14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपालको भाषिक स्थिति र नेपाली भाषाको भूमिका

विचार डा. विष्णु प्रसाद पौडेल June 9, 2012, 1:14 pm

सार: यस लेखमा पहिला २०५८ सालको तथ्याङ्कका आधारमा नेपालका विभिन्न भाषाहरूको वर्तमान स्थिति सङ्केत गरी अबको नेपालमा बहुभाषा नीति अन्तर्गत रहेर नेपालका भाषाहरूको के कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा विभिन्न परिस्थितिहरूको लेखाजोखा गर्ने काम भएको छ । यसै क्रममा कतिपय आन्तरिक (आर्थिक दुरवस्था, भाषाको अपर्याप्तता र चर्काे अन्तर्राष्ट्रिय रुचि) र बाह्य परिस्थिति (अंग्रेजी र अंशतः हिन्दी भाषाको प्रभाव) का कारण बहुभाषी नेपालका धेरै भाषाहरूको अस्तित्व नै सङ्कटग्रस्त रहेको परिस्थितिलाई देखाइएको छ । साथै यस्तो परिस्थितिबाट बच्न नेपाली भाषालाई समग्र नेपाली जातिको भाषाका रूपमा स्थापित गर्दै अन्य मातृभाषाको संरक्षणको नीति अख्तियार गर्नु पर्ने तर्क पनि यहाँ राखिएको छ ।

१. पृष्ठमूमि

भाषा मूलतः विचार विनिमयको साधन हो तर यसलाई संस्कृति र जातीय पहिचानका रूपमा पनि लिइन्छ । यसमा भावनात्मक सम्बन्ध बढी जोड्ने प्रचलन पनि छ । भाषामा त्यसका मूल प्रयोक्ताका सामाजिक, सांस्कृतिक र जातीय संवेदनाहरू निश्चय नै घनीभूत रूपमा संश्लिष्ट भएर रहेका हुन्छन् । त्यसैले एउटा भाषाको सघन भाव अर्को भाषामा तद्वत् रूपमा प्रकट गर्न त्यति सजिलो हुन्न । अनुवाद कलाको चुनौतीले यसैलाई सङ्केत गरेको हुन्छ । तर पनि मानव समाजका कतिपय साझा अनुभूतिका सापेक्षतामा विभिन्न भाषाको सांकेतिकतालाई अनुमान गरी वा त्यस भाषीको सामाजिक, सांस्कृतिक वा जातीय सम्बन्धको ज्ञान गरी एउटा भाषा अर्काे भाषामा अनुवाद गर्ने गरिन्छ । यसले भाषाको गहन सांस्कृतिकतालाई वा भाषाको परम्परा, जाति, संस्कृति, सम्प्रदाय, भूगोल र राजनीतिक पक्षको अभिन्नतालाई नै देखाउँछ ।

सभ्यताको आदिम कालमा मानव सीमित समुदायको थियो र उसले प्रयोग गर्ने भाषा पनि एकै थियो तर सभ्यताको विकाससँगै मानव अनेक समुदायमा धेरैतिर व्याप्त भयो अनि उनीहरूले प्रयोग गर्ने भाषा पनि धेरै भए । कालान्तरमा एकै भूभागमा अनेकन जाति र समुदायका मानिसहरूको बसोवास बढ्न थाल्यो । त्यसले समाज बहुजाति, बहुसंस्कृति र बहुभाषीको बन्न थाल्यो । नेपाल यस्तै मुलुक हो ।

नेपाली भाषा नेपाल, भारत, भुटान, वर्मा लगायतका करिब पचास वटा देशहरूमा बोलिन्छ । विश्वभरि यस भाषाका प्रयोग कर्ता करिब चार करोड र मातृभाषाका रूपमा बोल्नेहरू करिब दुई करोड बिस लाख मानिस रहेको अनुमान गरिन्छ । ११औं शताब्दीमा अस्तित्वमा आएको यो भाषा नेपालपछि भारतमा बढी बोलिन्छ । भारतको सिक्किम र दार्जिलिङमा यो भाषा सरकारी कामकाजको भाषा बनि सकेको छ । त्यस बाहेक आसाम, मणिपुर, देहरादुन, अलमोडा लगायतका क्षेत्रमा पनि बोलिन्छ । यो भाषा भारतीय नेपालीहरूको जातीय पहिचानको भाषा नै बनेर रहेको छ । त्यसैले पारसमणि प्रधान, कुमार प्रधानहरूले यसलाई निश्चित जात जातिको भाषा नभई सबै नेपाली जातिको साझा भाषा पनि भनेका छन् (http://ne.wikipedia.org/wiki/ नेपाली भाषा) । यसरी नेपाली भाषा नेपालको राजनीतिक सीमाना मात्रैमा सीमित नभई विश्वभर नेपाली जातिको भाषाको रूपमा फैलि रहेको छ तापनि यहाँ नेपालको राजनीतिक सीमाभित्र नेपाली भाषाको अवस्था के कस्तो छ भन्ने कुराको मोटामोटी आकलन गरिँदै छ ।

२. नेपालको भाषिक स्थिति

नेपाल बहुभाषी देश भए पनि यहाँ के कति भाषा छन् भन्ने बारेमा भाषिक तथ्याङ्क लिने काम २००८ सालको जन गणनाबाट मात्र हुन थालेको पाइन्छ । दस, दस वर्षमा गरिने यस्तो जन गणनामा गणकलाई भाषा सम्बन्धी सूचना टिपोटका बारेमा राम्रो प्रशिक्षण नगरिँदा धेरै भाषिक सूचनाहरू राम्ररी आउन नसकेको भाषा चिन्तकहरूको राय रहेको छ (अधिकारी, २०६७: ५१) तापनि उपलब्ध पछिल्लो तथ्य (२०५८ को जन गणना) लाई हेर्दा नेपालमा पाँच भाषा परिवारका ९२ वटा भाषाहरूको नाम उल्लेख गरिएको छ भने ०.७४ प्रतिशत वक्ताको भाषा अज्ञात भनिएको छ (नेसनल रिपोर्ट, २००१: ८३–८४) । सो तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्या २,२७,३६,९३४ मध्ये मातृभाषाका रूपमा ०.२० प्रतिशतसम्मका वक्ताको भाषा र तिनको मुख्य प्रयोग क्षेत्रगत विवरण निम्नानुसार रहेको छ ।

क्र.सं.- भाषा----------मातृभाषीको प्रतिशत ---------------बोलिन खास क्षेत्र

१ नेपाली ४८.६१ नेपालका सबै जिल्ला--- पहाड र तराई

२ मैथली १२.३० पूर्वी तराईका महोत्तरी, सर्लाही, धनुषा, सप्तरी र सिराहा जिल्ला

३ भोजपुरी ७.५३ तराईका बारा, पर्सा, रौतहट, चितवन र रूपन्देही

४ थारु ५.८६ तराईका मोरङ, चितवन, कपिल वस्तु, दाङ, देउखुरी, कैलाली, कञ्चन पुर र बर्दिया ।

५ तामाङ ५.१९ काठमाडौ उपत्यकाका सीमावर्ती क्षेत्र, काभ्रेपलान्चोक जिल्लाको मध्य तथा लेकाली भाग, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट धादिङ, मकवानपुर, सिन्धुली र रामेछाप जिल्ला ।

६ नेवारी ३.६३ काठमाडौँ उपत्यका, दोलखा, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप, तनुहुँ, नुवाकोट र कास्की ।

७ मगर ३.३९ पाल्पा, तनहुँ, स्याङ्जा, गोर्खा, नवल परासी, रुकुम, रोल्पा, प्युठान, डोल्पा र बाग्लुङ ।

८ अवधी २.४७ पश्चिम तराईका नवलपरासी, रूपन्देही, कपिलवस्तुदेखि बाँके, बर्दिया र कञ्चनपुरसम्म ।

९ वान्तवा १.६३ पूर्वी नेपालका सङ्खुवा सभा, सोलुखुुुम्बु, उदयपुर, भोजपुर ओखल ढुंगा, धनकुटा, खोटाङ, इलाम ।

१० गुरुङ १.४९ पश्चिमाञ्चलका मनाङ, लमजुङ, गोरखा, कास्की, पर्वत, स्याङ्जा, मुस्ताङ ।

११ लिम्बु १.४७ पूर्वाञ्चलका पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, सङखुवा सभा ।

१२ बज्जिका १.०५ रौतहट, सर्लाही ।

१३ उर्दू ०.७७ नेपालगञ्ज ।

१४ राजवंशी ०.५७ मोरङ, झापा ।

१५ शेर्पा ०.५७ सोलुखुम्बु ।

१६ हिन्दी ०.४७ वीरगञ्ज, विराट नगर, भैरहवा ।

माथिका तथ्याङ्कलाई हेर्दा नेपालमा अत्यधिक जनताको मातृभाषा नेपाली नै रहेको देखिन्छ । पछिल्लो हिन्दी भाषीको संख्या १,०५,७६५ भए पनि त्यसपछिको १७औँ क्रममा पर्ने चाम्लिङ भाषा ०.१९ प्रतिशत अर्थात् ४४,०९३ सङ्ख्याको छ । अर्थात् ४४,०९३ भन्दा थोरै मातृभाषी भएका ७६ वटा भाषाहरू २०५८ को तथ्याङ्कमा देखिएका छन् । यस्ता धेरैजसो भाषाको लेख्य रूप विकास नभई बोलीमा मात्र सीमित छन् । कतिपय लोपोन्मुख अवस्थाका पनि छन् । यहाँनेर हेक्का राख्नु पर्ने कुरा के पनि छ भने सन् २००० को क्योटो सम्मेलनमा बार्बरा एफ ग्राइम्सले प्रस्तुत गरेको सूचीमा नेपालमा १२८ वटा भाषा रहेको उल्लेख छ र त्यसलाई भाषाशास्त्री स्टेभ वार्टसले पनि सहमति जनाउँदै नेपालका लगभग १०० वटा भाषाहरू लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरेका छन् (भण्डारी, २०६५ ः ६४) । (यहाँ २०५८ को भाषाको संख्यागत तथ्याङ्क र अन्य व्यक्तिले दिएको तथ्याङ्कको अन्तर देखिनुको मूल कारण राई किराती जस्ता भाषाहरूको केही सङ्ख्या मात्रै २०५८ को गणनामा परेका तर अरूले त्यस्ता भाषाका सबैजसो भेदलाई लिएका हुँदा पनि हो । राई किराती भाषाका धेरैजसो भेद परस्पर अबोधगम्य रहेका पनि छन् । उनीहरू बिच भेट हुँदा वा विवाहवारी हुँदा आपसमा प्रयोग गर्ने भाषा नेपाली बनि रहेको हुन्छ ।)

माथिका विवरणमा परे बाहेकका अन्य भाषहरूमा चामलिङ ०.१९, सन्थाली ०.१८, चेपाङ ०.१६, दनुवार ०.१४, धाँगर÷झाँगर ०.१३, सुनुवार ०.१२, रहेका छन् । त्यस्तै ०.१० मा पर्नेहरूमा बङगला, मारवाडी (राजस्थानी) र माझी, ०.०८ मा पर्नेहरूमा थामी, कुलुङ र धिमाल, ०.०७ मा पर्नेमा अङ्गिका, ०.०६ मा पर्नेहरूमा याक्खा र थुलुङ, ०.०५ मा पर्नेहरूमा साङ्पाङ् र भुजेल (खवास), ०.०४ मा पर्नेहरूमा दरै र खालिङ, ०.०३ मा पर्नेहरूमा कुमाल, थकाली, छन्त्याल र नेपाली साङकेतिक भाषाहरू, ०.०२ मा पर्नेहरूमा तिब्बतेली, दुमी, जिरेल, वाम्बुले, पुमा, य्होल्मो र नाछिरिङको, ०.०१ मा पर्नेहरूमा दुरा, मेचे पहारी, लेप्चा, बोटे, बाहिङ्, कोइ÷कोयु, राजी, हायु, ब्याङ्सी, याम्फु, घले, खरिया, छिरिङ्, लोहोरुङ र पन्जाबी पर्दछन् । यस्तै ०.०० मा पर्नेहरू अर्थात् ११०१ देखि २ जनासम्म मातृभाषी रहेका भाषाहरूमा चिनियाँ, अंग्रेजी, मेवाहाङ, संस्कृत, काइके, राउटे, किसान, चुरौटी, बरामु, तिलुङ, जेरो (जरुङ), दुङमाली, उडिया, लिङखिम, कुसुन्डा, सिन्धी, कोचे, हरियाणी, मगही, साम, कुर्माली, कागते, जोङखा, कुकी, छिन्ताङ, मिजो, नागाली, ल्होमी, आसामी र सधानी पर्दछन् ।

भाषा परिवारका दृष्टिले हेर्दा नेपालमा बोलिने भाषा निम्नानुसार रहेका छन्–

क. भारोपेली भाषा परिवारका– नेपाली, मैथिली, भोजपुरी, थारु, अवधी, बज्जिका, उर्दू, राजवंशी, हिन्दी, दनुवारी, बंगाली, मारवाडी, माझी, दराई, कुमाल, बोटे, पंजाबी, अंग्रेजी, संस्कृत, चुरौटी (मियाँ) आदि ।

ख. भोटबर्मेली वा चिनियाँ तिब्बती परिवारका– तामाङ, नेवार, मगर, वान्तवा÷राई किराती, गुरुङ, लिम्बु, शेर्पा, चेपाङ, थामी, धिमाल, थकाली, जिरेली, मेचे, सुनुवारी, हायु÷वायु, व्यासी, राउटे, पहरी, तिब्बती, लेप्चा, दुरा आदि ।

ग. आग्नेली परिवारको– सतार÷सन्थाल÷सन्ताल र खडिया ।

घ. द्रविडेली परिवारको– झाँगड (कुडँख÷उराउँ) ।

च. कुसुन्डा परिवारको– कुसुन्डा ।

कुसुन्डा भाषालाई पहिला भोट बर्मेली परिवारमा राखेर अध्ययन गरिन्थ्यो । जन गणनामा पनि यसलाई त्यसैमा राखिएको थियो तर पछिल्लो अध्ययन अनुसार यो अरू परिवारसँग नमिल्ने देखिएकाले यसलाई अलग्गै भाषा परिवारको मानिएको छ । लोपोन्मुख अवस्थामा रहेको यस भाषालाई भाषा विज्ञान केन्द्रीय विभागले संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्य गरेको पनि बुझिन्छ (पोखरेल, नेपालको वर्तमान भाषिक स्थिति) ।

झाँगड भाषा तराईको झापा, विराटनगर, सिराहा, जनकपुरमा बोलिन्छ । यसलाई कुडँख÷उराउँ पनि भनिन्छ । यसका वक्ता जम्मा ०.१३ प्रतिशत छन् । त्यस्तै सतार÷सन्थाल भाषा तराईको मोरङ र झापामा बोलिन्छ । यसका वक्ता ०.१८ प्रतिशत छन् । यस परिवारको अर्काे भाषा खडिया पनि रहेको छ । त्यस्तै मुन्डा नामक अर्काे भाषा पनि यसमा हुन सक्ने बुझिन्छ (पोखरेल, नेपालको वर्तमान भाषिक स्थिति) । भोट बर्मेली वा चिनियाँ तिब्बती परिवारको राई किरातीले बोल्ने भाषाका ३६ वटासम्म भेद मानेको पाइन्छ (शर्मा र बराल, २०५० ः १४४) । यस दृष्टिले हेर्दा नेपालमा सबैभन्दा धेरै (७० भन्दा बढी) भाषा यसै परिवारका बोलिन्छन् तर वक्ताको सङ्ख्या भने भारोपेली परिवारकै धेरै रहेको छ । जन गणना २०५८ अनुसार नेपालमा भारोपेली परिवारका ७९.१ प्रतिशत र भोट बर्मेली परिवारका १८.४ प्रतिशत वक्ता रहेका छन् । भोट बर्मेली परिवारका धेरै भाषा लोपोन्मुख अवस्थामा पनि रहेका छन् ।

भारोपेली परिवारका मैथली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, बंगाली, माडवारी, संस्कृत, अंग्रेजी भाषाका वक्ता नेपालमा भन्दा भारतमा बढी रहेका छन् । यस्तै आग्नेली र द्रविडेली भाषा परिवारका भाषाहरू पनि मूलतः भारतमै बोलिन्छन् । नेपाली भाषाकै वक्ता पनि भारतमा उल्लेख्य रूपमा रहेका छन् । त्यस्तै चिनियाँ तिब्बती परिवारको तिब्बती भाषा नेपालमा भन्दा छिमेकी राज्य तिब्बतमा बढी बोलिन्छ ।

नेपाल बहुभाषी मुलुक हुँदा यहाँका केही मातृभाषीका वक्ताहरू एकभाषी, केही द्विभाषी र केही बहुभाषी रहेका छन् । जापानी तेरासिमाले गरेको अनुसन्धान अनुसार सरदर नेपालीले ३.८ (झन्डै ४) ओटा भाषा बोल्न सक्ने तथ्य प्रकाशमा आएको छ (पोखरेल, नेपालको वर्तमान भाषिक स्थिति) ।

नेपालका भाषाहरू विभिन्न लिपिमा लेखिन्छन् । कतिपय भाषा एकभन्दा बढी लिपिमा लेख्ने परिपाटी पनि छ । जस्तै लेप्चा भाषा लेप्चा लिपिमा, लिम्बु भाषा सिरिजङगा लिपिमा, सन्ताल भाषा ओल चिकी लिपिमा, तामाङ भाषा तिब्बती र देव नागरी लिपिमा, नेवारी वा नेपाल भाषा रञ्जना र देव नागरी लिपिमा, गरुङ भाषा देव नागरी, रोमन र खेमा लिपिमा, मैथिली भाषा देव नागरी, कैथी र मिथिलाक्षर लिपिमा, मगर भाषा देव नागरी र आक्खा लिपिमा लेखिन्छन् । लेख्य परम्परा भएका अन्य धेरै भाषाहरूमा देव नागरी लिपिकै प्रयोग गरिन्छ ।

नेपालका ८०.६२  हिन्दुहरू र १०.७४  बौद्धमध्ये महायान बौद्धहरूको धार्मिक कर्मको भाषा संस्कृत रहेको छ । त्यस्तै अन्य केही बौद्धहरूको तिब्बती र पाली, इस्लाम धर्मानुयायीहरू (४.२) को मूलतः उर्दु, किरातहरूको किराती, इसाईहरूको अंग्रेजी, नेपाली र ल्याटिन भाषा रहेको छ ।

संस्कृत भाषाको प्रभाव दक्षिण एशियाका भाषामा मात्रै नभई पूर्वी एशियाका थाई, कम्बोडियाली, इन्डो नेसियाली, मलयोसियाली आदि भाषा पनि रहेको बुझिन्छ (पोखरेल, नेपालको वर्तमान भाषिक स्थिति) ।

३. नेपालको भाषिक स्थितिको विश्लेषण

नेपालमा र भारतमा पनि बोलिने नेपाली, मैथली, भोजपुरी, अवधी भाषाहरूलाई भारतका केही भाषा वैज्ञानिकहरूले हिन्दी भाषाकै भाषिका वा क्षेत्रीय भेदका रूपमा चर्चा गरेको पनि पाइन्छ । यी भाषाहरू बिचको सामान्य बोधगम्यता र भारतको एकै राजनैतिक भूगोलका कारण पनि उनीहरूले त्यसरी हिन्दी भाषामै समाहित गरेर हेरेको देखिन्छ । अहिले राजनैतिक स्वार्थका कारण नेपालका मैथली, भोजपुरी, अवधी र थारु मातृभाषी तराईका वा मधेसवादी राजनीतिक दलहरूले २०६८ को जन गणनामा आफ्नो क्षेत्रका मानिसलाई हिन्दी मातृभाषा लेख्न निर्देशन गरेको कुरा सञ्चारमा आएको छ । यसले २०५८ सालको जन गणनामा ०.४७ प्रतिशत रहेको हिन्दी मातृभाषीको सङ्ख्या अब एक्कासि बढ्ने छ । यसबाट क्रमशः नेपाली भाषालाई समेत थप चुनौती सिर्जना हुने छ किनभने नेपाली भाषाका सापेक्षतामा हिन्दी शक्तिशाली राष्ट्र भारतको राष्ट्रभाषा हुनुका साथै साहित्यका दृष्टिले पनि निकै समृद्ध छ । त्यसको संरक्षण र संवद्र्धनमा आर्थिक लगानी पनि अत्यधिक रहेको छ । शिक्षा, सञ्चार, चलचित्र, गीतका क्षेत्रमा समेत त्यसको व्यापक प्रयोग र प्रभाव छ । त्यसको असर नेपाली समाजमा विभिन्न माध्यमबाट भित्रिइ रहेको छ । त्यसको अनुपातमा नेपाली भाषाको संरक्षण र संबद्र्धनमा खासै लगानी देखिन्न । नेपाली भाषा १४औँ शताब्दीदेखि अहिलेसम्म नै नेपालमा सरकारी कामकाजको भाषा बनेर रहेको छ । यसलाई २०६३ सालपूर्वसम्म संविधानमा नेपालको एक मात्र राष्ट्रभाषाको सम्मान दिइएको थियो तर २०६३ सालको अन्तरिम संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको दर्जा दिएर (नेपालको अन्तरिम संविधान २०६३, भाग १, धारा ५, उपधारा १) नेपाली भाषाप्रतिको विशेष सम्मानलाई शिथिल तुल्याएको पाइन्छ । यसो हुँदा हुँदै पनि नेपाली भाषाको व्यापक महत्त्वलाई ख्याल गरी २०६३ को अन्तरिम संविधानमा पनि सरकारी कामकाजको भाषा भने मानिएकै छ (नेपालको अन्तरिम संविधान २०६३, भाग १, धारा ५, उपधारा २) ।

मुलुक सङ्घीय संरचनामा जाने भएको हुँदा बहुभाषिक नीति अनुसार सङ्घको आफ्नो सरकारी कामकाजको भाषा र सम्पर्क भाषा सङ्घले नै तय गर्ने कुराको उल्लेख ठूला दल (एनेकपा माओवादी, नेपाली कांग्रेस र एमाले) का चुनावी घोषणा पत्रमा उल्लेख छ । नेपाली कांग्रेसको घोषणा पत्रमा नेपाली भाषा केन्द्रका लागि सरकारी कामकाज र राष्ट्रिय सम्पर्क भाषा हुने छ (पृ.२३) भनिए पनि अरू दुई दलले त्यस्तो उल्लेख पनि गरेका छैनन् । नेपालका अन्य भाषाका सापेक्षतामा अत्यधिक मातृभाषी रहेको, सबैजसो नेपालीको सञ्चारको साझा भाषा पनि बनेको र साहित्यका दृष्टिले पनि समृद्ध नेपाली भाषा अहिले नेपालभित्रका अन्य मातृभाषाकै स्तरमा सिद्धान्ततः झारिएको छ । यो क्रम एक्कासि देखिएको नभई क्रमशः आएको हो । २०४७ सालको संविधानमै बहुभाषिक नीति अङ्गीकार गरिएको हो । त्यसैले २०३५ सालमै उच्चशिक्षामा क्रमशः नेपाली भाषालाई माध्यम भाषाका रूपमा विकास गर्ने सोच बनाएर अगाडि बढाउन थाले पनि पछि त्यो त्यसरी जान सकेन । २०४९ सालमा त्रि.वि.द्वारा ऐन संशोधन गरी सो सोचलाई खारेज नै गरियो । त्यस्तै २०५० सालमा लोक सेवा आयोगको पाठ्यक्रमबाट निजामति कर्मचारीहरूले राष्ट्रभाषा नेपालीको जाँच दिनु पर्ने प्रावधानलाई पनि हटाइयो । यसरी नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा भए पनि सो अनुसार यसको संस्थागत विकास गर्नेतिर भन्दा तत्सम्बन्धी दायित्वबाट सरकार आफै विमुख हुँदै गएर अहिलेको पृष्ठभूमि निर्माण गरि दिएको देखिन्छ ।

नेपालका नेवारी, मैथिली, लिम्बु, भोजपुरी, अवधी, हिन्दी, उर्दु, तिब्बती भाषाहरूको लेख्य परम्परा राम्रै विकास भइ सकेको छ । यीमध्ये धेरै छिमेकी मुलुकमा प्रशस्त प्रयोग प्रचलनमा रहेका हुँदा तिनको साहित्य पनि नेपाली भाषाका तुलनामा ती मुलुकमा राम्रो रहेको छ । मैथिली, नेवारी, हिन्दी भाषाहरू विभिन्न सञ्चारमा प्रयोग हुनुका साथै उच्च शिक्षामा समेत अध्ययनको विषय बनेर रहेका छन् । यस्तै लेख्य परम्परा निर्माण गर्दै गरेका भाषाहरूमा थारु, तामाङ, मगर, गुरुङ, राई किरात वर्गका थुलुङ, बान्तवा, चाम्लिङ, खालिङ र कुलुङ, थकाली, शेर्पा, राजवंशी र बाहिङ भाषा रहेका छन् । लेख्य परम्परा नभएका भाषामा सत्तार÷सन्थाल, दनुवार, चेपाङ, मारवाडी, थामी, माझी, झाँगड, धिमाल, दरै, जिरेल, छन्त्याल, खाम, कागते, काइके, ह्योल्मु, राजी, कुमाल, बोटे, व्यासी, राई किराती समूहका नाछिरिङ, पूर्वी मेवाहाङ, साम्पाङ, याम्फु÷याम्फे, उत्तरी लोहोरुङ, दक्षिणी लोहोरुङ, याक्खा, लेम्बायाख्खा, आठपहरिया र उम्बुले रहेका छन् । त्यस्तै लोप हुन लागेका भाषाहरूमा हायु, दुरा, कुसुन्डा, राउटे, राई किराती समूहका कोयु, पुमा, जेरुङ, छुक्वा÷चाक्वा, तिलुङ, दुमी, पोल्माचा, दुङ्माली, वालिङ, छिन्ताङ, लाम्विछोङ, मुगाली, बेल्हारे, फाङदुवाली र छुलुङ भाषा पर्दछन् (राष्ट्रिय भाषानीति सुझाउ आयोगको प्रतिवेदन, २०५० ः ५८) ।

नेपालका सबै भाषाहरूलाई राष्ट्रभाषाको एउटै डालोमा हालेर समान महत्त्व दिइएको भनिए पनि त्यो व्यवहारमा लागु हुन नसक्ने क्षणिक राजनीतिक सोच मात्रै हो किनभने नेपालका अधिकांश भाषा बोलाइमा मात्रै सीमित देखिएका छन् । तिनको लेख्य स्वरूप नै निर्माण भएको छैन अनि व्याकरण, शब्दकोश र प्रशस्त साहित्यको निमार्ण बिना कुनै पनि भाषाले राम्ररी भाव विनिमय गर्न पनि सकेको हुन्न । नेपालका धेरै भाषा (५०भन्दा बढी) का मूल वक्ता वा मातृभाषीहरूको सङ्ख्या पाँच हजारभन्दा पनि तल छन् । त्यस्तै उनीहरूको आर्थिक अवस्था सारै दयनीय देखिएको छ । यसले उनीहरूको सामाजिक र शैक्षिक अवस्था पनि दुर्बल तुल्याएको छ । उनीहरूलाई भाषा, संस्कृति र राष्ट्रियताभन्दा पनि कसरी बाँच्ने भन्ने चिन्ताले घेरिरहेको देखिन्छ । विश्वको बढ्दो आर्थिक सङ्कटको प्रभाव अब क्रमशः पढेलेखेका अधिकांश नेपाली युवाहरूमा पनि देखिन थालेको छ । रोजगारीका लागि विदेश जानु पर्ने र त्यसका लागि सोही देशको भाषा राम्ररी सिकेको हुनु पर्ने प्रावधानले पनि आप्mनो भाषा संस्कृति भन्ने कुरा आजको पुस्तामा एक परम्परित भावनात्मक कुरा मात्रै ठानिन थालिएको छ । त्यसैले आर्थिक समस्याको हल नखोजेसम्म अन्य पहिचानका कुरा निश्चय नै सुरुमा शिथिल बन्दै जाने र अन्ततः लोप नै हुनेछन् । नेपालका डेढ दर्जनजति भाषाका वक्ता १०० भन्दा पनि कम हुनु र ती क्रमशः लोपोन्मुख रहनुले पनि त्यसैलाई सङ्केत गरेका छन् । यो नियति बेलैमा राम्रो सुझबुझ बन्न नसके अरू धेरै भाषाले पनि व्यहोर्नु पर्ने देखिन्छ ।

अर्काे कुरा समाज भाषाविद् एडवार्ड सपिर (सन् १८८४–१९३९) का चेला बेन्जामिन होर्फ (सन् १८९९–१९४१) ले भाषिक सापेक्षता (ीष्लनगष्कतष्अ च्भबितष्खष्तथ) को सिद्धान्त नै प्रस्तुत गरेका छन् । उनका अनुसार प्रत्येक व्यक्तिले आफूले सिकेको भाषाको आधारमा नै विश्वलाई हेर्ने र व्याख्या गर्ने गर्छ, भाषाको संरचनाले हाम्रो धारणात्मक कोटिकरण (ऋयलअभउतगब िऋबतभनयचष्शबतष्यल० मा ठूलो असर पारेको हुन्छ र सिकेको भाषा सापेक्ष नै उसले जीवन जगत्प्रति धारणा निर्माण गरेको हुन्छ भन्ने छ । यी कुरा अमेरिकी आदिवासीहरूको भाषा अध्ययनपछि होर्फले स्थिर गरेका धारणा हुन् । भाषाका शब्द भण्डार र संरचनाले दिन नसक्ने सोच व्यक्तिले सोच्न सक्तैन वा भाषिक सीमितताले व्यक्तिको सोच पनि सीमित तुल्याइ दिन्छ अर्थात् व्यक्तिले भाषामा नभनिएको ज्ञानलाई परिकल्पना गर्न र सम्झन गाह्रो पर्छ भन्ने दृष्टिकोण होर्फमा पाइन्छ । यस दृष्टिकोणका विपक्षमा प्रशस्त तर्क नआएका पनि होइनन् । कुनै पनि भाषालाई सम्पन्न र विपन्नको दर्जामा राखिनु हुन्न, हरेक भाषा आवश्यकता अनुसार कुनै पनि भाव व्यक्त गर्न अन्ततः समर्थ हुन्छ भन्ने मान्यता पनि छ तर त्यसका लागि पनि सुरुमा केहीले कडा मिहिनेत गरेर त्यस भाषाको लेख्य परम्परा, व्याकरण, शब्दकोश र प्रशस्त साहित्यको निर्माण त गर्नु नै पर्दछ । त्यसैले आगो फुकेर ताप्नेभन्दा बलेको आगो ताप्ने प्रचलन बढी छ । यही भएर कतिपय सचेत समुदाय भाषालाई सांस्कृतिक, सामाजिक र जातीय पहिचानभन्दा पनि विचार विनिमयको साधन वा ज्ञान आदान प्रदानको माध्यम मात्रै मान्दछन् र समृद्ध भाषाको उपयोग गर्ने गर्दछन् । भारतीय अध्यात्म गुरुहरूले प्रवचनमा प्रयोग गर्ने अंग्रेजी भाषा र नेपालमा क्रिश्चियनहरूले धर्म प्रचारका लागि प्रयोग गर्ने नेपाली भाषाका पछाडि त्यस भाषाको सांस्कृतिकताको अनुसरण गर्नु नभई विचार सञ्चार गर्नु मात्रै उद्देश्य देखिन्छ ।

त्यस्तै आधुनिक शिक्षण संस्थाहरूमा तल्लो कक्षाबाटै प्रयोग गरिँदै आइएको अंग्रेजी भाषाका पछाडि त्यस भाषाको समृद्धिका कारण प्रयोक्ताले आफ्नो चेतना सहजै समृद्ध गर्न सक्छ भन्ने नै हो । जहाँसम्म अंग्रेजीको विकल्प रुसी, चिनियाँ, फ्रेन्च, जापानी जस्ता केही सीमित भाषा पनि छन् । तिनको स्तरीकरण र समृद्धिका लागि आर्थिक दृष्टिले समेत सबल ती मुलुकले उल्लेख्य लगानी गरेर त्यस रूपमा ल्याएका हुन् । तिनको अनुपातमा हाम्रो मुलुकका भाषाहरूको अवस्था निकै दुर्बल छ । केही सबल रहेको मानिने नेपाली भाषा पनि तिनका सापेक्षतामा मात्रै नभई हिन्दी, मैथली, बंगाली र उर्दू भाषाकै सापेक्षतामा पनि कमजोड देखिन्छ । त्यसैले राष्ट्रले एउटै भाषालाई पनि स्तरोन्नति गर्न नसकेको अवस्थामा सबै भाषालाई समान महत्त्व दिने भनेर अन्ततः अप्रत्यक्ष रूपमा हाम्रा सन्दर्भमा शक्तिशाली बनेका अन्य भाषा (अंग्रेजी र हिन्दी) को नेपाली समाजमा पहुँच विस्तार गर्ने काम हुन थालेको छ । स्थानीयता र अन्तर्राष्ट्रियता दुवै नाम दिएर अन्ततः भाषिक उपनिवेशको सोच नजानिँदो पारामा प्रस्तुत गरिएको छ । जन आन्दोलन–२ पछि विवादास्पद ढङ्गमा तराईमा गरिएको नागरिकता वितरण, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिने भनी गरेको हठ, सोही हठलाई महत्त्व दिई पार्टीहरूले त्यसैका लागि गरेको संविधान संशोधन अनि अहिलेको जन गणनामा अन्य भाषाभाषीलाई पनि आप्mनो मातृभाषा हिन्दी लेख्न निर्देशन गर्ने मदेशवादी दलहरूको कर्म जस्ता कुराले नेपालभित्रका अन्य भाषाभाषीहरू बढी सतर्क हुनु पर्ने परिस्थिति बनेको छ । अन्यथा सबैले हिन्दी भाषाको प्रभाव झेल्न नसकेर निस्तेज हुने स्थिति आउँन सक्छ ।

अर्काे कुरा संसारमा भाषाहरूको सङ्ख्याको विस्तार सञ्चार असुविधाकै कारण हुने गरेको हो । अहिलेको सञ्चार क्रान्तिले विश्वभरि नै अल्पसङ्ख्यकहरूको भाषा, संस्कृतिलाई क्रमशः विस्थापित गरि नै रहेको छ । डाक्टरले सबै रोगीलाई बचाउन खोजे झैं भाषा चिन्तकले पनि लोपोन्मुख सबै भाषा बचाउन खोज्नु उनीहरूको धर्म हो तर बच्न नसक्नु प्रकृतिको नियम पनि हो । त्यसो त प्राणी बाँच्ने सीमित काल भए पनि भाषालाई संरक्षण गरेर लामो समयसम्म बचाउन सकिन्छ तर त्यसका लागि राज्यले राम्रो लगानी गर्न सक्नु पर्छ । आर्थिक रूपमा विपन्न हाम्रो जस्तो मुलुकमा भाषा र संस्कृति संरक्षणका लागि राज्यले कति नै लगानी गर्न सम्भव हुन्छ । त्यसलाई पनि राम्ररी मनन गर्नु पर्ने अवस्था छ ।

त्यस्तै भोको पेटमा बाँच्नु परेका मानिसलाई भाषा, संस्कृति जस्ता भावनात्मक पहिचानका कुरा एउटा कोरा आदर्श मात्रै लाग्न सक्छन् । अनि आप्mनो भाषा भनेर मात्रै पनि भएन यदि त्यो सरल, सहज र समृद्ध छैन वा त्यसमा युग सापेक्ष सन्दर्भहरू निर्मित छैनन् भने । यो स्थिति अहिले संसारकै धेरैजसो भाषाले व्यहोरि रहेका छन् । भारतमै हिन्दी भाषालाई विश्वभाषा बनाउने भनेर लाग्दा लाग्दै पनि त्यो त्यहीँ अंग्रेजी भाषाको प्रतिस्पर्धी बन्न सकेको छैन । त्यसो हुँदा यहीँ स्थितिमा आउँदो पन्ध्र्र वर्षमा भारतमा अंग्रेजीले हिन्दी भाषालाई विस्थापित गर्ने खतरा रहेको चर्चा चल्न थालेको छ । त्यस दृष्टिले हेर्दा नेपालको केही समृद्ध भनिएको नेपाली भाषाको अवस्था पनि झनै दयनीय देखिन्छ । किनभने भाषालाई प्रयोगमा ल्याइ राख्नका लागि त्यसमा पहिला लामो लेख्य परम्परा, व्यवस्थित व्याकरण र समृद्ध साहित्य अनिवार्य बनेको हुन्छ । साहित्यको तात्पर्य यहाँ भाषिक कला मात्रै नभई त्यस भाषाको समृद्ध वाङ्मय हुनु हो जुन अंग्रेजी भाषामा उपलब्ध छ । त्यसलाई विद्युतीय सञ्चार माध्यमले सबैलाई सहज पनि तुल्याइएको छ अनि त्यसलाई पठित धरैजसो मानिसहरूले उपयोग पनि गरि रहेका छन् । त्यस्तै अहिले हाम्रा सहरका धेरैजसो बाल बालिकाहरूले टेली शृङ्खला, चलचित्र र गीतहरूका कारण वा केबुल नेट वर्कका कारण सजिलै हिन्दी भाषा बुभ्mने स्थिति पनि बनि रहेको छ । त्यसैले युग सापेक्ष प्रविधिमा आप्mनो भाषा सबल रूपमा लान सकिएन र प्रयोक्तालाई मनग्गे सामग्री त्यस भाषामा उपलब्ध गराउन सकिएन भने पनि भावनात्मक रहरले मात्रै कुनै पनि भाषा लामो समय टिकाउन सक्ने अवस्था हुन्न । नेपाली समाजमा पनि भाषान्तरण (ीबलनगबनभ कजषत) को यो समस्या अहिले एकदमै चर्किँदै गएको छ । अल्प संख्यक जनजाति जो पढे लेखेका पनि छन् उनीहरू नै आप्mना सन्तानलाई क्षेत्रगत सीमितताका कारण आप्mनो भाषा सिकाउन उदासीन देखिन थालेका छन् । त्यसको सिको नपढेका अभिभावकमा पनि स्वभावतः पर्दै गएको छ । पढे लेखेका र उच्च तहको जागिरे समेत रहेका एकजना गुरुङले “मेरो मातृभाषा गुरुङ थियो तर छोराको मातृभाषा नेपाली भयो । अब नातिको मातृभाषा अंग्रेजी हुन्छ होला ।” भनेको सुनेपछि अर्का औपचारिक शिक्षा नपाएका तर सचेत गुरुङले “अहिले अंग्रेजी र नेपाली नपढाएर के सन्तानलाई आफू जस्तै हली बनाउने ?” भन्ने टिप्पणी गरेका थिए । त्यस्तै अर्का भाषा संस्कृतिप्रति सचेत नेवारले जेनेटिक इञ्जिनियर पढ्दै गरेको आप्mनो छोरालाई नेवारी भाषा राम्रोसँग सिक्न लगाउँदा “नेपाली भाषाको त अब काम छैन के नेवारी सिक्ने भन्नु भएको ?” भन्न थाल्यो भन्ने गुनासो पोखेका थिए । अन्तर क्रियामा प्रकट भएका यस्ता भनाइहरूले निश्चय नै नव पुस्तामा भाषान्तरणको स्थिति ह्वात्तै बढ्न थालेको जनाउँदछन् । बेलैमा व्यवहारिक भएर नसोच्ने हो भने वा नेपाली भाषालाई समग्र नेपाली जातिको भाषाका रूपमा लिने चेतना बेलैमा नआउने हो भने हिन्दी भाषाले नै नेपालका सबै भाषा (नेपाली समेत) लाई सजिलै सङ्कुचन गर्ने र क्रमशः विस्थापित गर्दै जाने निश्चित छ । यो कुरा भारतीय नेपालीहरूले बेलैमा बुझि सकेका थिए । यस्तै प्रसङ्गमा कुमार प्रधानले लेखेका छन् “भारतमा नेपालीले एउटा विशिष्ट जाति भएर हुर्कने अनि नेपालीहरूमा एकात्मक बोधको भावना बढाउने जस्ता तत्त्वहरूमा नेपाली भाषा नै प्रमुख हुन गएको छ र यस भाषाको प्रयोग सधैँ साझा माध्यमको रूपमा आवश्यक भएको मानिन्छ ।” (प्रधान, १९८२ ः २८) नेपाली भाषाप्रतिको त्यो सङ्गठित चेतना नेपालमा पनि विगतमा रहेको हो र अबको नेपालमा पनि अझ बढी आवश्यक देखिन थालेकोे छ । नेपाली भाषाप्रतिको नेपाली नागरिकको शत्रुता कुनै पनि अर्थमा ठिक देखिन्न । त्यसैले भनिएको पनि छ “८७ प्रतिशतले बुभ्mने नेपाली भाषालाई हिन्दी र अंग्रेजीले विस्थापित गर्ने मूलबाटो समाउनुभन्दा शतप्रतिशतलाई सहज ढङ्गले नेपाली भाषा सिकाउने बुद्धि ल्याउनु राम्रो हुन्छ ।” (कोइराला, २०६७ ः २४)

४. राष्ट्रभाषाका अभिलक्षण र नेपाली भाषा

कुनै पनि भाषा राष्ट्रभाषा बन्नका लागि सामान्यतः निम्न विशेषताले युक्त हुनु पर्दछ–

क. ऐतिहासिकता,

ख. सांस्कृतिक विशिष्टता,

ग. मानक वा स्तरयुक्तता,

घ. स्वतन्त्र वा स्वायत्तता,

ङ. जीवन्तता,

च. भाषिक सम्पन्नता,

छ. साझा सम्पर्कमा स्वीकार्यता,

ज. सरकारी कामकाजमा सहजता,

झ. शिक्षा तथा सञ्चारमा सहज प्रयोग,

ञ. देशका अधिकांश जनता र क्षेत्रमा प्रसारित र

ट. राष्ट्रिय एकत्वको भावनाको संवाहक ।

संसारका सबै राष्ट्रभाषामा यस किसिमका विशेषता खोजिने भए पनि कतिपय अवस्थामा यीमध्ये केही विशेषता भएका भाषालाई पनि राष्ट्रभाषा सकारिएको पाइन्छ । जस्तै पाकिस्तानले ऐतिहासिक र सांंस्कृतिक विशिष्टता भएको हुँदा आप्mनो देशमा बहुसङ्ख्यक मातृभाषी पन्जाबी र सिन्धी भाषी भए पनि उर्दु भाषालाई राष्ट्रभाषा मानेको छ । यो स्थिति इजरायलले हिब्रु भाषा मान्नुमा पनि रहेको छ । त्यस्तै इन्डोनेसियामा ऐतिहासिक लामो पृष्ठभूमि नभए पनि साझा सम्पर्कको भाषा भएको हुँदा बहासा भाषालाई राष्ट्रभाषा मानेको पाइन्छ । त्यस्तै भारतले उपनिवेशबाट मुक्त भए पछि हिन्दी भाषालाई राष्ट्र माने पनि त्यो अन्तर राज्यीय सम्पर्कका लागि अपर्याप्त भएकाले अंग्रेजीलाई सह सम्पर्क भाषा मानेको छ । केही मुलुकमा एकभन्दा बढी भाषालाई राष्ट्रभाषाको मान्यता पनि दिइएको छ । (जस्तै स्विटजल्र्यान्डमा जर्मनी, फ्रेन्च, इटाली र रोमनी भाषा, सिंगापुरमा मलय, चिनियाँ, अंग्रेजी र तामिल भाषा, बेल्जियममा फ्रेन्च र फ्लेमिस भाषा, क्यानाडामा अंग्रेजी र फ्रेन्च भाषा, दक्षिण अफ्रिकामा अंग्रेजी र अफ्रिकी भाषा ।) तर यस्ता मुलुक सारै सीमित छन् । अनि एकभन्दा बढी भाषालाई त्यो स्थान दिए पनि सबैको समान किसिमले विकास भएको भने पाइँदैन । जस्तै क्यानाडामा अंग्रेजी र फ्रेन्च भाषाले मान्यता पाए पनि अंग्रेजी भाषाकै व्यापक प्रयोग पाइन्छ । यी स्थिति हेर्दा राष्ट्रभाषा भनेको मूलतः त्यस राष्ट्रका बासिन्दाहरू बिच विचार विनिमयका लागि बढी सजिलो र सक्षम भाषा हुनु पर्ने बुझिन्छ । त्यसमा सांस्कृतिक विशिष्टता र जातीय एकत्वको भावना समेत रहन सके अझ राम्रो हुन्छ तर संस्कृतिका नाममा कुनै अर्काे भाषाभाषीको मन कुड्याउने स्थिति रह्यो भने त्यो झन् निकै घातक पनि हुन सक्छ । जस्तै धर्मका नाममा छुट्टिएका भारत र पाकिस्तानमध्ये पूर्वी पाकिस्तानका बंगाली भाषीहरू अन्ततः भाषिक आन्दोलनकै कारण देशै टुक्रयाउने हदसम्म पुगे । त्यसैले भाषिक राजनीति अत्यन्त संवेदनशील विषय बनेको हुन्छ । तर नेपालका सन्दर्भमा नेपाली भाषा राष्ट्रभाषा बन्नका लागि माथि उल्लिखित सबैजसो विशेषताले भरिएको हुँदा यसलाई अनावश्यक विवादको घेरामा तान्नु युक्ति सङ्गत देखिँदैन ।

यहीनेर बहुभाषिक नीति मुलुकले अपनाउनुको अर्थ यसबाट मुलुकको राष्ट्रियता झन् बलियो होस्, सबै भाषाभाषीले आप्mनो भाषा संस्कृतिप्रति राज्यले अन्याय गरेको छ भन्ने भाव उदय नहोओस् नै भन्ने हो । सामान्यतः बहु भाषिक नीति संघीय संरचनाको राज्य व्यवस्थामा बढी उपयुक्त हुने पनि ठानिन्छ । अन्तर्राष्ट्रिय कानुनले पनि हरेक व्यक्तिलाई उसले इच्छाएको भाषा वा मातृभाषामा काम गर्ने अधिकार हुने जनाएको पाइन्छ । युनेस्कोको सांस्कृतिक विविधता सम्बन्धी विश्वव्यापी घोषणा पत्रको धारा ५ मा सांस्कृतिक अधिकारलाई मानव अधिकारको अभिन्न अङ्ग ठान्दै त्यसैमा भाषिक अधिकारको पनि चर्चा गरिएको छ (तामाङ, संघीय नेपालको बहुभाषिक नीति) । यस्ता कतिपय कारणले पनि संसारमा एकल भाषा नीतिका ठाउँमा बहुभाषा नीति अख्तियार गर्दै आइएको पाइन्छ । तर यसको अर्थ अन्य भाषाभाषीले विगतको एकल भाषा नीतिलाई सम्झेर राष्ट्रको साझा भाषाप्रति कुनै बैर भाव राख्नु त्यति उचित देखिन्न । त्यस्तै साझा भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्नेहरूले पनि अन्य भाषाप्रति नकारात्मक दृष्टि राख्नु उचित होइन । अहिलेका उदार राजनीतिक व्यवस्थाहरूले संघीय राज्यका लागि मात्रै नभई संघभित्रका एकाइहरूमा पनि वक्ताहरूको संख्याको बाहुल्यतालाई हेरी त्यस क्षेत्रमा थप अन्य भाषालाई पनि सरकारी कामकाजको भाषाको मान्यता दिएको पाइन्छ । जस्तै दक्षिण अफ्रिकाको सन् १९९८ को संविधानमा स्थानीय आदिवासीहरूका नौओटा भाषालाई समेत मान्यता दिएको पाइन्छ । त्यस्तै भारतमा पनि विभिन्न प्रान्तीय सरकारले आप्mनो प्रान्तमा एकभन्दा बढी भाषालाई मान्यता दिएको अवस्था छ । केही समय अघि पश्चिम बंगालको नव निर्वाचित मुख्य मन्त्री ममता बनर्जीको सरकारले त्यहाँका उर्दु, हिन्दी, नेपाली, उडिया, सान्थाली र गुर्मुखी भाषालाई पनि अल्प संख्यक भाषाको मान्यता दिएको थियो । छिमेकका यस्ता उदार भाषिक नीतिबाट पनि हामीले पाठ सिक्नु पर्ने हुन्छ ।

५. नेपाली भाषामा अन्य भाषाभाषीको योगदान

नेपाली भाषाको निर्माणमा नेपालका अन्य भाषाहरूको उल्लेखनीय भूमिका रहेको छ । यसको शब्द भण्डार समृद्ध तुल्याउन स्वदेशी आगन्तुक शब्दहरूको प्रचुर उपयोग नेपाली भाषामा भएको छ । नेपाली भाषामा प्रचलित घले, रोदी (गुरुङ), च्याङ्वा, डम्फु, सेलो (तामाङ), डाँफे, बक्खु, भोट, यति, याक, रक्सी, लामा (तिब्बती), क्वाँटी, चाकु, भm्याल, डकर्मी, पसल, बाँडा, बुँइगल (नेवारी), पटुका, बाउसे, रिडी (मगर), जन, ठाट, पटुवा (मैथिली) आदि शब्दले तिनको पुष्टि हुन्छ । त्यस्तै नेपाली साहित्य निर्माणमा लैनसिंह बाङ्देल, सिद्धिचरण श्रेष्ठ, अलि मियाँ, इन्द्र बहादुर राई, भवानी भिक्षु, बैरागी काँइला (तिल विक्रम नेवाङ), पारिजात (विष्णु कुमारी वाइवा), भूपि शेरचन, हृदय चन्द्र सिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान, गोविन्द बहादुर मल्ल गोठाले, विजय मल्ल, धुँस्वा सायमी, सरुभक्त, व्याकुल माइला, अम्बर गुरुङ, डिल्लीजङ् गुरुङ जस्ता नेपाली इतर मातृभाषी सर्जकहरूको योगदान बिर्सि नसक्नु छ । यस्तै गहिरिएर हेरे नेपाली भाषाका विभिन्न भाषिक एकाइमा नेपालका अन्य भाषाहरूको सूक्ष्म किसिमका प्रशस्त प्रभावहरू पनि देख्न सकिन्छ ।

६. नेपाली भाषाको भूमिका

नेपाली भाषाले अन्य भाषाभाषीहरू बिच साझा सम्पर्क भाषाको सहज भूमिका पनि निर्वाह गरेको छ । दुई इतर भाषी भेट हुँदा उनीहरू बिच विचार विनिमयको भाषा नेपाली हुन्छ । नेपालका कुनै पनि भाषाका बारेमा विभिन्न भाषाभाषीहरू बिच छलफल गर्नु प¥यो भने त्यहाँ पनि सजिलो माध्यम नेपाली भाषा नै बनि रहेको हुन्छ । बेला बेलामा नेपालका विभिन्न भाषाका बारेमा भएका छलफल, गोष्ठीमा विषय गुरुङ, मगर, लिम्बु आदि कुनै एक भाषा भए पनि त्यहाँ माध्यम भाषा नेपाली नै बनेको स्थितिबाट पनि यसलाई अझ राम्ररी बोध गर्न सकिन्छ । त्यति मात्रै होइन पूर्व र पश्चिमका एकै भाषाभाषी भेट हुँदा भाषिकागत दुरीका कारण दुवैले बोल्ने भाषा नेपाली बनि रहेको पाइन्छ ।

यस्तै नेपालका कथ्यमा मात्रै सीमित भाषालाई लेख्य भाषाका रूपमा विकास गराउन, तिनको व्याकरण, शब्दकोश र साहित्य निर्माणमा पनि नेपाली भाषाले प्रयोग गर्ने लिपि, व्याकरण, शब्दकोश र साहित्य राम्रो अभिप्रेरक र सहयोगी सामग्री हुन सक्छ । आप्mनै लामो लेख्य परम्परा र लिपि भएका नेवारी, मैथिली जस्ता भाषाले पनि अहिले नेपाली भाषाले प्रयोग गर्ने देव नागरी लिपिकै प्रयोग गर्न थालेका छन् । नेपालका सबै भाषा देव नागरी लिपिमै लेख्ने नीतिगत सहमति हुन सके पठनमा पनि सरलता सिर्जना हुने छ । जस्तै रुसमा रुसी भाषाको सिरिलिक लिपिलाई नै अन्य भाषामा पनि प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

नेपाली भाषा नेपालीहरू बिच भावनात्मक एकताको माध्यम पनि बनेको छ । यो काम जन लवजलाई उपयोग गर्दै साहित्य लेख्ने भानुभक्त आचार्यबाटै सुरु भएको पनि मानिन्छ ।

नेपाली जातिहरू विविध संस्कृतिका अनुयायी छन् । ती अनेक संस्कृति बिच सहिष्णु भावना र सांस्कृतिक सद्भाव विकास गर्न पनि नेपाली भाषा र साहित्यले सहयोगी भूमिका खेल्दै आएको छ । विशेष गरी समतावादी र सहिष्णु भावना वा व्यक्तिगत स्वतन्त्रता र साम्प्रदायिक सद्भावको आकाङक्षा राखेर सिर्जना गरिएका नेपाली साहित्यका सिर्जनाहरू (जस्तै एक चिहान, सुम्निमा, माधवी, पूर्णिमा, राधा जस्ता उपन्यासहरू) ले मूलतः समन्वयमूलक नव संस्कृतिको भावना सञ्चार गरेका छन् । यसबाट राष्ट्रिय एकताको भावना निर्माणमा सहयोग पुगेको छ ।

नेपालका अत्यधिक जनताको मातृभाषा र सबैजसो नेपालीको साझा सम्पर्कको भाषा भएको हुँदा नै नेपाली भाषा १४आँै शदाब्दीदेखि अहिलेसम्म नेपालको सरकारी कामकाजको भाषा रहदै आएको छ । यसमा राष्ट्रभाषामा हुनु पर्ने सबैजसो विशेषता छन् र यसले यथार्थमा नेपालमा राष्ट्रभाषाको भूमिका निभाउँदै आएको पनि छ । त्यसैले यसलाई राष्ट्रभाषाको दर्जा पनि दिइएको हो र यसले निरन्तरता पाउनु पर्छ ।

७. उपसंहार

नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी मुलुक हो । पछिल्लो जन गणना अनुसार पनि यहाँ एक सय जति भाषाहरू अस्तित्वमा रहेका छन् । तर तीमध्ये करिब एक तिहाइ भाषाहरूका वक्ताको सङ्ख्या ०.०४ प्रतिशत (दश हजार) भन्दा थोरै रहेका छन् । यस्ता धेरैजसो भाषा कथ्य रूपमा मात्र सीमित छन् । डेढ दर्जन जति भाषाका वक्ता एक सयभन्दा पनि कम छन् । वक्ताहरूको चरम आर्थिक विपन्नताका कारण पनि यस्ता धेरै भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । तिनको तत्कालै राष्ट्रिय भाषा नीति सुझाव आयोग २०५० ले भाषा संरक्षणका लागि दिएको सुझाव अनुसार संरक्षण गरिनु पर्ने देखिन्छ । तर जाति, संस्कृति र भाषा संरक्षणका बारेमा ठुला ठुला कुरा गर्ने नेतृत्व वर्गको वा राज्यको ध्यान त्यता गएको खासै देखिएको छैन । फेरि पनि नेपाली राजनीतिको अहिलेको एउटा जल्दोबज्दो मुद्दा भाषा नै बनेको छ । विशेषतः उपराष्ट्रपतिदेखि मधेसवादी दल र अन्य केही समूहले यसलाई समय समयमा निकै महत्त्वका साथ प्रक्षेपण गरि रहेका छन् । त्यही पृष्ठभूमिमा केही भाषा चिन्तकले तराई मधेसमा हिन्दी, पहाडमा नेपाली र हिमालमा सेर्पा भाषा लागु गर्ने सोच पनि अगि सारेको पाइन्छ । विगतको सम्पूर्ण संरचना भत्काउने नाममा नेपाली भाषाको साख भत्काउने र क्रमशः त्यसका ठाउँमा आप्mनो इच्छित भाषालाई राखेर त्यस तहमा पु¥याउने दीर्घ कालीन परियोजना अन्तर्गत यो काम भइ रहेको हुन सक्छ । राजनीतिक पार्टीहरूबाटै यस्तो काम भएको हुँदा यसमा भाषा विशेषको श्रेष्ठता वा भाषिक उपनिवेशको कुरा मात्रै नभई अरू राजनीतिक अभीष्ट पनि रहेको छैन भन्न सकिन्न । यो जटिल परिस्थितिबाट आजका सबै सचेत नेपाली राम्ररी परिचित हुनु अत्यावश्यक बनेको छ ।

अर्को कुरा नेपाली भाषा नेपालका सन्दर्भमा धेरै विशेषताले युक्त छ । ४८.६१ जनताको मातृभाषा र सबै (८७ प्रतिशत) जसो जनताको साझा सम्पर्कको माध्यम बनेको यो भाषा नेपालको सबैजसो भूगोलमा विस्तारित छ । लामो समयदेखि सरकारको कामकाजमा प्रयुक्त यो भाषाले नेपालीहरू बिच भावनात्मक एकताको सूत्र पनि कायम गरेको छ । सबैजसो तहको शिक्षा अनि सञ्चारका विविध क्षेत्रमा प्रयुक्त यस भाषालाई मातृभाषी र इतर मातृभाषी दुवै नेपाली नागरिकहरूले नै समृद्ध तुल्याउँदै आएका छन् । यसमा लामो लेख्य परम्परा, व्यवस्थित बन्दै गएको व्याकरण, समृद्ध शब्दकोश र प्रशस्त साहित्य निर्माण भएको छ । ऐतिहासिकता, सांस्कृति विशिष्टता, स्वायत्तता, मानक वा स्तरयुक्तता, जीवन्तता, अनेक क्षेत्रीय र शैलीगत विविधता जस्ता विशेषताले युक्त यो भाषा नेपालका सन्दर्भमा अन्य भाषा भन्दा समृद्ध पनि छ । त्यसैले यस भाषालाई अब बन्ने संविधानमा नेपालको केन्द्रीय सरकारको कामकाजी भाषा, केन्द्र र प्रान्तीय सरकार बिचको साझा सम्पर्क भाषा, प्रान्तीय एकाइहरू बिचको साझा सम्पर्क भाषा, नेपाली जातीय एकता र जातीय सद्भाव सम्बद्र्धन गर्ने भाषा र प्रशस्त सैद्धान्तिक अनि व्यवहारिक आधार प्रस्तुत गरि सकेको हुँदा निर्विवाद ढङ्गमा राष्ट्रभाषाका रूपमा स्थापित गर्नु उचित हुने देखिन्छ । यसका निम्ति नेपाली भाषालाई पनि भाषा वैज्ञानिक चेत अनुसार समयानुकूल परिष्कार र परिमार्जन गर्दै लगेर बढीभन्दा बढी नेपालीहरूले सरलता साथ प्रयोग गर्न सक्ने तुल्याइनु पर्दछ । यसलाई कुनै सीमित जाति र क्षेत्र विशेषको भाषा नतुल्याई समग्र नेपालका जातिको भाषा बनाउने विगतदेखिकै प्रयत्नलाई अझ सशक्त पार्दै लानु आवश्यक छ । त्यसका लागि विदेशी भाषाका शब्द र शैलीको प्रभावबाट नेपाली भाषालाई मुक्त तुल्याउँदै स्वदेशी भाषाहरूका विशिष्ट शब्द र शैलीको गहन अध्ययन गरी ती विशेषताहरूलाई नेपाली भाषाले आत्मसाथ गर्ने किसिले संश्लेषण गर्नु आवश्यक देखिएको छ । त्यस्तै विगतदेखि नै देखिँदै आएको अन्य मातृभाषीहरूको नेपाली भाषाप्रतिको गहिरो अनुरागलाई बचाइ राख्न अनि त्यसलाई थप विकास गर्न यसका मातृभाषीहरूको विशेष जिम्मेवारी पनि एकदमै टड्कारो बनेर आएको छ । संविधान निर्माणको संघारमा भाषा सम्बन्धी यस्ता अनेक जटिल समस्याप्रति सबै संबद्ध पक्षको बेलैमा उचित ध्यानाकर्षण हुनु अत्यावश्यक छ । राष्ट्रले बहुभाषिक नीति अवलम्बन गरेको भनेर मात्र हुन्न त्यसका लागि व्यवस्थित योजना आवश्यक पर्छ । त्यसैले राष्ट्रका भाषा संरक्षण र संवद्र्धनका लागि एउटा संस्था नै खडा गरेर विज्ञहरूको राय सुझाव अनुसार भाषिक नीति अख्तियार गर्नु उचित हुनेछ ।

समग्रमा भन्दा अहिलेका सन्दर्भमा सम्भाव्यता हेरी इच्छित वा मातृभाषामा प्रारम्भिक शिक्षा, बहुमतद्वारा निर्धारित भाषामा प्रान्तीय सरकारको कामकाज, नेपाली भाषामा राष्ट्रिय सम्पर्क वा केन्द्र सरकारको कामकाज र अंग्रेजी भाषामा अन्तर्राष्ट्रिय सम्पर्क गर्ने किसिमले बहुभाषिक नीति अख्तियार गर्नु आजको गणतान्त्रिक नेपालको सहज भाषिक समाधान हुन सक्छ ।

परिशिष्ट

नेपाल प्राज्ञमञ्च, पोखराद्वारा २०६८ जेठ ३१ मा कृषि विकास बैक क्षेत्रीय कार्यालय, पृथ्वीचोकको सभाकक्षमा आयोजित “नेपालको भाषिक स्थिति र नेपाली भाषाको भूमिका” विषयक अन्तर संवाद कार्यक्रममा यस क्षेत्रका विभिन्न पेसाकर्मी बुद्धिजीवीहरू र जात, जातिसँग सम्बद्ध करिब सय जना महानुभावहरू उपस्थित हुनु भएको थियो । कार्यक्रममा प्रा.डा.पशुपति नाथ तिमल्सेना, प्रा.डा. अभय कुमार दास, प्रा.डा. कृष्ण कुमार श्रेष्ठ, प्रा.डा. केदार बस्नेत, प्रा.डा. केशव दत्त अवस्थी, प्रा.डा. भवानी पाण्डे, डा. कृष्ण के.सी., डा. यमनाथ तिमल्सिना, श्री गणेश बहादुर गुरुङ, श्री सुन्दर गुरुङ, श्री प्रेम बहादुर राई, श्री उदय बहादुर अमात्य, श्री श्रीराम अधिकारी, श्री कृष्ण के.सी., श्री जुना गरुङ, श्री अम्बर तुलाचन, श्री हनिफ मियाँ, श्री पान बहादुर घर्ती मगर, श्री दीपक तामाङ, श्री तिलक प्रसाद पुन, श्री तिलक आचार्य, श्री यादव राज उपाध्याय, श्री जीवनाथ पाण्डे, श्री युवराज त्रिपाठी, सुश्री विष्णु शेरचन, श्री देवीलाल तमु र श्री कुल बहादुर भुजेलज्यूहरूले डा. विष्णु प्रसाद पौडेलद्वारा प्रस्तुत गरिएको संक्षिप्त कार्यपत्रमा केन्द्रित रहेर आआप्mना धारणा राख्नु भएको थियो । यस क्रममा सबद्ध निकायबाट मुख्यतः क.लोपोन्मुख वा थोरै वक्ता भएका भाषाको संरक्षणका लागि विशेष प्रयत्न, ख.मातृभाषामा प्रारम्भिक शिक्षाको व्यवस्था विस्तार, ग.भाषिक आयोग गठन गरी सबै भाषाप्रति समान न्याय, घ.आप्mनो भाषा संरक्षणका लागि आफै सक्रिय हुनु पर्ने चेतनाको सञ्चार, ङ.विगतको एकल भाषा नीतिका कारण अन्य भाषामा देखिएका जटिल परिस्थितिहरूको तत्कालै क्रमिक सुधार, च.भाषाका नाममा हुने गलत राजनीतिलाई दुरुत्साहन र ५.अरूभन्दा धेर्रै वक्ता र क्षेत्र ओगटेको, समृद्ध साहित्यको र साझा सम्पर्क भाषाका रूपमा पनि भएको नेपाली भाषालाई निर्विवाद रूपमा राष्ट्रभाषाका रूपमा चयन गरिनु पर्ने रायहरू राख्नु भएको थियो ।

यस्तै अन्य मातृभाषीलाई हिन्दी मातृभाषा लेख्न निर्देश गर्ने संस्थाहरूप्रति कडा आपत्ति, नयाँ पुस्ताको आप्mनो भाषाप्रतिको उदासीनता वा बढ्दो भाषान्तरणको प्रक्रिया अनि अंग्रेजी र हिन्दी भाषाले नेपालका सबै भाषाहरूलाई क्रमशः सङ्कुचन र विस्थापन गर्ने परिस्थितिप्रतिको धेरैको चिन्ता पनि त्यहाँ प्रकट भएको थियो । यस्तै तराईमा हिन्दी भाषा सबैले बुझ्ने हुँदा तराईको साझा सम्पर्क भाषा हिन्दी हुनु पर्छ भन्ने स्वर पनि एक जना प्राध्यापकको रहेको थियो तर त्यसप्रति कतिपयले विमति राख्नु भएको थियो ।

मुख्य सन्दर्भ सामग्री

अधिकारी, हेमाङ्गराज (२०६७). सामाजिक र प्रायोगिक भाषा विज्ञान. काठमाडौँ ः रत्न पुस्तक भण्डार ।

कोइराला, विद्यानाथ (२०६७ ?). “संघीय नेपालको सन्दर्भमा भाषा व्यवस्थापन र विकासका स्वदेशी एवं विदेशी तर्किबहरू” कार्यपत्र ।

गिरी, प्रदीप (२०११) “हिन्दी हाम्रो मातृभाषा होइन .....”. www.nagarik news.com आइतबार, १० अप्रिल ।

तामाङ, मुक्तसिंह. “संघीय नेपालको बहुभाषिक नीति” http://www. himalkhabar. com/hkp/new. php?id = 2279.

नेकपा (एमाले) (२०६४). घोषणा पत्र संविधान सभा निर्वाचन. निर्वाचन परिचालन कमिटी ।

नेकपा (माओवादी) (२०६४). प्रतिबद्धता पत्र संविधान सभा निर्वाचन. केन्द्रीय प्रचार प्रसार समिति ।

नेपाल सरकार (२०६३), नेपालको अन्तरिम संविधान. काठमाडौँ ः कानुन मन्त्रालय ।

नेपाली कांग्रेस (२०६४). घोषणा पत्र संविधान सभा निर्वाचन. केन्द्रीय प्रचार प्रसार समिति ।

प्रधान, कुमार (१९८२). पहिलो प्रहर. दार्जिलिङ ः श्याम प्रकाशन ।

पोखरेल, माधवप्रसाद, “नेपालको वर्तमान भाषिक स्थिति”. www.google.com http://madhavpokhrel.com.np/p=65

भण्डारी, पारस मणि (२०६५). सामाजिक र प्रायोगिक भाषा विज्ञान. काठमाडौ ः विद्यार्थी पुस्तक भण्डार ।

राष्ट्रिय भाषानीति सुझाउ आयोग (२०५०), राष्ट्रिय भाषानीति सुझाउ आयोगको प्रतिवेदन २०५० तथा नेपालको भाषिक स्थिति. काठमाडौँ ः राष्ट्रिय भाषानीति सुझाउ आयोग ।

शर्मा, मोहन राज र कृष्णहरि बरल (२०५०), भाषा विज्ञान र नेपाली भाषा. काठमाडौँ ः काठमाडौँ बुक सेन्टर ।

Population census 2001, National Report, HMG (Npcs), Kathmandu : Central Bureau of Statistics.

http://ne.wikipedia.org/wiki/ नेपाली भाषा ।

सह–प्राध्यापक, पृथ्वी नारायण क्याम्पस, नेपाली विभाग, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।