14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

व्यक्तित्व / कृतित्व डा. विष्णुप्रसाद पौडेल June 2, 2012, 12:36 pm
डा. विष्णुप्रसाद पौडेल
डा. विष्णुप्रसाद पौडेल

सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार भए पनि उनको साहित्यिक लेखनमा आख्यानकारिता नै मुख्य विधाका रूपमा देखिएको छ । आख्यानमध्ये पनि उपन्यासमा उनको विशिष्टता रहेको छ । उनका नौ वटा उपन्यासमध्ये महत्त्वपूर्ण उपन्यासहरूमा ‘एक पालुवा अनेकौँ याम’, ‘चपाइएका अनुहारहरू’, ‘थाकेको आकाश’, ‘भोक र भित्ता’ र ‘ज्योति ज्योति महाज्योति’ देखिन आएका छन् । यिनका संरचनात्मक कलेवरमा नेपालको राष्ट्रियदेखि अन्तर्राष्ट्रिय परिवेश, त्यहाँको विसङ्ग स्थिति वा अमानवीयता, व्यक्तिका जिजीविषा, मनोवैज्ञानिक व्यथा, सांस्कृतिक सघनता र दार्शनिकता जस्ता कुरा संश्लिष्ट भएर आएका छन् । त्यसले विष्टलाई सक्षम नेपाली उपन्यासकारका रूपमा स्थापित गरेको छ ।

१.१ दौलत विक्रम विष्टको सङ्क्षिप्त जीवनी

१.१.१ जन्म तथा पारिवारिक पृष्ठभूमि

सोमराज विष्ट र मान कुमारी विष्टका जेठा छोरा दौलत विक्रम विष्ट हुन् । यिनको जन्म १९८३ साल असोज ६ गते प्रतिपदा तिथिमा भोजपुरको बजारमा भएको थियो (विष्ट, २०५२क ः ६१) । यिनको पुख्र्यौली थलो लमजुङ्को चितीमा हो (शर्मा, २०३८ ः २) तर बाबु नै त्यो ठाउँ छाडी काठमाडौँका निवासी बनेका हुँदा यिनको पनि स्थायी बसोबास काठमाडौँ नै हुन पुग्यो । यिनका पुर्खाबाटै जागिर खाने चलन थियो । लमजुङ्का यिनका हजुर बुबा रेशमी राज विष्ट नै अदालतका डिठ्ठासम्म भएका थिए । दौलत विक्रमका जेठा बुबा पद्मराज पनि सरकारी सेवामा प्रवेश गरी काठमाडौँमै घरजम गरेर बसेका थिए । त्यही पारिवारिक पृष्ठभूमिले गर्दा बाबु सोमराज पनि १६ वर्षको उमेरमै काठमाडौँ आएर खरिदार जागिरमा लागेका थिए । बाबु जागिर खान जाने क्रममै दौलत विक्रमको जन्म भोजपुरमा भएको हो । बाबुको जागिर सरुवा भइ रहने हुँदा यिनको बाल्यकाल पनि विभिन्न ठाउँ (भोजपुर, सल्यान, रक्सौल, झापा, काठमाडौँ) मा बित्तै गयो तर मातृस्नेहबाट यी सानै उमेरमा वञ्चित हुनु प¥यो । ससाना भाइहरू र यिनलाई छाडेर आमा १९९६ सालमै परलोक गइन् । त्यस घटनाको प्रभाव विष्टमा पछिसम्म परि रह्यो । आफ्नी आमाको मृत्युपछि बाबुले दोस्रो विवाह गरे । सानीमाबाट एउटी छोरी मिठु र तिन भाइ छोरा (क्रमशः शङ्कर, गोपाल र मदन)ं जन्मिए । आफ्नो ठूलै परिवार भए पनि सोमराज विष्ट जागिरे हुनुका साथै झापामा अढाइ सय बिघा जग्गा जोर्न सफल भएका थिए (शर्मा, २०३८ ः ५) । उनको सम्पन्नताले दौलत विक्रम विष्टलाई पनि टड्कारो आर्थिक कठिनाइ झेल्नु परेन ।

सम्पन्न परिवारका दौलत विक्रम विष्टको विवाह १९ वर्षको उमेरमा सुब्बा पे्रमलाल पाण्डेकी छोरी लिचुसँग भयो तर बिहे भएको तिन महिना पनि नहुँदै लिचुले छोरो जन्माएकी हुँदा (शर्मा, २०३८ ः १६) उसलाई माइतीकै जिम्मा लगाउनु प¥यो । त्यसपछि काठमाडौँ इन्द्रचोक निवासी भक्तमान बस्नेतकी छोरी नुतन कुमारीसँग विष्टको दोस्रो विवाह भयो । उनैबाट विष्टका चार छोरा (क्रमशः श्री विक्रम, ओम विक्रम, कैलाश विक्रम र अनन्त विक्रम) र दुई छोरी (क्रमशः इन्दिरा र निरु) जन्मिए । विष्टको गृहस्थी कटनी तिनै श्रीमती र छोराछोरीसँग हुँदै गयो । जीवनको उत्तराद्र्धमा आएर श्रीमतीको पनि देहावसान २०५४ सालमा भयो । यिनी पनि जीवनको अन्तिम प्रहरतिर आएर पक्षाघातको बिमारले कुँजिदै गएका थिए । त्यसले गर्दा जीवनको अन्तिम प्रहर कष्टकर बनेको बुझिन्छ । यिनको देहावसान २०५९ साल पुस १३ गते जेठा छोरा श्री विक्रमका घर भएको थियो ।

१.१.२ शिक्षा

दौलत विक्रम विष्टका पिताले औपचारिक शिक्षा नपाएका भए पनि इतिहास, धर्मशास्त्र, ज्योतिष जस्ता विषयमा राम्रै जानकारी राख्ने हुनाले उनी समाजमा विद्वान्कै रूपमा चिनिन्थे । सन्तानलाई पढाउनु पर्दछ भन्ने धारणा रहेको हुँदा उनले दौलत विक्रम विष्टलाई पाँच वर्षमै अक्षरारम्भ गराइ दिएका थिए । तर विष्टका पिताको जागिर सरुवा भइ रहको हुँदा एकै स्थानमा स्थिर भएर पढ्ने अवसर यिनलाई उपलब्ध थिएन । कहिले काठमाडौँको डिल्ली बजारमा, कहिले सल्यानको गुरुकुल पाठशालामा, कहिले झापाका गोश्वारा मुन्सीसँग र कहिले झापाको सरकारी विद्यालयमा, कहिले काठमाडौँको दरबार हाइस्कुलमा (चौथो कक्षामा), कहिले परवानी पुर स्थित मावली घरमा र कहिले विराट नगरको स्कुलमा विष्टले चाहरि रहनु प¥यो । दरबार हाइस्कुलमा पढ्न लागेपछि यिनको शिक्षा नियमित हुने सम्भावना बढ्दै गएको थियो, तर पढ्न थालेको चार महिनामै आमा मरेकी हुँदा क्रियाकर्ममा लाग्नु प¥यो । त्यसपछि झन् मानसिक अस्थिरता पनि बढ्दै गयो (विष्ट, २०५२क ः ६५) । यस्तो जटिल परिस्थिति झेल्दै गएर यिनले २००४ सालमा निजामती मध्यमा (प्रवेशिका सरह प्रथम श्रेणीमा), २०१२ सालमा प्रवेशिका (आदर्श विद्यापीठ हाइस्कुल काठमाडौँबाट तृतीय श्रेणीमा) उत्तीर्ण गरे । यसपछि त्रि.वि.मै बि.ए. र बि.एड्.तर्फ पनि यिनले अध्ययन गरेका थिए तर त्यो तह भने पुरा गरेनन् । यस्तै २००४ सालतिर खुलेको रेन्जर कोर्स पनि यिनले पढेका तर बिरामी भएका हुँदा परीक्षा नदिएको बुझिन्छ (विष्ट, २०५२ख ः ३ र १५) । भारतको अलिगढ विश्व विद्यालयबाट भने प्राइभेट विद्यार्थीका रूपमा साहित्यरत्न (स्नातक सरह) तहको अध्ययन प्रथम श्रेणीमा पुरा गरेको बुझिन्छ (विष्ट, २०५२ख ः १६) ।

यसरी औपचारिक अध्ययनमा विष्टले विविध पारिवारिक बाध्यता सहनु परेर त्यति राम्रो गर्न नसके पनि स्वाध्ययनमा भने यिनी जुटि रहे । त्यसको दरिलो आधार यिनका विभिन्न साहित्यिक रचनाहरू नै देखिन्छन् ।

विष्टको नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा राम्रै दखल थियो भने मैथली, राजवंशी, ताजपुरी र भोजपुरी भाषा पनि सामान्य प्रयोग गर्न सक्तथे (शर्मा, २०३८ ः १३) ।

१.१.३ पेसा

विष्टका हजुर बुबादेखि नै सम्पत्ति र सामाजिक प्रतिष्ठाका लागि सरकारी जागिर खाने प्रचलन रहेको हुँदा यिनले पनि २००८ सालबाट जागिरे जीवन सुरु गरे । सुरुमा यिनी वन उपमन्त्रीका निजी सचिव भएर ८ महिना काम गरे । त्यसपछि भन्सार तथा अन्तशुल्क विभागमा सिनियर क्लर्कको पदमा रहेर २०१८ सालसम्म काम गरे । २०१८ सालमै सिनियर क्लर्कबाट खरिदार र पछि सुब्बा (कस्टम इन्सपेक्टर) मा बढुवा भयो । यसपछि २०२२ साल मङ्सिरदेखि गृह पञ्चायत मन्त्रालयको मुस्ताङ् उत्तरी प्रशासन हेर्ने सहयोगी (असिस्टेट) बनेर एक वर्ष रहे । त्यसपछि २०२३ साल पुसमा पोखरा नगर पञ्चायतमा प्रधान अधिकृत भएर दुई महिना, २०२३ साल फागुनदेखि २०३६ साल फागुनसम्म रेडियो नेपालमा (२०३५–०३६ मा राजपत्राङ्कित द्वितीय श्रेणी, उपनिर्देशक), २०३६ चैतदेखि केही समय जलविद्युत्् तथा सिञ्चाइ मन्त्रालय अन्तर्गत साना जलविद्युत्् विकास समितिको प्रशासकीय अधिकृतमा (शर्मा, २०३८ ः १४–१५) र त्यसपछि शिक्षा मन्त्रालय अन्तर्गत रहेर जिल्ला शिक्षा अधिकारीका रूपमा (स्याङ्जा र नेपालगञ्जमा) काम गरे । विष्टले २०४१ सालमा स्वैच्छिक अवकाश लिएर जागिरे जीवन टुङ्ग्याए (विष्ट, २०५२ख ः २२) । वास्तवमा जागिर विष्टका लागि पुख्र्यौली प्रतिष्ठा र घर गृहस्थी धान्ने एउटा माध्यम मात्रै थियो । त्यसप्रति यिनको आन्तरिक सन्तुष्टि थिएन (विष्ट, २०५२ख ः २२) । यिनले आफ्नो जीवन साहित्य सिर्जनामै समर्पित गर्ने उद्देश्य राखेका थिए । त्यसो गर्न नपाउँदा यिनलाई प्रशस्त बेचैनीको अनुभूति हुन्थ्यो (विष्ट, २०५३ ः ८४–८६) । त्यसैले साहित्य सिर्जनालाई मात्रै आफ्नो पेसा बनाएर समाजमा बाँच्न नसक्ने भएको हुँदा विष्टले लामो समयसम्म बाध्यतावश जागिरे पेसा अपनाए पनि आन्तरिक रूपबाटै जीवन समर्पण भने साहित्यमै गरेको स्पष्ट हुन्छ (?, २०४६ ः २२) ।

विष्ट समाज सेवीका रूपमा पनि देखिएका छन् । हुन त यिनको लामो समयको जागिरे जीवन र भाषा साहित्यको सेवालाई पनि समाज सेवाका दृष्टिले हेर्न सकिन्छ । त्यस बाहेक प्रत्यक्ष समाज सेवालाई हेर्ने हो भने मोरङ् समाज सुधारक सङ्घको स्थापनामा सक्रिय हुनु, प्रगतिशील लेखक सङ्घ र जनकला केन्द्रको सदस्य हुनु, साहित्यकार सहयोग कोषको संस्थापक सदस्य बनेर क्रियाशील हुनुलाई लिन सकिन्छ । यस्ता कुराले यिनको सेवामुखी पेसालाई नै सङ्केत गर्दछन् ।

१.१.४ पारिवारिक अवस्था

सम्पन्न परिवारका दौलत विक्रम विष्ट आफै पनि भन्सार जस्तो बढी आय हुने ठाउँमा लामो समय जागिरे भएका हुँदा आर्थिक सङ्कटमा पर्नु परेन तर पनि पारिवारिक तनाब भने यिनले सानै उमेरबाटै बेहोर्दै आउनु प¥यो । १३ वर्षको उमेरमै आमा मरेपछि यो शृङ्खला बढ्दै गयो । आमा मर्नु, आफू जेठो छोरो हुनु, बाबुले दोस्रो बिहेका लागि आमा मरेको ४५ दिनमै केटी माग्न यिनैलाई पठाउनु (विष्ट, २०५२क ः ६५), आफूले बिहे गरेकी पत्नीले तिन महिनामै छोरो पाउनु, जागिर खाँदा ऐन कानुन विरुद्धको काम पनि मन्त्री, सचिव महोदयको इसारा अनुसार गर्न पर्नु (विष्ट, २०५२ख ः २२), साहित्यमा एकाग्र भएर लाग्दा घर परिवार र समाज आफूप्रति नकारात्मक बन्दै जानु, आर्थिक स्थिति पनि खस्किन थाल्नु (विष्ट, २०५२ख ः २३) दोस्री पत्नीले पनि आफूलाई छाडेर परलोक जानु, आफू शारीरिक रूपमा अशक्त र कुँजो बन्दै जाँदा आफ्नै कतिपय छोरा बुहारी, नाति नातिनाको हेलाँ हुन थाल्नु जस्ता धेरै गम्भीर सङ्कटहरू यिनले झेल्दै आउनु परेको थियो ।

१.२ विष्टको कृतित्व

विष्टले आफूभित्रको सिर्जनाको मुख्य प्रेरक आफ्नै जन्मजात साहस, भावनाशीलता, कल्पनाशीलता र अभिव्यक्तिको चाहनालाई ठान्दछन् भने सहप्रेरकका रूपमा स्वदेशी विदेशी साहित्यकारका रचना, बाबुले बेला बेलामा सुनाएका कथाहरू र आर्य समाजी विदुषी महिलाको प्रोत्साहनलाई मान्दछन् (शर्मा, २०३८ ः १९–२४) ।

यिनले दश वर्षको उमेरमा झापाको गौरीगन्जमा स्थानीय भाषामा गीत लेखेर सुनाएका थिए । त्यसपछि १९९८ मा हिन्दी भाषामा राधेश्याम बरेलीले लेखेको ‘वाल्मीकि नाटक’को अनुवाद र ‘लैला मजनु’ गीति नाटकका आधारमा ‘चाँद चकोरी’ नाटक लेखी इन्द्रजात्रा र गाईजात्रामा मञ्चन पनि गरेका थिए । यस्तै रुसी साहित्यका चेखोभको ‘नर्तकी’ कथालाई एकाङ्कीका रूपमा परिवर्तित गरी गोरखापत्रमा छपाएका थिए (शर्मा, २०३८ ः २७) । दरबार हाइ स्कुलमा पढ्दा समको ‘मुकुन्द इन्दिरा’ नाटकमा यिनले अभिनय गरेका हुँदा नाटक सिर्जनामा यिनलाई त्यसले पनि प्रेरित गरेको बुझिन्छ ।

यसरी विभिन्न अभिप्रेरणाद्वारा विष्टको साहित्यिक व्यक्तित्वको प्रस्फुटन भएको हो र यो विभिन्न विधामा विस्तारित हुँदै गएको देखिन्छ । त्यसलाई सङ्क्षेपमा क्रमशः तल प्रस्तुत गरिन्छ—

१.२.१ कविता

विष्टको साहित्यिक यात्राको औपचारिक थालनी कविता विधाबाट भएको बुझिन्छ । यिनले कृष्णचन्द्र सिंह प्रधानको सम्पादकत्वमा निस्कने शान्ति निकुञ्ज विद्यालयको ‘आँखा’ नामक पत्रिकामा आँखा नामकै कविता २००४ सालमा प्रकाशित गरेका थिए (गिरी, २०४६ ः १७८ र विष्ट, २०५२ ः ६८) । त्यो नै यिनको पहिलो प्रकाशित साहित्यिक रचना थियो । त्यसपछि विष्टले शारदा पत्रिकामा २÷४ वटा कविता प्रकाशन गरे तर ती गद्य लेखनभन्दा दुर्बल भएको टिप्पणी श्यामदास वैष्णवले गरि दिएका हुँदा यस विधामा पुनः कलम चलाउने रहर यिनले नगरेको बुझिन्छ (गिरी, २०४६ ः १७८) ।

कविता बाहेक यिनले केही गीतहरू पनि रचना गरेका छन् । ती कतिपय रेडियो नेपालबाट प्रसार पनि भएको बुझिन्छ तर विष्टका कविता वा गीत सङ्ग्रह भने प्रकाशित छैनन् । छोटोमा भन्दा सङ्ख्या र गुणस्तर दुबै दृष्टिले यिनका कविता र गीतमा उल् लेखनीय उपस्थिति पाइँदैन ।

१.२.२ लेख प्रबन्ध

कवितापछि विष्टले कलम चलाएको विधा त कथा हो । त्यसपछि भने लेख प्रबन्ध पर्दछन् । विष्टले २००७ सालमै ‘शारदा’ पत्रिकामा “नेपाली नारीहरूको वैवाहिक स्थिति” (२००७ भाद्र कार्तिक), “सुकुम्बासीहरूको समस्या” (२००७ फागुन) र “विदेशी सेनामा नेपाली” (२००७ फागुन) जस्ता स्वतन्त्र लेख प्रकाशित गरेका थिए । यस्तै रेडियो नेपालको ‘झङ्कार’ पत्रिकामा “नेपाली साहित्यमा कथाको विकास क्रम” (२०१७ भदौ), “आत्म निर्भरता” (२०२८) जस्ता समालोचनामूलक प्रबन्ध र वैचारिक प्रकृतिका सामान्य लेख पनि प्रकाशित गरेको पाइन्छ । यस्ता लेख रचना पत्रिकाहरूको सम्पादनका क्रममा सम्पादकीयका रूपमा पनि यिनले प्रस्तुत गरेका थिए । यस सन्दर्भमा २००७ सालमा यिनले सहसम्पादक भई प्रकाशित गरेको रेडियो नेपालको ‘झङ्कार’ पत्रिका स्मरणीय छ । यी बाहेक कलेज अफ एजुकेसनसँग सम्बन्धित नवीन शिक्षा पत्रिकामा छसात वटा लेख र शिक्षा मन्त्रालयको शिक्षा पत्रिकामा शिक्षा सम्बन्धी लेख अनि शिक्षा मन्त्रालयबाट प्रकाशित जागृति पत्रिकामा वैज्ञानिक भौतिकवाद, साहित्य तथा जन साहित्य नामक लेख प्रकाशित गरेको बुझिन्छ (विष्ट, २०५२ख ः १५) । यसरी विष्टका केही लेख प्रबन्ध विभिन्न पत्र पत्रिकाहरूमा फाट्टफुट्ट प्रकाशित भए पनि ती कलात्मक निबन्धका दृष्टिले खासै उल् लेखनीय नभई सम सामयिक विषयका सामान्य स्तरका देखिन्छन् । यसबाट विष्टमा तत्कालीन यथार्थ समाज बोध विकसित हुँदै गएको भने देखिन आउँछ ।

१.२.३ नाट्य रचना

विष्टको उल् लेखनीय पहिलो मौलिक नाट्य रचना “क्रान्ति” मानिन्छ (शर्मा, २०३८ ः २७) । २००७ सालको पृष्ठभूमिलाई विषय वस्तु तुल्याई लेखिएको यस नाटकलाई २०१० तिर नेपाली काङ्ग्रेसको जनकपुर अधिवेशनमा देखाउन लाने भनी जनकला केन्द्रले रिहर्सल पनि सुरु ग¥यो तर पछि त्यो त्यत्तिकै रहन गयो । त्यसपछि विष्टले तिन वटा पूर्णाङ्की र तिस चालिस वटा एकाङ्की नाटक सिर्जना गरेका तर ती धेरैजसो विभिन्न व्यक्ति (नीर विक्रम प्यासी, सांस्कृतिक विभाग आदि) ले लगेर हराइ दिएका र थोरै मात्र विभिन्न पत्रिकामा छापिएका जनाएका छन् (विष्ट, २०५२ख ः १४–१५) । केही भने मञ्चन गरेर वा रेडियोबाट प्रसारण गरेपछि त्यत्तिकै नष्ट भएको बुझिन्छ ।

विष्टको समाचार नामक एकाङ्की रेडियो नेपालको ४३ औँ जन्मोत्सवको नाटक प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । यो २०५७ सालमा प्रकाशित एक एकाङ्की दश कथामा सङ्कलन पनि गरिएको छ । यसमा सम्पन्न परिवारकी उषा र एम.ए. सम्म पढे पनि राम्रो जागिर नपाएर, साप्ताहिक पत्रिकाको सम्पादक भएर जम्मा ४०।– रुपियाँ आर्जन गर्ने विपन्न प्रेम कुमारका बिच उत्पन्न पारिवारिक तनाबलाई विषय वस्तु बनाइएको छ । प्रशस्त कमाउन नसक्ने आपm्नो लोग्ने प्रेम कुमारप्रति उषाको पहिला नकारात्मक दृष्टिकोण भए पनि पछि उसको मानवीय व्यवहार र उच्च आदर्शलाई बोध गरी उषा परिवर्तित भएकी देखाइएको छ । एकाङ्कीको विषय सम्पादन स्वच्छन्दतावादी आदर्शवादी ढङ्गमा गरिएको हुँदा स्वाभाविकताको निर्वाह त्यति हुन सकेको छैन । अन्य साहित्यिक मूल्य पनि सामान्य स्तरकै देखिन्छ ।

विष्टले २०१० देखि २०१५ सालसम्म रेडियो नेपालको प्रसारणका लागि विभिन्न लेख, ध्वनि रूपक आदि रचना नियमित रूपमा पारिश्रमिक लिएर लेखने गर्थे । महिनामा सरदर यस्ता लेख, नाटकहरू यिनले दश वटा तयार गर्नु पथ्र्यो । त्यसैले धेरैजसो हिन्दी, अङ्ग्रेजी पत्रिकाकै सामग्रीलाई यिनले सरसर्ती अनुवाद वा अनुकूलन सहित अनुवाद गरेर प्रस्तुत गर्ने र थोरै मात्रै मौलिक रचना दिने गरेको बुझिन्छ (विष्ट, २०५२ख ः १५) । यिनका यस्ता रचना साहित्यिक दृष्टिले त्यति गहकिला नभएको कुरा विष्ट आफै पनि सकार्दछन् (विष्ट, २०५२ख ः १५) । त्यसैले कविता, लेख प्रबन्धभन्दा विष्टको केही महत्त्वको लेखन नाट्य रचना भए पनि यो पनि त्यति उल् लेखनीय नै भने देखिँदैन ।

१.२.४ कथा

कवितापछि विष्टको औपचारिक लेखन कथाबाट नै प्रकट भएको हो । यिनले सुरुमा प्रशस्त स्वच्छन्दतावादी कथा लेखेका र ती प्रकाशन गर्न योग्य नभएको कुरा पूर्ण प्रसाद ब्राह्मणले जनाएपछि तिनलाई मिल्काएर समसामयिक वास्तविकतामा आधारित कथा लेखन थालेको बुझिन्छ (गिरी, २०४६ ः १७९) । २००५ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित “ऊ गयो” कथा यिनको पहिलो प्रकाशित कथा मानिन्छ (शर्मा, २०३८ ः ४०) । यसमा विधवा नारी (प्रभा) प्रति घरका मानिसले गर्ने दुव्र्यवहार, प्रेमको नाटक रचेर छोरीचेली बेच्ने कार्य र विपन्न वर्ग (अशोक) प्रति समाजले गर्ने घृणा, सम्पन्न वर्गका घृणित चरित्रलाई पैसाका बलमा ढाक्ने प्रवृत्ति जस्ता कुरालाई विषय वस्तुका रूपमा चयन गरिएको छ । कथाकला त्यति सबल नभए पनि सामाजिक विषमता, विद्रूपतालाई विषयबद्ध गरेको हुँदा त्यतिखेर सिद्धि चरण श्रेष्ठ, गोविन्द बहादुर मल्ल गोठालेहरूले त्यस कथाको प्रशंसा गरी विष्टलाई कथा लेखन निकै हौसल्याएको बुझिन्छ (गिरी, २०४६ ः १७८ र विष्ट, २०५२ख ः ७०) । त्यसपछि विष्टले आफ्नो सक्रिय जीवन कालभरि कथा लेखी नै रहे । ती कथाहरू विभिन्न पत्र पत्रिकाहरूमा छरिएर रहेका छन् । यस्ता धेरैजसो कथालाई सङ्ग्रह प्रकाशनमा सङ्कलन पनि गरिएको छ । यिनका हालसम्म प्राप्त कथा सङ्ग्रह यसप्रकार छन्—

१. प्रदर्शनी (२०२३),

२. गालाको लाली (२०२५),

३. छाया (२०३१),

४. घाउका सत्र चक्का (२०३५),

५. आलो कथा (२०४०),

६. आँसु त्यसै त्यसै छचल्किन्छ (२०४९),

७. एक एकाङ्की दश कथा (२०५७) ।

यिनका आख्यान सिर्जनामा विकसित हुँदै गएको प्रवृत्तिलाई आकलन गर्न उक्त कथा सङ्ग्रहका कथाहरूलाई समग्रतामा सरसर्ती विहङ्गम गर्नु उचितै हुने ठानिएको छ । तसर्थ सङ्क्षेपमा तिनका उल्लेखनीय पक्ष तल प्रकाश पारिन्छ—

विष्टले २००५ सालदेखि कथा लेखन थाले पनि सङ्ग्रह प्रकाशन २०२३ सालबाट सुरु गरेका हुन् । २०५७ सालसम्म यिनको सातौँ कथा सङ्ग्रह छापएिकोे होे । यी सङ्ग्रहमा प्रकाशित जम्मा ११० वटा कथामध्ये सबैजसो कथाहरू पहिला विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भइ सकेका देखिन्छन् । विष्टले कथा सङ्ग्रह प्रकाशन गर्दा कथाको गुण स्तरीयता, समय क्रम, प्रवृत्ति जस्ता महत्त्वपूर्ण कुनै एउटा कुरालाई आधार मानेको देखिँदैन । त्यसैले कुनै पनि कथा सङ्ग्रहबाट कुनै एउटा कुराको मात्र प्रतिनिधित्व हुन सकेको छैन । ‘आलो कथा’का सबैजसो कथाहरू छोटा छोटा भए पनि तिनले कुनै एउटा प्रवृत्तिको प्रतिनिधित्व गर्दैनन् । सबैजसो कथा सङ्ग्रहका कथामा सामाजिकता, मनोवैज्ञानिकता, अस्पष्टता, अमूर्तता, चिन्तनशीलता जस्ता प्रवृत्ति पाइन्छन् ।

पहिलो सङ्ग्रहका कथामा गरिबी, अशिक्षा, सामाजिक सङ्कीर्णता, प्रशासनिक लापरबाही, सम्भ्रान्त वर्गले गर्ने सामाजिक, आर्थिक, नैतिक (नारी अस्मिता) शोषण जस्ता विविध सामाजिक समस्याहरू प्रस्तुत गरिए पनि तिनमा यथार्थवादी कथा लेखन सीप खासै देखिँदैन । यथार्थवादका दृष्टिले केही महत्त्वका कथामा हाट खोलाको गोरेटोमा, टुहुरी, ऋण र प्रदर्शनी नै पर्दछन् । यीमध्ये पनि बढी महत्त्वको हाटखोलाको गोरेटामा नै हो । दोस्रो सङ्ग्रह त पहिलोभन्दा झन् दुर्बल नै रहेको छ । यसमा कथाको आयाम विस्तृत बन्दै गए पनि स्वच्छन्दतावादी भावुकता र रहस्यात्मकताले बढी स्थान पाउँदै गएको छ । विषयमा पनि विघटित हुँदै गएको यौन नैतिकताले प्रश्रय पाएको देखिन्छ । यसमा रहेका पापको जरो, प्रमाणपत्र, राजीनामा, कुप्री र क्रान्ति कथा सामाजिक यथार्थ चित्रणका दृष्टिले केही महत्त्वका देखिन्छन् । तेस्रो सङ्ग्रहमा आइ पुग्दा विष्टको कथा लेखनले कथाको महत्त्वपूर्ण सन्दर्भलाई सूक्ष्म विस्तृतिका साथ प्रस्तुत गरे पनि यथार्थवादी प्रवृत्तिभन्दा भिन्न प्रवृत्ति अनुसरण गरेको देखिन्छ । यसमा यौन मनोविश्लेषणात्मकता र प्रयोशीलताको प्रवृत्तिले बढी चिहाएको छ तापनि अभिभावकको वर्ग विभेदको धारणाले बालकमा पार्ने असर, सम्भ्रान्त वर्गको विलासिता अनि उनका बाल बालिकाले बेहोरेका व्यथा, सामाजिक अन्ध विश्वास र लाहुरेको शोषण, घुस्याहा कर्मचारी, तस्कर व्यापारीका क्रियाकलाप बाबुको सन्तानप्रतिको अतार्किक स्नेह जस्ता कुरा यस सङ्ग्रहका दुई कोपिला, रचना, नौगेडी, वायुयानमा पैँतालिस मिनेट र स्नेहको मेल जस्ता कथामा यथार्थवादको केही अनुकूल तुल्याएर प्रस्तुत गरिएको छ । प्रयोगशील प्रवृत्तिको निरन्तरता चौथा कथा सङ्ग्रहमा अझ बढी रहेको छ । प्रथम पुरुष शैलीको उपयोग पनि यसमा अत्यधिक देखिन्छ । यस सङ्ग्रहका कथामा नारी समस्याले बढी स्थान पाए पनि यथार्थवाद अनुरूपको प्रस्तुति थोरै कथा (झरेको खुड्किला, विश्वास हीनताको गोरेटोमा, म मात्र हाँसि दिन्छु, असन्तोष, धाँजा, कालोपट) मा मात्र छन् । भएका यस्ता कथामा मनोवैज्ञानिकताको पनि सूक्ष्म संश्लेषणले कथाकला निकै उकासिएको देखिन्छ । यस्ता कथाले मूलतः नारी समस्याका विविध रूप, समाजका गलत मूल्य मान्यता, शोषणका नयाँ नयाँ तरिका र व्यभिचारी नारीका कुटिलतालाई प्रस्तुत गरेका छन् ।

पाँचौँ कथा सङ्ग्रहमा पनि प्रयोगशील प्रवृत्तिकै प्रबलता छ । अवचेतन प्रवाहको विशृङ्खलता, अमूर्तता, पात्रको अर्थहीन एकालाप, दुर्बोध्य प्रतीकप्रयोग जस्ता कारण गर्दा यो सङ्ग्रह पनि यथार्थवादको अनुकूल त्यति देखिँदैन । प्रयोगशील कथाले पनि गुणात्मक फड्को मार्न सकेको पाइँदैन । यथार्थवाद अनुरूपका केही कथा (कुरा, आवाज आदि) को कथाकला पनि सामान्य स्तरकै छ । छैँटौँ कथा सङ्ग्रहका कथामा आइ पुग्दा भने यथार्थवादी प्रवृत्तिको प्रबलता देखिन्छ । आँसु त्यसै त्यसै छचल्किन्छ, एक चित्र ः अनेक चरित्र, विचरी मीरा, कालो पट्टी जस्ता यथार्थवादी कथाहरू यहाँ आएका छन् । गुणस्तरीय यथार्थवादी केही कथा पनि यहाँ आएका छन् । यस्ता कथाको विषय पनि नारी बाध्यता, नारी कुटिलता, नेता प्रशासकहरूका छद्मरूप, समाजको अन्धता, अज्ञानता, कुरूपता, समसामयिकता जस्ता कुरामा आधारित देखिन्छ । यस्ता कुरालाई प्रस्तुत गर्दा लेखकले आफ्नो व्यक्ति जीवनमा भोगेका वस्तुगत अनुभूतिलाई प्रशस्त उपयोग गरेका छन् । यसका साथै समाजका गलत संस्कारको प्रतिवाद पनि कथामा प्रत्यक्ष अप्रत्यक्ष प्रकट भएको छ । यति भएर पनि धेरै यथार्थवादी कथाको कथाकला सुविन्यस्त हुन सकेको पाइँदैन । सातौँ कथा सङ्ग्रहमा आएका दश वटा कथामध्ये आठ वटा यथार्थवाद अनुरूपकै छन् । यी तराईको शोषणमूलक ग्रामीण परिवेशका कृषि श्रम जीवीवर्गका मानिसहरूको विविध समस्या चित्रणमा आधारित देखिन्छन् । यिनले तराईको सामाजिक रीतिस्थिति र चाल चलनलाई आफ्नै किसिमले प्रतिबिम्बित गर्ने उद्देश्य राखेका छन् । त्यहाँको आञ्चलिक जीवनको निरूपण गर्ने चेष्टा पनि यिनले गरेका छन् तापनि कथामा यथार्थवादी आकर्षक प्रवाह त्यति कायम गर्न सकिएको छैन । एकै विषय र भावसँग सम्बद्ध भई एकभन्दा बढी कथा पनि लेखिएको छ ।

यसरी हेर्दा विष्टका सुरुदेखि पाँचौँ सङ्ग्रहसम्मका विविध विषयक कथामा यथार्थवाद, मनोविश्लेषणात्मकता र प्रयोगशील प्रवृत्तिको प्रयोग हुँदै आए पनि तिनको आकर्षक प्रयोग सारै नगण्य कथामा मात्रै पाइन्छ । यी सङ्ग्रहका कथाले विष्ट समाजका विविध समस्या देख्न र लेखन सक्ने व्यक्तिका रूपमा चिनिए पनि कथाकलाको समुचित प्रयोग गरी आकर्षक कथा सिर्जना गर्न सक्ने व्यक्तिका रूपमा भने चिनिन्नन् । छैँटौँ सङ्ग्रहमा आइ पुग्दा भने विष्टको कथाकला केही कथामा निकै परिष्कृत बन्दै गएको देखिन्छ । यस्तो परिष्कार यथार्थवादी र प्रयोगशील दुबैखाले कथा लेखनमा रहेको छ । सातौँ सङ्ग्रहमा यथार्थवादी दृष्टि सघन बन्दै गए पनि प्रस्तुतिमा भने त्यस्तो आकर्षण वा गुण स्तरीयता विकास गर्न सकेको पाइँदैन ।

समग्रमा भन्दा विष्टको आख्यान लेखनको एउटा पाटो कथा लेखन हो । यिनको कथाको विषय सामाजिक (विशेषतः विपन्नता, अशिक्षा, अज्ञानताका कारण परम्परित गलत अन्ध विश्वास र सामन्ती शोषणमा पिल्सिएको टीठ लाग्दो जीवन), मनोवैज्ञानिक (बाल मनोविज्ञान, नारी तथा पुरुष मनोविज्ञान र यौन मनोविज्ञान), वैचारिक (समाज चिन्तन, जीवन चिन्तन र शुद्ध दार्शनिक) र उदार मानवतावादी) विश्वयुद्धका नाममा हुने ठुलो नर संहार र अशक्त, असहायहरूलाई गरिने सामाजिक शोषणप्रति तीव्र असन्तोष) देखिन्छन् । यस्ता अनेक विषयक कथामा यिनको प्रवृत्तिगत विविधता रहेको छ । यथार्थवाद, मनोविश्लेषणात्मकता र प्रयोगशील प्रवृत्ति नै यिनका कथा लेखनका मुख्य प्रवृत्ति हुन् । कतिपय एकै कथामा ती प्रवृत्ति मिश्रित बनेर आएका छन् भने धेरैमा अमिश्रित देखिन्छन् । यस्ता प्रवृत्तिमा आधारित भएर विष्टले सयभन्दा बढी कथा लेखेका छन् । ती कथाले नेपाली समाजका अनेकन समस्यालाई उजागर गरेका छन् । तीमध्ये एक तिहाइ कथा यथार्थवाद अनुरूपकै भए तापनि गुणात्मकताका दृष्टिले हेर्दा आधा दर्जन मात्रै कथा उल् लेखनीय वा उच्च र उच्च मध्यम स्तरका भेटिन्छन् । यस्ता कथामा तत्कालीन समाजको रीति र आचरणको प्रतिबिम्ब उतार्ने, विघटोन्मुख बन्दै गएका सांस्कृतिक मूल्यहरूको चिरफार गर्ने, आञ्चलिक जीवनका जटिलता उधुन्ने, बाह्य घटनाले व्यक्ति तथा समुदायमा पारेको मानसिक प्रभाव र त्यसैका माध्यमबाट उत्पन्न सामाजिक कम्पन केलाउने जस्ता यथार्थवादमा अपेक्षित कुरा आएका छन् । यसले विष्टको कथा लेखनको यथार्थवादी कित्ता सानै भए पनि उल् लेखनीय तुल्याएर स्थापित गरेको छ ।

१.२.५ उपन्यास

विष्टले लेखेको पहिलो उपन्यास जीवन (२००८ सालपूर्व) थियो तर त्यो भाषाशुद्धिका लागि हृदय चन्द्र सिंह प्रधानलाई दिएका हुँदा उनकै घरबाट हराएको बुझिन्छ (विष्ट, २०५२ख ः १२) । त्यसपछि उनले लेखेको उपन्यास मञ्जरी हो । यो २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले “छापिदा ५०० पृष्ठसम्म हुने खालको उपन्यास लेखन प्रतियोगिता” गराएको हुँदा त्यसैमा समावेश गर्ने उद्देश्यले विष्टले लेखेका थिए र सो प्रतियोगितामा सर्व प्रथम भएर रु.९००।– को पुरस्कार पनि जितेको थियो तर पछि समितिले रकम निकासा नभएको भनी पुरस्कार पनि नदिएको र प्रकाशन पनि नगरिदिएको हुँदा २०१६ सालमा नेपाल भारत मैत्री सङ्घबाट विष्टले यो उपन्यास प्रकाशित गराएका थिए (विष्ट, २०५२ख ः १२–१४) । त्यसपछि विष्टले धेरै उपन्यास लेखेका छन् । हालसम्म प्रकाशित विष्टका उपन्यास निम्नानुसार छन्—

क्र.स. र उपन्यास लेखन प्रकाशन स्थान, संस्था र साल

१.मञ्जरी २००८ काठमाडौँ ः नेपाल भारत मैत्री सङ्घ, २०१८

२.एक पालुवा अनेकौँ याम २०२२ ललित पुर ः साझा प्रकाशन, २०२६

३.चपाइएका अनुहार २०२५ ललित पुर ः साझा प्रकाशन, २०३०

४.बिग्रिएको बाटो २०३२ वाराणसी ः नवीन प्रकाशन, २०३३

५.थाकेको आकाश २०३२ ललित पुर ः साझा प्रकाशन, २०३४

६.भोक र भित्ता २०३५ ललित पुर ः साझा प्रकाशन, २०३८

७.ज्योति ज्योति महाज्योति २०४२–०४३ काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०४५

८.हिमाल र मान्छे २०४३–०४४ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०४५

९.फाँसीको फन्दामा ? शहीद आदर्श अध्ययन समिति, २०५३

यी बाहेक दशजना लेखकहरू मिलेर लेखेको ‘आकाश विभाजित छ’ (२०३१) उपन्यास र ‘सिन्दुर’ नामक चलचित्रको आख्यान लेखन पनि यिनले गरेका थिए । ‘सिन्दुर’को आख्यान यिनको ‘हिमाल मुस्कुराउँछ’ नाटकको मूलभावसँग नै आधारित भएको बुझिन्छ (शर्मा, २०३८ ः २७) ।

विष्टका महत्त्वपूर्ण उपन्यासमाथि उल्लिखित नौ वटा नै हुन् । यीमध्ये पहिलो र आठौँमा आदर्शाेन्मुख यथार्थवाद, दास्रो र छैठौँमा सामाजिक यथार्थवाद, तेस्रोमा अस्तित्व तथा विसङ्गतिवाद, मानवतावाद र अन्तर्राष्ट्रिय परिवेश, चौथोमा आलोचनात्मक यथार्थवाद, पाँचौँमा मनोविश्लेषण (विशेषतः बाल मनोविज्ञान र अपराध मनोविज्ञान), सातौँमा सघन सांस्कृतिक चेतना र नवौँमा ऐतिहासिक चरित्र गान रहेको छ । यीमध्ये औपन्यासिक स्तरणका दृष्टिले बढी महत्त्वका एक पालुवा अनेकौँ याम, चपाइएका अनुहार, थाकेको आकाश, भोक र भित्ता र ज्योति ज्योति महाज्योति देखिएका छन् । ज्योति ज्योति महाज्योति त २०४५ सालको मदन पुरस्कारद्वारा पुरस्कृत पनि भएको थियो ।

१.२.६ पुरस्कार तथा सम्मान

विष्टले साहित्यका क्षेत्रमा लागेर पाएका महत्त्वपूर्ण पुरस्कारहरू निम्न हुन्–

– २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित, (तर त्यसका लागि दिने भनेको रु.९००।– नदिएको),

– नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कथा र उपन्यासमा नयाँ मोड ल्याएको मानेर महेन्द्र प्रज्ञा पुरस्कार (२०३२) प्रदान,

– मदन पुरस्कार गुठीबाट ‘ज्योति ज्योति महाज्योति’ उपन्यासका लागि मदन पुरस्कार (२०४५),

– साझा प्रकाशनबाट ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथा सङ्ग्रहका लागि साझा पुरस्कार (२०४८),

– भूपालमान स्मृति प्रतिष्ठानले भूपालमान स्मृति पुरस्कार (२०५५),

यी बाहेक चाबहिल आह्वान समूह, नयाँ बानेश्वर प्रतिभा समूह जस्ता विभिन्न समूहले विभिन्न समयमा विष्टलाई अभिनन्दन पनि गरेका थिए । यस्तै विष्टका उपन्यासलाई त्रि.वि.का ऐच्छिक नेपाली विषयका प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रममा बेला बेलामा समावेश गरिनु, आख्यान रचनाको चलचित्र (सिन्दुर), टेलि चल चित्रहरू (हाट खोलाको गोरेटोमा, उफान) बनाइनुलाई पनि सम्मान जनक काम नै मान्न सकिन्छ ।

जागिरे भए बापत विष्टले प्रबल गोरखा दक्षिण बाहु चौथा (२०३०), दुर्गम सेवा पदक र जन सेवा पदक (२५ वर्ष नोकरी पुगे बापत) जस्ता पुरस्कार पनि प्राप्त गरेका थिए । सोही क्रममा यिनले नेपाल, भारत लगायत इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, थाइलैन्ड, पाकिस्तान, रुस, क्वालालम्पुरका विभिन्न भागमा भ्रमण गरेको बुझिन्छ ।

१.२.७ विष्टको साहित्यिक विधागत वैशिष्ट्य

विष्टको साहित्यिक व्यक्तित्व बहुमुखी छ । कविता, निबन्ध नाटक र आख्यान (कथा र उपन्यास) विधामा यिनको कलम चलेको छ । यीमध्ये कवितामा यिनको उपस्थिति नगण्य छ । निबन्ध वा लेख प्रबन्ध र नाटकमा पनि यिनको उपस्थिति सामान्य छ । यी विधामा यिनको साहित्यिक सामथ्र्य खासै प्रकट नभए पनि समसामयिक विषय र समाजप्रतिको चासोचाहिँ प्रकट भएको छ । यिनको उल्लेखनीय विधा भनेकै आख्यान हो । आख्यानमध्ये कथामा यिनको सक्रियता २००५ सालदेखि सक्रिय जीवन काल पर्यन्त निरन्तर जारी रहेको देखिन्छ र यस क्रममा यिनका सात वटा कथा सङ्ग्रह पनि छापएिका छन् । ती सबैमा समस्याग्रस्त नेपाली समाजका विविध रूप प्रकट भएका छन् तापनि दोस्रो, तेस्रो र पाँचौँ सङ्ग्रहका धेरैजसो कथाहरू कथाकलाकै दृष्टिले दुर्बल छन् भने अन्य सङ्ग्रहका कतिपय कथाहरूमा यथार्थवादी र कतिपय कथाहरूमा यथार्थवादभन्दा भिन्न प्रवृत्ति (अवचेतन प्रवाह, वैचारिकता, अस्पष्टता, अमूर्तता, प्रतीकात्मकता, यौन मनोविश्लेषणात्मकता, कथाहीनता वा अकथा जस्ता प्रयोगशीलता) प्रयोग भएको देखिन्छ । पछिल्लो सङ्ग्रहमा भने सामाजिक यथार्थवादी प्रवृत्तिकै प्रबलता पाइन्छ । यसरी हेर्दा विष्टको कथा लेखनमा मिश्रित प्रवृत्ति पाइन्छ तापनि हाट खोलाको गोरेटोमा, झरेको खुड्किला, विश्वासहीनताको गोरेटोमा, म मात्र हाँसि दिन्छु, आँसु त्यसै त्यसै छचल्किन्छ, एक चित्र अनेक चरित्र, विचरी मीरा, कालोपट्टी, धाँजा, रिठ्ठे नुनिया, जर्ना, बाढी, वायुयानमा पँैतालिस मिनेट, आवाज जस्ता कतिपय कथाहरू सामाजिक यथार्थवादका दृष्टिले उल्लेखनीय नै पाइन्छन् । यसबाट विष्टको कथा लेखनमा सुरुदेखि अन्त्यसम्म यथार्थवाद कतै मूल र कतै गौण रूपमा रहेको देखिन आउँछ ।

उपन्यासका क्षेत्रमा पनि विष्टको उपस्थिति विभिन्न प्रवृत्ति (आदर्शवाद, सामाजिक यथार्थवाद, मनोवैज्ञानिक र अस्तित्व तथा विसङ्गतिवाद) सँग सबन्धित छ । सामाजिक यथार्थवादका दृष्टिले यिनका एक पालुवा अनेकौँ याम अनि भोक र भित्ताहरू उपन्यास बढी महत्त्वका छन् । यीमध्ये पहिलोमा सङ्क्रमण कालीन नेपाली समाजको सघन परिवेश र जीवनका अनेकौँ आयाम बढी सूक्ष्मताका साथ आएका छन् भने दोस्रोमा शोषक र शोषित वर्गका सन्दर्भका साथै नव धनाढ्य वर्ग र उसको परिवेश केही विस्तारमा प्रस्तुत गरिएको छ । ज्योति ज्योति महाज्योतिमा दार्शनिकता र सघन सांस्कृतिकता अनि आदर्शको स्वर पाइन्छ । एक पालुवा अनेकौँ यामभन्दा पनि यो विस्तृत आयामको छ । आयामका दृष्टिले यी दुबै महा उपन्यासका निकट बनेका छन् । त्यस्तै चपाइका अनुहार र थाकेको आकाश साना आकारका भए पनि यिनमा आएको मनोवैज्ञानिकता, मावतावाद, अस्तित्व तथा विसङ्गतिवाद, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशको सङ्केत जस्ता कुरा हेर्दा धेरै घनत्वपूर्ण दृष्टिचेतले भरिएका पाइन्छन् ।

समग्रमा भन्दा विष्टको साहित्यिक लेखनको खास क्षेत्र आख्यान हो । यस क्षेत्रका कथा र उपन्यास दुबै लेखनमा यिनले कलम प्रशस्त चलाएका छन् । सङ्ख्यात्मक दृष्टिले हेर्दा यिनले सात वटा कथा सङ्ग्रह (११० वटा कथा) र नौ वटा उपन्यास प्रस्तुत गरेका छन् । यिनका एक तिहाइ कथाहरू गुणस्तरका दृष्टिले निकै दुर्बल नै देखिन्छन् । बाँकी धेरैजसो कथा मध्यम स्तरीय लेखनमा आधारित छन् । तीमध्ये सीमित कथा मात्रै यथार्थको कलात्मक अङ्कनमा केन्द्रित रहेका छन् । उपन्यास लेखनमा पनि नौ वटा उपन्यासमध्ये चार वटा (पहिलो, चौथो र पछिल्ला दुई) को गुणस्तर कमजोर देखिए पनि अरूको त्यस्तो कमजोर देखिँदैन । त्यसैले यिनको योगदान कथा र उपन्यास लेखनमा रहे पनि उपन्यास लेखन अझ बढी महत्त्वको देखिन आएको छ ।

प्रमुख सन्दर्भ ग्रन्थ

गिरी प्रेरणा, गोविन्द (२०४६) “अन्तर्वार्ता दौलत विक्रम विष्टसँग केही क्षण” मिर्मिरे, पूर्णाङ्क ७७, पृ. १७८–८५ ।

गौतम, कृष्ण (२०५०), आधुनिक आलोचना ः अनेकरूप, अनेक पठन. ललित पुर ः साझा प्रकाशन ।

जैन, रवीन्द्र कुमार (सन् १९९०), साहित्यालोचन के सिद्धान्त, दिल्ली ः नेसनल पब्लिसिंग हाउस ।

तिमसिना, डिल्लीराम (२०३३) (सम्पा.), ज्ञान विज्ञानको दिशा, वाराणसी ः श्रीमती दुर्गा तिमसिना ।

त्रिपाठी, वासुदेव (२०२८), विचरण, काठमाडौं ः भानु प्रकाशन ।

नेउपाने, पशुपति (२०५१), “दौलत विक्रम विष्टको उपन्यासकारिताको निरूपण”, गरिमा, १२ ः ५, (वैशाख), पृ.२२४–२८ ।

नेपाल, घनश्याम (सन्१९८७), आख्यानका कुरा, सिलगढी ः नेपाली साहित्य प्रचारक समिति ।

पराजुली, ठाकुर (२०४९), “ज्योति ज्योति महाज्योति एक सर्वेक्षण” रश्मी, (वाङ्मय विशेषाङ्क), पृ.१७४–८४ ।

पराजुली, ठाकुर (२०५६), नेपाली साहित्यको परिक्रमा, द्वि.सं. ललित पुर ः साझा प्रकाशन ।

पौडेल, विष्णु प्रसाद (२०५६), “चरित्रविधानका कोणबाट दौलत विक्रम विष्टका उपन्यासहरूको अध्ययन”, काठमाडौँ ः त्रि. वि., मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, लघु अनुसन्धान–पत्र ।

————– (२०६०),“नेपाली उपन्यास र यथार्थवाद” काठमाडौँ ः त्रि. वि., मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, विद्या वारिधि शोध प्रबन्ध ।

प्रधान, कृष्ण चन्द्र सिंह (२०५२), नेपाली उपन्यास र उपन्यासकार, तृ.सं., ललित पुर ः साझा प्रकाशन ।

बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्य शास्त्र, ललित पुर ः साझा प्रकाशन ।

राई, इन्द्र बहादुर (२०५०), नेपाली उपन्यासका आधारहरू, द्वि.सं., ललित पुर ः साझा प्रकाशन ।

राय, गोपाल (सन् १९७३), उपन्यास का शिल्प, पटना ः विहार हिन्दी ग्रन्थ अकादमी ।

वर्मा, धीरेन्द्र र अन्य (२०२०) (सम्पा.), हिन्दी साहित्य कोश, तृ.सं., वाराणसी ः ज्ञानमण्डल लिमिटेड ।

वर्मा, राजेन्द्र (सन् १९७०), साहित्य समीक्षा के पश्चिमी मापदण्ड, मध्य प्रदेश ः हिन्दी ग्रन्थ अकादमी ।

वेलेक, रेने (सन् १९७८), आलोचना की धाराणाएँ, अनु. इन्द्रनाथ मदान, चण्डीगढ ः हरियाणा हिन्दी ग्रन्थ अकादमी ।

विष्ट, दौलत विक्रम (२०१५), गालाको लाली, काठमाडौँ ः नेपाल भारत मैत्री सङ्घ ।

————–– (२०१६), मञ्जरी, काठमाडौँ ः नेपाल भारत मैत्री सङ्घ ।

————–– (२०२३), प्रदर्शनी, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।

————–– (२०३०), चपाइएका अनुहार, ललित पुर ः साझा प्रकाशन ।

————–– (२०३३), बिग्रिएको बाटो, वाराणसी ः नवीन प्रकाशन ।

————–– (२०३४), थाकेको आकाश, ललित पुर ः साझा प्रकाशन ।

————–– (२०३८), भोक र भित्ताहरू, ललित पुर ः साझा प्रकाशन ।

————–– (२०४०), आलो कथा, वाराणसी ः नवीन प्रकाशन ।

————–– (२०४५), ज्योति ज्योति महाज्योति, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

————–– (२०४५), हिमाल र मान्छे, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

———––— (२०५२), “रचनाको सन्दर्भमा मेरो जीवन”, गरिमा, १४ ः २, (माघ), पृ. ६१–७१ ।

———––— (२०५२), “रचनाको सन्दर्भमा मेरो जीवन”, गरिमा, १४ ः ३, (फागुन), पृ. १०–२३ ।

————–– (२०५३), फाँसीको फन्दामा, काठमाडौँ ः शहीद आदर्श अध्ययन समिति ।

————–– (२०५३), “अनुभूतिलाई अभिव्यक्ति नदिउन्जेल मेरो मन अशान्त भइरहने गर्दछ”, गरिमा, १४ ः १०, (असोज), पृ. ८४–८६ ।

———–—– (२०५७), एक एकाङ्की दस कथा, ललित पुर ः साझा प्रकाशन ।

————–– (२०५७), एक पालुवा अनेकौँ याम, ललित पुर ः साझा प्रकाशन ।

शर्मा, गोपीकृष्ण (२०४१), “एक पालुवा अनेकौँ याम उपन्यासको पात्र विधान”, वाङ्मय, ५ ः ५, पृ. ६६–८० ।

शर्मा, मोहन राज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

शर्मा, सीता (२०३८), “साहित्यकार दौलत विक्रम विष्टका जीवनी र व्यक्तित्वको अध्ययन”, काठमाडौँ ः त्रि. वि., नेपाली केन्द्रीय विभागको स्नातकोत्तर शोधपत्र ।

सुवेदी, राजेन्द्र (२०५०), “वस्तुस्रोत र विन्यासका सफलता र विफलता ज्योति ज्योति महाज्योति”, गरिमा, ११ ः १२, (मङ्सिर), पृ. ३६–४९ ।

?, ‘पुरस्कार विजेता विष्ट र नारायणको उद्गार’, समीक्षा (दैनिक पत्रिका), २०४६ , कार्तिक ४ गते , पृ.२२ ।

सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।