14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘एक चिहान’ उपन्यासको अन्तर्वस्तु

कृति/समीक्षा डा. यदु नन्दन उपाध्याय June 24, 2012, 3:49 am

१.१ विषय प्रवेश

उपन्यासकार हृदय चन्द्र सिंह प्रधान (१९७२–२०१६) द्वारा रचित ‘एक चिहान’ (२०१६) प्रगतिवादी अन्तर्वस्तुमा आधारित नेपाली साहित्यको महत्त्व पूर्ण उपन्यास हो । प्रगतिवादले साहित्यिक अन्तर्वस्तु अन्तर्गत रचनाले व्यक्त गर्ने विषय, त्यस विषय मार्फत अभिव्यक्त हुने विचार र सो विचार ठिक रहे नरहेको भन्ने समेतको सौन्दर्यात्मक मूल्याङ्कनलाई आफ्नो साहित्य चिन्तनमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुत उपन्यासले नेपाली समाजका परिश्रमी किसानहरूको जीवन र त्यसमा उच्च वर्गका मानिसले राख्ने कुदृष्टि र शोषणको विषयका साथै सामाजिक अन्धता, प्रेम र विवाह, लैङ्गिक विभेद आदि पक्षलाई विषयका रूपमा प्रस्तुत गरेको छ । सो विषयलाई प्रधानले माक्र्सको समाज दृष्टि अनुसार व्याख्या विश्लेषण गरी पतनशील तत्त्वको अवसान र जीवनोपयोगी सुन्दर पक्षको उदयको वैचारिक मूल्याङ्कनका साथ प्रस्तुत गरेका छन् । यस उपन्यासमा अभिव्यक्त प्रगतिवादी रूपपक्षको विश्लेषण नगरी केवल अन्तर्वस्तुगत पक्षहरूलाई मात्र केलाउन खोजिएको छ र त्यो निम्नानुसार छ ।

१.२ ‘एक चिहान’का अन्तर्वस्तुगत पक्षहरू

‘एक चिहान’ उपन्यासले मूलतः नेपाली समाजमा जरो गाडी बसेका अन्ध विश्वास, कुसंस्कार र तिनले निम्न वर्गीय समुदायमा पारेका असरहरूमाथि प्रकाश पारेको छ । रातदिन नभनेर जमिनदारको जमिन कमाएर जीविका चलाउने किसानहरू त्यस प्रकारका रुढिमा फँसेका छन् र तिनको जीवन झन् झन् कष्टकर भइ रहेको छ । तिनै किसानहरूमाथि दुष्ट चरित्रका धनी व्यक्तिहरूले कुदृष्टि राख्ने, धनको धाकमा गरिब परिवारको स्वाभिमान र इज्जतमाथि आक्रमण गर्ने, नारीको मूल्य र महत्त्व नबुझ्ने, आफू बसी बसी सुख सयलको जीवन बिताएर ती परिश्रमी किसानका श्रमको महत्त्वबोध नगर्ने जस्ता गलत प्रवृत्ति पनि समाजमा पाइन्छन् । यस्ता गलत प्रवृत्ति नेपाली समाजमा अहिले पनि छन् र प्रस्तुत उपन्यासले करिब आधा शताब्दी अघिका सन्दर्भमा ती समस्यामाथि प्रकाश पारेको छ । यस उपन्यासले प्रकाश पारेका ती पक्षहरूलाई निम्नानुसार विवेचना गर्न सकिन्छ ।

१.२.१ सामाजिक अन्धताको विरोध तथा परिवर्तनप्रतिको आस्था

‘एक चिहान’ उपन्यासको प्रमुख पक्ष नेपाली समाजमा प्रचलित अन्ध विश्वास, रूढिगत संस्कार र ती मार्फत हुने अनावश्यक तडकभडकलाई अस्वीकार गरी जीवनोपयोगी क्रियाकलाप र विचारलाई आत्मसात गर्दै समाज परिवर्तनको प्रगतिवादी मान्यता प्रस्तुत गर्नु हो । प्रगतिवादी मान्यता भनेको विद्यमान समाजलाई अझ उन्नत र सुन्दर बनाउनका निम्ति क्रियाशील हुने र समाजमा मानव मानवबिच हुने भेदभाव हटाई समाजवाद र साम्यवादी समाज निर्माणमा केन्द्रित हुने हो । यस उपन्यासमा आएका पात्रहरूले पनि नेपाली समाजको विद्यमान चेतना स्तरमा आधारित भएर विभिन्न पक्षहरूलाई प्रस्तुत गरेका छन् र त्यस्ता पक्षहरूमध्ये विकृतिग्रस्त पक्षलाई समाजबाट क्रमशः हटाउँदै र छोड्दै गएर समुन्नत प्रगतिवादी समाज निर्माणको आकाङ्क्षा प्रस्तुत गरि रहेका छन् । यस उपन्यासको वैचारिक पात्र अष्ट नारान अन्धता विरोधी चरित्र हो तर उसमा नेपाली संस्कार अनुरूपको धार्मिक आस्था पनि केही हदसम्म प्रकट भएको छ । उसमा समाज सापेक्ष धार्मिक आस्थाको अंश पनि छ भन्ने कुरा “जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि दिएन (प्रधान, २०६७ ः १) जस्ता अभिव्यक्तिले प्रस्ट पारेको छ । अष्ट नारानका यस्ता कुरामा तत्कालीन समाजका परिपक्व वृद्धका अनुभवहरू प्रकट भएका छन् र त्यस चिन्तनबाट क्रमशः उठेर प्रगतिशील परिवर्तनको दिशालाई स्वाभाविकताका साथ ग्रहण गर्ने व्यक्तिमा ऊ परिणत भएको छ । अष्ट नारानले आफू बिरामी भई थला परेका बेला उपचारमा बढी खर्च भए परिवारलाई थप ऋणभारको समस्या पर्छ भनेर उपचारमा खर्च नगर भन्दै “साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधि गरे पनि निको नहुने (प्रधान, २०६७ ः १)” विचार व्यक्त गर्छ । अन्धताको विरोध गर्ने उसको सो अभिमतले भगवान्प्रति पूर्ण आस्था समाप्त नभएको नेपाली समाजको सापेक्षतालाई स्वाभाविकताका साथ अभिव्यक्त गरेको छ ।

प्रस्तुत उपन्यासले प्रत्यक्षतः रचना कालीन (२०१६) नेपाली जीवनको र त्यसमा पनि काठमाडौँ उपत्यकाका नेवारी समाजको यथार्थ प्रतिबिम्ब उतारेको छ भने अप्रत्यक्षतः मेचीदेखि महाकाली सम्मका निम्न वर्गीय नेपाली किसान परिवारले भोग्नु परेका यथार्थलाई प्रतिनिधिमूलकताका आधारमा प्रस्तुत गरेको छ । हृदय चन्द्र वैज्ञानिक दृष्टिकोण र जनवादी भावना भएका यथार्थवादी लेखक हुन् (भट्ट, २०५५ ः १२७) । नेपाली समाज वैज्ञानिक चेतनाको अभावले गर्दा थुप्रै अन्ध विश्वासका चपेटाबाट अझै पनि मुक्त हुन सकेको छैन । सकी नसकी साहुसँग चर्को ब्याजदरको ऋण काढेर जन्मदेखि मृत्यु पर्यन्तका संस्कार पुरा गर्ने कार्यमा अहिले पनि थुप्रै नेपालीहरू संलग्न भइ रहेका छन् । कतिपय सचेत नेपालीमा नै सामाजिक सम्बन्धका आधारमा मात्र पनि पुराना मान्यतालाई पछ्याइ रहनु पर्ने बाध्यता आइ पर्छ । यसै तथ्यलाई शिव नारानको “हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिस जस्तै रूढि र परम्परा भक्त भइ रहन भने हाम्रो मन मान्दैन (प्रधान, २०६७ ः ७७)” भन्ने भनाइले बुझाउन खोजेको छ । यस उपन्यासका यस्ता पक्षहरूले तत्कालीन समाज सापेक्षतालाई अभिव्यक्त गरेका छन् र त्यस्तो समाजलाई विस्तारै परिवर्तनको प्रवाहमा अघि बढाउने व्यावहारिक र स्वाभाविक मार्ग निर्देश पनि गरेको पाइन्छ । साथै यस्ता पक्षले औपन्यासिक कलाको स्वाभाविकतालाई पनि अभिव्यक्त गरेको पाइन्छ ।

प्रस्तुत उपन्यासको चरित्र अष्ट नारान अन्धता विरोधी तथा प्रगतिशील दृष्टिकोण भएको चरित्र हो । उसको विचारबारे उपन्यासकारको धारणा यस्तो छ –

आफ्नो जाति र समाजमा मर्दापर्दा दान दक्षिणा दिने र भात भतेर ख्वाउने इत्यादि करै लाग्ने चाल चलनमाथि अष्ट नारान घृणा र आलोचना मात्र गर्नु होइन, आक्रमण नै गरी उघाड नै ख्वाइ आइ रहेका थिए । मर्दा नजिकका नाता सम्बन्धीहरू रोएर विचाः आउने प्रथालाई उनले बन्द गरि दिएका थिए (प्रधान, २०६७ ः २३–२४) ।

‘एक चिहान’ उपन्यासमा यस्तो विचार राख्ने अष्ट नारान मात्र होइन उसको परिवार पनि सजग देखिन्छ । संस्कारगत कुराहरूले मानिसका दिमागमा गहिरो प्रभाव जमाइ रहेका हुन्छन् । त्यसमध्ये पनि मृत्यु संस्कार झन् संवेदनशील र परिवर्तन गर्न गाह्रो पर्ने हुन्छ । यस उपन्यासका शिव नारान र अष्ट नारानले त्यस्ता संस्कारगत रूढिहरूलाई बदल्दै लैजानु पर्ने दिशा निर्देश मात्र होइन कतिपय कुरामा कार्यान्वयन पनि गरेका छन् । शिव नारान त अष्ट नारानका विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने चरित्रकै भूमिकामा देखिएको छ । मृत्यु हुँदा अन्धतालाई जोगाउने नाममा गरिबले ऋण काढेर पनि भोज भतेर गर्नु पर्ने प्रचलनलाई अस्वीकार गर्ने, परिवारमा नारीलाई सम्मान र समानताको व्यवहार गर्ने, अन्तर्जातीय एवं अन्तक्र्षेत्रीय विवाहलाई प्रोत्साहित गर्दै उपत्यका पर्वते र तराई समाजका बिच सद्भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने, विवाहमा तडकभडक देखाउने प्रचलन हटाई गरिब र श्रमिक किसानलाई सजिलो हुने गरी दाइजोका सामानमा पनि मितव्ययिता कायम गर्ने जस्ता विचारहरूलाई यस उपन्यासमा कार्यान्वयन गरिएको छ । नयाँ समाज संरचनाका प्रबल पक्षधर हृदय चन्द्रले यस उपन्यासमा सम्पूर्ण रूढिबुढी र परम्परालाई जरैदेखि उखेलेर फ्याँक्ने र समाजमा नयाँ मान्यताहरूको स्थापना गर्ने आतुरता देखाएका छन् (पौड्याल, २०४१ ः ६५) । प्रस्तुत उपन्यासले अन्ध प्रचलनको कडा विरोध गरेको छ भने त्यस्तो विरोधमा समाजलाई क्रमशः सचेत बनाउँदै लगी प्रगतिशील सुधारबाटै अघि बढ्न उपयुक्त हुने मान्यता पनि प्रस्तुत गरेको छ । प्रधानले प्रस्तुत गरेको यो मान्यता सामाजिक सापेक्षता अनुरूप नै विद्यमान समाजमा परिवर्तन ल्याउनु पर्छ भन्ने प्रगतिवादी मान्यता अनुकूलको देखिन्छ । यसरी ‘एक चिहान’ उपन्यासले नेपाली समाजलाई अग्रगामी यात्रामा बाधा पु¥याउने अन्ध संस्कारलाई छोड्दै अघि बढ्नु पर्ने प्रगतिवादी मान्यता प्रस्तुत गरेको पाइन्छ ।

१.२.२ वर्गीय द्वन्द्व र निम्न वर्गीय पक्षधरताको अभिव्यक्ति

‘एक चिहान’ उपन्यासमा आर्थिक रूपले सम्पन्न र विपन्न वर्गका बिचको वर्गीय द्वन्द्व प्रस्तुत गरी उच्च वर्गको शोषण, अन्याय र अत्याचारको टड्कारो विरोध गरिएको छ । यस उपन्यासमा शोषक र अत्याचारी वर्गका प्रतिनिधि चरित्रका रूपमा डा. गोदत्त प्रसाद र सुरमान सुब्बा प्रस्तुत भएका छन् भने शोषित र अत्याचार बेहोर्ने वर्गका प्रतिनिधिका रूपमा अष्ट नारानको परिवार प्रस्तुत गरिएको छ । यसमा उपन्यासकारले धनी एवं सम्पन वर्गलाई कामुक, शोषक र चरित्रहीन रूपमा प्रस्तुत गरेका छन् भने गरिब एवं निम्न वर्गलाई त्यस्ता कामुक, शोषक एवं चरित्रहीन व्यक्तिका गलत, घृणित एवं निकृष्ट व्यवहारको सशक्त विरोध गर्ने चरित्रका रूपमा प्रस्तुत गरेका छन् ।

प्रस्तुत उपन्यासको चरित्र गोदत्त प्रसाद आर्थिक दृष्टिले सम्पन्न र पढेलेखेको शिक्षित व्यक्ति हो । ऊ यस उपन्यासमा प्रत्यक्ष रूपले आर्थिक शोषण गर्ने चरित्रका रूपमा नदेखिए पनि आर्थिक सम्पन्नताका आडमा निम्न वर्गका किसान परिवारलाई हेपेर नानीथकुँको भरिपूर्ण जबानीमा कामुक दृष्टि लगाउने चरित्र हो । ऊ निम्न वर्गका मानिसलाई अपमान गर्ने, हेप्ने र नटेर्ने चरित्र हो भन्ने कुरा अष्ट नारान सिकिस्त भई थला परेर उसलाई लिन जाँदा शिव नारानप्रति देखाएको अमानवीय व्यवहारले पनि जनाएको छ । गुभाजू सुभाजूलाई देखाएको भए पनि हुन्थ्यो भनी झिज्जिएर कुरा गर्ने र आफूलाई पहिलै फिस टक्य्राउन अड्डी लिने गोदत्त प्रसाद घर गएर नानीथकुँलाई देख्ने बित्तिकै बदलिन्छ । उसले बिरामी अष्ट नारानलाई कम्पाउन्डरले दिने सुई पनि आफै दिन तयार भएको मात्र होइन लागेको फिस पनि पछि एकै चोटि लिने कुरा गरेर एकाएक उदारता र सहयोगी भावना देखाउँछ । वस्तुतः डा.मा जागेको सो उदारता अष्ट नारानप्रतिको सहृदयता नभई नानीथकुँप्रतिको कामुक मनस्थितिको परिणाम हो भन्ने कुरा उपन्यासमा आएका त्यसपछिका घटनाहरूले नै बुझाएका छन् । उसले पैसाका अभावमा अष्ट नारानको मृत्युपछिको संस्कार कसरी गर्ने भनी छटपटाएका शिव नारान परिवारलाई २५ रुपियाँ दिएर अप्ठेरो फुकाइ दिने काम गरेको छ र त्यसैको मौका छोपेर नानीथकुँसितको निकटता र भेटघाट पनि बढाउँदै लगेको छ । त्यही सहयोगका नाममा परिवारमा आवत जावत पनि बढाउँदै लगी नानीथकुँसित आत्मीय प्रेम गरेको नाटक रच्न सफल भएको छ । यस उपन्यासमा आएका यस्ता घटनाहरूले आर्थिक रूपले सम्पन्न भएका आडमा निम्न वर्गका परिवारमा सहयोगका नाममा प्रवेश गर्ने तथा त्यस वर्गमाथि अनुचित र अमानवीय व्यवहार प्रदर्शन गर्ने दुष्ट चरित्रका क्रियाकलापलाई नै प्रदर्शित गरेको छ । डा.ले नानीथकुँको रूप यौवनमा आँखा गाड्नुमा गरिबहरूलाई हेप्ने सामाजिक प्रवृत्ति र नारीमाथिको अन्याय पूर्ण सामाजिक व्यवहार जिम्मेवार छ (उपाध्याय, २०५९ ः१५) । यसरी आफू आर्थिक रूपले सम्पन्न भएकाले विपन्न वर्गका मानिसहरूसँग अनैतिक, अनुचित र हेपाहा प्रवृत्ति देखाउन कत्ति नहिच्किचाउने डा.को व्यवहार उच्च वर्गीय अत्याचारी मनस्थितिकै उपजका रूपमा ‘एक चिहान’ उपन्यासमा प्रकट भएको छ ।

प्रस्तुत उपन्यासमा सुरमान सुब्बा पनि आर्थिक रूपले उच्च वर्गको जमिन्दार, शोषक र निम्न वर्गका गरिबमाथि र नारीमाथि कुदृष्टि राख्ने कुटिल चरित्रका रूपमा प्रस्तुत भएको छ । ऊ सम्पन्न जमिनदार हो । अष्ट नारानको परिवारले त्यसैको जमिन कमाएर जीविका चलाएको छ । उसले ऋणको २५ प्रतिशत ब्याज उठाउने (प्रधान, २०६७ ः २७) र शिव नारानको परिवार सहित अन्य मोहीबाट पनि जबर्दस्ती आयस्ता उठाउने गरेर आफ्नो उच्च वर्गीय दुष्ट्याँइ देखाएको छ । उसले आफू ५७ वर्षको वृद्ध भएर पनि १७ वर्षकी किशोरी नानीथकुँमाथि कुदृष्टि राखेर काम पिपासु मनस्थिति पनि प्रकट गरेको छ । उसले नानीथकुँको जबानीमाथि कुदृष्टि राखेर नै आफ्नो कारिन्दा राम बहादुर मार्फत देशी तान पठाई नानीथकुँकी आमा लतमायालाई प्रलोभनमा पार्न एक हदसम्म सफलता पाएको छ । ऊ यस उपन्यासमा प्रत्यक्ष नदेखिए पनि उसको शोषणमुखी विचार र क्रियाकलाप राम बहादुर मार्फत प्रकट भएको छ । सुरमानको चरित्रबाट जमिन र धनको घमण्डमा परेर शोषण गर्ने उच्च वर्गका मानिसहरूको प्रतिनिधित्व भएको छ र उसले निम्न वर्गका श्रमजीवीमाथि उनीहरूको गरिबीलाई आड बनाएर शोषण र प्रलोभनको जाल बिछ्याउने तुच्छ कार्य गरेको छ । उसले स्वार्थ पुरा भए जातीय र आर्थिक विभेदलाई पनि बेवास्ता गर्ने तर स्वार्थ पुरा नभए आक्रामक बनेर गरिबहरूमाथि ज्यादती मच्चाउने कार्य गर्ने उच्च वर्गीय एवं उच्च जातीय संस्कारको प्रदर्शन पनि गरेको छ । तल्लो जातको मानिएको अष्ट नारानको परिवारकी नानीथकुँसँग वैवाहिक सम्बन्ध जोड्न खोजेको र त्यसो नहुँदा शोषण र आक्रमण गर्ने चेतावनी दिएको सुरमानको सन्दर्भले यसै तथ्यलाई प्रकट गरेको छ ।

प्रस्तुत उपन्यासमा निम्न वर्गीय चरित्रका रूपमा हर्ष नारानको ससुरा माहिला तामाङ तथा पुतली पनि प्रस्तुत भएका छन् । उनीहरू मूलतः ज्यामीको काम गर्ने श्रमिक मजदुर हुन् र उनीहरूमा पनि अन्तर्जातीय विवाह गर्ने प्रगतिशील विचार प्रकट भएको छ । उपन्यासकारले तिनीहरूमा त्यस प्रकारको विचार प्रकट हुनुमा के कारण थियो भन्ने पक्षलाई केलाउन आवश्यक नठाने पनि हर्ष नारान र पुतलीका बिच सँगसँगै काम गर्दाखेरि सहजै रूपमा माया जागेको सन्दर्भ प्रस्तुत गरेका छन् । त्यस्तै यस उपन्यासमा अष्ट नारानको माहिलो छोरो पुन नारानको ससुरा पनि सिकर्मी काम गर्ने श्रमजीवी वर्गकै चरित्रका रूपमा प्रस्तुत भएको छ । यस उपन्यासमा पुन नारानलाई काम गर्न भनी पेस्की रकम उपलब्ध गराउने साहु चरित्रमा पनि उच्च वर्गीयता प्रकट भए पनि व्यवहार भने गरिबको व्यथा बुझ्ने खालको रहेको कुरो उसले परिवारको दुख र सङ्कट महसुस गरेको देखाएबाट प्रकट भएको छ (प्रधान, २०६७ ः ६–७) ।

‘एक चिहान’ उपन्यासले भिन्न वर्गका स्वभाव, क्रियाकलाप र पहिचानलाई मात्र प्रस्तुत नगरी तिनीहरूका बिचको द्वन्द्वलाई पनि प्रगतिवादी मान्यता अनुरूप स्वाभाविक रूपमा प्रस्तुत गरेको छ । यस उपन्यासमा शिव नारानको परिवार र डा. गोदत्त प्रसादका बिचमा तथा शिव नारानको परिवार र सुरमानका बिचमा प्रभावकारी द्वन्द्व प्रकट भएको छ । यस द्वन्द्वले तत्कालीन र सामयिक नेपाली समाजका पनि श्रमजीवी निम्न वर्ग र उच्च वर्गका बिचको द्वन्द्वलाई प्रतिनिधिमूलतकताका आधारमा प्रकट गरेको छ । अर्थात् शिव नारानको परिवार समस्त निम्न वर्गीय नेपाली किसानको प्रतिनिधि बनेर प्रस्तुत भएको छ भने सुरमान शोषण गर्ने जमिनदार वर्गको र गोदत्त प्रसाद आर्थिक रूपले सम्पन्न तथा गरिब वर्गप्रति हेपाहा दृष्टि राख्ने व्यक्तिको प्रतिनिधि बनेर प्रस्तुत भएको छ । यस उपन्यासमा डा. पैसाका बलले र सुब्बा आफ्नो सरकारी पहुँच र जमिन्दारीका बलले श्रमजीवी अष्ट नारानको परिवारमा आर्थिक सहयोगका नाममा कुटिल ढङ्गमा शोषणको जाल फैलाइ रहेका छन् (पोडेल, २०६८ ः १६०) । उपन्यासमा उच्च वर्गको हेपाहा, कामुक एवं शोषणमूलक क्रियाकलापका विरुद्ध निम्न वर्गका श्रमजीवीले सशक्त प्रतिवाद गर्नु पर्ने र त्यसका निम्ति वैचारिक प्रतिवाद मात्र होइन घोक्रेठ्याक लागाएरै पनि तह लगाउनु पर्छ भन्ने प्रगतिवादी मान्यता प्रस्तुत गरिएको छ । नानीथकुँलाई माग्न पठाएको सुरमानको कारिन्दो राम बहादुरमाथि जाइ लागेको सन्दर्भले प्रतिवादको त्यही शैलीको सङ्केत गरेको छ । यस कारण प्रधानले माक्र्सवादलाई वर्ग सङ्घर्ष र मुक्तिको साधनका रूपमा बुझेका छन् र साहित्यलाई यसै वर्ग सङ्घर्षको सांस्कृतिक माध्यम ठानेका देखिन्छ (बराल, २०६४ ः १६६) भन्ने कुरामा विमति जनाउनु आवश्यक देखिन्न । यसबाट उपन्यासकार प्रधान धनी र गरिबका बिचको वा सामन्ती शोषक र शोषितका बिचको अन्तर्विरोधलाई प्रस्ट्याउँदै नयाँ समाजको निर्माण गर्ने उच्च आकाङ्क्षामा तल्लीन देखिन्छन् ( पौड्याल, २०४१ ः ६२) । यस उपन्यासको गरिब एवं निम्न वर्गको श्रमजीवी किसान परिवारले डा. गोदत्त प्रसाद र सुरमानको कुदृष्टि तथा बदनियतका विरुद्ध प्रदर्शन गरेको विरोध र क्रियाकलापले त्यही प्रगतिवादी र परिवर्तनकामी विचारलाई सशक्त रूपमा आभिव्यक्त गरेको छ ।

१.२.३ प्रेम, विवाह तथा लैङ्गिक विभेद सम्बन्धी मान्यता

‘एक चिहान’ उपन्यासमा प्रेम, विवाह तथा समाजमा जारी लैङ्गिक विभेदका सम्बन्धमा प्रचलित पुरातन गलत सोचाइ र अन्ध मान्यताभन्दा पृथक् नवीन व्यावहारिक र परिवर्तनकारी मान्यता प्रस्तुत गरिएको छ । यस उपन्यासमा युवा युवतीका बिच हुने प्रेम सम्बन्धलाई अग्रगामी परिवर्तनका साथ प्रस्तुत गरिएको मात्र होइन त्यस प्रेमभित्रको स्वच्छन्दतालाई वर्जित पनि गरिएको छ । प्रेमका बारेमा शिव नारानले युवा युवतीका बिच मन मिलेमा कुनै समस्या नहुने मान्यता प्रस्तुत गर्दै “प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मपदण्ड हुन्छ, सीमारेखा हुन्छ विधान हुन्छ, कुपात्र र सुपात्र हुन्छ । यी सब कुरालाई नाघेर मानिस हिँड्न सक्दैन, पाउँदैन ( प्रधान, २०६७ ः ७२) भन्ने धारणा व्यक्त गरेको छ । उसले नेपालभित्रका भिन्न भिन्न जातका र भिन्न भिन्न भौगोलिक क्षेत्रका युवा युवतिका बिच वैवाहिक सम्बन्ध गाँसिएमा अझ राम्रो हुने विचार व्यक्त गर्दै त्यस मार्फत राष्ट्रिय एकता मजबुत र सुदृढ हुने विचार पनि व्यक्त गरेको छ । शिव नारानको यो विचार वस्तुतः अहिले बढि रहेको नेपाली समाजको जातीय विभेद हटाउन र क्षेत्रीय सद्भाव अभिवृद्धि गर्न पनि महत्त्व पूर्ण छ । यसैले उपन्यासकी वृद्ध महिला चरित्र लतमायाले पनि बिहा गर्ने उम्मेदवार आफै रोज्न अनुमति दिएकी छ र सकेसम्म अष्ट नारान र शिव नारानको सिद्धान्त अनुसार भिन्न जातको भए राम्रो हुने मान्यता पनि प्रस्तुत गरेकी छ (प्रधान, २०६७ ः ८८) ।

शिव नारान नानीथकुँले रञ्जना देवीको लोग्ने तथा तिन वटा छोराछारीको बाबु गोदत्त प्रसादसँग गरेको भनिएको प्रेमलाई प्रेम नभएर बदमासी मान्दछ । उसले ५७ वर्षको सुरमान सुब्बाले पहिलेको कुत मिनाहा गरि दिने, सित्तैँमा देशी तान दिने र सामाजिक सम्मान र मान पनि बढ्ने भनेर प्रलोभन देखाउँदा सो कुराप्रति आक्रोश पूर्ण घृणा व्यक्त गरेको छ । उसले भाइ हर्ष नारानले माहिला तामाङकी छोरी पुतलीलाई मन पराएको सुन्दा खुसीसाथ स्वीकार गरेको छ र नानीथकुँलाई गोदत्तको स्वार्थी मायाजालबाट मुक्त पारेपछि वर्गीय रूपले धनी किसान भए पनि उब्जनी बढाउन काठमाडौँ उपत्यकाको खेतीपातीको तरिका बुझ्न भनी आएको तराईको राम खेलावन राउत कुर्मीसँग विवाह गरि दिएको छ । हर्ष नारान र नानीथकुँको सो विवाहले नेपाली समाजमा अन्तर्जातीय तथा अन्तक्र्षेत्रीय सद्भाव अभिवृद्धि गर्न अनि राष्ट्रिय एकता र विकासको वातावरण निर्माण गर्नमा पनि भूमिका खेल्न सक्ने देखिएको छ । यस सम्बन्धमा शिव नारानले यस्तो विचार प्रकट गरेको छ –“बेस भयो, नेवार पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार पर्वते र मधेसी तिन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अझ सुन्दर र विशाल हुँदै जान्छ (प्रधान, २०६७ ः ९३) ।” शिव नारानका यस्ता विचारले नेपाली राष्ट्रियता र सामाजिक एकाताको गहिरो मान्यतालाई अभिव्यञ्जित गरेका छन् र त्यस मान्यतालाई प्रतिफलित पार्न अन्तर्जातीय प्रेम र वैवाहिक सम्बन्ध पनि सहयोगी हुन सक्नेतर्फ पनि सङ्केत गरेका छन् । त्यति मात्र होइन विवाहका बेला माहिला तामाङले पुतलीलाई दाइजो स्वरूप डोको, नाम्लो, हँसिया दिएको र नानीथकुँलाई पनि शिव नारानको परिवारले दाइजो स्वरूप नै एक जोर चर्खा, हँसिया, हथौडा, कुटो कोदालो, डल्लेठो अनि जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो कोदालो, एउटा खुकुरी, भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिएको देखिन्छ । विवाहमा दिइएका दाइजोका सामानहरूले एकातिर किसान जीवनको महत्त्वलाई दर्शाएका छन् भने साथसाथै अनावश्यक भोज भतेर र फजुल खर्च नियन्त्रण गर्ने विधिलाई प्रोत्साहन गर्नु पर्ने मान्यता पनि अधि बढाएका छन् । ‘एक चिहान’ उपन्यासमा प्रस्तुत यस्ता पक्षहरूले वैवाहिक सम्बन्धको विकासमा पारस्परिक प्रेम, हार्दिकता र पेसा एवं वर्गीय मेलको प्रगतिवादी मान्यतालाई नै प्रोत्साहित गरेको छ ।

प्रस्तुत उपन्यासमा नेपाली समाजमा रहेको लैङ्गिक विभेदका विरुद्ध पनि सशक्त आवाज उठाइएको छ । अष्ट नारानका परिवारमा नारी र पुरुषका बिच समान स्तरको सम्बन्ध रहेको छ र खान बस्दा पनि सबैले एकै चोटि पस्केर बराबरी बाँडी एकै चोटि खान बस्ने प्रचलन छ । यसो गर्दा प्रायः खाना पकाउने काममा संलग्न महिलालाई खाना कम्ती हुने वा अरूले खाइ रहँदा कुरेर बस्नु पर्ने अवस्था नआओस् भन्ने सचेतता देखाएको बुझिन्छ । यस्तो कुरो त्यति ठुलो नलागे पनि परिवारभित्रको संस्कार बदल्नमा निकै उपयोगी मान्नु पर्छ । त्यस्तै यस उपन्यासकी रञ्जना देवी नारी अधिकार र अस्तित्वप्रति निकै सचेत चरित्रका रूपमा देखिएकी छ । ऊ आफ्नो पति गोदत्त प्रसादको देखावटी मायाजालमा नानीथकुँ फस्दै गएको देखेपछि तुरुन्तै सक्रियता देखाई उसलाई पतिको चरित्रहीन स्वभाव र अरू अरू पुरुषका पनि त्यस प्रकारका गलत नियतप्रति नारी आफै सचेत हुनु पर्ने सल्लाह दिएकी छ । उसले आफ्नो लोग्नेको बानी राम्रो नभएको, उसले घरमा काम गर्ने नोकर्नीसँग पनि अनुचित सम्बन्ध राख्न खोजेको जानकारी समेत गराई सचेत गराउन खोजेकी छ । यस प्रकार सम्झाएर सचेत पार्न खोज्दा पनि गोदत्त प्रसादको अन्धो आवेगी प्रेममा एकोरिएकी नानीथकुँले मान्ने छाँट नदेखाएपछि मिठो मुखले नारी अधिकार, मर्यादाको रक्षा र कर्तव्यका बारेमा महत्त्व पूर्ण सुझावहरू दिएकी छ । उसले नानीथकुँलाई “स्वस्नी मान्छेको इज्जत स्वस्नी मान्छेले नै राख्न जान्नु पर्छ ” भन्दै “ नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ (प्रधान, २०६७ ः ६४–६५) भन्ने नारी स्वाभिमान र नारी अस्तित्वको रक्षा गर्नु पर्ने महत्त्व पूर्ण विचार व्यक्त गरेकी छ । रञ्जना देवीका यस्ता भनाइहरू आफूले सौता भोग्नु नपरोस् भन्ने सीमित स्वार्थमा आधारित खालका हुन् कि भन्ने कदापि लाग्दैनन् । ती विचारले रञ्जना देवीको चारित्रिक उच्चतालाई झल्काएका छन् र आई. ए. सम्म पढेकी शिक्षित नारीको वैचारिक परिपक्वतालाई प्रकट गर्दै समग्र नारी अस्तित्व र मर्यादाको रक्षा गर्नु पर्ने सजगता प्रस्तुत गरेका छन् । अल्लारे उमेरकी नानीथकुँ गोदत्त प्रसादसितको मायामा लहसिएर उसको (गोदत्त) प्रेम पाए संसारको कुनै शक्तिले आफूलाई छुन नसक्ने भनेर एकोरिएकीमा रञ्जना देवीले नै नारी अधिकारका बारेमा राम्ररी सम्झाइ बुझाइ गरेपछि “म स्वस्नी मान्छेकी कलङ्किनी हुन चाहन्न, म जिन्दगी बेच्न चाहन्न (प्रधान, २०६७ ः ९०) भन्न पुगेकी छ । साथै नानीथकुँका मनमा नारी अधिकार र मर्यादाबोध जगाउनमा शिव नारानको पनि उल्लेख्य भूमिका रहेको सन्दर्भ पनि महत्त्व पूर्ण नै छ । यसरी प्रस्तुत उपन्यासले समाजमा नारीमाथि असमान व्यवहार गर्ने, तिनीहरूलाई केवल भोग र वासनाका साधन ठान्न खोज्ने पुरुषका गलत प्रवृत्ति विरुद्ध नारीहरू स्वयं सचेत र सजग हुनु पर्ने मान्यता प्रस्तुत गरेको छ र यस प्रकारको विचार प्रस्तुत गर्नुमा रञ्जना देवीका साथै शिव नारानको विचार पनि महत्त्व पूर्ण रहेको देखिएको छ ।

प्रस्तुत उपन्यासमा सुरमान सुब्बा र गोदत्त प्रसाद जस्ता भ्रष्ट र सामन्त चरित्रहरू नारीलाई असमान र अपमानजनक व्यवहार गर्न खोज्नेमा परेका छन् भने रञ्जना देवी, शिव नारान र उसको परिवार समानताको व्यवहार गर्ने रूपमा प्रस्तुत भएका छन् । यस उपन्यासकी शिव नारानकी पत्नी हाकुमाया झन् सशक्त चरित्रका रूपमा देखिएकी छ । उसले त सुरमान सुब्बाको कारिन्दा राम बहादुरलाई नानीथकुँसित बिहे रचाउने लालचमा ल्याइ दिएको देशी तान फिर्ता लैजान खोज्दा “जा पच भयो तेरो तान !” भन्दै धपाएकी छ । क्रियाशीलता कम भए पनि हाकुमायाको चरित्र सङ्घर्षशील देखिएको छ । लतमाया र नानीथकुँ पहिले नारी अधिकारप्रति त्यति सचेत नरहे पनि पछि सचेत भएका छन् । समग्रमा ‘एक चिहान’ उपन्यासले प्रेम र विवाहका बारेमा नयाँ मान्यता प्रस्तुत गर्दे लैङ्गिक विभेदका विरुद्ध पनि अग्रगामी र व्यावहारिक पाइला चालेको छ र यसबाट राष्ट्रिय एकता र देशभक्ति पूर्ण मार्गको खोजी पनि भएको छ । नारी अधिकारप्रति निकै सचेत रञ्जना देवीमा नारी स्वतन्त्रताको प्रबलता पाइनुका साथै शिव नारान र उसका परिवारको नारी समानता र अधिकारप्रतिको सचेत विचारले प्रस्तुत उपन्यासलाई प्रगतिवादी मान्यता अनुकूलको बनाएको निष्कर्ष निकाल्न सकिन्छ ।

१.२.४ श्रमप्रतिको सम्मान

‘एक चिहान’ उपन्यासमा मानवीय श्रमको महत्त्व र गरिमाको प्रशँसा गर्दै श्रम सम्बन्धी विभिन्न कार्यमा संलग्न व्यक्तिहरूको सम्मान गर्नु पर्ने र सबैले निरन्तर कर्ममा संलग्न रहनु पर्ने मान्यता प्रस्तुत गरिएको छ । यस उपन्यासका सुरुमै विरामी भई बिछ्यौनामा पल्टि रहेको अष्ट नारानले आफूलाई कुरेर समय नष्ट नगर्न र आआफ्ना काममा लाग्न परिवारका सबै सदस्यलाई अभिप्रेरित गरेको छ । उसले “किसानका छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ (प्रधान, २०६७ ः १३) भन्ने श्रम आधारित मान्यता प्रस्तुत गरेको छ । उसको यो मान्यतालाई शिव नारान लगायत उसका परिवारका सबै सदस्यले आआफ्ना जीवनमा लागू गर्न खोजेको पाइन्छ ।

वस्तुतः समाजको विकास र प्रगतिको आधार श्रम हो । मानवीय श्रमबिना कुनै पनि भौतिक उन्नति र बौद्धिक विकास वा समग्र मानव सभ्यताको कल्पना गर्न सकिँदैन । प्रस्तुत उपन्यासमा अष्ट नारानको परिवारले श्रमको सो तथ्यलाई राम्ररी बुझेको देखिन्छ । त्यस परिवारका शिव नारान र हाकुमाया खेतीको काममा, महिलो छोरो पुन नारान सिकर्मी काममा, कान्छो छोरा हर्ष नारान ज्यामी काममा अनि नानीथकुँ र लतमाया घर कुर्ने, तान चलाई कपडा बुन्ने र खाना पकाउने काममा संलग्न छन् । यसो भएकाले यस उपन्यासका पात्रहरू मूलतः किसान तथा मजदुर श्रमजीवी छन् । उनीहरू सबै आआफ्ना काममा दत्तचित्त भएर लागेका छन् र व्यक्तिगत, समाजिक र राष्ट्रिय जीवनलाई सुख, समृद्धिमय बनाउने कार्यमा तत्परता देखाइ रहेका छन् ।

प्रस्तुत उपन्यासमा गरिबीबाट मुक्तिको आधार श्रम हो भन्ने मान्यतालाई प्रस्तुत गरिएको छ । अष्ट नारानका मृत्युको तेस्रो दिनमै शिव नारानको परिवार आआफ्नो काममा केन्द्रित हुन्छ । शिव नारानले आफ्नै बाबुको “हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्ने (प्रधान, २०६७ ः २४)” भन्ने सिद्धान्त अनुसार परिवारका सबै सदस्यलाई आआफ्ना काममा केन्द्रित हुन सल्लाह दिएको छ । शिव नारानले सुरमानको कारिन्दा राम बहादुरले किसानलाई हेप्न खोजेर व्यङ्ग्य गर्न खोजेका बेला किसानको जीवनलाई सम्मान गर्न आग्रह गर्दै यसो भनेको छ –

किसान अरू थोक केही नभए पनि तपाईँको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ यो भन्दा पनि बढ्ता तपार्इँ थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपार्इँ ईश्वर भन्न चाहनु हन्छ कि परमेश्वर अथवा जे भन्नोस् (प्रधान, २०६७ ः ८२) ।”

राम बहादुरको ललाइ फकाइमा परेर लतमाया नानीथकुँलाई बुढो सुरमान सुब्बाकहाँ सुम्पिन तयार भएकी छ र त्यसबाट आफ्नो परिवारको आर्थिक समस्या पनि केही हल हुने लोभमा ऊ फसेकी छ । यसका विपरीत बहिनीलाई बुढो सुरमान समक्ष सुम्पने कुरालाई शिव नारान सारै अपमानजनक ठान्छ । उसले त्यस्तो गलत र घृणित तरिकाबाट परिवारलाई केही सुख हुने भन्ने आमाको कमजोर विचारलाई पुरै अस्वीकार गर्छ र आफूहरू जीवनभर दुखमा फँसेर वा अल्झिएर मरे पनि छोरीचेलीको जिन्दगी सङ्कटमा पार्ने कुरा सोच्नसम्म पनि नहुने विचार व्यक्त गरेको छ । यसरी परिवारमा कस्तै प्रकारका आर्थिक सङ्कट आइ परे पनि त्यसको समाधान गलत तरिकाले खोज्ने पक्षमा ऊ देखिन्न । ऊ कठोर किसिमको मेहेनतबाटै पारिवारिक समस्याको समाधान हुने र गर्न सकिने कुरामा विश्वस्त छ । उसले किसानहरूको जीवन र कर्तव्यबारे यसो भन्छ –“किसानका सन्तानले आराम गर्नु पाप हो , शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो (प्रधान, २०६७ ः १०२) ।

प्रस्तुत उपन्यासमा श्रमको मूल्य र महत्त्वमाथि गहिरो गरी प्रकाश पार्नुका साथै मूलतः किसान जीवनको महानता झल्काइएको छ । केही हदसम्म घर बनाउने काठको काम गर्ने ज्यामीका साथै कृषि उत्पादनलाई बढाउनका लागि सक्रिय तराईका धनी किसानको सकारात्मक र प्रगतिशील विचारलाई पनि प्रस्तुत गरिएको छ । आफ्नो निरन्तरको परिश्रम र पसिनाबाट नै जीवन समृद्धिको सुन्दर सपना देख्ने अष्ट नारान तथा शिव नारान सहित यस उपन्यासका पात्रहरूले श्रममाथि हुने शोषणका विरुद्ध सङघर्ष गरेरै अघि बढेका पनि छन् । अन्तमा लगातार बाढी आएर खेतमा शिव नारान सहितको परिवार तथा घरमा परिवारका अरु सबै सदस्यको एक चिहान भएको सन्दर्भले नियतिका अगाडि श्रमिकको पनि केही नलाग्ने भन्ने गलत सन्देश दिन खोजे पनि यस उपन्यासको मूल अन्तर्वस्तुले श्रमको महिमा र महत्तालाई सबै मानिसले र विशेष गरी श्रमजीवी किसान र मजदुर सहितका समुदायले बुझ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।

१.३ निष्कर्ष

हृदय चन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासको अन्तर्वस्तुले नेपाली समाज विकासका बाधक तत्त्वहरूको राम्ररी छानबिन गरेको छ ती तत्त्वलाई हटाई अग्रगामी यात्रामा अघि बढ्नु पर्ने मार्ग निर्देश पनि गरेको छ । यसले वर्षौँदेखि नेपाली समाजमा जरा गाडी बसेका संस्कारगत अन्धता र धार्मिक रूढिहरूलाई छोड्दै क्रमशः सामाजिक परिवर्तनको प्रगतिशील र प्रगतिवादी मार्ग अवलम्बन गर्नु पर्ने मान्यता प्रस्तुत गरेको छ । यस्तो परिवर्तनलाई नेपाली समाजको सापेक्षता अनुकूल नै अघि बढाउनु पर्ने विचार पनि यसले प्रस्तुत गरेको छ । यस उपन्यासले प्रेमका नाममा हुने वासनात्मक सुखभोगको लिप्सालाई पुरै अस्वीकार र विरोध गर्नुका साथै अनमेल विवाह, बहु विवाह जस्ता कुप्रथाको टड्कारो विरोध गरेको छ । यसले नारीमाथि विभेद पूर्ण व्यवहार गर्ने, वासनात्मक एवं कामुक दृष्टि लगाउने सामन्ती एवं पुरुषवादी कुदृष्टिको पनि घृणापूर्वक विरोध गरेको छ । सम्पन वर्गका सामन्त एवं भ्रष्ट कर्मचारीबाट श्रमजीवी गरिब वर्गमाथि गरिने शोषणजन्य व्यवहारको सशक्त एवं बलपूर्वक प्रतिरोध पनि गर्नु पर्ने मान्यता यसले प्रस्तुत गरेको छ । समाज विकासको प्रक्रियामा श्रमको आधारभूत महत्त्व रहेको कुरातिर सङ्केत गर्दै प्रस्तुत उपन्यासले किसान, मजदुर आदि निम्न वर्गका श्रमिकले आफ्नो श्रमिक कर्मलाई कहिल्यै छोड्न नहुने मान्यता पनि प्रकट गरेको छ ।

समग्रमा ‘एक चिहान’ उपन्यासले समाजमा जरा गाडी बसेका संस्कारगत अन्धताका विविध पक्षलाई छोड्दै प्रेम र विवाहका बारेमा पनि परिवर्तनमुखी विचार प्रस्तुत गरेको छ । यसले लैङ्गिक विभेदका विरुद्ध नारीभित्रै सचेतताको आवश्यकता औँल्याउनुका साथै शोषणको विरोध तथा श्रमको सम्मानका लागि पनि वर्गीय मुक्तिको आन्दोलनलाई सशक्त रूपले अघि बढाउनु पर्ने प्रगतिवादी मान्यता प्रस्तुत गरेको छ । अन्त्यमा प्राकृतिक विपत्तिबाट परिवारको एकै चिहान भएको प्रसङ्गले मानवीय नियतिको गलत सन्देश जान सक्ने कुरा र उपन्यासभित्रका कतिपय घटनाको कार्य कारणजन्य कलात्मक तालमेलको अभाव खड्किए पनि मूलतः प्रस्तुत उपन्यासले समाजको अग्रगामी परिवर्तनको प्रगतिवादी अन्तर्वस्तुलाई सशक्ततापूर्वक प्रस्तुत गरेको पाइन्छ ।

सन्दर्भ ग्रन्थ सूची

उपाध्याय, यदु नन्दन (२०५९). ‘ हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो’

अनुशीलन. (वर्ष १, अङ्क १) पृ. ११–१८ ।

पौडेल, विष्णु पसाद (२०६८). उपन्यास समालोचना. काठमाडाँै ः भुँडी पुराण प्रकाशन ।

पौड्याल, हीरामणि शर्मा (२०४१). समालोचनाको बाटोमा. पर्वत ः इन्दिरा शर्मा पौड्याल ।

प्रधान, हृदय चन्द्र सिंह (२०६७). एक चिहान. (ललित पुर ः साझा प्रकाशन ।

बराल, ऋषिराज (२०६४). साहित्य र समाज. ललित पुर ः साझा प्रकाशन ।

भट्ट, गोविन्द (२०५५). गोविन्द भट्टका समालोचना. सम्पा. रविलाल अधिकारी, नेपाल ः बगर

फाउरन्डेसन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।