनपुर बरेवा गाउँमा रहेको अशिक्षित जनताको स्थिति र त्यसबाट उनीहरूले भोग्नु परेका अज्ञानता र विवश जीवनको यथार्थपरक चित्रण गरिएको छ । यस उपन्यासमा उक्त गाउँको सबैभन्दा बढी पढेको भनिएको व्यक्ति जिम्दारको मान्छे वैजनाथ हो जसले शरीरभरि चिट र सहयोगीहरू समेतका मद्दतमा एस.एल.सी. पास गरेको छ । त्यसै व्यक्तिले शिक्षामन्त्री नै हुने सपना दखेको पनि छ । सुनराले आठसम्म पढे पनि एस.एल.सी. पास गर्न भने सकेको छैन । यसैले गाउँमा पढेलेखेका मानिस ज्यादै न्युन छन् र त्यसै कारण पनि त्यहाँका जनता आफ्ना हक र अधिकारका बारेमा अनभिज्ञ रही जिम्दारी शासन र अन्य तमाम प्रकारका उत्पीडन र विवशता भोग्न विवश छन् । यस उपन्यासमा आएका तलका केही प्रसङ्गले गाउँको शैक्षिक अवस्थाको झलक प्रस्तुत गरेका छन् ः
ड्ड कहिले काहीँ स्कुलमा ठ्याम्मै विद्यार्थी हुँदैनथे र शिक्षकहरू सम्झाउँदा थाकेर स्कुल बन्द गरेर आ–आफ्ना घर फर्कन्थे (पृ.१८२) ।
ड्ड (त्यहाँका) केटाकेटीहरू पुख्र्यौली धर्म पालन गर्दै लगभग त्यत्तिकै अशिक्षित थिए जति तिनका पूज्य मातापिता हुने गर्थे (पृ.१८३)
प्रस्तुत उपन्यासमा विरहिनपुर बरेवा गाउँको उक्त शैक्षिक स्थिति सम्बन्धी श्यामव्यङ्ग्यात्मक टिप्पणीबाट नै त्यहाँको जीवनको अज्ञानता र अचेतनावस्थाको स्थितिबोध भएको छ । यसमा उल्लेख गरे अनुसार उक्त गाउँको स्कुल दुई कोस टाढा थियो र पढ्न जाने विद्यार्थीहरू त्यहाँ पुग्दै थाकेर लखतरान पर्थे । त्यहाँका अभिभावक छोराछोरीलाई पढाउन भन्दा अन्य घरायसी काममा संलग्न गराउनमै आनन्द र फाइदा पाउँथे । गरिबहरूले पढेर कुनै फाइदा हुन नसक्ने उनीहरूको अन्ध धारणा थियो । त्यसै कारण त्यहाँका जनताका बिच निम्न कोटिका अशिष्ट र अश्लील किसिमका गालीगलौज हुने, ससाना कुरामा पनि झैझगडा भइ हाल्ने गरेको देखिन्छ । त्यसैले जिम्दारकै मनोमानीमा अनुपसिंह अछुतबाट छुतमा बदलिएको छ, कति स्त्रीले गौना र दुना नभएका कारण माइतै बस्न बाध्य हुनु परेको छ, कतिले सौताका रूपमा भित्रिएर पुरुष ज्यादती बेहोर्नु परेको छ र जिम्दारकै मनपरीमा समाजिक र सांस्कारिक नियम बनेका छन् । मानिस आफ्नो कर्तव्यका बारेमा पनि कति अनभिज्ञ छन् भन्ने कुरा “आमालाई कुट्नु त गाउँको आम घटना मानिन्थ्यो , तर बाबु यदाकदा मात्र कुटिन्थे (पृ.१८४)” जस्ता घटनाबाट पनि बुझ्न सकिन्छ । यसरी बिरहिनपुर बरेवा गाउँका जीवनमा कहाली लाग्दो बनेर प्रस्तुत भएका विवशता, बाध्यता, दरिद्रता, शोषण, अमानवीयता आदि सबैका कारणहरूमा त्यहाँको जीवनमा रहेको अशिक्षा र अज्ञानता पनि हो भन्ने तथ्यलाई अलिखित उपन्यासले मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
(ज) निष्कर्ष
अलिखित उपन्यासमा देशभित्रको तर शासकहरूद्वारा अलिखित राखिएको गाउँका साधारण जनतामाथि भइ रहेको जिम्दारी शोषणको यथार्थ र भयावह स्थितिको उद्घाटन गरिएको छ । यसमा बिरहिनपुर बरेवा गाउँका खाना, नाना र छानाका आधारभूत समस्याले ग्रस्त भएका, राज्यबाट बेवास्ता गरिएका अनि अभाव, विपन्नता र दरिद्रताको असह्य पीडा झेलि रहेका सर्व साधारण जनताको दुरवस्थाको चित्रण गरिको छ । सरकारी वा अन्य खालका बाहिरबाट आएका ठुलाबाडा भनाउँदा मानिसले त्यस गाउँका महिलाहरूमाथि गरेका दुव्र्यवहार मात्र नभई जिम्दार र त्यस गाउँकै पुरुषहरूबाट भएका दुव्र्यवहारका तथ्यलाई पनि यस उपन्यासले प्रस्तुत गरेको छ । उक्त गाउँ छिमेकी गाउँ धर्मपुरबासीबाट हुने डकैती, बेला बेलाको विपत्तिका रूपमा उत्पन्न हुने महामारी र विनाशकारी रोग, सुक्खा, बाढी मात्र होइन प्रहरी आतङ्क, धार्मिक अतिवाद आदि सारा मानवीय दुर्भाग्य भोग्न र थेग्न विवश बनेको छ । त्यस प्रकारका बहुमुखी समस्यामा अभिशप्त हुन पुगेको बिरहिनपुर बरेवा गाउँ देशको नक्सामै अलिखित राखिएको छ र राज्यको रकम र कथित बुद्धिजीवीको ध्यान कम महत्त्वका पुरातात्त्विक उत्खननतर्फ केन्द्रित हुन पुगेको बिडम्बनालाई पनि प्रस्तुत गरिएको छ । बिरहिनपुरवासीका ती समस्या एउटा गाउँका मात्र नभएर सिङ्गो देश वा नेपालकै समस्या हुन् भन्ने अभिव्यञ्जना पनि प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत उपन्यासमा धु्रवचन्द्र गौतमले तत्कालीन शासन व्यवस्थाभित्र जनतामाथि भएको जिम्दारी शोषण, जनताको विपन्नता, दुव्र्यवहार र राज्यको उपेक्षा लगायतका समस्या र यथार्थलाई प्रस्तुत गरी ती यथार्थ पीडाहरू अनुल्लिखित रहन पुगेका जनताको मार्मिक स्थितिलाई औपन्यासिक कथ्यका रूपमा प्रभावकारी व्यङ्ग्यका साथ प्रस्तुत गरेका छन् ।
सन्दर्भ सामग्री
गौतम, धु्रवचन्द्र (२०६६), अलिखित, (छैँ.सं.) ललितपुरः साझा प्रकाशन ।
पोखरेल, माधवप्रसाद (२०६०), ‘अलिखित उपन्यासको रचना शिल्प’ आख्यानपुरुष डा. धु्रवचन्द्र गौतम, नेपालः
चितवन वाङ्मय प्रतिष्ठान ।
प्रधान, कृष्णचन्द्रसिंह (२०४३), नेपाली उपन्यास र उपन्यासकार, (दो.सं.) ललितपुर ः साझा प्रकाशन ।
बराल, ऋषिराज (२०६४), साहित्य र समाज, ललितपुरः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुरः साझा प्रकाशन ।
भण्डारी, पारसमणि र अरूहरू (२०६६), नेपाली गद्य र नाटक, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
सुवेदी, राजेन्द्र (२०६४), नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, (दो.सं.), ललितपुरः साझा प्रकाशन ।
सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा