14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मोदनाथ प्रश्रितको बहुमुखी साहित्यिक व्यक्तित्व र योगदान

व्यक्तित्व / कृतित्व डा. यदु नन्दन उपाध्याय July 3, 2012, 4:38 am

१. विषय प्रवेश

मोदनाथ प्रश्रित (१९९९) नेपाली साहित्य, समाज चिन्तन तथा राजनीतिक गतिविधिका प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् । उनको साहित्यिक व्यक्तित्व कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा पनि बलियो उपस्थितिका साथ मुखरित छ । साहित्य सिर्जनामा प्रश्रितले प्रस्तुत गरेका दर्जनौँ कृतिले उनको समाज रूपान्तरणसँग सम्बन्धित साहित्यिक व्यक्तित्वको परिचय प्रदान गरेका छन् । समाज चिन्तनसँग सम्बद्ध प्रश्रितका कृतिहरूले नेपाली समाजलाई सामन्तवादी आर्थिक सामाजिक गतिहीनता, यथास्थिति र त्यस अन्तर्गतका अन्ध चिन्तन र विभेदकारी सामाजिक प्रचलन विरुद्ध वैज्ञानिक एवं भविष्यमुखी विचारको सञ्चेतना छर्ने काम गरेका छन् । उनले पूर्वीय ज्ञान र चिन्तनका नकारात्मक पक्ष छोडी सकारात्मक पक्षलाई आत्मसात गर्नु पर्ने र नेपाली राष्ट्रिय एकता र जीवनमुखी पक्षलाई अझ समृद्ध र समुन्नत तरिकाले अघि बढाउनु पर्ने मान्यता प्रस्तुत गरेका छन् । उनले आफ्ना साहित्यिक कृतिहरूबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी मान्यतामा आधारित माक्र्सवादी चिन्तनलाई नेपाली समाज, संस्कृति र मनस्थितिमा अनुकूलन गरी व्यवहारमा उतार्नु पर्ने मान्यता प्रस्तुत गरेका छन् । प्रश्रित नेपाली राजनीतिका क्षेत्रमा प्रारम्भिक दिनहरूमा नेपाली काँगे्रससँग प्रभावित रहे पनि त्यसभित्रका सामन्ती प्रवृत्ति र कतिपय स्वार्थी क्रियकलापबाट असन्तुष्ट बनी २०२४ सालपछि कम्युनिस्ट राजनीतितर्फ आकर्षित भएका हुन् । उनले ३८ वर्षसम्म नेपाली कम्युनिस्ट राजनीतिको केन्द्रीय नेतृत्वमा रहेर साढे आठ वर्षको जेल जीवनका साथै करिब दुई दशकको भूमिगत जीवन पनि बिताएका छन् । उनी नेपालको पहिलो कम्युनिस्ट सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी समेत सम्हालि सकेका व्यक्तित्व हुन् । नेपाली वामपन्थी राजनीतिप्रति आकर्षण बढाउन र द्वन्द्वात्मक भौतिकवादी विचारप्रति खास गरी मध्यम तथा निम्न वर्गीय समाजलाई जागरूक गराउनमा प्रश्रितका कर्मको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । प्रस्तुत आलेख प्रश्रितका व्यक्तित्वका अरू पाटातिर नभई साहित्यिक पाटातिर मात्र केन्द्रित गरिएको छ र त्यस अन्तर्गतको जानकारी र तिनबाट अभिव्यक्त योगदान निम्नानुसार छ ।

२. प्रश्रितको बहुमुखी साहित्यिक व्यक्तित्व

मोदनाथ प्रश्रितको साहित्य सिर्जन २००८ सालबाटै थालिएको भए (अत्रेय, २०५८(१) ः भूमिका) पनि सार्वजनिक प्रकाशनमा २०१५ सालपछि देखा परेको हो (प्रश्रित, २०५८(१) ः भूमिका) । त्यसयता प्रश्रितले नेपाली साहित्यका कविता विधाका साथै निबन्ध, नाटक, आख्यान (उपन्यास, कथा) र समालोचना समेतमा गहकिलो उपस्थिति जनाएका छन् । प्रश्रितको उक्त बहुमुखी साहित्यिक व्यक्तित्वको परिचयात्मक चिनारी तल प्रस्तुत गरिएको छ ।

२.१ कविका रूपमा प्रश्रित

कवि मोदनाथ प्रश्रितको काव्य सिर्जन २००८ सालबाटै थालिएको तथा २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो । उनको कविता सृजन फुटकर कविता र गीतका साथै खण्डकाव्य र महाकाव्यसम्म विस्तारित भई उपलब्धिपूर्ण बनेको छ । उनका कविताकृतिहरूमा आमाका आँसु (२०१९, कविता सङ्ग्रह), बुबा खै ? (२०२०, खण्डकाव्य), मानव (२०२३, मदन पुरस्कार प्राप्त महाकाव्य), देवासुर सङ्ग्राम (२०३१, महाकाव्य), गोलघरको सन्देश (२०३९, खण्डकाव्य) शहीदको रगत (२०३९, कविता सङ्ग्रह), जब चल्छ हुरी (२०४९, गीत सङ्ग्रह) र सङ्कलित रचना भाग (१) (२०५८, कविता एवं गीतहरूको सङ्ग्रह) रहेका छन् । प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ रहेको छ । प्रश्रितको कवि व्यक्तित्व उनका अरू साहित्यिक व्यक्तित्वका तुलनामा समृद्ध र प्रभावशाली छ ।

प्रश्रितका कविता विचारमूलक छन् र तिनमा सामाजिक समुन्नति, राष्ट्रिय उत्थान, मानवताको सम्मान, शोषण, उत्पीडन र अत्याचारको अन्त्य तथा समृद्ध एवं समुन्नत समाज निर्माणको विचार अभिव्यक्त गरिएको छ । उनले २०२३ सालसम्मका कवितामा मानवता र राष्ट्रियतालाई केन्द्रमा राखेर व्यक्ति व्यक्तिमा सदाचार, आत्मानुशासन र परोपकारी भावनाको प्रबद्र्धन खोजेका छन् । उनले प्रगतिवादी चिन्तनपूर्वका रचनामा पनि मानवलाई र बाँचेको जीवनलाई नै सर्वोपरि महत्त्व दिएर धामी, झाँक्री, भूत, प्रेत आदि अन्ध प्रचलनको विरोध, आर्थिक शोषण, जातीय उत्पीडनको विरोधका साथै धार्मिक पाखण्डको पनि विरोध गरेका छन् । उनले त्यस्ता कवितामा नेपाली प्रकृति, संस्कृति, भाषा र साहित्यप्रतिको उत्कट प्रेम र समृद्धिको आकाङ्क्षा प्रकट गर्नुका साथै विश्व मानवता र विश्व बन्धुत्वको भावना पनि प्रस्तुत गरेका छन् । प्रश्रितले नेपाली भूमिको महत्त्व गौतम बुद्धको जन्मस्थल हुनुमा, हिंसा र युद्धका विरुद्ध विश्व शान्ति र भ्रातृत्वको प्रगाढ भावना फैलाउनुमा रहेको पनि अभिव्यक्त गरेका छन् । २०२३ सालपूर्वका प्रश्रितका कवितामा मानवतालाई केन्द्रमा राखेर जातीय विभेद, लैङ्गिक विभेद, धार्मिक अन्धता र श्रम शोषणको विरोधका साथै मूलतः मानवीय सदाचारमा सामाजिक समृद्धि अडिएको वैचारिक मान्यता प्रकट भएको छ । यस्तो मान्यताको वैचारिक आधार मूलतः व्यावहारिक प्रचलनमा देखिएका रुढिप्रथा र धार्मिक पाखण्डको विरोध गर्ने प्रगतिशील प्रवृत्तिका रूपमा देखिए पनि चिन्तनको मूल आधार अध्यात्मवादी आदर्शवाद नै रहेको पाइन्छ ।

मोदनाथ प्रश्रितका २०२४ सालयताका कविताहरूको वैचारिक प्रवृत्ति माक्र्सको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यतामा आधारित रहेको छ । आफू राजनीतिमा सक्रिय रहेका प्रश्रितले नेपाली समाजले भोगेका आर्थिक शोषण, जातीय एवं लैङ्गिक उत्पीडन, मानवीय श्रममाथि भइ रहेका अनेकौँ प्रकारका शोषणका पक्षहरूको उद्घाटन कविता मार्फत गरेका छन् । उनले राणाकालदेखिकै नेपाली समाजले भोगि आएका सामन्ती उत्पीडन, पञ्चायती राजनीतिक दमन र अत्याचारका साथै त्यसपछिका समाजका विकृति र विसङ्गतिहरूलाई पनि कवितामा अभिव्यक्त गरेका छन् । प्रश्रितले आफ्ना कवितामा नेपाली समाजमा जारी निम्न वर्गमाथि भएको उच्च वर्गको शोषण, नारीमाथि पुरुष वर्गले गरेको ज्यादती, निम्न वर्गका गरिब, किसान, मजदुर, लगायतका मानिसका श्रममाथि भइ रहेको देश विदेशभरको शोषण आदि पक्षको उद्घाटन पनि गरेका छन् । प्रगतिवादी साहित्यकार प्रश्रितले समाजका उपर्युक्त विसङ्गत, कुरूप अनि बेथितिग्रस्त पक्षको चित्रण गरी तिनमाथि आफ्नो आलोचनात्मक दृष्टि मात्र प्रस्तुत नगरी तिनका कारणहरूको विश्लेषण पनि द्वन्द्ववादी एवं ऐतिहासिक भौतिकवादी मान्यताका आधारमा नै गरेका छन् ।

प्रश्रितले आफ्ना कविताहरूमा नेपाली समाजमा जातीय उत्पीडन, लैङ्गिक विभेद र शोषण, मानवीय श्रममाथिको शोषण, तमाम किसिमका अन्ध विश्वास र जन्म, पुनर्जन्म सम्बन्धी मान्यताको उत्पत्ति कसरी भयो भन्ने कुराको गहिरो विश्लेषण गरेका छन् । उक्त विश्लेषणको उनको आधार ऐतिहासिक एवं तथा द्वन्द्वात्मक भौतिकवादी रहेको छ । समाजका शासक वर्गले आफ्नो भोग र विलासको जीवनमा कतैबाट बाधा अवरोध नपरोस् भनेर नै सबभन्दा बढी श्रम गर्ने मानिसहरूलाई वर्णाश्रम व्यवस्थाको निर्माण गरी उच्च र निम्न जातका विभेदमा विभाजित गरि दिएको, आदिम कालबाटै समाजमा मातृसत्ता मार्फत न्यायपूर्ण समाज व्यवस्थाको सञ्चालन गरि आएका नारीहरूलाई शासनाधिकारबाट च्युत गरी पुरुषवादी आकाङ्क्षा अनुरूप पुरुष प्रधानतामा परिणत गरेको र त्यसपछि नै समाजमा लैङ्गिक विभेदको अमानवीय प्रथाको थालनी भएको यथार्थ इतिहास प्रस्तुत गरेका छन् । आफ्नो कठोर मिहेनत र पसिना बगाएर दास एवं आदिवासी समूहले निर्माण गरेका भौतिक पूर्वधारमाथि तत्तत्कालीन शासक वर्गले अधिकार जमाएर त्यही अधिकारलाई सुरक्षित राख्न दैवी विधानका नाममा विभिन्न नियमहरू बनाइएको यथार्थ पनि उनका कविताले खोलि दिएका छन् । आफ्नो अधिकारप्रति सचेत नहोऊन् भन्ने उद्देश्यले नै श्रमिक जनलाई वेदादिको ज्ञान प्राप्त गर्नबाट वञ्चित गरिएको कुरा पनि उनका कविताले प्रस्तुत गरेका छन् । उनले मानिसले विद्यमान समाजका विकृति र विसङ्गतिका कारणहरूको पहिचान गर्नु पर्ने र ती कारणहरूको समाधानका निम्ति सङ्घर्षको प्रक्रियालाई अघि बढाउनु पर्ने मान्यता प्रस्तुत गरेका छन् । उनका कविता एवं गीतहरूले नेपाली समाजमा देखा परेका विकृति र विसङ्गगतिका कारणहरूको पहिचान ऐतिहासिक एवं द्वन्द्ववादी मान्यताका आधारमा गरी तिनमा परिवर्तन गरी उन्नत, प्रगतिशील एवं प्रगतिवादी नेपाली समाज निर्माणको महान् आकाङ्क्षा प्रस्तुत गरेका छन् । यसरी समाजका विकृत यथार्थ र तिनका ऐतिहासिक कारणहरूको समेत विश्लेषण गरी विद्यमान समाज व्यवस्थालाई आमूल परिवर्तनको भविष्ययात्रामा अग्रसर गराउने महत्त्वपूर्ण कार्य प्रश्रितका कविताहरूले गरेको पाइन्छ ।

२.२ निबन्धकार प्रबन्धकारका रूपमा प्रश्रित

प्रश्रितको बहुआयामिक व्यक्तित्वको स्थापित एवं क्रियाशील पाटोमा निबन्धकार एवं प्रबन्धकार व्यक्तित्व पनि पर्दछ । कविता सृजनामा प्रश्रितले विश्राम लिएको देखिए पनि निबन्ध–प्रबन्धतिरको उनको यात्रा अद्यापि अविश्रान्त चलिरहेको छ । उनले २०२२ सालको अध्यात्म जगतमा एक विहङ्गम दृष्टि शीर्षकको लेखबाट यस विधातर्फको यात्रा सुरु गरेका हुन् । प्रश्रितका निबन्ध एवं प्रबन्धतर्फका कृतिहरू निम्नानुसार देखा पर्छन् ः

१) नयाँ जनवादी संस्कृति (२०२८) २) जीवाणुदेखि मानवसम्म (२०३२)

३) नारी बन्धन र मुक्ति (२०३३) ४) अतीतका पाइलाहरू (२०४१)

५) भूतप्रेतको कथा (२०४१) ६) नानीहरूलाई कसरी असल बनाउने (२०४४)

७) आस्था र प्रथा ः एक विवेचना (२०४४) ८) धर्म र नारी (२०४७)

९) केही सांस्कृतिक निबन्धहरू (२०४७) १०) जन संस्कृतिको नयाँ दिशा (२०४८)

११) जीवनको बाटोमा (२०४८) १२) मानसपटलका तस्बिरहरू (२०४९)

१३¬) मानवताको कलङ्क जातपात र छुवाछुत प्रथा (२०५८) १४) विचार र अन्तर्सम्बन्ध (२०६२)

१५) पहिले लेखिएका र अहिले देखिएका कुरा (२०६३) आदि ।

मोदनाथ प्रश्रित विचार मात्रका निम्ति अमूर्त विचार प्रवाह गर्ने प्रबन्धकार वा निबन्धकार नभई समाजको विकास र त्यसमा रहेका नकारात्मक एवं सकारात्मक पक्षहरूको यथार्थ अनि वैज्ञानिक विवेचना गर्ने व्यक्तित्व हुन् । उनले विशेष गरी नेपाली समाजलाई अग्रगति प्रदान गर्ने सन्दर्भमा बाधा सिर्जना गर्ने पक्षहरूका भित्री यथार्थहरू पहिचान गरी समाधानको सही र वस्तुवादी मार्ग निर्देश गरेका छन् । उनी पूर्वीय दर्शन, माक्र्सवादी दर्शन एवं बौद्ध लगायतका दर्शनका जानकार व्यक्तित्व समेत भएकाले ती दर्शनका कुरा जनताको पहुँचको सरल भाषा र प्रसङ्गको उपयुक्तताका साथ प्रस्तुत गर्न औधि सिपालु देखिन्छन् । यसर्थ उनी यथार्थवादी निबन्ध एवं प्रबन्धकार मानिन्छन् (सुवेदी, २०४३ ः १८०) र उनको लेखनले देवी देवता, स्वर्ग नरक, पूर्वजन्म, पुनर्जन्म, भाग्यवाद, भूतप्रेत, बोक्सी झाँक्री, टुनामुना, जातीय भेदभाव, आदि नेपाली जीवन विकासका बाधक तत्त्वहरूलाई सरल ढङ्गले केलाएका छन् । पौराणिक विषयलाई सामयिक सन्दर्भमा व्याख्या गर्ने काम पनि प्रश्रितले गरेका छन् । नेपाली जीवनमा जरा गाडी बसेका परम्परादेखिका अन्ध मान्यतालाई संस्कृतका ग्रन्थका उदाहरण मार्फत खण्डन गरी पाठकको चित्त बुझाउने काम प्रश्रितले गरेका छन् । उनले समाज विकासका माक्र्सवादी नियमलाई ठोस तर्क र वस्तुवादी मान्यताका साथ पुष्टि गरी नेपाली परिवेश अनुसार व्याख्या गरेका छन् । यस अर्थमा उनले नेपाली विशेषताको माक्र्सवादी विचार वा सिद्धान्तको आवश्यकतामाथि जोड दिएको पाइन्छ (पोखरेल, २०६८ ः ४३७) । यस्ता विचार भएका उनका कृतिहरूको परिमाण नै आफैमा नेपाली प्रगतिवादी विचार चिन्तनका निम्ति एक प्रकारको कीर्तिमान बनेको छ । यस अर्थमा प्रश्रितलाई नेपाली वाङ्मय जगतका राहुल साँकृत्यायन नै भन्न सकिने मान्दै प्राध्यापक रविलाल अधिकारी “उहाँ (प्रश्रित) धर्म, दर्शन, इतिहास, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, सहित्य आदि विषयमा कलम चलाउन उत्साह देखाउने साहसी लेखक देखा पर्नु हुन्छ (अधिकारी, २०६२ ः ६९) ” भन्ने अभिमत राख्दछन् । उनको लेखनमा विषयगत व्यापकता छ, विषयलाई पचाएर नेपाली पाठकलाई सरल सुबोध तरिकाले पस्कने शैली छ र जानेको कुरा व्यक्त गर्ने जोश जाँगर पनि छ । माक्र्सवादी विचारलाई बहुसङ्ख्यक नेपाली पाठकमाझ सरल भाषा र प्रवाह पूर्ण रोचक शैलीमा पस्कने प्रश्रित नेपाली लेखनमा अहिलेसम्म पनि अद्वितीय नै छन् ।

प्रश्रितका यस उपशीर्षकमा परेका सबै कृतिहरूलाई प्रायः समीक्षकहरूले निबन्ध अन्तर्गत राख्ने गरेको (रिमाल, २०४८ ः ३०) भए पनि र आकार प्रकारका दृष्टिले ती सबै निबन्ध र प्रबन्धमा मात्र पर्दैनन् र तिनको विचार र साहित्यिकताको तुल्यता बेग्लै अनुसन्धानको विषय पनि हो । माथिका कृति क्रममा परेका १,२,३,८,१० र १३ का कृतिहरू निबन्धभन्दा पनि चिन्तन परक प्रबन्धमा र बाँकी कृतिहरू संस्मरणात्मक निबन्ध र निबन्धात्मक लेखहरूमा पर्ने देखिन्छन् । उनको निबन्धकार एवं प्रबन्धकार व्यक्तित्व कवि व्यक्तित्वपछिको सर्वाधिक गरुङ्गो व्यक्तित्वका रूपमा प्रकट भएको छ ।

२.३ नाटककारका रूपमा प्रश्रित

मोदनाथ प्रश्रितले आफ्नो सृजनशील साहित्ययात्रामा विभिन्न नाटकहरूको एकल तथा सहलेखन गरेर पाठक एवं दर्शकहरूमा गहकिलो व्यक्तित्व प्रस्तुत गरेका छन् । नेपाली नाटक मञ्चनको इतिहासमा सयौँ, हजारौँ ठाउँमा प्रदर्शन गरिएको पचास रुपियाँको तमसुक (प्रश्रित, २०५८(४) ः नाटक र संस्मरण खण्डबारे) प्रश्रित सहित बुद्धि बहादुर थकाली र राम प्रसाद प्रदीपको संयुक्त लेखनमा तयार भएको मानिन्छ । प्रश्रितका एकल नाटकहरूमा आमाको काखमा, सपनाहरू उपहार देशलाई, मन्त्रीजी, बुद्ध र चण्डाल युवती रहेका छन् । सानै उमेरदेखि सत्यवादी हरिश्चन्द्र र ध्रुव जस्ता नाटक तथा पञ्चतन्त्रका कथालाई नाटकीकरण गरी आफै खेल्ने र खेलाउने काम समेत गर्दै आएका उनले ठाउँठाउँमा मञ्चनका निम्ति उपयोगी हुने स–साना नाटकहरू मात्र लेखेका छन् । उनले यहाँ सीता खोज्नेले राम बन्न सक्नुपर्छ, शीलाको अठोट, सहिदको सपना, जनताको देश, मध्ययुगको झिल्कोजस्ता नाटक लेख्ने र नेपाल तथा भारतका विभिन्न ठाउँ र शिलाङमा समेत मञ्चन गरे पनि ती हाल उपलब्ध नरहेको जनाएका छन् ।

प्रश्रितका नाटकहरूमा मूलतः नेपाली समाजका निम्न वर्गीय गरिब, किसान, सुकुम्बासीका समस्यालाई उजागर गरी उच्च वर्गीय शोषणप्रथाको अन्त्यका निम्ति सङ्घर्षको आवश्यकताबोध गराइएको छ । सामन्ती शोषणको बाँधाप्रथाका कारण भएको गरिबको निर्मम शोषण, छोरीचेलीमाथिको कुटिल दृष्टि, काम र मामका निम्ति भारत जान बाध्य भई भोग्नु परेको साहूको तिरस्कार, आफ्नो मातृभूमिप्रतिको माया, गरिब सुकुम्बासीमाथि पञ्च शासकहरूले गरेको बर्बर दमन र क्रूर अत्याचार तथा तिनलाई मधिसे र पहाडियामा विभाजित गरी सङ्घर्षलाई कमजोर पार्ने खेल, जातीय विभेद लगायत मूलतः पञ्चायती राज अनि अंशतः २०४७ सालपछिका सत्तासीनहरूका ज्यादतीको यथार्थबोध गराइएको छ । उनका नाटकमा ती विकृति र चरम शोषणका विरुद्ध सशक्त वर्गीय मुक्ति सङ्घर्ष गर्नै पर्ने स्थितिको जागृतिबोध गराउन उपयुक्त द्वन्द्व निर्माण, दृश्य संयोजन, थोरै चरित्रको समावेश, सरल एवं स्थानीय कथ्य भाषिक संवाद र गीतको समावेश पनि गरिएको छ । प्रश्रितका यी नाटकहरूले नेपाली प्रगतिवादी नाट्ययात्रामा महत्त्वपूर्ण योगदान पु¥याएका छन् र प्रश्रितको प्रगतिवादी नाट्य व्यक्तित्वको सशक्त उपस्थितिलाई झल्काएका छन् ।

२.४ आख्यानकारका रूपमा प्रश्रित

मूलतः कवि तथा निबन्धकारका रूपमा परिचित मोदनाथ प्रश्रितको व्यक्तित्व आख्यानकारितामा पनि राम्रो उपस्थिति जनाउन सफल रहेको छ । विशेष गरी सन् १९५७५८ को भारतमा भएको राष्ट्रियताको आन्दोलन र अङ्ग्रेजी साम्राज्यवादका विरुद्धको ऐतिहासिक विषयमा आधारित देशभक्त लक्ष्मीबाई (२०३२) तथा नेपाली सामाजिक जीवनको यथार्थ समस्यामा आधारित बाल उपन्यास चोर (२०४४) का माध्यमबाट प्रश्रित उपन्यासकारका रूपमा देखिएका छन् । त्यस्तै केही ठट्टा, केही मर्का (२०४७ ) का एघारवटा उपकथा र अन्य विभिन्न छ वटा कथाका माध्यमबाट प्रश्रितको कथाकार व्यक्तित्व मुखरित भएको छ । प्रश्रितका यी सबै आख्यानहरू सङ्कलित रचना (भाग ३) (२०५८) मा सङ्ग्रहित छन् ।

मोदनाथ प्रश्रितले आफ्नो साहित्य सृजन यात्रामा पाँच वटा उपन्यास लेखे पनि उक्त दुई उपन्यास मात्र उपलब्ध छन् । अनुपलब्ध तिन उपन्यासमा रुपन्देहीको २०२२२३ सालको किसान विद्रोहमा आधारित भैरहवा जेलमा छँदा लेखेर गोप्य तरिकाले बाहिर पठाए पनि साथीहरूले प्रहरी छापाको भयका कारण माटामुनि लुकाउँदा नष्ट हुन पुगेको सङ्कल्प शीर्षकको उपन्यास (गिरी, २०६० ः ४१) तथा सामाजिक र मनोवैज्ञानिक विषयमा आधारित रूपको हाट अनि जीवन निरोध २०३७ सालमा बनारसबाट पार्टीका प्रकाशनहरू लिई फर्कंदा प्रहरीले जफत गरी गायब पारेको उल्लेख गरेका छन् (प्रश्रित, २०५८(३) ः उपन्यास र कथा खण्डबारे) । रूपकोे हाटमा नेपाली चेलीको बिक्री र भारतका वेश्यालयको नारकीय यातना तथा जीवन निरोधमा स्वाभिमानी कामिनी शेर्पिनीको दुखान्त्य आत्महत्याको विषय रहेको उल्लेख प्रश्रितले गरेका छन् ।

प्रश्रितको उपलब्ध पहिलो उपन्यास देशभक्त लक्ष्मी बाईले राष्ट्यिताको मुक्तियुद्धमा लड्दै गरेकी वीरङ्गना लक्ष्मीबाईको साहस, पराक्रम र रण कौशललाई प्रस्तुत गरेको छ । सामन्त राजा रजौटाहरूलाई विभिन्न प्रलोभन र जालझेलद्वारा फँसाउँदै भारतमा आफ्नो साम्राज्य फैलाइ रहेका अङ्ग्रेजहरुका विरुद्ध सशक्त प्रतिरोधको विषयलाई यस उपन्यासले समेटेको छ । यसका साथै तत्कालीन भारतका सामन्त शासकहरूको गिर्दै गरेको भोग र मोजको सामन्ती संस्कृतिको उद्घाटन पनि यसमा भएको छ । प्रश्रितले नेपाली सन्दर्भ जोड्ने क्रममा अङ्ग्रेजका विरुद्ध एशियालीहरूले नै एकताबद्ध प्रयास गर्नु पर्ने भनेर भिमसेन थापाले पठाएको पत्र अनुसार त्यहाँका शासकले नगर्दा भोग्नु परेको पराजय र पश्चातापलाई पनि उपन्यासमा प्रस्तुत गरेका छन् (प्रश्रित, २०५८(३) ः ९) ।

मोदनाथ प्रश्रितले भद्रगोल जेलमा आफू बसेका बेला थुनामा परेको तामाङ बालपात्रको यथार्थ जीवनका आधारमा बाल उपन्यास चोर प्रकाशित गरेका छन् । २०२७ सालमा लेख्न सुरु गरी ११ वर्षपछि २०३८ सालमा पुरा भई २०४४ सालमा प्रकाशित यस उपन्यासमा प्रश्रितले उच्च र निम्न वर्गका नेपालीबिचको सङ्घर्षपूर्ण जीवनलाई नै विषय बनाएका छन् । उच्च वर्गीय शोषण प्रथाले साहूलाई आफ्नो ज्यान, कठोर श्रम र घर समेत बुझउँदा पनि सुक्ख नपाइने, मन्दिर, चौतारोमा समेत आश्रय नपाइने, घरेलु कामदारले बलात्कार प्रयास खेप्नु पर्ने र ती कुराको प्रतिरोध गर्दा जेलमा थुनिनु पर्ने पीडालाई वर्गीय चेतनाका आधारमा यस उपन्यासले प्रस्तुत गरेको छ । प्रगतिवादी अन्तर्वस्तु भएपनि थुप्रै रूपपक्षीय कमजोरीले त्यति सशक्त हुन नसकेको चोरका तुलनामा नारी वीरता, राष्ट्रियताको भावना र साम्राज्यवादको विरोध तथा सामन्ती शासकका कुरूपताको उद्घाटन गरिएको देशभक्त लक्ष्मीबाई प्रभावकारी उपन्यासमा परेको छ ।

मोदनाथ प्रश्रितको कथा लेखनको प्रारम्भ संस्कृतको हितोपदेश मित्रलाभ नामक कथाको अनुवादबाट २०१५ सालमै थालिए पनि त्यसले गति र निरन्तरता लिन सकेको देखिन्न । उपकथा भनेर प्रकाशित केही ठट्टा, केही मर्काका रचनाले स्पष्ट विधागत संरचना नलिई संस्मरण, निबन्ध र कथाका सन्धिरेखाको झल्को दिन्छन् । बाँकी ६ वटा कथाहरु भने पठनीय छन् । उनले उक्त सम्पूर्ण कथा उपकथा मार्फत नेपाली समाजका विभिन्न विसङ्गत यथार्थको उद्घाटन गरेका छन् । साहूको शोषणबाट मुक्त हुन मुग्लान पसेका गरिब नेपालीहरू, सहर गाउँमा शोषण र सामन्ती उत्पीडन भोगि रहेका गरिब दुखीहरू, जेलमा बन्दी बनाइएका राजनीतिक र अन्य बन्दीका यातना र पीडाहरू, सामन्ती संस्कार र अन्ध मान्यताका कारण भोग्नु परेका निम्न वर्गका मर्काहरुलाई मुख्यतः उनका कथामा प्रस्तुत गरिएको छ । यी कथाहरूमा विशेष गरी प्रधानपञ्च, जमिन्दार, व्यापारी, प्रहरीका साथै भारतीय व्यक्तिहरूलाई नकारात्मक भूमिकामा तथा गरिब र श्रमजीवी किसानलाई सकारात्मक सन्दर्भमा प्रस्तुत गरिएको छ । साथै ती पक्षका बीचको सङ्घर्ष र उत्पीडित पक्षका उन्मुक्तिको छटपटी कथाहरूमा प्रकट भएको छ । कथाहरूले देशभक्ति, देशाभिमानको खोजी, देश विकासको आकाङ्क्षा पनि प्रकट गरेका छन् । उपकथामा भने प्रश्रित स्वयंका निजी, पारिवाकि, सामाजिक सोचाइका अतिरिक्त सामाजको आर्थिक असमानता राजनैतिक निरङ्कुशता, प्रेम, विवाह आदि प्रसङ्ग समेत पनि समाविष्ट भएका छन् । समग्रमा आफ्ना वरिपरि देखे भोगेका स्थानीय समस्यालाई प्रश्रितका कथाले समेटेका छन् ।

यसरी हेर्दा उपलब्ध दुई उपन्यासका साथै डेढ दर्जन जति कथा रचना मार्फत प्रश्रितको आख्यानकार व्यक्तित्व मुखरित भएको छ । त्यसमा नेपाली समाज र जीवनका वर्तमान एवं विगतका महत्त्वपूर्ण तथ्यहरूलाई एकत्रित गरेर सामाजिक रूपान्तरणका निम्ति आख्यानीकृत गर्ने उनको कामले निम्न वर्गीय एवं स्वाधीनताप्रेमी जनताको शिर उँचो पारेको छ भने उच्च वर्गीय राइँदाइँ, बेथिति र ज्यादतीलाई प्रहारको निशाना बनाएको छ (गिरी, २०६० ः ५३) । अरू विधाको सङ्ख्यात्मक परिमाण तथा प्रगतिवादी वैचारिक एवं कलात्मक महत्त्वका तुलनामा कमजोर देखिए पनि साम्राज्यवादी हस्तक्षेपको विरोध, सामन्ती मानसिकताको भत्र्सना तथा नारी जागरणको उत्प्रेरणाका सन्दर्भमा प्रश्रितको आख्यानकार व्यक्तित्वको आफ्नै गरिमा र मूल्य रहेको पाइन्छ ।

२.५ समालोचकका रूपमा प्रश्रित

मोदनाथ प्रश्रित नेपाली साहित्य सिर्जनाका प्रभावशाली व्यक्तित्व मात्र नभई सृजित साहित्यको समीक्षात्मक मूल्याङ्कन गर्ने परिपक्व समालोचक पनि देखा पर्छन् । २०२७ सालमा मोतीराम भट्टलाई दुवै पक्षबाट हेर्दा शीर्षकको समीक्षा सर्व प्रथम सुस्केरामा प्रकाशित (प्रश्रित, २०५८(७) ः ११–१६) भएयता प्रश्रितका विभिन्न समालोचनात्मक लेख र कृति समेत प्रकाशित भएका छन् । प्रश्रितका प्रायः समालोचनाहरू सङ्कलित रचना भाग ४ मा सङ्कलित छन् र तिनमा नेपाली साहित्यका विभिन्न स्रष्टा, सिर्जना, साहित्यिक प्रवृत्ति, चिठीपत्र, कृतिको भूमिका, अन्तर्वार्ता, साहित्यिक टिप्पणी र लेखहरू परेका छन् । उनका समालोचनात्मक लेखहरू अहिले पुनः फाट्टफुट्ट प्रकाशित भइ रहेका पनि छन् । प्रश्रितको समालोचकीय व्यक्तित्वको परिपक्व परिचय वैचारिक विकासमा लक्ष्मीप्रसाद देवकोटा नामक कृतिबाट प्राप्त गर्न सकिन्छ र त्यसलाई प्रगतिवादी दृष्टिकोणले गरिएको सर्वोत्कृष्ट समालोचना पनि मानिन्छ (भुसाल, २०३८) । यसै कृतिलाई २०६६ सालमा महाकवि देवकोटा शताब्दी महोत्सवले पनि केही परिमार्जन सहित प्रकाशित गरेको छ । आफू भूमिगत भएका बेला विभिन्न छद्मनामले समेत समीक्षा प्रकाशित गरेकाले त्यति चर्चामा नआएका प्रश्रितका समालोचनामा स्पष्ट वैचारिक ठम्याइ र वस्तुवादी मूल्याङ्कन विधिको प्रवृत्ति पाइन्छ ।

लेखकहरूका भाव र विचारहरूलाई तथा उनीहरूका कृतिले बोकेको लक्ष्यलाई देश, काल र परिस्थितिका सापेक्षतामा विश्लेषण गरिनु पर्छ (प्रश्रित, २०५८(४) ः समीक्षा सङ्कलन) भन्ने मान्यता राख्ने प्रश्रितले आफ्ना समालोचनामा भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, सिद्धिचरण, विश्वेश्वरका साथै मदन मणि, भूपि, युद्ध प्रसाद, गोविन्द भट्ट लगायतका सिर्जना, समीक्षा, व्यक्तित्व र कृतित्वमाथि तर्कपूर्ण, गम्भीर एवं खँदिला समीक्षाहरू प्रस्तुत गरेका छन् । उनले गरेका पत्रात्मक समालचोनाले बेग्लै शैलीको परिचय दिएका छन् भने विभिन्न अन्तर्वार्ताहरूले उनको साहित्यको सैद्धान्तिक तथा व्यावहारिक समालोचनामाथि व्यापक प्रकाश पारेका छन् । प्रश्रितले आफ्नै मानव, देवासुर सङ्ग्राम का सथै अन्य कृतिबारे गरेका समालोचना पनि गहकिला र दिशा निर्दिष्ट गर्ने खालका छन् । खास गरी प्रश्रितको समालोचकीय व्यक्तित्व माक्र्सवादी विचार ग्रहण गरेपछि मात्र विकसित भएको छ र उनका सबै समालोचना प्रगतिवादी वैचारिक मान्यताका उत्कृष्ट उदाहरण बनेका छन् । यसरी साहित्यका अन्य विधामै ख्याति आर्जन गरेका कारण अपेक्षित चर्चामा नआए पनि प्रश्रितको समालोचकीय व्यक्तित्व गरुङ्गो रहेको पाइन्छ ।

३. योगदान तथा निष्कर्ष

साहित्यका कविता, निबन्ध, नाटक र आख्यानका साथै समालोचना समेतमा प्रभावशाली उपस्थितिका साथ देखिएकाले मोदनाथ प्रश्रित बहुमुखी साहित्य स्रष्टा मानिएका हुन् । उनको साहित्य सिर्जनाको वैचारिक आधार मूलभूत रूपमा माक्र्सवादद्वारा निर्देशित ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यता हो । यसैले प्रश्रितका रचनाहरूले नेपाली समाजमा विद्यमान मूलतः सामन्तवादी तथा अंशतः पुँजीवादी विकृतिका साथै वैदेशिक प्रभुत्वका विभिन्न पक्षहरूको समुद्घाटन गरेका छन् । प्रगतिवादले समाजका यथार्थ पक्षको मात्र उद्घाटन नगरी विकृत एवं कुरूप पक्षको अवसान तथा सुकृत एवं सुन्दर पक्षको विकास भएको सामाजिक परिवर्तन र आमूल रूपान्तरणको भविष्यमुखी आकाङ्क्षा प्रस्तुत गरेको हुन्छ । प्रश्रितका सबै विधाका रचना र समालोचनाहरूले पनि त्यही प्रगतिवादी गन्तव्यलाई नै सघाउने कार्य गरेको पाइन्छ ।

प्रश्रितका साहित्यिक रचनाहरूले नेपाली समाजमा रहेको आर्थिक द्वन्द्वलाई वर्ग सङ्घर्षको प्रगतिवादी मान्यता अनुरूप प्रस्तुत गरेका छन् । उनले नेपाली समाजबाट विद्यमान चरणमा सामन्तवादी संस्कार र मान्यता क्रमशः कमजोर हुँदै गएको तथा निम्न एवं श्रमिक वर्ग बलशाली र अधिकार सम्पन्न हुँदै गइ रहेको अभिमत प्रस्तुत गरेका छन् । उनले दास एवं सामन्ती संरचनाका उत्पादनका रूपमा रहेका जातीय विभेदका पीडा, लैङ्गिक असमानताका घाउ अनि तमाम प्रकारका रुढि, भाग्य, पुनर्जन्म, स्वर्ग, नरक, भूत, प्रेत, धामी, झाँक्रीका साथै मानवीय श्रम र प्रत्यक्ष यथार्थलाई महत्त्व नदिने गलत प्रवृत्तिका वास्तविक पक्षहरूलाई साहित्यका विभिन्न विधाहरूमा प्रस्तुत गरेका छन् । प्रश्रितले ती सम्पूर्ण जीर्ण संस्कार र गलत मान्यताको क्रमिक अवसान तथा मानवीय जीवनलाई वैज्ञानिक, परिष्कृत र समुन्नत बनाउनका लागि गर्नु पर्ने परिवर्तनका कामहरू पनि आफ्ना रचनाहरू मार्फत अभिव्यक्त गरेका छन् ।

मोदनाथ प्रश्रितका रचनाहरूले नेपालका बामपन्थीहरूले लिएका समाज परिवर्तनका वैचारिक मान्यतालाई साहित्यका विभिन्न विधा मार्फत विश्वसनीय, समृद्ध र जीवनाधारित बनाउने कार्य गरेका छन् । प्रश्रितका कविता र गीतका साथै देवासुर सङ्ग्राम, गोलघरको सन्देश आदि रचना पढेर कैयौँ नेपाली युवाहरू ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विचारमा लागेका छन्, कैयौँ नारीहरू नारी बन्धन र मुक्ति पढेर जीवनमा निराश वा हतास नभई सङ्घर्षकै माध्यमबाट अधिकार प्राप्त गर्न सकिने वस्तुवादी विचारप्रति अभिमुख भएका छन् अनि कैयौँ नेपालीहरू पचास रुपियाँको तमसुक पढेर जनताको रगत र पसिनामाथि शोषण्को दाइँ खेल्ने सामन्तहरूका विरुद्ध लामबद्ध भएका देखिन्छन् । त्यति मात्र होइन प्रश्रितका भूतप्रेतको कथा, नयाँ जनवादी संस्कृति, जन संस्कृतिको नयाँ दिशा, आस्था र प्रथाः एक विवेचना जस्ता रचना पढेर अज्ञानता र अन्धताका सम्पूर्ण सडेगलेका मान्यतालाई मिल्क्याई वैज्ञानिक विचार र परिवर्तनको सामाजिक आन्दोलनमा उत्प्रेरित भएका छन् । प्रश्रितको देशभक्त लक्ष्मीवाई उपन्यास पढेर “ पराधीन भई प्युँदै नुनिला आँसुका ढिका, ज्युनुभन्दा निको हुन्छ तातो गोली कताकता” भन्ने आह्वानमा साम्राज्यवादी अङ्ग्रेजप्रति तिब्र घृणाबोध जगाउने मात्र होइन नारी बहादुरी र साहसको काम गर्न हौसिएका छन् । अर्थात् नेपालको सामन्तवाद र साम्राज्यवाद विरोधी सञ्चेतनाको बृहत् अभियानलाई आफ्ना ओजमय एवं सरल अभिव्यक्तिमा प्रस्तुत गरेर जागरणको अभियन्ताको काम प्रश्रितका रचनाहरूले गरेका छन् । माक्र्सवादी दर्शनलाई सर्वसाधारण शिक्षित नेपालीले पनि सजिले बुझ्न सक्ने सरल एवं प्रवाहमय भाषामा अभिव्यक्ति दिने प्रश्रित यस प्रवृत्तिका अद्वितीय प्रतिभा हुन् । यसैले राजनीतिक परिवर्तनपछिको मानवीय जीवन र संस्कारमा परिवर्तन ल्याई वैज्ञानिक एवं व्यवस्थित रूपले ती राजनीतिक विचारलाई स्थापित गराउने काममा नेपाली प्रगतिशील लेखकहरूका पङ्क्तिमा प्रश्रितको नाम अग्रिम समूहमा आउँछ ।

मोदनाथ प्रश्रित विगत एक डेढ दशकयता भने त्यसपूर्वका तुलनामा जोशिला, जुझारु र क्रान्तिकारी लेखकका रूपमा भन्दा शान्तिपूर्ण सामाजिक एवं वैचारिक रूपान्तरणको पक्षमा अभिमत प्रस्तुत गर्ने लेखकका रूपमा परिचित देखिन्छन् । उनी पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरण र त्यस अभियानले साम्राज्यवादी शक्तिका विरुद्ध एकीकृत जनमतको निर्माण गर्न र नेपाली राष्ट्रियताको जगेर्ना गर्नमा केन्द्रीय भूमिका खेलेको कुरालाई अहं महत्त्वको मानि रहेका छन् । एउटा सामन्त राजाका रूपमा पृथ्वी नारायण शाहका कमजोर पक्ष हुँदाहुँदै पनि विभाजित नेपालको तत्कालीन नेपाली शक्तिलाई एकीकृत गरेर शक्तिशाली राष्ट्रका रूपमा स्थापित गर्ने ऐतिहासिक अभिभारा उनले पुरा गरेकोमा उनी पृथ्वीको सराहना गर्नै पर्ने मान्दछन् र यस कुरालाई नाजायज मान्न सकिन्न पनि । जेहोस् यस्ता अवधारणाका कारण प्रश्रित पछिल्लो अवधिमा विवादमा समेत आउने गरे पनि बृहत् सामाजिक परिवर्तनको मान्यतामा उनको आस्था झन् बढी परिपक्व र व्यावहारिक एवं राष्ट्रिय संस्कृति सापेक्ष अनुकूलित बन्दै गएको छ । यसरी पहिलेको जोशिलो, दरिलो, क्रान्तिकारी एवं अवैधानिक सङ्घर्षको पक्ष पोषण गरि आएका प्रश्रितले त्यसका सट्टा परिपक्व, शान्तिपूर्ण र वैधानिक सङ्घर्षको पक्ष पोषण गर्दै इतिहासका राष्ट्रिय घटनालाई पनि केही भिन्न तरिकाले हेर्ने आग्रह गरेका कारण केही आलोचित र विवादित हुन पुगेका मात्र हुन् भन्न सकिन्छ । यस क्रममा प्रश्रितको साहित्यिक व्यक्तित्वको योगदानलाई “ देवकोटाका साहित्यको अध्ययनबिना नेपाली साहित्यको अध्ययन अधुरो भएजस्तै मोदनाथ प्रश्रितका कृतिहरूको अध्ययनबिना नेपाली समाजमा माक्र्सवादी दर्शन र साहित्यको अध्ययन पनि अधुरो हुन्छ (अधिकारी, २०६२ ः ६९)” भन्ने मूल्याङ्कनको स्मरण पनि गर्नु पर्ने हुन्छ । यसैले नेपाली समाजका यथार्थहरूको उद्घाटन गर्न र तिनका नकारात्मक पक्षको परित्याग तथा सकारात्मक पक्षको आत्मसातीकरणका साथै निरन्तर अग्रगामी यात्रामा क्रियाशील हुने प्रगतिवादी विचार प्रस्तुत गर्नमा प्रश्रितको भूमिका नेपाली प्रगतिशील लेखक समुदायमा अप्रतिम रहेको कुरा स्पष्ट छ ।

सन्दर्भ ग्रन्थसूची

अधिकारी, रविलाल (२०६२). ‘काव्य साधनामा मोदनाथ प्रश्रित’ यथार्थवादी नेपाली समालोचना. घनश्याम ढकाल

(सम्पा.), पोखरा ः गण्डकी साहित्य सङ्गम, पृ ६६–८६ ।

आत्रेय, यादव राज (२०५८(१). ‘ प्रश्रितको पहिलो कविता’, सङ्कलित रचना भाग (१). काठमाडौँ ः पैरवी बुक्स

एण्ड स्टेसनरी सेन्टर ।

गिरी, जीवेन्द्र देव (२०६०. ‘आख्यानका उज्यालामा मोदनाथ प्रश्रित’ कुञ्जिनी (वर्ष ११, अङ्क ८) पृ. ४०–५३ ।

पोखरेल, वद्री विशाल (२०६८). ‘प्रश्रितका सांस्कृतिक मान्यता’ जुही (वर्ष ३१, अङ्क १, मोदनाथ प्रश्रित

विशेषाङ्क) पृ ४३३–४३८) ।

प्रश्रित, मोदनाथ (२०५८). सङ्कलित रचनाहरू (भाग १, ३, ४, ७). काठमाडौँ ः पैरवी बुक्स एण्ड

स्टेशनरी सेन्टर ।

रिमाल, केदार नाथ (२०४९). मोदनाथ प्रश्रितको निबन्धकारिता. (काठमाडौँ ः त्रि.वि., नेपाली विभाग, अप्रकाशित

स्नातकोत्तर शोधपत्र) ।

सुवेदी, राजेन्द्र (२०४३). स्रष्टा सृष्टि ः द्रष्टा दृष्टि. काठमाडौँ ः साझा प्रकाशन ।

सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।