19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भिगेल्याण्ड उद्द्यानका उत्कर्ष

कविता कृष्ण उपाध्याय June 9, 2012, 5:48 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

उत्तरी सागर माथि सगरमा

उत्तरी सगरबाट उत्तरी सागरतिर बगिरहँदा

मानस

स्वयम्भु र नागार्जुन डाँडामाथि भएको अनुभूत गर्छ

नागार्जुनको डाँडामा बसेको अनुभूत गर्छ

नागार्जुनको मन्द सुसेली सुन्छ

नागार्जुन बोलेको सुन्छ ।

भिगेल्याण्ड उद्द्यान उत्रिदा

भिगेल्याण्ड उद्द्यानमा उभिएका

मौन मूर्ति हेर्दा

मानस मान्छेका असंख्य रुप देख्छ

बालक देख्छ

बालिका देख्छ

युवा देख्छ

यौबना देख्छ

बृद्ध अनि बृद्धा देख्छ

जन्म र मृत्यु पनि देख्छ/

जन्म मृत्यु कुदिएका मूर्तिहरुमा

मूर्तिकारका मुर्त मूर्तिहरुमा

नागार्जुनका सुरिला सुसेली सुन्छ

नागार्जुन सुन्छ:

संसार सिमित छ

गुलाब फुल्छन

गुलाब फुलेर मर्छन

फुल्नु र मर्नुको कथा बनेर ।

एक पल्ट फुल्छन मर्छन

आखिर जीवन सिमित छ

संसार सिमित छ ।

एउटा पुस्ता आउँछ

एउटा पुस्ता जान्छ

एउटाले अर्कालाई पछ्याई पनि रहन्छ

पुस्ता पछि पुस्ता न आउछ

गुलाब मर्छ

फेरी फुल्छ

यो अविरल मर्छ

अविरल फुल्छ

हेर त मानस

संसार सिमित छ

संसार असिमित पनि छ ।

गुलाबको आफ्नै रुप छ

गुलाबको आफ्नै रुपान्तर छ

रुपान्तरण छ

यो फुल्छ, ओइलिन्छ, झर्छ

जीवन जस्तै ।

यो फुल्छ

यो ओइलिन्छ

अनि फेरी फुल्छ ।

अनुभूतिका अनुपम साँध सीमामा

जीवनका साँध सीमामा

भावनाहरु सल्बलाउछन

माथि उडछन, अक्कासिन्छन, मड़ारिन्छ्न

खुशी छर्छन, हास्छन

दुखेशो छर्छन, रुन्छन ।

भावनाहरु रुप र रुपान्तरणमा

सधै सधै सजिंछ्न

जीवनका छाया बनेर ।

उज्यालोमा हिंड्दा

छाया पनि त हल्लिन्छ

रुप फेर्छ

रुपान्तरण हुन्छ

गतिशीलबाट गतिहीनमा

चम्किलोबाट मधुरोमा

प्रस्टबाट अप्रस्टमा

फेरी गतिहीनबाट गतिशिलमा

मधुरोबाट चम्किलोमा

अप्रस्टबाट प्रस्टमा

पालै पालो

अविरल ।

अन्धकारमा

प्रकाशमा/

संसार सिमित र असिमित दुवै हो ।

अन्त-अनन्त हो ।

मानस !

तिम्रा प्रज्ञा र ज्ञानका सिमाहरुमा

तिमी नै संसार हौ

संसार सिमित र असिमित हो ।

तिम्रा प्रज्ञा र ज्ञानहरुमा

तिमी कालो पनि छौ

तिमी गोरो पनि छौ

कालो नहुदा गोरो हुन्छौ

गोरोपनाको अनुपस्थितिमा कालो छौ ।

सबै रङ्गमा इन्द्रेणी हौ

तिमि कालो र सेताका सिमा भित्र छौ

असिमित इन्द्रेणीका सिमा भित्र छौ

असिमित इन्द्रेणीका असिमित अंश हौ

असिमित इन्द्रेणी हौ ।

मानस इन्द्रेणी तिम्रो हो

अन्गाल!

गुलाब जस्तै

अन्त र अनन्तको वृत्तमा

तिम्रो इन्द्रेणी हाँसी रहन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।