15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यथार्थवादी साहित्यको उन्नत स्वरूप : प्रगतिवाद

विचार डा. यदु नन्दन उपाध्याय June 4, 2012, 4:05 pm

१. विषय प्रवेश

जीवन जगत्का परिघटनाको यथार्थपरक पुनर्सृजन साहित्य हो । यसो भन्दा साहित्यमा समाज जीवनका यावत् पक्षहरू यथावत् रूपमा अभिव्यक्त हुन्छन् भन्ने बुझ्नु चाहिँ हुँदैन । साहित्यमा मानव जीवन सम्बद्ध पक्षहरू प्रतिनिधिमूलकताका आधारमा चित्रित हुन्छन् । त्यसैले गोर्की (२०६५ ः२४) के भन्छन् भने “यदि बिस, पचास अझ भनौँ सय पसले, निजामती कर्मचारी वा मजदुरका अति महत्त्वपूर्ण विशेषता, वर्ग लक्षण, स्वभाव, रुचि, हाउभाउ, विश्वास र बोलीचालीका ढङ्गहरूको सार झिक्न लेखक सक्षम भएमा” लेखनमा प्रतिनिधिमूलकता अभिव्यक्त हुन्छ । उनको भनाइको तात्पर्य के हो भने साहित्यमा एउटा चरित्रमा चित्रित हुने रुचि, स्वभाव, समस्या, सङ्कट वा कुनै पनि पक्ष यथार्थमा व्यक्ति चरित्रका नभएर उजस्तै धेरै जनाका हुन्छन् र ती कुरा एउटामा आरोपित भएर सारमा सङ्घनित रूपमा प्रकट हुन्छन् । साहित्यको प्रतिनिधिमूलकता यही हो र यसलाई सुरुचि सम्पन्न र यथार्थपरक बनाउन लेखकमा समाज निरीक्षणको गहिरो दृष्टि र त्यसलाई सारमा स्वाभाविक बनाएर प्रस्तुत गर्ने कलात्मक सामथ्र्य र सक्षमता आवश्यक हुन्छ ।

प्रगतिवादको उक्त प्रतिनिधिमूलकताको मान्यताबाट साहित्यमा समाज जीवनका विशिष्ट र मार्मिक पक्षहरू अत्यन्त सङ्घनित र गहिरो गरी अभिव्यक्त भएका हुन्छन् भन्ने बुझिन्छ र यसले नै रचनाको यथार्थताको ग्यारेन्टी गर्दछ । यसमा वास्तविक जीवनसँग जोडिएका घटना, चरित्रका कार्य तथा परिवेशगत पक्षको यथार्थतालाई गहिरो गरी छानिएको हुन्छ र त्यसमा गतिशील यथार्थको द्वन्द्ववादी मान्यता अनुसारको चित्रण पनि गरिएको हुन्छ । यसो हुँदा सामाजिक यथार्थको जस्तो तुलनात्मक रूपमा सतही प्रत्यक्ष यथार्थको मात्र चित्रण नभई द्वन्द्ववादी गतिशील यथार्थको आन्तरिक पक्ष समेत उद्घाटित हुने भएकाले यसलाई यथार्थवादको प्रतिनिधिमूलक अभिव्यक्ति मानिन्छ । प्रस्तुत आलेखमा यथार्थवादका मुख्य प्रकारका सापेक्षतामा प्रगतिवादी यथार्थका पक्षहरूको चिनारी दिई यसलाई नै यथार्थवादी साहित्यको उन्नत रूप हो भन्ने तथ्य सिद्ध गर्न खोजिएको छ ।

२. यथार्थवादका मुख्य प्रकार

प्रगतिवाद भाववादी दर्शनका विपरीत वैज्ञानिक चिन्तनको सामाजिक, आर्थिक पृष्ठभूमि र आधार प्राप्त गरी विकसित भएको यथार्थवादी साहित्य अन्तर्गतकै एउटा प्रकारमा पर्दछ । यस क्रममा यथार्थवाद अरू किसिमका साहित्यिक आन्दोलनभन्दा भिन्न ठोस र वैचारिक आधारमा प्रतिष्ठित भएको अभियान मानिन्छ (मिश्र, सन् १९७५ ः ८) । यस अन्तर्गत पनि जगत् जीवनका साथै सामाजिक परिप्रेक्ष्य र गतिविधिको पूर्ण विवरण दिने विशुद्ध यथार्थवाद, यथार्थकै छनोट गर्ने विवेचनात्मक यथार्थवाद र नयाँ सामाजिक दृष्टिकोण र सन्दर्भ सहित माक्र्सवादी चिन्तनद्वारा प्रभावित हुँदै विकसित भएको नवीन यथार्थवाद गरी तिन भेद (त्रिपाठी, २०५८ ः ४४) रहेकामा प्रगतिवाद नवयथार्थवादमा पर्दछ । यसो त प्रकृतवादलाई पनि यथार्थवादभित्र नै समाविष्ट गर्ने गरेको पनि नपाइने होइन तर त्यसलाई प्रगतिवादले साहित्यको जीव शास्त्रीय दृष्टिकोणका रूपमा लिने गरेको पाइन्छ (मिश्र, सन् १९७५ ः १२) । कतिपय चिन्तकहरू मनोवैज्ञानिक पक्षसँग सम्बद्ध साहित्य चिन्तनलाई पनि यथार्थवादी मान्यतासँग जोड्दछन् तर त्यसले बाह्य सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षसँग साहित्य सिर्जनलाई महत्त्वका साथ नहेरी अचेतन मनका कुण्ठित एवं दमित कामवृत्तिलाई साहित्य सिर्जनाको केन्द्र मान्ने हुनाले प्रगतिवादले त्यसलाई अयथार्थवादी मान्छ । त्यसले आत्मा र वस्तु, सहजवृत्ति र पर्यावरण अनि व्यक्ति र समाजबिचको द्वन्द्वात्मक सम्बन्धलाई अस्वीकार गर्दछ (ढकाल, २०६८ ः १२) । यसरी साहित्य चिन्तकहरू यथार्थवादी साहित्यका विभिन्न प्रकार देखाउँछन् तर यहाँ प्रगतिवादका सन्निकट मानिएका निम्न तिन प्रकारमध्ये प्रगतिवादी साहित्यको स्वरूप ठम्याउने प्रयास गरिएको छ ।

२.१ सामाजिक यथार्थवाद

समाजमा भए गरेकै कुराहरूलाई तटस्थताका साथ प्रस्तुत गर्ने साहित्यको यथार्थवादी स्वरूपलाई सामाजिक यथार्थवाद मानिन्छ । यसले सामान्यतया भाववादी, आदर्शवादी, स्वच्छन्दतावादी मान्यता विपरीत वस्तुवादी विज्ञान सम्मत जीवन मूल्य र जन जीवनको यथार्थ प्रतिबिम्बनमा जोड दिन्छ । यसले आफूले देखे भोगेका समकालीन सन्दर्भ, सामाजिक अनाचार आदि विषयलाई वस्तुपरकतामा आधारित भई विवेचना गर्दछ । सामाजिक, आर्थिक जटिलता, मानवीय दुर्बलता, स्थानीय यथार्थताको उद्घाटन गर्नमा केन्द्रित हुने यथार्थवादमा सामाजिक रीति रिवाज, संस्कृति, समस्याग्रस्त जीवनका विविधतामुखी स्वरूपहरू प्रकट गरिन्छन् । साहित्यमा यथार्थवाद भन्नाले सामान्यतया समाजशास्त्रीय चिन्तनद्वारा प्रभावित सामाजिक यथार्थवाद नै बुझिन्छ (जोशी, २०५५ ः ६६२) । यसको औपचारिक प्रारम्भ फ्रान्सेली उपन्यासकार चेम्फ्लुअरी (सन् १८२१–१८८९) बाट भएको हो । यसको विकासमा एडमण्ड डुरान्टे (सन् १८३३–१८८०), गुस्ताफ फ्लाबेयर (सन् १८२१–१८८०) आदिको योगदान रहेको मानिन्छ । यथार्थवादलाई परिचित गराउने सन्दर्भमा दयाराम श्रेष्ठ (२०४१ ः १०३) को निम्न कथन महत्त्वपूर्ण छ ः

कल्पनासँग यथार्थवादको कुनै सम्बन्ध छैन न आश्चर्य चकित पार्ने असम्भाव्य घटना वा दृश्यहरूको वर्णन गर्नुसँग नै यसको कुनै सम्बन्ध छ । दृष्टिग्राह्य वा इन्द्रिय गोचर वस्तुजगत नै यथार्थवादको परिधि भएको हुँदा त्यसै अनुरूप वस्तु तथा पात्रलाई कृतिमा पुनर्सृजन गर्नु नै यसको उद्देश्य हो ।

यथार्थवादी स्रष्टाले समाजको कोरा चित्रण मात्र गर्दैन त्यसको आँतमा सामाजिक समृद्धिको आकाङ्क्षा पनि व्यक्त गर्दछ । यसमा समाज जस्तो छ त्यस्तै चित्रण गर्ने प्रबलता रहे पनि यदाकदा यस्तो हुनु पर्नेको सङ्केत रहन सक्ने पनि मानिन्छ । सामाजिक यथार्थवाद अधिभूतवादी मान्यताका निकट रहेको हुनाले द्वन्द्वात्मक गतिशीलतामा आधारित भई विश्लेषण गर्ने प्रवृत्तिबाट टाढा हुन्छ । यथार्थवादका मूल प्रवृत्तिहरूमा समालोचक वासुदेव त्रिपाठी (२०५८ ः ४४) ले स्थानीय दृश्य र समय स्पन्दन, समकालीन घटना र परिस्थिति, कथावस्तुका निम्ति खास महत्त्वपूर्ण नभए पनि ठाउँ र व्यक्तिको सूक्ष्माति सूक्ष्म विवृति, भाषिका र क्षुद्र भाषाको प्रयोग, विज्ञान र व्यवसाय क्षेत्रका शब्दावली र पारिभाषिक शब्दको विशेष प्रयोग, डकुमेन्ट (अभिलेख) र चिठी तथा विश्वसनीय संस्मरण हुनु पर्ने उल्लेख गरेका छन् । यसरी जन जीवनका यथार्थतालाई चित्रित गर्ने भए पनि सामाजिक गति र अन्तर्विरोधको यथार्थ चित्रण गर्नमा समर्थ नहुनु सामाजिक यथार्थवादको कमजोर पक्ष मानिन्छ ।

२.२ आलोचनात्मक यथार्थवाद

सामाजिक जीवन यथार्थको उद्घाटनका क्रममा विकृति र विसङ्गतिमाथिको आलोचनाको पक्ष प्रबल देखिने यथार्थवादी साहित्यको भेद आलोचनात्मक यथार्थवाद हो । सन् १९२० देखि मौलाएको यस वादले विश्व साहित्यको इतिहासमा बाल्जाक, स्टेन्धाल, डिकेन्स, टाल्सटाय, दोस्तोएभ्स्की र चेखोभ जस्ता महान् साहित्यिक प्रतिभाहरू उत्पादन गरेको छ (चापागाईं, २०५१ ः ७८–७९) । यो विशेष गरी पुँजीवादी समाज व्यवस्थाका असङ्गतिहरूको उद्घाटन तथा जीवन सत्यका खोजका क्रममा बुर्जुवा समाज व्यवस्थाप्रति निर्मम आलोचनाको तरिका ग्रहण गरेर विकसित भएको चिन्तन हो (मिश्र, सन् २००० ः ३१) । यसको प्रारम्भिक रूप स्वच्छन्दतावादमा समेत रहेको मानिन्छ (फिसर, सन् २००५ ः ११२) । सामाजिक परिघटनाको तटस्थतापूर्ण चित्रण गर्ने सामाजिक यथार्थवाद तथा सामाजिक उत्पादन प्रक्रियामा आमूल परिवर्तनको अभिव्यञ्जना गर्ने प्रगतिवादका बिचबिन्दुमा यसको भूमिका रहेको देखिन्छ । पुँजीवादी जगत्का सबै महत्त्वपूर्ण लेखकहरूमा आम धारणा के पाइन्छ भने तिनीहरू आफ्नो परिवेश र यथार्थसित सम्झौता गर्न र चित्त बुझाएर बस्न सक्तैनन् (फिसर, सन् २००५ ः १११) । पुँजीवादी समाजले परिकल्पना गरेका समानता, स्वतन्त्रता, नागरिक अधिकारमाथि भएका वञ्चना र अधिकार विहीनताका विरुद्ध तिनको आलोचना एवं विद्रोह प्रकट हुन्छ र नै आलोचनात्मक यथार्थवादी साहित्य चिन्तन अभिव्यक्त हुन्छ । यसले अवसानतिर लम्किरहेको पुरानो व्यवस्था र जन्मँदै गरेको नयाँ व्यवस्थाका विषमताहरूको विश्लेषण गर्दछ (लुकास, २०३१ ः २८६) । यसको प्रारम्भ पुँजीवादी अराजकताका विपरीत प्रकट भए पनि विद्यमान जुनसुकै अन्याय, विभेद र समस्याप्रतिको विमतिका रूपमा प्रकट हुनु स्वाभाविक देखिन्छ । यसैले नेपाली समाजको अर्ध सामन्ती एवं अर्ध औपनिवेशिक संरचनाभित्रका आर्थिक विषमता, सामाजिक भेदभाव, मानवीय व्यभिचार, भ्रष्टाचार, अनैतिकता, अन्ध विश्वास, स्वार्थीपनमाथि पनि आलोचनात्मक यथार्थवादको दृष्टि र प्रहार केन्द्रित भएको देखिन्छ । यो प्रगतिवादी सृजनाको आधारभूमि निर्माण गर्ने सहयोगी सिद्धान्तका रूपमा परिचित छ । यसमा रचनाकारले विद्यमान यथार्थको निर्मम भण्डाफोर गर्ने, त्यसभित्र मानिस अब ससम्मान बाँच्न नसक्ने कुराको घोषणा गर्ने अभिव्यक्ति दिए पनि ती कुरूपतालाई सुरूप बनाउने कुनेै दृष्टिकोण र सिर्जनात्मक विधि दिदैन (ढकाल, २०५४ ः १०१) । साथै आफूले वर्णन गरेका यथार्थको ऐतिहासिक प्रकृतिबारे चेतना नहुने (लुकास, २०३१ ः २६८), समस्याग्रस्त जीवनलाई समृद्ध बनाउने वैज्ञानिक दृष्टिको अभाव हुने (मिश्र, सन् २००० ः ३६) लगायतका कारणले यसको सीमाबोध हुन्छ । समग्रमा सामाजिक इतिहास चेतना, एवं वर्ग सङ्घर्ष सम्बन्धी वैज्ञानिक भविष्य दृष्टि नभए पनि विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रका बेथितिमाथि तिखो प्रहार गरी समाजलाई सचेत पार्ने तथा परिवर्तनकामी सुन्दर जीवनको आधार बलियो पार्ने काम आलोचनात्मक यथार्थवादले गर्दछ । यसै कारण आलोचनात्मक यथार्थवादलाई प्रगतिवादको गहकिलो पृष्ठभूमि निर्माण गर्ने पूर्ववर्ती सिद्धान्त मानिन्छ ।

२.३ प्रगतिवादी यथार्थवाद

प्रगतिवादी यथार्थवाद सामाजिक र आलोचनात्मक यथार्थवादभन्दा भिन्न वैज्ञानिक दृष्टि सम्पन्न साहित्य सिद्धान्त हो । यथार्थको कुरो गर्दा सतहमा देखिने फोटोकपीको कुरा प्रत्यक्ष वा टड्कारो हुन्छ र त्यही नै यथार्थ हो भन्ने भ्रम पनि पर्न सक्छ । त्यसमा साँचो अर्थमा यथार्थ भनेको हामीले सरसर्ती हेर्ने र देख्ने गरेको रुख, माटो, घर आदि मात्र होइन त्यो वस्तु र त्यसको गतिशील चरित्र हो (बराल, २०५२ ः १) । समाजको कुरो गर्दा त्यहाँ मानवीय जीवन व्यवहारका अनेकौँ असङ्ख्य र असीमित काम कुराहरू हुन्छन् । तिनमा जीवनका निम्ति काम लाग्ने र नलाग्नेका बिचमा सङ्घर्ष भइ रहेको हुन्छ । यस्तो सङ्घर्ष सबैले प्रत्यक्ष थाहा पाउने गरी पनि हुन्छ र परोक्ष किसिमले पनि हुन्छ । त्यस सङ्घर्षलाई कसैले बुझ्छन् र सबैले बुझ्दैनन् पनि । यसो भए पनि जीवनमा काम नलाग्ने कुरा ओइलाउँदै, हराउँदै जान्छन् र काम लाग्ने कुरा मौलाउँदै जान्छन् । विकासको नियम भनेको नै यही हो । साहित्यमा आउने घटना, परिस्थिति र चरित्रहरूमा पनि काम लाग्ने र नलाग्ने व्यक्ति, परिस्थिति र विचार आदिका बिच सङ्घर्ष हुन्छ । प्रगतिवादले सङ्घर्ष वा द्वन्द्वलाई विकासको मुहान मान्दछ (कर्नफोर्थ, २०६०ः ७५) । गलत कुरालाई आत्मसात गर्ने पराजित हुन्छ र सही कुरामा अघि बढ्ने विजयी हुन्छ । कहिले काहींँ सही कुरा पराजित भए पनि कालान्तरमा सही र वैज्ञानिक कुरा पुनः विजयी हुन्छ भन्ने प्रगतिवादी मान्यता छ । प्रगतिवादको यो मान्यता अरू यथार्थवादको भन्दा नितान्त भिन्न छ । यसैले माक्र्स र एङ्गेल्सले यथार्थवादलाई हेर्ने परम्परागत आदर्शवादी र यान्त्रिक भौतिकवादी दृष्टिकोणका सट्टा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको सूत्रपात गरेको मानिन्छ (बराल, २०५२ ः २) ।

प्रगतिवादी यथार्थवादको स्वरूप ठम्याउने सन्दर्भमा गोर्कीले प्रस्तुत गरेको यथार्थवाद र स्वच्छन्दतावादको सम्बन्धको कुरो पनि महत्त्वपूर्ण छ । उनले महान् रचनाकारमा यथार्थवाद र स्वच्छन्दतावादको सम्मिश्रण पाइने कुरा प्रस्तुत गर्दै स्वच्छन्दतावादका निस्क्रिय र सक्रिय गरी दुई भेदमध्ये सक्रिय स्वच्छन्दतावादले प्रगतिवादी साहित्यमा सिर्जनात्मक प्रभाव थप्ने कुरा उल्लेख गरेका छन् । उनले सक्रिय स्वच्छन्दतावादले मानिसको बाँच्ने आकाङ्क्षालाई मजबुत पार्ने प्रयत्न गर्दछ र मानिसमा आफू वरिपरिको जीवनका सबै किसिमका उत्पीडन विरुद्ध विद्रोहको भावना उत्पन्न गर्दछ भनेका छन् (गोर्की, २०६५ ः २७) । उनले निस्क्रिय स्वच्छन्दतावादले मानिसमा कि यथार्थ समस्यासँग सम्झौता गर्न प्रेरित गर्ने कि यथार्थबाटै विमुख गराई व्यर्थको आन्तरिक जगत्मा हराई पलायनतर्फ लैजान उत्प्रेरणा थप्ने हुनाले अस्वीकार्य रहेको उल्लेख गरेका छन् । गोर्कीको सक्रिय स्वच्छन्दतावाद सम्बन्धी यस धारणाले प्रगतिवादी सिर्जनाको रचनात्मकता र जीवन सङ्घर्षप्रतिको उन्मुखतालाई अभिव्यक्त गरेको छ ।

प्रगतिवादी साहित्यले यथार्थ र अयथार्थ कुराको व्याख्या द्वन्द्ववादी एवं ऐतिहासिक भौतिकवादी मान्यताका आधारमा नै गर्दछ । सर्वप्रथम प्रगतिवाद समाजमा अरूमाथि शासन गरेर, श्रमको शोषण गरेर बस्नेहरूका विरुद्धको तथा श्रमिक पक्षधरताको सिद्धान्त हो (आफानास्येभ, सन् १९८५ ः ३० ) भन्ने बुझ्नु जरुरी छ । सृजना र विकासको केन्द्रमा श्रमलाई राख्ने यस वादले श्रमको शोषण गर्ने दासमालिक, सामन्त तथा पुँजीपतिलाई ह्रासशील, पतनशील वर्गका रूपमा चित्रित गर्दछ । इतिहासका निर्माता कुनै राजा, महाराजा वा ईश्वर नभई श्रमजीवी जनता हुन् (आफानास्येभ, सन् १९८५ ः २२३) भन्ने यसको प्रस्ट धारणा छ । यसले अध्यात्मवादले जस्तो आत्मा, परमात्मा, ईश्वर, स्वर्ग, नरक आदि रहस्यमय र अयथार्थ कुरामाथि विश्वास गर्दैन (भण्डारी, २०५५ ः ४९४) । यसले यस्ता कुरा असचेत जनतालाई शोषण गर्न बनाइएका भ्रमजाल मात्र हुन् भन्दछ । यसले नारी र पुरुषको भेदभाव, जातीय भेदभाव लगायतका अन्याय, अत्याचार आदि तमाम विकृतिको विरोध गर्दछ । निजी सम्पत्तिमा आधारित समाजले मान्छेको अधिकारमाथि हस्तक्षेप गरेको मान्दै साम्राज्यवादी वैदेशिक हैकम विरुद्ध पनि आवाज बुलन्द गर्दछ । यसले व्यक्तिगत कुण्ठा, निराशा एवं पलायनका सट्टा आशा, उमङ्ग र भविष्यका निम्ति काम गर्दछ । समग्रतः समाजका हरेक क्षेत्रमा हुने अन्याय, अत्याचारका खिलाफमा मानिसमा सक्रियता र जागरण पैदा गराई सुन्दर भविष्य निर्माणको उत्साह भर्दछ । यस्तै विचारलाई अन्तर्वस्तुको विषय बनाउने काम प्रगतिवादी साहित्यमा गरिन्छ । यसै कारण यथार्थ र यथार्थवाद भनेको यथास्थितिको फोटोकपी होइन क्रियाशील पक्षको अग्रगामी चिन्तन हो (बराल, २०४९ ः ३०) भन्ने बुझ्नु पर्दछ । यथार्थवादका व्याख्याता जर्ज लुकास (२०३१ ः २६८)का भनाइमा पनि प्रगतिवाद वा “समाजवादी यथार्थवादले एउटा बेग्लै भविष्यको निर्माणमा जुटेका तथा त्यस लक्ष्यद्वारा मनोवैज्ञानिक र नैतिक रूप निर्धारण गरिएका व्यक्तिहरूको चित्रण भित्रबाट गर्दछ ।” त्यस्तो भविष्यको निर्माणमा जुटेका व्यक्तिहरू भनेका समाजका क्रान्तिकारी, समाज रूपान्तरणमा मुख्य भूमिका खेल्ने श्रमिक, शोषित र सर्वहारा नै हुन् भन्ने प्रगतिवादी यथार्थवादको मान्यता रहेको छ । यसमा द्वन्द्वात्मक दृष्टिका आधारमा हरेक समस्याको कारण र कार्यको खोजी गर्दै यथार्थको विस्तृतीकरणका साथ नयाँ समाजको निर्माणमा लागेका मानिसको उज्ज्वल भविष्यको खोजी गरिएको हुन्छ र वर्तमानका यथार्थलाई मात्र नटिपेर अतीत र भविष्यलाई जोड्ने कार्य पनि भएको हुन्छ (तिमल्सेना, २०६४ ः ५९) ।

प्रगतिवादी यथार्थवादले प्रतिनिधिमूलक यथार्थ रचनाको माग गर्दछ र त्यसका निम्ति रचनाकारमा यथार्थवादी रचनादृष्टिको सक्षमता आवश्यक मान्दछ । यसको मान्यता अनुसार साहित्यमा वस्तुगत र आत्मगत पक्षको सन्तुलन कायम रहनु पर्छ । वस्तुगत पक्ष भनेको समाजको यथार्थ जीवन हो जुन गतिशील, द्वन्द्वशील र विकासशील हुन्छ । त्यसलाई साहित्यमा प्रतिनिधि परिस्थिति र प्रतिनिधि चरित्र मार्फत प्रस्तुत गर्ने कुरामा जोड दिइएको पाइन्छ (माक्र्स र एङ्गेल्स, २०६३ ः १०५) । गोर्कीले प्रतिनिधित्वपूर्ण रचनाको उक्त मान्यतालाई एउटा वर्ग विशेषका अनेक व्यक्तिहरूका सर्वाधिक विशिष्ट वर्ग लक्षणहरू, बानी ब्यहोराहरू, रुचि, भाव भङ्गिमा, मान्यता, बोलीचाली, रहनसहन आदिलाई उसै वर्ग विशेषका कुनै एउटा व्यक्तिमा सारभूत रूपमा प्रस्तुत गर्नु (मिश्र, सन् १९७३ ः २५८) लाई मानेका छन् । प्रतिनिधिमूलकतालाई प्रारूपीकरण पनि भनिन्छ र त्यसको अर्थ कृतिमा प्रस्तुत प्रत्येक चरित्रले आफ्ना व्यक्तिगत गुण त लिएको हुन्छ सँगसँगै अरू धेरैका आनीबानी समस्या, सोचाइलाई पनि लिएर आएको हुन्छ भन्ने हो । यो कुरा चरित्रमा मात्र होइन परिस्थिति र घटनाहरूमा पनि लागू हुन्छ । सामाजिक जीवन जति विविधतामुखी र विस्तृत छ त्यो सबै साहित्यमा प्रस्तुत हुन नसक्ने हुनाले त्यसको छनौट र प्रारूपीकरण गर्नु पर्ने हुन्छ । यस क्रममा हावर्ड फास्टले यथार्थको छनोटलाई आवश्यकता र महत्त्वपूर्ण कुराको विवेकपूर्ण चयन मानेका छन् । कुनै पनि कृति उद्देश्यपुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुूर्ण हुने हुनाले उक्त प्रक्रियाद्वारा चयन गरी प्रतिनिधिमूलक बनाइएको रचना सामग्रीमा रचनाकारको विश्वदृष्टि अनुसारको विचार विधान पनि गरिएको हुन्छ । त्यसमा रचनाकारको जीवनानुभव, सुन्दर कला बिम्बमा समाजलाई प्रतिबिम्बित गर्ने सामथ्र्य, उपयुक्त एवं विशिष्ट भाषा, प्रतीक, बिम्ब, अलङ्कार उक्ति विधान आदि स्रष्टासँग सम्बद्ध निजी रुचि र चयनगत आत्मगत पक्षको उपयोग भएको हुन्छ नै । आत्मगत पक्षहरू स्रष्टाले कुन प्रयोग गर्ने कसरी प्रयोग गर्ने भन्ने निजी रुचि र छनोटसँग सम्बन्धित रहन्छन् । यसरी सामाजिक जीवन यथार्थको वस्तुपक्ष र छनौट तथा प्रारूपीकृत गरी विचार विधान पनि गरिएको स्रष्टाको आत्मगत पक्षको उचित र कलात्मक व्यवस्थापनको रूप नै कुनै पनि कृति निर्माणको आधार हो । यसरी वस्तुगत तत्त्वलाई विषयको माध्यमबाट र आत्मगत तत्त्वलाई रचनाकारको माध्यमबाट रचनाले आफूमा समावेश गरेको हुन्छ (चापागाईं, २०५४ ः ४०) भन्न सकिन्छ । यसरी जीवन जगत्का यथार्थलाई द्वन्द्वशील भौतिकवादी मान्यता एवं सिर्जनात्मक सोँचका साथ प्रस्तुत गर्ने भएकाले नै प्रगतिवादी यथार्थवाद अरूभन्दा भिन्न, विशिष्ट र उन्नत मानिन्छ ।

३. निष्कर्ष

प्रगतिवादी यथार्थवाद सामाजिक तथा आलोचनात्मक यथार्थवादी साहित्य चिन्तनभन्दा भिन्न र विशिष्ट साहित्य सिद्धान्तका रूपमा देखा परेको छ । सामाजिक यथार्थवादमा समाजको दर्पणपरक अभिव्यक्ति तथा वर्णन विवरणको आधिक्य रहने देखिन्छ भने आलोचनात्मक यथार्थवादमा विद्यमान विकृतिमाथि तिखो आलोचना रहन्छ । यी दुवै धारामा सामाजिक चित्रण रहने भए पनि तिनमा इतिहास चेतना एवं भविष्य दृष्टिको अभाव रहेको पाइन्छ । प्रगतिवादी यथार्थवाद ती दुई भन्दा भिन्न द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादी दृष्टि सहितको साहित्य चिन्तन भएकाले यसले प्रत्येक वस्तुमा गति र द्वन्द्व रहने तथा विकासको स्रोत पनि त्यहींँ रहेको मान्दछ । यसले यथार्थलाई अरू प्रकारले जस्तै स्थिर वा जड रूपमा नहेरी गतिशील, विकासशील र परिवर्तनशील रूपमा हेर्दछ । सामाजिक र आलोचनात्मक यथार्थवाद दुवै द्वन्द्वात्मक भोैतिकवादी नभई भाववादी तथा यान्त्रिक भौतिकवादी मानिन्छन् । निकटताका दृष्टिले भने प्रगतिवाद आलोचनात्मक यथार्थवादका समिप मानिन्छ । समाज र त्यसको विकास एवं भावी समाज निर्माणका निम्ति पनि प्रगतिवादी दृष्टिकोणमा इतिहास चेतना र सुन्दर भविष्य दृष्टिको प्रस्टता पाइन्छ । यथार्थवादलाई जीवनगत सिर्जनाको रङ्ग रोगन थपी सामाजिक असङ्गति र उत्पीडन विरुद्ध क्रान्तिकारी सिर्जनात्मक मार्ग दिने कार्य गोर्कीको स्वच्छन्दतावादको सक्रिय भेदले पनि गरेको छ । यसैले प्रगतिवादलाई यथार्थवादकै क्रान्तिकारी परम्पराको सबभन्दा उदात्त र उच्चतम रूप मानिन्छ (बराल, २०५२ ः १३) ।

सन्दर्भ सामग्री

आफानास्येभ, भिक्टर (सन् १९८५), दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, अनुः राजेन्द्र मास्के, सोभियत संघ ः

प्रगति प्रकाशन ।

गोर्की, म्याक्सिम (२०६५), छानिएका वैचारिक रचनाहरू, सम्पा. तथा अनु. निनु चापागाईं, काठमाडौं ः

खोजी प्रकाशन गृह ।

कर्नफोर्थ, मोरिस (२०६०), द्वन्दात्मक भौतिकवाद, दो.सं., अनु. युवराज पन्थी, पाटन ः तेजबहादुर

गुरुङ ।

चापागार्इं, निनु (२०५१), यथार्थवादी रचनादृष्टि र विवेचना, काठमाडौं ः दिलवरदान महिम चापागाईं ।

(२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर ः मृदुल महिम चापागार्इं ।

जोशी, कुमार बहादुर (२०५५), “यथार्थवाद” नेपाली साहित्यकोश, सम्पा. ईश्वर बराल र अरू, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

ढकाल, घनश्याम (२०५४), माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, पोखरा ः विजय ढकाल ।

(२०६८), “लेखकीय स्वतन्त्रता र प्रतिबद्धताका सन्दर्भमा”, प्राध्यापक उद्घोष, (वर्ष १, अङ्क १), पृ. १०–१६ ।

तिमल्सेना, पशुपति (२०६४), प्रगतिवादी कविता मान्यता र प्रवृत्ति, पोखरा ः ओजन बुक्स ।

त्रिपाठी, वासुदेव (२०५८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २, ते.सं., ललितपुर ः

साझा प्रकाशन ।

फिसर, अंस्र्ट (सन् २००५), कला की जरुरत, अनु. रमेश उपाध्याय, नयी दिल्ली ः राजकमल प्रकाशन

प्रा. लि. ।

बराल, ऋषिराज (२०४९), प्रगतिवाद, विराटनगर ः सहित्य सदन ।

(२०५२), माक्र्सवाद र उत्तर आधुनिकतावाद, काठमाडौं ः सविता बराल ।

भण्डारी, गणेश (२०५५), “प्रगतिवाद”, नेपाली साहित्यकोश, सम्पा. ईश्वर बराल र अरू, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल,

काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।

मिश्र, शिव कुमार (सन् १९७३), माक्र्सवादी साहित्य चिन्तन, भोपाल ः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी ।

(सन् १९७५), यथार्थवाद, नयी दिल्ली ः दि मैकमिलन कम्पनी अफ इन्डिया लिमिटेड ।

(सन्२०००), दर्शन साहित्य और समाज, नयी दिल्ली ः वाणी प्रकाशन ।

(सन्२००१), माक्र्सवाद और साहित्य, नयी दिल्ली ः वाणी प्रकाशन ।

लुकास, जर्ज (२०३१), जर्ज लुकासको साहित्य सिद्धान्त, अनु. लीला प्रसाद अधिकारी, काठमाडौं ः नेपाल

राजकीय प्रज्ञाप्रतिष्ठान ।

श्रेष्ठ, दयाराम (२०४१), नेपाली साहित्यका केही पृष्ठ, दो.सं., काठमाडौं ः साझा प्रकाशन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।