17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दीक्षितको ‘मेरी नीलिमा’ उपन्यासका महत्त्वपूर्ण पक्षहरू

कृति/समीक्षा डा. विष्णु प्रसाद पौडेल June 4, 2012, 3:50 pm

सार: नेपाली साहित्यका एक महत्त्वपूर्ण चिन्तक र सर्जक मदनमणि दीक्षित उपन्यासका क्षेत्रमा नारी चरित्रलाई विशेष महत्त्वका साथ प्रस्तुत गर्ने उपन्यासकार हुन् । ‘माधवी’ पछि देखिएको दीक्षितको ‘मेरी नीलिमा’ उपन्यासमा पनि नीलिमाकै चरित्रलाई विशेष महत्त्वका साथ प्रस्तुत गरिएको छ । नीलिमा यहाँ बहुस्वरूपिणी र सबला नारीका रूपमा चित्रित छ । स्वैरकाल्पनिकता र निबन्धको संक्षिप्त एकालापको शैली संश्लेषण गरी प्रयोगशील नवशैलीको निर्माण गर्नु यसको शैलीगत विशेषता हो । त्यही शैली मार्फत मुख्यतः पूवीर्य र अंशतः पश्चिमी परम्परामा प्राप्त नारीका अनेकन महिमामय रूप उपन्यासकी प्रमुख पात्र नीलिमामा विवर्तित भएको देखाएर नारीप्रतिको विशेष सम्मान यहाँ प्रक्षेपण गरिएको छ । त्यस बाहेक मानवता, राष्ट्रियता, जीवनको सुख दुखात्मकता, चिन्तन र परिवेशको सूत्रात्मक विस्तृति जस्ता अन्य विशेषता पनि यसमा मनग्ये देख्न सकिन्छ । दीक्षितको यो सबैभन्दा लघु आयामको उपन्यास भए पनि पात्र, परिवेश र चिन्तनका दृष्टिले निकै घनत्वपूर्ण देखिएको छ ।

१. पष्ठभूमि

मदनमणि दीक्षित (१९७९) को दोस्रो उपन्यास ‘मेरी नीलिमा’ (२०५०) हो । यसको लेखन दीक्षितले उपन्यासको “आप्mनो कुरा” मा भने अनुसार २०३४ सालको गाईजात्राका दिन सुरु गरेका थिए । त्यतिखेर चार दिनमा ८३ पृष्ठ लेखे पनि पछि खोज्दा लेखकले ५२ पृष्ठमात्रै फेला परेका थिए (पृ.क–ख) । यसका केही अंश त्यतिखेर प्रकाशन पनि भएका हुन् । उपन्यासमै रहेको कमलमणि दीक्षितको लेख अनुसार पनि यसका केही अंश मदनमणिले आप्mनो ‘समीक्षा’ पत्रिकाको “मेरो देश ः मेरो संसार” नामक स्तम्भमा पनि प्रकाशित गरेका थिए (पृ.छ) । सुरुको यस्तो प्रारूपलाई आमूल परिवर्तत गरेर दीक्षितले यसको लेखन २०४६ असोज १४ बाट सुरु गरी २०४६ कार्तिक २२ गते पूरा गरेको बुझिन्छ (पृ.ख) । लेखन र प्रकाशन दुवै दृष्टिले यो लेखकको दोस्रो उपन्यास हो । यसमा ठाउँ ठाउँमा (पृ.३, ४०, ४१, ४५ र ९९ मा) प्रसङ्गवश माधवी उपन्यासका प्रसङ्गहरू (जस्तै गालव र माधवी, माधवीका चार सन्तान, विश्वामित्रप्रतिको माधवीको उपेक्षा जस्ता कुरा) ल्याइएको छ । त्यस्तै ठाउँ विशेषमा नीलिमालाई माधवीकै अर्की रूप वा प्रतिरूपा पनि मानिएको छ । उपन्यासका अन्त्यतिर नीलिमाले म पात्र वा मास्टरसँग स्पष्ट भनेकी छ– “तिमै माधवीको पाँचौँ छोरो हो यो – मैले जन्माएकी । यो तिम्रो छोराको नाउँ पृथु राख्ने है । तिम्रै उत्सर्ग हो यो । हाम्रो प्रेमको पावन चिनो, जो तिमी हौ । त्यो तिमी हौ ।” (पृ.९९) यसबाट माधवी उपन्यासका नायक नायिका (गालव माधवी) नै यहाँ विवर्तित रूपमा प्रकट भएका जस्ता देखिन्छन् । यसो भए पनि यस कृतिको संरचना स्वरूप र ‘माधवी’ उपन्यास बिच ठुलो अन्तर पाइन्छ । कलेवरकै दृष्टिले हेर्दा ‘माधवी’ उपन्यासभन्दा यो छ गुना सानो (जम्मा १०४ पृष्ठको) छ । लेखकको भनाइ अनुसार यो निबन्ध लेख्दा लख्दै बनेको रूप हो (पृ.ख) ।

२. विषय विस्तार

यस उपन्यासमा विषयको प्रस्तुति मूलतः एकालापीय शैलीमा गरिएको छ । त्यसैले लेखकले यसलाई उपन्यास नभनी एकालाप भनेका छन् । कतिपय समीक्षकले यसलाई उपन्यास भन्न हिचकिचाएको पनि भेटिन्छ (अधिकारी, २०५१ ः२२९) । तर एकालाप भन्दा भन्दै पनि उपन्यासको ठाउँ ठाउँमा नीलिमा र मास्टर बिच भएका संवाद, संवादसँग देखापरेको झिनो आख्यान प्रवाह, त्यसले उनीहरूलाई कृतिमा नायक नायिकाका रूपमा स्थापित गर्दै लगेको स्थिति, तिनीहरू बिच ज्ञान, विज्ञान, कला, समाज, इतिहास, जीवन र राष्ट्रका बारेमा भएका चिन्तन, नेपाली राष्ट्रियताको चिन्ता अनि बेलाबेलामा देखिने तिनीहरूको प्रेमालाप, त्यसप्रतिको आतुरता, भावात्मकता जस्ता कुराले अनि उपन्यास भन्न सुहाउँदो यसको आकारले पनि यसलाई उपन्यासै तुल्याएको छ । निश्चय नै परम्परित उपन्यासको ढाँचा वा खाकालाई यसले पूरै अनुसरण गरेको छैन तापनि साहित्यको अधिकतम संश्लेषणकारी वा लचिलो विधा उपन्यासभित्र यसको स्वरूप सहजै संश्लिष्ट हुन सक्ने देखिन्छ । निबन्धको विकीर्ण चिन्तन र भावात्मकताको विशेषतालाई प्रशस्त आत्मसाथ गर्दै प्रकट भएको उपन्यासका रूपमा वा निबन्धात्मक उपन्यासका रूपमा यसलाई लिन सकिन्छ । यो यसको शिल्प प्रयोगको नवीनता वा प्रयोगशीलता नै हो ।

दीक्षितको पहिलो उपन्यास ‘माधवी’ मा विषयवस्तुको जुन विशद वर्णन छ त्यसका विपरीत यहाँ सारै सङ्क्षिप्त सङ्केत मात्रै पाइन्छ । ठाउँ विशेषमा त त्यो कविताको सङ्केत वा प्रतीकात्मक कथनका रूपमा मात्रै आएको छ तर वैचारिक परिप्रेक्ष्य भने ‘माधवी’ को भन्दा यसको सीमित देखिँदैन । बरु विस्तृत नै देखिन्छ । माधवी वैदिक कालीन विषयको उपन्यास हो । त्यसमा मूलतः उत्तर वैदिक कालीन युगजीवन र चिन्तनको परिप्रेक्ष्यलाई आधुनिक दृष्टिले वा माक्र्सवादी अभिप्रेरणाले हेरिएको छ तर यहाँ काल विशेष, भूगोल विशेष र चिन्तन विशेषको कुनै सीमारेखा देखिँदैन । लेखकको आप्mनो साधनाभित्र परेका चिन्तन शृङ्खला यहाँ कतै न्यून स्पष्टता र कतै साङ्केति मात्रै बनेर प्रर्कीण रूपमा प्रकट भएका छन् । यहाँ सुदूर अतीतदेखि वर्तमान र भविष्यत कालीन स्थिति र सम्भावनाहरू समेटिएका छन् ।

उपन्यास ऋग्वेदका गौतम ऋषिले मानव जीवनका लागि प्रकृतिले सर्वत्र मधुमयताको सिर्जना गरोस् भन्ने कामना वा आह्वानसँगै थालनी भएर जीवनको आनन्दमयता, सुखबोध अनि तिक्तता र रिक्तताको स्थितिबोध गराउँदै अगाडि बढेको छ । उपन्यसको नायक (म वा मास्टर) ले जीवनको आनन्दमयताकै बोधलाई एकोहोरो कथन गरेको छ भने नीलिमाले जीवनका सुख र दुख दुवै पाटालाई निकै सघनताका साथ उद्घाटित गरेकी छ । यही क्रममा वेद, उपनिषद्, रामायण, महाभारत, देवी पुराण वा सप्तशती चण्डीका अनेकन प्रसङ्गहरू, सूक्तिहरू; संस्कृतका कालिदास, भवभूति; नेपालीका सम, देवकोटा, व्यथित, रिमाल, गौतम (धु्रवचन्द्र), खरेल (किरण), मेलवादेवी; हिन्दीका राधाकृष्णन्, विवेकानन्द, रवीन्द्रनाथ आदिका सिर्जना सन्दर्भहरू, दृष्टिकोणहरू यहाँ अनुस्युत हुँदै गएका छन् । त्यस्तै पश्चिमका क्राइस्ट, सुकरात, एरिस्टोटल, सेक्सपियर, टाल्सटाय, माइकेल एन्जेलो, सिकन्दर, तेरेस्कोभा, हिटलर, युरी गागरिन, मार्गरेट थ्याचरदेखि लिएर पछिल्ला अमेरिकी प्रोफेसर ए.सी.क्लार्क (जसले सन् २०९० सम्ममा मानिसले आप्mनो मृत्युमाथि विजय पाउने घोषणा गरेका) सम्मका अनेकन ईश्वर, धर्म, अध्यात्म, भौतिक विज्ञान, जीव विज्ञान, खगोल, भूगोल चिन्तकहरू; साहित्य, कला, सङ्गीत सर्जकहरू; उदार अनुदार शासकहरू; प्राचीन जाति जनजातिहरू; महिला नेतृहरू; जादुका आविष्कारकहरूका विषय प्रसङ्ग यहाँ गाँसिन आएका छन् । यसले निश्चय नै यसको बौद्धिक व्यापकता र विशदतालाई देखाएको छ तर यहाँ आएका यस्ता प्रसङ्गहरूमध्ये कतिपय सारै सूच्यात्मक मात्रै रहेका हुनाले ती धेरै पाठकका लागि अस्पष्ट र दुर्बाेध्य विषय पनि बनेका छन् ।

यस्तै स्थान प्रयोगका दृष्टिले हेर्ने हो भने यहाँ ग्रीसको एथेन्सदेखि जेरुसलम, लन्डन, इन्डोेनेसिया, दक्षिण अफ्रिका, सिडनी, तेहरान, साइप्रस, चीन, सोभियत संघ, अमेरिका, तासकन्द, बर्लिन, भियतनाम, नामिविया, पाकिस्तान, अफगानिस्तान, भारत (बनारस, कलकत्ता) र नेपालका विभिन्न भूभाग (रसुवाका किमताङ, लामटाङ, गोसाइकुण्ड, काठमाडौँ उपत्यकाका नगरकोट, चागुनारायण, असन, बाङ्गेमूढा, चन्द्रागिरी; अन्य भीमफेदी, चित्लाङ्, कोशी, वाग्मती, सगरमाथा, नारायणी, जागरकोट, खलाङ्गा, जनकपुर, रिडी, मुक्तिक्षेत्र, लुम्बिनी, कपिलवस्तु आदि ठाउँको प्रयोग प्रत्यक्ष अप्रत्यक्ष भएको छ । यति धेरै क्षेत्रमा विचरण गर्न यहाँ स्वैरकाल्पनिक गलैचाको उपयोग गरिएको छ जुन बगदादका नवौँ शताब्दीका हारु अल् रशीदका अलिफ लैल बल्लैलको जादु गलैचाका रूपमा चिनिन्छ (पृ.२३) । त्यसैमा बसेर नायक नायिका (म र नीलिमा) बादलमाथि माथि उड्दै दुनियाँ विचरण गरेका छन् । यसले एकातिर उपन्यासको व्यापक भौगोलिक परिवेशलाई देखाएको छ भने अर्कातिर स्वच्छन्द विचरणका निम्ति स्वैरकाल्पनिक माध्यमको अनुसरणलाई पनि औँल्याएको छ ।

उपन्यास आख्यान सङ्गठनका दृष्टिले भन्दा पनि चरित्र निरूपणका दृष्टिले बढी महत्त्वको देखिएको छ । यसमा नीलिमाकै चरित्रलाई बढी महत्त्वका साथ प्रस्तुत गरिएको पाइन्छ । “साहित्यिक प्रयासमा मैले नारीलाई भरिसक्य अग्राधिकार दिने गरेको छु” (पृ.ग) भन्ने दीक्षितले यस उपन्यासलाई पनि नारीप्रधान उपन्यासका रूपमा प्रस्तुत गरेका छन् । अघिल्लो उपन्यासमा माधवीलाई मानवीय धरातलकै सापेक्षतामा राखेर हेर्ने काम भएको थियो तर यसमा नीलिमालाई यथार्थ धरातलमा मात्रै होइन, आध्यात्मिक धरातल वा आदिम नारी उर्जाको प्रतीकका रूपमा पनि हेरिएको छ । नीलिमा यहाँ बहुरूपिणी देखिएकी छ । ऊ नायक (म वा मास्टर) की माता, पत्नी र प्रेयसीका रूपमा देखिएकी छ । त्यस्तै कतै निरक्षर ग्रामीण बाला, कतै श्रमिक सुन्दरी, कतै वैशले पात्तिएकी युवती, कतै व्यवहार निपुण नारी र कतै गम्भीर दार्शनिक चिन्तनकर्ती भएर प्रकट भएकी छ । नायक (मास्टर) का नजरमा त नीलिमा आनन्द, सौन्दर्य, स्नेह, ममता, कल्याण, मानवता, शान्ति र सरलताकी प्रतिमूर्ति नै रहेकी छ । उपन्यासमा यो कतै रसुवाको पहाड पखेरामा स्याउलाको भारी बोक्दै हिँडेकी (पृ.१४) निरक्षर ग्रामबालाका रूपमा (पृ.५७), कतै अलि पात्तिएकी किरातिनी वा शेर्पिनी (पृ.२२) का रूपमा, कतै अनेकन पीडा र व्यथाले आहत नरनारीको पक्षमा बोल्ने सचेत नारीका रूपमा (पृ.९०–९१), कतै पुरुषको हैकमलाई लल्कार्ने नारीका रूपमा (पृ.४१) देखिएकी छ । यस्तै देशप्रेम, मानव प्रेम, जीवन प्रेम, स्वतन्त्रता प्रेम, प्रज्ञाप्रेम जस्ता कुराहरू पनि उपन्यासका ठाउँठाउँमा यसका अभिव्यक्तिबाट प्रकट भएका छन् । जीवनवादी जागरणको सन्देश पनि यसबाट प्रकट गराइएको छ ।

उपन्यासमा नीलिमालाई सीताको त्याग, द्रौपदीको नारीत्व, अनसूयाको व्यवहारिकता, गार्गीको ज्ञान र साहस, मैत्रेयीको निस्पृहता, शीलावतीको दाम्पत्य, भृकुटीको मैत्री जस्ता गुणले भरिपूर्ण नारीका रूपमा चिनाइएको पनि पाइन्छ (पृ.५७) । यस्तै भीष्मपितामहलाई फड्कार्दी द्रौपदी, रावणलाई फड्कार्दी सीता, शुम्भनिशुभ्भलाई फड्कार्दी चण्डी, शिवकी पार्वती, रामकी सीता, नलकी दमयन्ती, सिद्धार्थकी यशोधरा, सुकरातकी पत्नी, अथेलोकी डेस्डीमोना जस्ता पूर्व पश्चिमका अनेकन महत्त्वपूर्ण चरित्रसँग पनि तुलनीय ठानिएको छ । यही क्रममा जगत् जननी, आद्यशक्ति, अविनाशी, आदिउर्जा, तत्त्वदर्शी, स्वयम्भूता नारी र पृथ्वीका रूपमा पनि नीलिमाको चरित्र गाथा गायन गरिएको छ । त्यति मात्रै होइन नीलिमा सारा आनन्दको स्रोत वा रसो वै सः का रूपमा वा ब्रम्ह सत्यंका रूपमा चिनिएकी छ । नायक मास्टरले भनेकै छ– “ब्रम्ह सत्य हो भने मेरी नीलिमा यो ब्रम्ह हो र त्यसको प्रेम मेरो सत्य हो ।” (पृ.२७)

यसरी नीलिमाको चरित्रमा मदनमणिको जीवन जगत् सम्बन्धी यावत् चेतना प्रतिध्वनित छ । यसमा लेखकको स्पष्ट स्वीकृति पनि छ – “यो रचनामा पनि माधवीमा माधवी र गाललबिच झैँ नीलिमा र मास्टरमा बाँडिएर, तर सम्पूर्ण रूपमा एक भएर म आफू नै प्रस्तुत भएको छु ।” (पृ.ग) लेखकको यो भनाइ यही कृतिमा जति धेरै लागु हुन्छ त्यति ‘माधवी’ मा भने हुँदैन; भए पनि त्यो केही अप्रत्यक्ष भएर आएको छ तर यहाँ त पूरै प्रत्यक्ष छ । यहाँको मास्टर भनेको लेखक स्वयं नै हो तर गालवमा लेखकको पूरै व्यक्तित्व त्यसरी आरोपित गर्न सकिन्न । माधवी र गालवको आप्mनै कर्म विहित चरित्रभन्दा कथन निर्धारित चरित्र बढी छ । नाटकीयताभन्दा वर्णनात्मकता वा टिप्पणीमूलकता यसमा बढी छ । त्यस्तै टिप्पणीमा यथार्थताभन्दा भावुक आस्था र तदनुकूलको बौद्धिकता वा दार्शनिकता (अध्यात्म दर्शन) ले स्थान पाएको छ । यसले लेखकको वैज्ञानिक माक्र्सवादी चिन्तन यथार्थ धरातलबाट क्रमशः जीवनवादी, राष्ट्रवादी, मानवतावादी हुँदै आनन्दवादका नाममा अध्यात्मवादतिर वा रहस्यवादतिर स्पष्टसँग डोरिएको भेटिन्छ । यहाँनेर सापेक्ष सिद्धान्तका जनक अल्वर्ट आइस्टाइनले आफ्नो जीवनको अन्त्यमा आध्यात्मिक सत्यप्रति आप्mनो आस्था प्रकट गर्दै विज्ञानले आध्यात्मिक बनोस् अनि अध्यात्मले अन्धविश्वासलाई छाडेर विज्ञानलाई अपनाओस् भन्ने जुन कामना व्यक्त गरेका थिए वा समले “ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा” जुन भनेका थिए तिनको सम्झना हुन्छ । दीक्षित पनि आप्mनो अघिल्लो वाममार्गबाट अब मध्यम मार्गमा वा समन्वयको मार्गमा हिँड्न चाहेको देखिन्छ । यो कुरा नीलिमाको चरित्राङ्कनबाट मात्रै नभई उसलाई अत्यन्त प्रेम गर्ने उपन्यासको नायक मास्टर (जसमा दीक्षितको पूरै व्यक्तित्व प्रतिबिम्बित छ र जो मका रूपमा प्रकट पनि भएको छ) का कथन र व्यवहारबाट पनि थप स्पष्ट भएको छ । मास्टर आपूmलाई सांख्य दर्शनको पुरुष नभई सृष्टिको उपलब्धिका रूपमा रहेको मानिस ठान्छ । मानिस भएका नाताले आफूमा क्रोध, दुर्बुद्धि, इन्द्रिय लोलुपता र हिंस्रकपन जस्ता दानव प्रवृत्ति पनि कुनै समयमा रहेको अनुभूति गर्छ । जगत्का असमानता, विभेद जस्ता अन्यायबाट मुक्त हुन जागरणको सन्देश पनि सञ्चार गर्छ र अन्ततः आफूलाई नरबाट नारायणमा उठाउने, नीलिमा जस्तै अमर हुन चाहने अनि आद्यशक्ति, जगतजननी, महामाया, शक्ति स्वरूपिणी, ब्रम्हरूपिणी नीलिमाको चिन्तक, उपासक र अनन्य प्रेमीका रूपमा प्रस्तुत हुने काम गरेको छ । यसको काम्य भनेकै अन्ततः सोही मूर्तताबाट अमूर्ततामा साँटिदै गएकी अध्यात्म स्तरकी नीलिमा नै बनेकी छ ।

उपन्यासमा आध्यात्मिकताप्रतिको लगाव भए पनि पुराणहरूमा भएका असङ्गतिको बयान, समातावादी सोचको चर्चा, पुरुष हैकमप्रति कटाक्ष र नारीप्रतिको सद्भाव, राष्ट्रप्रेम, विज्ञानवादी दृष्टिकोण, प्रेमालाप, ग्रामीण समाजप्रतिको मोह जस्ता वर्तमान युगजीवनका सन्दर्भहरू पनि ठाउँ ठाउँमा प्रकट भएका छन् । जस्तै वेद विहित यज्ञ कर्ममा गाईको हवन नगरे बापत इन्द्र बनाइएको नहुषलाई ऋषिहरूले पदच्युत गर्नु, इन्द्रहरू पुmँडो स्वभावका दखिनु (पृ.२५), सप्तशतीले नारीको करुणा, सहिष्णुता, धैर्य र व्यवहारवादिता नदेख्नु (पृ.८२–८३), पुरुष अवतारको मात्रै चर्चा हुनु नारी अवतारको त्यति चर्चा नहुनु (पृ.५२), विपन्नताका कारण शीतकालमा कतै बालबालिका नाङ्गै कठ्याग्रिनु, हस्पिटल पुगेर पनि औषधी किन्ने पैसा नभई मर्नु तर कतै करोडौँ डलरको बैँक ब्यालेन्स देखिनु (पृ.९०–९१), मानव अधिकारवादीहरूको भीड मात्रै देखिनु तर विपन्नताले मर्दै गरेका मानवलाई उनीहरूले केही नगर्नु (पृ.९१), पृथ्वीमा जनता नै क्रान्तिकारी र सार्वभौम सत्ता सम्पन्न ठान्नु (पृ.७४), हुनेखाने र सत्तामा बस्ने पुरुषहरूले हिजो (राणाकाल) देखि अहिलेसम्म नारी शोषणमै रमाउनु, उनीहरूलाई नङ्ग्याउनै चाहनु, नारीलाई बिछ्यौनामा पूजा गरेर देवता बनेका पुरुष रमाउनु (पृ.४०–४१), दुनियाँमा आततायी र यन्त्रणादायी पुरुषहरू (नादिर शाह, चङ्गेज खाँ, नीरो, हिटलर, ट्रुम्यान, चर्चिल आदि) भेटिनु तर त्यस्ता नारी नदेखिनु (पृ.२०), साना लालाबालालाई नेपाली माटो चिनाउन खोज्नु (पृ.३), राष्ट्रनिर्माणमा लाग्दा आनन्दको अनुभूति गर्नु (पृ.५), आफ्नो देशलाई माया गर्नु भनेको आफैले आफूलाई माया गरेको ठान्नु, आज नभए पनि भोलि आप्mनो देश समृद्ध हुने आस गर्नु (पृ.१९), त्यसका लागि प्रयत्नरत रहनु र नेपाली हुनुमा गर्वबोध गर्नु (पृ.४५–४६), विदेश पलायन भएर नेपाल र नेपालीको उपहास गर्नेप्रति क्रोधित हुनु, आप्mनो देशलाई “आकाश जति नै फराकिलो र भरिलो” देख्नु (पृ.६६), चौतर्फी राष्ट्रिय समृद्धिको कामना गर्नु (पृ.६८), संसारभरि आप्mनो देश, राजा र जनताको उनीहरूसँग सुसम्बन्धका निम्ति पहल गर्नु (पृ.७७), सौन्दर्यकी स्रोत बनेकी नीलिमामा नेपाल साटिएको देख्नु (पृ.८८), राष्ट्रका सम्पदा रोम र लन्डन पुगेकामा दुखेसो गर्नु (पृ.१९–२०), विदेशमा नेपालीले व्यहोरेको अपमान देखे सुनेर दुखी बन्नु, कालमा निर्बाध निरन्तरता रहनु, पदार्थ गतिमान हुनु, जडवस्तु चेतनमा परिणत हुँदा मानवको सृष्टि हुनु (पृ.६३), सबै जगत् मानवले नै निर्माण गरेको ठान्नु, ईश्वर पनि मानव निर्मित धारणा मान्नु (पृ.६७), आप्mनो माटोलाई भन्दा पनि आप्mनी मायालुलाई माया गर्न आतुर देखिनु (पृ.३३), ग्रामीण दिनचर्याप्रति मोहित हुनु (पृ.३) जस्ता अनेकन औपन्यासिक प्रसङ्गबाट उक्त कुराहरूको पुष्टि हुन्छ । यी बाहेक लेखकको ठाउँ ठाउँमा आत्मवृत्तान्त (पृ.२६, ५३, ५८, ७५, ७६, ७७), साहित्यिक लेखनको आप्mनो उद्देश्य (पृ. ६, ६९, ७०, ७३), जीवन सम्बन्धी चिन्तन (पृ. १, २, ४, ५, ६, ७, १०, २७, ७३ र ९५), विश्वशान्तिको कामना (पृ.६४, ७४) जस्ता कुराहरू पनि प्रसङ्गवश प्रकट भएका छन् । यस्ता कतिपय कुराको कथनमा सूक्तिमयता वा आकर्षक साहित्यिकताको निर्वाह पनि ठाउँ ठाउँमा भएको छ । जस्तै केही उदाहरण–

– जीवन यही सम्पूर्णता हो, आनन्द र पीडाको अन्योन्याश्रय हो । (पृ.१),

– निर्बाध सुखबोध आत्मरतिको स्वप्नदोषको काल्पनिक स्खलन हो जो आनन्दको बीजारोपणमा परिणत हुँदैन । (पृ.२),

– श्रम गरेर शरीर थाक्नु र आत्मामा तृप्तिको अनुभव हुनु आनन्द हो । (पृ.६),

– आप्mनो देशको माया भनेको आफूलाई चिनेर आप्mनो माया गर्नु हो । आप्mनै खुट्टामा उभिनु हो । (पृ.१९),

– यौटी नारीको नाम बताउ मलाई जसलाई यो विश्वको इतिहासले आततायी र यन्त्रणादायी भनी नादिर शाह र चङ्गेज खाँ वा नीरो भनेको होस् । (पृ.२०),

– यो संसारमा मानिसले बाहेक कसैले कुनै पोसाक लगाएका छैनन् । (पृ.३९),

– नीलिमाको शरीरभरिका रोमाञ्चमा दा भिन्चीका क्यानभास बनून् । मेरा प्रत्येक चुम्बन नीलिमाका शरीरभरि जताततै काउकुती लगाउने कारखाना र भट्टी भएर जाज्वल्यमान दन्किरहुन् । (पृ.४४),

– तिमीले र मैले भोलि यो देशलाई बनाएपछि कुन नाक लिएर कुन ठाउँमा कहाँ फर्किने वहाँहरू ? (पृ.४६),

– स्रष्टा र सौन्दर्यको निर्माता भएर नै त बाँदरबाट अघि बढेर त्यो जीवन मानिसमा परिणत भयो । (पृ.५१),

– जो एउटा पुस्तक लेख्छ के आफूभन्दा पहिले लेखिएका सबै पुस्तकबाट त्यसको पुस्तक जन्मिएको होइन ? (पृ.५२),

– पीडा र वेदनालाई यो देशबाटै निर्वासित गर्नु परेको छ । (पृ.५७),

– मानिस भनेको चेतना सम्पन्न त्यो प्रकृति हो जो पाइलो पाइलोमा आफूलाई आफै चिन्दै जान्छ । (पृ.७३),

– मैले आफ्नो छातीमा घृणा र प्रेम दुवैको दन्किँदो आगोको यौटा मुस्लो नै लुकाइराखेको छु । (पृ.७९),

– उद्देश्यपरक, उद्देश्य प्रेरित र उद्देश्य संरक्षित बाँच्नु नै त नीलिमाको जीवन हो । (पृ.८२),

– निन्दा र भत्र्सनाको जीवन बाँच्नु परेको आजका हामीबारे भोलिको इतिहासकारले लेख्ने पाना हुने छैन र ...? (पृ.८५), आदि ।

३. उपसंहार

मदनमणि दीक्षित नेपाली साहित्यका एक गम्भीर चिन्तक र सर्जक हुन् । बहुमुखी सर्जक दीक्षितको यो दोस्रो उपन्यास हो । यिनको पहिलो उपन्यास ‘माधवी’ नै वैदिक कालीन सांस्कृतिक चिन्तन र नारी चरित्र निर्माणका दृष्टिले निकै महत्त्वको देखिएको छ । त्यही पृष्ठभूमिमा यो उपन्यास आएको छ । यसमा पनि विपुल विकीर्ण वैचारिकता, परिवेशगत व्यापकता, निबन्धात्मकता, स्वैरकाल्पनिकता, सङ्क्षिप्तता, साङ्केतिकता, नारी प्रधानता, मानवता, राष्ट्रियता, प्रेमपरकता, भौतिकताबाट अध्यात्म उन्मुखता, तीव्र भावात्मकता, सूक्तिमयता, सुखदुखात्मक जीवन बोध जस्ता विविध विशेषता देखिएका छन् । आकारका दृष्टिले दीक्षितको यो सबैभन्दा लघु उपन्यास हो तापनि जीवन जगत् र चिन्तन आयामका दृष्टिले भने अरूभन्दा बृहत् उपन्यास देखिएको छ । यही लघु आकारभित्र बृहत् आयामको संश्लेषण यस उपन्यासको जटिल चुनौती र विशेषता दुवै बनेको छ । अर्काे कुरा दीक्षितको यो दोस्रो उपन्यास भए पनि यसको संरचना निर्माणमा यिनको अघिल्लो उपन्यासकारिताले भन्दा पनि निबन्धकारिताले बढी स्थान पाएको छ । यसबाट पनि दीक्षितको यो उपन्यास प्रयोगशील संरचना वा विधा मिश्रणको नव स्वरूपका रूपमा देखिन पुगेको छ । यो नवीनतालाई नाकारात्मक दृष्टिले नभई सकारात्मक दृष्टिले हेर्नु नै न्याय सङ्गत हुने छ ।

समग्रमा भन्दा दीक्षितको यस उपन्यासमा यति धेरै विशेषताहरू रहे पनि तिनको केन्द्र भनेकै नीलिमाको चरित्र संस्थापित गर्नु हो । नीलिमा यहाँ दीक्षितको अघिल्लो उपन्यासकी माधवीभन्दा पनि बहुस्वरूपिणी र सबला नारीका रूपमा देखिएकी छ । उसको बहुस्वरूपिणी र सबला नारी चरित्रको आकर्षक प्रतिबिम्ब निर्मार्ण गर्न सक्नु नै यसको खास प्राप्ति बनेको छ ।

(प्रतिक्रियाका लागि ः उबगमभ।िखष्कजलग२थबजयय।अयm ÷फोन ०६१५३७९६९÷ मोबाइल ९८४६०८७९६२)

मुख्य सन्दर्भ ग्रन्थ

अधिकारी. अच्युतरमण सम्पा. (२०५१). उन्नयन (मदनमणि विशेषाङ्क). अंक १६. (माघ–चैत) ।

अधिकारी. पूर्णप्रसाद (२०५१). “साहित्य चिन्तनका रूपमा मदनमणि दीक्षित र उनको ‘मेरी नीलिमा’ एक अध्ययन”. उन्नयन (मदनमणि विशेषाङ्क). अंक १६. (माघ–चैत). पृ.२१५–२३१ ।

कात्यायनी र सत्यम (सन्. २००९). “मेरी वोल्सनटन क्राफ्ट ः स्त्री मुक्ति की आदि सिद्धान्तकार”. स्त्री अधिकारो का औचित्य साधना, मेरी वोल्सनटक्राफ्ट. अनुवादक मीनाक्षी दिल्ली ः राजकमल प्रकाशन प्रालि. ।

गौतम. कृष्ण (२०६४). उत्तरआधुनिक जिज्ञासा. काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन ।

——————— (२०६१). “वर्तमान नेपाली साहित्यमा नारीलेखन, उत्तरआधुनिक परिप्रेक्ष्यमा स्त्रीवाद पठनको एक चित्र”. समकालीन साहित्य. १५ ः१ (कात्तिक–मङ्सिर–पुस). काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान. पृ.९०–९६ ।

दीक्षित. कमलमणि (२०५०). “नीलिमा मलाई माफ गर”. मेरी नीलिमा. मदनमणि दीक्षित. ललितपुर ः साझा प्रकाशन ।

दीक्षित. मदनमणि (२०५८). माधवी. तृ.सं.. ललितपुर ः साझा प्रकाशन ।

—————————— (२०५०). मेरी नीलिमा. ललितपुर ः साझा प्रकाशन ।

पाण्डेय. मैनेजर (सन् १९८९). साहित्य के समाजशास्त्र की भूमिका. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।

पौडेल. विष्णुप्रसाद (२०६७) “उपन्यास रचनामा चरित्र र चरित्र विधानको प्रकृति”. जनप्राज्ञमन्च. वर्ष ११. (पोखरा). पृ. १६०–६५) ।

—————————— (२०६७) “नारीवादी चिन्तन सिमोन द बुआको द सेकेण्ड सेक्स. कृतिका आधारभूत कुराहरू” पृथ्वीवाङ्मय १० ः ५. पोखरा पृ. ६६–८४ ।

बराल. ऋषिराज (२०६३). उत्तरआधुनिकतावाद र समकालीन यथार्थ. काठमाडौ“ ः प्रगतिशील साहित्य अध्ययन केन्द्र ।

राय. गोपाल (सन् १९७३). उपन्यासका शिल्प. पटना ः विहार हिन्दी ग्रन्थ अकादमी ।

शर्मा. मोहनराज (२०६६). आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना. काठमाडौँ ःक्वेस्ट पब्लिकेसन ।

श्रेष्ठ. दयाराम (२०६६). अभिनव कथाशास्त्र. काठमाडौ ः पालुवा प्रकाशन प्रा.लि. ।

सिंहल. वैजनाथ (सन् १९८८). हिन्दी विधाए ः स्वरूपात्मक अध्ययन. चण्डीगढ ः हरियाणा साहित्य अकादमी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।