19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खेलहरू

कविता भूमिराज बस्ताकोटी June 24, 2012, 8:26 am

मन खप्तडका लेकहरूमा

बाँसुरी बजाउँदै मुक्ति नृत्य नाच्छ

नाच्छ, तर क्यासिनोमा मृत्यु उत्सव मनाइ रहँदा

क्यारेमबोर्डको स्ट्राइकर पुलिसको आँखा बोक्छ

अनि

राम बहादुरसँगै मेरो मन दौड लगाउँछ

जिन्दगीको यान्त्रिक खेलमा

राजनीति झन्डै गोली ठोक्नका लागि

खोज्छ क्यारेमबोर्डका दुलाहरू

पुलिस कमसेकम लौरो उद्याउँछ

क्षत विक्षत पार्न राम बहादुरका खुसीहरू

देखाउनु छ,

‘हेर कति शान्ति छ हाम्रो समयमा !’

आजकल राम बहादुर पनि शान्तिको खेल खेल्न थालेको छ ।

दुई दुना चार, चार दुना आठ

जति नै खेलौँ अङ्क गणितका खेलहरू

किताबको पैसाले भोक टार्दैन

लास पल्टेको छ राम बहादुर

पार्टीको झन्डा ओढेर सम्मानमा

अनि प्रशस्तिका लम्बेतान भाषणहरू

मलामीहरूले झन्डै सास फुकि सकेका थिए ।

अनुभूतिमा घोडा बनेको छु

कृष्णले खेदि रहेका

अर्जुनलाई बोकेको रहे छु

जहिले सुकै पछाडि फर्कन मन लाग्छ

एउटा दिव्य ज्योतिको खेलले

मोहनी लगाइ दिए जस्तो

आप्mनै समयको युद्धप्रति घृणाका ज्वालाहरू फाले पनि

जहिले सुकै महाभारतको युद्धलाई भव्यताले हेरेँ

जहिले सुकै रामको विजयमा टीका लगाइ रहेँ

बलभद्र र अमर सिंहका बहादुरीका कथाले

जहिले सुकै छाति मेरो चौडा बनाइ रहेँ

तर जब आप्mनै समयमा फर्कन्छु

अनि राम बहादुर र भीम प्रसादका मृत्युहरू

भक्कानो बोकेर आउँछन्

मुटुमै खिल पल्टेको छ ।

खेलहरू जतिसुकै खेलौँ, खेलहरू जसरी खेलौँ

तर

मन साँच्चै खप्तडका लेकहरूमा मुक्ति नृत्य नाच्छ

मन साँच्चै पर्वतका गुफाहरूमा मौन हाँसो हाँस्छ

मुक्ति नृत्य नाच्छ

मौन हाँसो हाँस्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।