19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इतिहासको दलदल पाठशाला

कविता रामप्रसाद प्रसाईं June 24, 2012, 8:33 am

समयका अनगिन्ति ट्रँकणहरु

युगोद्घाटनका अजम्बरी अभिलेखालयहरुमा

बिस्तारै बिस्तारै पाँजिदै जान्छन्

बैँसालु मनका दिग्भ्रमित इतिहासहरु

अनवरत प्रवाहमा अभ्यस्त नदीहरू

नागबेली र तरेलीका साथसाथ

बढिरहेछन् अघि

चुम्नलाइ स्वाभिमानका फोक्टाहरू

फोक्टैभित्रका भए पनि स्वकीय सत्ताका किल्लाहरु

श्रद्धाका सम्मोहनकारी बगानमा

आस्थाका आखेट टेकेर बथान उफ्रिरहन्छन्

सुनाखरीका धुनसँगै

पुतली फुलिरहेजस्तै

सूर्योदयको पूर्बाद्धमा

शहादत गर्न तम्तयार शीतविन्दुजस्तै

टाइरिसिस् महोदयका अदालतबाट

नियतिका गालामा थप्पड बर्साउने एक्लो इडिपस् जस्तै

सीमसारमा जीवन मुस्कुराउँछ

जिजीविषाका जोतारामा विडम्वनाका जुवामा नारिंदा

युगोदयका गोधूलीमा

जनमनका भावना रोप्दै

प्रष्फुटनका अक्षरहरूमा

लुप्त विकट हार्दिकता छचल्किएझैँ

मनको बारीमा

अनन्त आँखाले सजाउँछन्

गोश्वारा आकाशहरूलाइ

स्वाभिमानका हरिया पानाहरुमा

इस्पातका नीला मसीले लेख्नुछ इतिहास

वैंसालु सारङ्गी र एकजोर आँखाहरुको

फिर्ता लिइ छाड्नु छ

शिल्पीहरुको नाक, कान, हात र पसिनाको मोल

लुटिइएका अक्षरहरुले सिंगारिएका ताम्रपत्रहरुबाट

हो

त्यसैले

फलैंचामा कचहरी चलाउनु छ,

नियाँ निसाफ गर्नु छ,

गर्नु छ फैसलाः टाउकाहरुको जसजसले

जोडेका थिए दक्षका शिरताजमा बोकाको टाउको

शक्ति र सत्ताका उन्मादमा पलाएका रूमानी पैजेरुहरुसंगै

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।