19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तर

कथा लोचन रिजाल June 9, 2012, 5:33 pm

आज रामप्रसाद ढकाल कसैको प्रतीक्षामा छ । एक आलिसान महलको गेटको छेउमा उभिएर उसले आफ्नो हातको घडी हे¥यो । ठीक तीन बजेको रहेछ । गर्मीको याम, सूर्यनारायणले आफ्नो तापक्रम पृथ्वीमा वेधडक उगेलिरहेका थिए । त्यस तापक्रमलाई आकाशमार्गमा अवरोध खडा गर्न कसैले सकेको थिएन । मानौं, भरे पाँच बजेसम्म पनि सूर्यको प्रभुत्व कायम रहिरहने छ ।

भर्जिनियाको चिल्लो सडकमा कुदिरहेका हजारौं कारहरूमध्ये एउटा पहेंलो कार अरू कारहरूलाई उछिन्दै तीव्र गतिले घुइँकिरहेको देखियो । झलक्क हेर्दा त्यो कार सुन्दर अनि भरखरै सोरुमबाट निकालिएको हो कि झैं लाग्दथ्यो । त्यस कारको चालकले प्रहरीको आँखा छलेर आफ्नो कानमा मोबाइल टाँस्यो अनि छोटो कुरा गरेर फोन बन्द गरी दियो । चालकले गाडी हाँक्दाहाँक्दै मोबाइल प्रयोग गर्न नपाइने त्यहाँको नियम थियो । केहीबेरपश्चात् ‘वालमार्ट’देखि पश्चिमतर्फ रहेको ‘ग्रीन नाइट’ नामको विशाल होटलको पार्किङ स्थलमा पुगेर सो कार एक किनारमा थान्को लाग्यो ।

“हेलो ढकालजी ! तपाईंले धेरैबेर प्रतीक्षा त गर्नु परेन ? सरी” पहेंलो कारबाट उत्रिंदाउत्रिंदै श्रेष्ठले क्षमा याचना गर्दै प्रश्न तेस्र्यायो ।

“होइन ! म पनि भरखरै आइ पुगेको हुँ ।” यो जवाफ थियो रामप्रसाद ढकालको ।

दुवैले हात मिलाए अनि एक आलिसान महलको लिफ्टभित्र पसेर पाँचौं तलाका लागि श्रेष्ठले लिफ्टको बटम थिचिदियो । लिफ्ट आफ्नै गतिले माथि उक्लिन थाल्यो ।

“यो होटल अब उम्काउनु हुँदैन मित्र ! हामी दुईजना मिलेर यसलाई चलायौं भने हाम्रो भविष्य सुदृढ हुनेछ । कामको खोजीमा दशतिर भौंतारिनु पनि पर्दैन । यहाँका अरू केही नेपालीहरूले पनि काम पाउने छन् । आफ्नै नेपाली दाजुभाइहरूले नै होटल भर्नुपर्छ ।” श्रेष्ठले आफ्नो योजना बतायो ।

“हो नि’ जनकपुरको उमेश यादव अमेरिकामा आएको आज दुई महिना भैसक्यो बिचराले अझै काम पाएको छैन । उसलाई प्रकाश नेपालले सहारा दिइराखेका छन् । हेर्नुस् न ! सुरेश लिम्बूले हिजै मसँग भनेको थियो, उसले काम गर्ने ठाउँमा साहै्र दुःख छ अरे । यहाँका स्थानीय मानिसहरूलाई घण्टाको २०÷२५ डलर दिन्छन् अनि नेपालीहरूलाई चाहिं त्यही कामको ज्याला वापत घण्टाको १० डलरमात्र दिने अरे । अझ सरला मगरको गुनासो त श्रेष्ठजी ! तपाईंले सुन्नु भएकै छैन । सरलाले मेरी श्रीमतीसँग भनेकी थिइन्, “दिदी ! म त दिक्क लागेर मर्न आँटे । यी काला जातीहरूसँग बसेर काम गर्न नसक्ने भएँ । एकछिन टुसुक्क बस्न पनि दिंदैनन् । उभिएको उभिएरै काम गर्नु पर्छ । हेपेर नराम्रोसँग गाली पनि गर्छन् । म त वाक्कै भएँ । लौ न दिदी ! तपाईंले काम गर्ने ठाउँमा म पनि कतै ‘एडजस्ट’ हुन पाउँछु कि ? बुझिदिनु न’ भन्थिन् । यो कुरा सुनेर मेरो त मनै कस्तो–कस्तो भयो ।” यति भनिसकेर ढकालको अनुहारमा चिन्ताका रेखाहरू देखापर्न थाले । श्रेष्ठ पनि अत्यन्तै भावुक भयो ।

“हो ढकालजी !” यहाँ नेपालीहरूले साह्रै दुःख भोगेका छन् तर नेपालमा बस्नेहरू सोच्दछन्, ‘विदेशमा डलर रुखमा फलेको हुन्छ । मामुली बतास चल्दा पनि डलर बरर्र भूर्इंमा झर्छ अनि हामीचाहिँं पोल्टामा हाल्छौं, झोलामा भर्छाै र बोरामा पनि खाँद्छौं’ भन्ने उनीहरूको धारणा छ । के भनौं ? सोचाइ नै फरक । जे होस् हामीले यहाँ सङ्घर्ष गर्नुपर्छ । आज यो होटलको कुरा फाइनल भयोभने हामी अरू धेरै नेपालीहरूलाई पनि काम दिन सक्छौं ।’

लिफ्ट पाँचौ तल्लामा पुगेर अडियो । दुवैजना लिफ्टबाट बाहिर निस्किए । होटलको मालिकसँग कुरा भयो । जम्मा तीन लाख डलर मोल तोकियो । बीस वर्षमा किस्ता चुक्ता गर्नु पर्ने शर्त भयो । अनि पचास हजार डलरचाहिँं एक हप्ताभित्र भुक्तान गरेपछि कागजपत्रसहित होटल हस्तान्तरण गर्ने टुङ्गो लगाएर दुवैजना फर्किए ।

दुवै प्रफुल्ल थिए । सपनाहरू सजिन थाले । दुवैको बैंक ब्यालेन्स पच्चीस पच्चीस हजार छँदै थियो । नगदको विषयमा उनीहरू चिन्तामुक्त थिए । मात्र होटल सञ्चालनको विषयमा उनीहरूको सोचाइ केन्द्रित हुन गयो । ‘च्यान्टली’ रोडमा पुगेपछि दुवैजनाको कार आ–आफ्नो दिशातर्फ छुट्टियो ।

ठीक यसैताका नेपालमा आन्दोलन दन्कियो । सडकमा टायर बालिन्थे । कतै बमको धमाका सुनिन्थ्यो । मृतकलाई सहिद घोषणा हुन्थ्यो । जातीय दङ्गा अब होला, तब होला भन्ने त्राही भयो । कुनै–कुनै क्षेत्रमा कफ्र्यू लागेको छ भन्ने खबर पनि आउन थाल्यो । कुनै एक पहाडी ठाउँबाट एक बाहुन जातीलाई ‘अब तिम्रो यहाँ काम छैन, यो हाम्रो राज्य हो’ भनी भगाएको छ भन्ने मौखिक खबरको हल्ला चारैतिर फैलियो । तराईक्षेत्रमा पनि त्राहिको सिर्जना भयो । देशभरि नै हाहाकार मच्चिन थाल्यो ।

वासिङ्टनबाट प्रसारण हुने टिभी अनि पत्रपत्रिकाहरूबाट नेपालको खबर प्रसारण हुन थाल्यो । नेपालमा जातीय दङ्गा भड्कियोस्, आतङ्क फैलियोस् भन्ने केही तत्वहरूले रिस उठ्ने खालका उशृङ्खल नारा लगाए । त्यो खबर पनि इन्टरनेट र टेलिफोनबाट अमेरिकामा पुग्यो ।

त्यसैबेला नेपालबाट श्रेष्ठलाई उसको पिताले फोन ग¥यो, ‘बाबु ! बाहुनसँग मिलेर केही काम नगर्नु, पछि धोखा होला । पिताको कुरा सुनेर श्रेष्ठ अन्योलमा प¥यो । ढकाललाई पनि त्यस्तै फोन आयो । जनकपुरेली यादवलाई पनि उसको पिताले फोनबाट भन्यो, “बेटा ! पहड्याहरूको छेउछाउमै न बस्नु । उनीहरूले हाम्रो कहिल्यै हित चिताउँदैनन् ।”

प्रकाश नेपाललाई पनि त्यस्तै फोन आयो उनको घरबाट । “त्यो यादवलाई बित्थामा किन खान दिएर आफ्नो घरमा राखेको ?” भन्दै उनकी माता गर्जिन् । उनी त्यसरी गर्जिनु पनि स्वभाविकै थियो । किनभने आन्दोलनकारीका केही मोर्चाहरूको पहाडेप्रतिको आक्रमक दृष्टिकोणको असर परेको थियो । तर प्रकाशले साफसाफ भनिदिए “आमा ! त्यहाँका नेताहरूको कुबुद्धि र कुचालले गर्दा नेपालमा त्यस्तो उपद्रो उठेको हो । तर यहाँ त्यस्तो हुँदैन । हामी विदेशमा छौं । हाम्रो यहाँ एक आपसमा सद्भाव छ । कसैले कसैलाई धोखा दिदैनन् । सबै जातजाती मिलेर हामी बसेका छौं । एक अर्कामा सहयोगको भाव राख्नै पर्छ । यहाँ हामी फलानो चिलानो जाति, पहाडे मधेसे , चुच्चे नेप्टे होइन नेपाली भएर बसेका छौं । सबैको एक अर्काप्रति, आत्मीयता छ । एउटै थालमा खान्छौं एउटै ओछ्यानमा सुत्छौं ।’

फोनको वार्ता यादवले पनि सुनिरहेको थियो । उसको अनुहारमा चमक देखिन्थ्यो । दुई दिन पछिको कुरा हो “ग्रिन नाइट होटल”मा काम गर्ने इच्छुक नेपालीहरूलाई आवेदन दिन अनुरोध गर्दै पत्रिकामा विज्ञापन निस्कियो । पत्रिका पढेर विशेष गरी उमेश यादव र सरिता गुरुङको खुट्टा भूइँंमा थिएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।