19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परिश्रमीका कृतिहरुमा अभिव्यक्त व्यङ्ग्य, विद्रोह र वर्गीय मुक्तिका स्वरहरू

कृति/समीक्षा जीवनाथ सुवेदी July 9, 2012, 8:16 am

सार

साहित्य सिर्जना र यसको विकास अभियानमा विभिन्न प्रयोगहरु भएको देखिन्छ । यसै क्रममा साहित्य समाज रुपान्तरणको लागि भन्ने मान्यताका साथ प्रयोगमा आएको प्रगतिवादी साहित्य लेखनको सिद्धान्तका आधारमा साहित्यकार नारायण परिश्रमीका कृतिहरुमा अभिव्यक्त व्यङ्ग्य, विद्रोह र वर्गीय मुक्तिका स्वरहरु खोतल्ने प्रयास यस समालोचनात्मक लेखको मूख्य उद्देश्य रहेको छ भने उनका साहित्यिक कृतिलाई अन्य कोणबाट विश्लेषण नगर्नु यस लेखको सिमा हो ।

मुख्य शब्द

ृ प्रगतिवाद, व्यङ्ग्य, विद्रोह, वर्गीय मुक्ति, परिश्रमी, सर्वहारा, प्रगतिशील, भौतिकवाद, माक्र्सवाद, श्रमजीवी, पुनर्लेखन, समतामूलक े

१. पृष्ठभूमि

१.१. सर्जकको परिचय

प्रगतिवादी साहित्यकारका रूपमा परिचित नारायण परिश्रमीको जन्म लम्जुङको रम्घा – ३, सिँहालेमा बम बहादुर पण्डित क्षेत्री र पूर्ण कुमारी पण्डित क्षेत्रीका छोराका रूपमा वि.सं. २०१० कार्तिक १२ गते भएको हो । अङ्ग्रेजी विषयमा एम्. ए., वी.एड. गरेका परिश्रमी साहित्य सिर्जनाका अलावा शिक्षण पेशामा संलग्न छन् । राट्रिय जन सांस्कृतिक महासंघ, प्रगतिशील लेखक संघ, गण्डकी साहित्य सङ्गम, साहित्य सृङखला, जन सहित्यिक मञ्च जस्ता साहित्यिक सस्थामा आवद्ध परिश्रमी सुस्त मनस्थिति कल्याण सस्था, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, कुँडहर सेवा समिति जस्ता सामाजिक सस्थाहरुमा पनि संलग्न रहेको पाइन्छ ।

राष्ट्रिय शिक्षा पुरस्कार–२०६३ बाट सम्मानित परिश्रमीका तिजका कोसेली, भाग १–६ (२०४७–२०६०), परिश्रमीका केही गीतहरु (२०५१), पाटी प निबन्ध सङ्ग्रह (२०४५), रुन्चे हाँसो निबन्ध सङ्ग्रह (२०६५), खोरिया कविता सङ्ग्रह (२०६०), जीवन यात्रा कविता सङ्ग्रह (२०६७), हुस्सु दलविरे खण्डकाव्य (२०६४) जस्ता साहित्यिक कृतिहरु र विभिन्न पत्र पत्रिकाहरुमा लेख रचनाहरु प्रकाशित छन् । सुरुमा गीत, कविता र पछिल्लो चरणमा हाँस्य व्यङ्ग्य निबन्धहरुद्वारा पाठक सामु परिचित परिश्रमी प्रगतिवादी साहित्यकारका रूपमा पनि स्थापित लेखक मानिन्छन् । यस समालोचनात्मक लेखमा परिश्रमीका यिनै प्रकाशित कृतिहरुभित्र प्रगतिवादी दृष्टिमा व्यङ्य, विद्रोह र सर्वहारा वर्गीय मुक्तिका स्वरहरु खोज्ने प्रयास गरिएको छ ।

१.२. प्रगतिवाद

प्रगतिवाद अध्यात्मवादी आदर्शवादका विरुद्धमा देखापरेको भौतिक यथार्थलाई आधार मानेर जीवन जगत्लाई हेर्ने माकर््सवादी दर्शनको साहित्यिक रूप मानिन्छ । तिमल्सेनाका अनुसार, “शाब्दिक अर्थमा ‘प्रगति’ भनेको अगाडि लाग्ने, अगाडि बढ्ने उन्नति वा उत्थान गर्ने प्रक्रिया हो भने ‘वाद’ भनेको वास्तविक कुरा वा सार पत्ता लगाउनका निमित्त तŒवविद्हरुले गरेको तर्क वितर्क वा सिद्धान्त हो” (तिमल्सेना, २०६४ ः १) । ‘वाद’ कुनै वस्तुलाई हेर्ने दृष्टिकोण हो र साहित्यमा यसको उपस्थिति साहित्यिक अनि असाहित्यिक दुई क्षेत्रबाट भएको पाइन्छ । राजेन्द्र प्रसाद मिश्रका अनुसार – साहित्यकारहरु पहिला जीवन जगत्बाट प्रेरणा ग्रहण गरी विभिन्न किसिमका अलङ्कार र शैलीहरु प्रयोग गर्दै आप्mना अनुभूतिहरु उद्घाटित गर्दछन् र उनीहरुका कृतिहरु आइ सके पछि त्यस सम्बन्धी चिन्तन दृष्टिकोण बन्दछ भने अर्कोतर्फ धार्मिक, राजनीतिक, वैज्ञानिक आदि विभिन्न क्षेत्रमा प्रयोग भैसकेका दृष्टिकोणहरु ग्रहण गरी साहित्य सिर्जना गर्ने प्रवृत्ति पनि छ (मिश्र, ई १९६६ ः ३७) ।

‘प्रगति’ र ‘वाद’ दुई नामिक शब्दहरुको योगबाट बनेको प्रगतिवाद शब्दले समाजलाई अगाडि बढाउने वा सामाजिक उत्थान गर्ने लक्ष्य लिएको सिद्धान्त भन्ने बुझिन्छ । साहित्यका सन्दर्भमा भने व्यक्तिगत वा आत्मगत सन्तुष्टिभन्दा समाजको भौतिक विकासमा महत्त्व दिने, काल्पनिकताभन्दा सामाजिक यथार्थमा विश्वास गर्ने माक्र्सवादी दर्शनबाट अभिप्रेरित साहित्यिक सिद्धान्तस“ग प्रगतिवादको अर्थ र सम्बन्ध जोडिएको पाइन्छ ।

माक्र्सवादका भौतिक सिद्धान्तलाई आधार मानेर सृजना गरिने साहित्यलाई माक्र्सवादी साहित्य भनिन्छ । प्रगतिवादी चिन्तक अधिकारीका अनुसार – माक्र्सवादी साहित्यको समानार्थबोधक शब्दको रूपमा प्रगतिवादी साहित्य भन्ने चलन नेपाल र भारत लगायत अन्य विभिन्न मुलुकहरुमा व्यापक रूपमा रहेको पाइन्छ (अधिकारी, २०५६ ः १) । प्रगतिवादी शब्दको समानान्तर शब्दका रूपमा प्रगतिशील शब्दलाई पनि लिने गरेको भेटिन्छ तर यी दुई पर्यायवाची शब्दहरु होइनन् । यस कुरालाई प्रस्ट्याउन जनेश्वर बर्मा भन्छन्, “माक्र्सवादी दर्शन ग्रहण नगरेका भए पनि माक्र्सवादका मूलभूत कुराहरुको विरोध नगरी यथार्थ धरातलमा रहेर मानव कल्याण र सामाजिक विकासको पक्षमा चिन्तन गर्ने साहित्यकार प्रगतिशील हो” (वर्मा, ई. १९८६ ः २०) । समाजमा विद्यमान कुरीति, धार्मिक आडम्बर, अन्याय, रुढिवाद, साम्प्रदायिक सङ्कीर्णता, पुरोहितवाद, सामान्तवाद, पू“जिवाद आदिको बिरोध गर्दै तत्कालीन समाजमा जागरणममुखी चेतना दिनुलाई प्रगतिशीलता भन्न सकिन्छ । गंगा प्रसाद उप्रेतीको भनाइ अनुसार – जीवन र जगतको निरन्तर परिवर्तनमा विश्वास गर्ने, अग्रगमनको समर्थन र प्रतिगमनको विरोध गर्ने, शोषण र कुसंस्कारको विरोध गरी समाज सुधारको पक्षमा देखिने चिन्तन वा चिन्तक प्रगतिशील हो भने माक्र्सवादी दर्शनको आधार लिइ सकेको अवस्था प्रगतिवाद हो (उप्रेती, २०५८ ः ११४) । यसरी हेर्दा प्रगतिवादी हुनका लागि प्रगतिशील हुनै पर्ने तर प्रगतिशील हुनका लागि माक्र्सवादी दर्शनमा आबद्ध नभएको भए पनि हुने भन्ने दृष्टिले प्रगतिवादी र प्रगतिशील शब्दहरु पर्यायवाची होइनन् भन्ने प्रष्ट हुन्छ ।

प्रगतिवाद युगौ“ पहिलेदेखि नै विकसित हुु“दै आएको प्रगतिशील चिन्तनहरुलाई समेट्दै द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी दृष्टिका आधारमा समाजको विकासलाई विश्लेषण गर्ने माक्र्सवादी सिद्धान्तको साहित्यिक संस्करण हो । प्रगतिवादी चिन्तक जनेश्वर वर्माका अनुसार “भारतमा ई.सं. १९३६ मा प्रगतिशील लेखक सङ्घको स्थापना भएपछि साहित्यका क्षेत्रमा प्रगतिशील र प्रगतिवाद जस्ता शब्दहरु विशेष प्रचलित हुन थालेका भएपनि माक्र्सवादी विचारधारा ग्रहण गरी साहित्यिक रचनाहरु सिर्जना गर्न थालिएदेखि नै प्रगतिवादी शब्द रुढ रूपमा प्रयोग हुन थालेको पाइन्छ “(वर्मा, ई. १९८६ ः २१) । नेपाली साहित्यका सर्जक तथा समीक्षकहरुले पनि भारतीय समीक्षकहरु झै माक्र्सवादी विश्व दृष्टिकोण अङ्गीकार गरी लेखिएका माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य मान्दै यसै सन्दर्भमा प्रगतिवाद शब्दको प्रयोग गरेको देखिन्छ भने उपन्यास विधामा प्रगतिवादलाई समाजवादी याथार्थवाद शब्दावली प्रयोग गरिएको पाइन्छ ।

माक्र्स र एङ्गेल्सले कला–साहित्यका बारेमा छुट्टै वृहत् चर्चा गरेको पाइँदैन । यद्यपि उनीहरुको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको व्याख्या गर्ने विभिन्न सन्दर्भहरुमा प्रस्तुत गरेका अवधारणाहरुबाट सामाजिक संरचना या आर्थिक आधारका जगमा नै कला÷साहित्य लगायतका चेतनाका रूपहरुको परिवर्तन हुन्छ भन्ने कुराको निष्कर्ष निकाल्न सकिन्छ । प्रगतिवादी साहित्य पनि माक्र्सवादी दर्शनका जगमा उभिएको चेतनाको रूप हो । यसका माध्यमबाट प्रक्षेपित हुने विचार माक्र्सवादले आग्रह गरे अनुसारको हुने कुरा बुझिन्छ । साहित्यमा आउने विचार कोरा यथार्थको रूपमा नभई यथार्थको कलात्मक प्रतिबिम्बनका साथ आओस् भन्ने शिष्ट आग्रह माक्र्सवादी दार्शनिक तथा प्रगतिवादी चिन्तक–सर्जकहरुमा रहेको पाइन्छ ।

२. साहित्यकार परिश्रमीका कृतिहरुको विश्लेषण

२.१. समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति व्यङ्ग्य

परिश्रमीका साहित्यिक कृतिहरुमा हाँस्यको माध्यमबाट समाजमा विद्धमान विसङ्गति र विकृतिप्रति कडा व्यङ्ग्य गरिएको पाइन्छ । लेखकले समाजमा ठुला भनाउँदाहरुको स्वार्थीपना र तिनका कारणले सिर्जित समस्याहरुको उजागर गरेका छन् । द्वैध चरित्र भएका दिनमा एउटा भाषण गर्ने काम अर्कै गर्ने हाम्रा समाजका नेताहरुको व्यङ्ग्य गर्दै लेखक लेख्छन् ः “छकाउन र फकाउन, थिच्न र मिच्न, खेल्न र जेल्न सक्नेलाई निलि रहे पनि मिलि रहेको ठान्ने म जस्ताले तिम्रो गुणगान गर्न एक रति पनि नसुहाउँने ।” (रुन्चे हाँसो, पृ.९) बोली र व्यवहारमा अनि सिद्धान्त र निष्ठामा एकरूपता नदेखिएका तर समाजमा जहिले पनि प्रतिष्ठित भएर रहने व्यवहार कुशल अथवा भनौ मौसमानुसार रूप परिवर्तन गरी फाइदा लिन पल्केकाहरुप्रति व्यङ्ग्य गर्दै उनी लेख्छन् , “पशुले जित्दा पशुतिर र पन्छीले जित्दा पन्छीतिर लाग्ने चमेरावाद जो दिनको उज्यालोमा सक्कली अनुहार उदाङगिन्छ भनेर निशाचर बनेर व्याउँदै उड्छ ।... ”(रुन्चे हाँसो, पृ.१०)

कविताको माध्यममा पनि उनी व्यङ्ग्य कस्न निकै खप्पिस देखिन्छन् । देशको जिम्मा लिएर विराजमान वर्तमान नेताहरु सत्ता र भत्तामा भुलेर आप्mनो कर्तव्य बिर्सेकोप्रति सचेत गराउँदै परिश्रमी लेख्छन्,

के लेख्छौ शब्दमा चित्र ? सत्ता लुछ्ने बनेपछि

के देख्छौ सपना मित्र ? भत्ता बुभ्mने भनेपछि

आफन्त र पराइ नै पहिचान भुले पछि

संघर्ष क्रान्ति के गर्छौ ? वर्ग वैरी हुले पछि ।

(जीवन यात्रा, पृ. ६४)

जनताको आदेशको पालना नगर्ने, आप्mनो पद र प्रतिष्ठा अनुसार काम गर्न नसक्ने तर पदलोलुप, विषयको गहनताभन्दा नातावादका आधारमा निर्णय लिने अनि सहिद जस्तो अति सम्मानित पदलाई पनि हल्का ढङ्गले हेर्न थालिएको प्रवृत्तिप्रति सचेत गराउँदै परिश्रमीका कृतिहरुमा व्यङ्ग्य गर्दै यस्तो गलत प्रर्वत्ति प्रति विरोध गरिएको पाइन्छ । सहिद जस्तो सम्मानजनक पद जसलाई मन लाग्यो त्यसलाई प्रदान गर्न सकिने आप्mनो गोजीको पैसा होइन । ज्यान मुद्दामा पुर्पक्षमा थुनामा परेको आरोपी मर्दा होस् वा साथीहरुको आपसी झगडामा भएको व्यक्तिको मृत्यु होस् सबैलाई सहिद घोषणा गर्न माग राख्दै देश ठप्प पार्नेहरु हुन् वा दवावलाई आधार बनाएर सहिद घोषणा गर्न लालायित जिम्मेवार राजनेताहरु कसैले पनि यस विषयलाई राम्ररी विचार गरेको हामी पाउँदैनौँ । यस विषयलाई प्रष्ट पार्न सहिदको परिभाषा हुन ढिला भइसकेको सन्दर्भमा पनि उनका रचनाहरुमा उल्लेख गरेको देखिन्छ ।

अदक्ष भए पनि अध्यक्ष भइँदो रहेछ

जति हार्यो उति पुरस्कृत भइँदो रहेछ

हुलचालमा मारिए पनि सहिद भइँदो रहेछ

आप्mनो भएपछि दलाल पनि लाल हुँदो रहेछ

(जीवन यात्रा, पृ. ६४)

त्यागी स्वार्थ सबै, समाज जनको उन्मुक्तिमा खट्छ जो

अत्याचार खिलाफमा अघि सरी निर्भिक भै लड्छ जो ।

ब्यूँझाइँ जनता बनेर अगुवा संघर्षमा मर्छ जो

हाँसी जीवन अर्पने सहिद नै संसारकै मित्र हो ।

(जीवन यात्रा, पृ. ३९)

समकालीन समाजमा जनता निराश छन् किनभने उनीहरुले गरेका युद्ध तथा आन्दोलनका उपलब्धीहरुको रक्षा र श्रमजीवी जनताहरुका न्युनतम आवश्यकताहरु पुरा गर्ने जिम्मेवारी लिएका राजनेताहरु विषयान्तर भएर ती कामहरु पुरा गर्न सकि रहेका छैनन् । उनीहरु श्रमजीवी जनताको मुक्तिका लागि जनवाद स्थापना गर्ने असजिलो र चुनौतिपूर्ण उद्देश्य पुरा गर्ने बाटो छाडेर धन दौलत थुपारेर सम्पन्न हुने सजिलो बाटोतिर लागेकाले नेपालको विकास हुन नसकेको प्रति परिश्रमीका रचनाहरु प्रष्ट बोलेका देखिन्छन् ।

विर्सियौ जनवादको असजिलो बाटो उकाली दुरी

सम्झियौ धनवादको अगतिलो कालो अलकापुरी

भुल्यौ ती दुनिया गरिब जनता बाटो लियौ आसुरी

डुल्यौ राशलिला विलास पथमा संभ्mयौ अमरापुरी ।

(खोरिया, पृ. ४५)

जनताहरुले सधँैभरि नेतृत्वमा रहने नेताहरुलाई विश्वास गरी देवता समान सम्मान गर्ने गरेको, उनीहरुका सुख दुःख आप्mनै सुख दुःख ठानी उनीहरुको सुरक्षाका निम्ति कैयौँ नेपालीहरुले बलिदानी दिएको, उनीहरुको आह्वानमा जनता उठेर आन्दोलन गरी निरङ्कुश राज्यशत्ता परिवर्तन गरेका तर सत्ता प्राप्तिपछि नेताहरुले सत्ता बाहेक केही नसम्झेको प्रति गुनासो व्यक्त गर्दै इतिहासका आन्दोलनहरु सम्झन हालका नेताहरुलाई प्रेरित गर्न परिश्रमीका रचनाहरु सजग देखिन्छन् ।

तिम्रो चाल सुनेर भक्षकहरु डेरा खडा गर्दथे

तिम्रो ढाल बनेर रक्षकहरु घेरा खडा गर्दथे

तिम्रा जेल र नेलका दुःखहरु आप्mनै पीडा ठान्दथे

दुःखी शोषित ती किसानहरुले देवता सरी मान्दथे ।

..........................

तिम्ले जुट भन्यौ समस्त जनता सारा खुरुक्कै जुटे

तिम्ले उठ भन्यौ समस्त जनता सारा जुरुक्कै उठे

बैरी दुस्मनले लुटे कति भुटे दाह्रा तिनैका थुते

सत्ताको रस स्वादमा बहकिँदै नेताहरु नै फुटे ।

(खोरिया, पृ. ४४)

किसान, मजदुर तथा सम्पूर्ण श्रमजीवी जनताले त आप्mनो कर्तव्य पुरा गर्न योग्य सम्झेर निश्चित समयसीमा तोकी बाँकी काम गर्न नेताहरुलाई जिम्मा दिए तर उनीहरु जुन कामको लागि पठाइएको हो बाहिर योग्य देखिए पनि त्यसका लागि क्षमतावान् नभएको यथार्थलाई परिश्रमीका कविताले व्यङ्ग्य गरेका छन् । यसै गरी सत्ता प्राप्तिका निम्ति आप्mनो सिद्धान्त र कर्तव्य बिर्सेर सोचेभन्दा तल झर्न सक्ने अवसरवादी नेताहरुको सत्तालिप्त दास मनोवृत्तिप्रति पनि उनका रचनामा व्यङ्ग्य गरिएको भेटिन्छ ।

लडाइमा खप्पिस

डाक्टरै डाक्टर

ओखति नजानेका

खती मात्रै जानेका

बारुदी शब्द बन्दुके भाषा

उमार्न जानेका तर सिहार्न नजानेका

(खोरिया, पृ. ८४ )

नेताहरु सत्ता पाउन कति तल झर्छन् ?

काली बाबा रामदेव खोज्दै शरण पर्छन् ।

लुकीछिपी प्रभूजीको गर्न पुग्छन् दर्शन्

भौतिकवादी भन्छन् तर ‘ग्रह शान्ति’ गर्छन् ।

(जीवन यात्रा, पृ. ५८)

परिश्रमीका रचनाहरु प्रचलित कविका कविता तथा राष्ट्रिय गान समेतको व्याङ्ग्यात्मक पुनर्ललेखन गरी समाजमा व्याप्त विकृति र विसङ्तिलाई उदाङ्गो पार्न सफल देखिन्छन् । गरिबका नाममा जति युद्ध र आन्दोलन गरिए पनि नेपालीहरु देशभित्र होस् वा बाहिर जहाँ रहे पनि गरिब छन् तर संसारका कुनै राजाहरु पनि गरिब छैनन् भन्ने भाव उनका प्यारोडी गीत तथा कविताले यसरी व्यक्त गरेका छन् ।

राष्ट्रिय गानको व्याङ्ग्यात्मक पुनर्लेखन .........

वहुल जाति भाषा धर्म पेलिएर बेहाल

वक्तगामी भ्रष्ट देश जनता सधैँ व्याकुल

(रुन्चे हाँसो, पृ. ६७)

सकेसम्म सही बस्ने नेपालीको बानी हुन्छ

जागेपछि जिती छाड्ने बलिदानी नेपाली हुन्छ ।

पहाड तराई झाडीमा खोज, दिल्ली बम्बै खाडीमा खोज

त्यहा गरिब नेपाली हुन्छ, त्यहाँ धनी राजा हुन्छ ।

(रुन्चे हाँसो, पृ. ६५)

भानुभक्त अहिले भएको भए सायद यसरी पनि लेख्थे कि ? त्यसैले होला परिश्रमीले भानुभक्तको कविताको पुनर्लेखन यसरी गरेका छन् .........

लुटाहा फटाहाहरु एक सुरमा

जहाँ छन् जति छन् जन शोषणमा

पिउन्या’ पसिना रगत मस्त परी

जिउन्या’ फगत श्रम कत्ति नगरी ।

(रुन्चे हाँसो, पृ. ६०)

हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले यात्री कवितामा मानवतावादी स्वर व्यक्त त गरे तर बुभ्mनु पर्नेहरुले बुझेनन् त्यसैले होला कवि परिश्रमीबाट यात्री कविताको पुनर्लेखन गरिएको कविताले नेताहरुलाई व्यङ्ग्य गरेको देखिन्छ ।

..........

लम्क लम्क हे जाऊ समाऊ मालिकहरुको पाऊ

जलन बढाऊ टनकपुरको चहराइ रहेको घाउ

नेताहरु भै प्रभूहरुको दिव्य मुहार हँसाऊ ।

(जीवन यात्रा, पृ. ६७)

नेपाल र नेपालीको कसरी बेहाल भयो भन्ने विषयमा पनि कविका रचनाहरु प्रस्ट देखिन्छन् । नेपालको बेहाल हुनुमा वामपन्थीहरुको वाहुल्यता भएर पनि जुट्न भन्दा फुट्न बढी रुचाउन र आपूm आपूmमा झगडा गर्ने बानीले गर्दा सर्वहारावादी आन्दोलन सफल हुन नसक्नुले उनीहरु जिम्मेवार रहेको ठहर कविको छ । उनका कृतिमा नेताहरुलाई मिलेर अघि बढ्न प्रेरित गर्दै आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु बचाउन आग्रह गरिएको पाइन्छ ।

चालै चाल चलेर यो मुलुकको बेहाल् बेहाल भो’

लालैलाल लडेर यो धरतीमा, दुर्भाग्य नेपालको ।

बाझाबाझ गरेर मित्र रहला अस्तित्व यो देशको ?

माझामाझ गरेर भित्र, अब लौ रक्षा गरौँ क्रान्तिको ।

(जीवन यात्रा, पृ. ४८)

नेपाली जनताले जति पटक तानाशाहहरुलाई हराएर प्रजातन्त्र ल्याए पनि ठालुहरुका चेपमा र विदेशीहरुका हस्तक्षेपमा परेर खोसिएको यथार्थलाई परिश्रमीका कृतिहरुमा उल्लेख गर्दै त्यस्ता कार्यप्रति व्यङ्ग्य गरेको पाइन्छ ।

प्रस्ट भो’ परजातन्त्र, ठालुकै चेपचेपमा

भ्रष्ट भो’ परजातन्त्र, पराइ हस्तक्षेपमा ।

(खोरिया, पृ. ३६)

परिश्रमीका कविता, निबन्ध र गीतहरुको अध्ययन गर्दा उनका रचनहरु जस्तोसुकै गहन विषयलाई पनि हाँस्यव्यङ्ग्यको माध्यमबाट सरल ढङ्गले व्यक्त गरेर समाजमा देखिएका विकृति र वसङ्गतिहरुलाई उजागर गरी समतामूलक समाज निर्माण गर्ने सन्देश दिन सफल देखिन्छन् ।

२.२. समाजमा विद्यमान असमानताहरुको उजागर र त्यसप्रति विद्रोह

समाजमा आर्थिक रूपले दुई वर्गहरु हुन्छन्, शोषक र शोषित । कोही दिन रात परिश्रम गरेर पनि दुई छाक पेटभरि खान पाउँदैनन् भने कोही केही काम नगरी विलाशी जीवन बिताइ रहेका हुन्छन् । समाजमा वर्गीय, जातीय, भाषिक, भौगोलिक, लिङ्गीय आदि विविध असमानताहरु छन् । मानिसलाई मानिसले मानिसको रूपमा स्वीकार गर्न पनि नसक्ने अन्यायपूर्ण समाजको अन्त गरी समतामूलक समाजको स्थापना गर्नु सर्वहारावादी आन्दोलनको मूल लक्ष हो भने त्यसलाई सहयोग गरी जन जागरणमा सहित्यको माध्यमद्वारा सहयोग पुर्याउने काम प्रगतिवादी कला र साहित्यले गर्दछ । माक्र्सवादी विश्वदृष्टिलाई गाउँगाउँ र बस्तीबस्तीमा पुर्याउने कार्यमा पनि परिश्रमीका साहित्यिक रचनाहरु सफल देखिन्छन् । उनका साहित्यिक कृतिहरुमा वर्गीय मित्रप्रति सहानुभूति र वर्गदुस्मनप्रति तीव्र घृणा व्यक्त गरिएको देखिन्छ । बहुसङ्ख्यक सर्वहारा वर्ग कसरी अल्प सङ्ख्यक कामचोर ठालुबाट शोषित हुन्छन् भन्ने कुरा सरल भाषामा व्यक्त गर्न उनका सिर्जना सफल देखिन्छन् ।

यौटाले खेतमा मच्ची हाड छाला खियाउँछ

अर्को चै मेचमा थच्ची मालामाल कमाउँछ ।

(खोरिया, पृ. ३९)

माथि भनिए जस्तै हाम्रो समाजमा पसिना बगाएर उत्पादन गर्ने श्रमजीवीले श्रमको मूल्य पाएका छैनन् तर उनीहरुले गरेको उत्पादन मेचमा बसेर मालामाल हुनेहरुमा निहित भएको छ, त्यो नै हालको प्रमुख वर्गीय समस्या हो ।

हाम्रो जस्तो अशिक्षित र अविकसित देशमा दमित समुदाय र वर्गको विवसताको फइदा लिएर उनीहरुको नाममा राजनीति गर्ने तर त्यसको उपयोग आप्mनो व्यक्तिगत विलासी जीवनको लागि गर्ने अवसरवादी नेताहरु पनि प्रसस्तै छन् । परिश्रमीका रचनाहरुले यस्ता नेताहरुदेखि होसियार हुन जनतालई उत्पे्ररित गरेको पाइन्छ । परिश्रमीका रचनाले जनता र उनकै नाममा बनेका ढोगी नेता बिच जीवन शैलीमा कस्तो अन्तर छ श्ररू ? भन्ने कुरा प्रस्ट पारेका छन् ।

नेताको दिन कट्छ काम नगरी घुम्छन् पजेरो चडी

जन्ताको रिन बढ्छ घाम र झरी रुन्छन् कटेरो लडी

(खोरिया, पृ. ४६)

गरिबहरु साहुको खेतबारीमा पसिना बगाउँछन् तर उनीहरुले वर्षभरि गरेको दुःखले चार महिना पनि खान पुग्दैन । यसै गरी गरिबका पुस्तौँपुस्ता बिति रहेको यथार्थ परिवेश परिश्रमीका कृतिमा व्यक्त गरिएको देखिन्छ । यसका साथै उनका कृतिहरुमा शोषणका अनेक तरिकाहरुका बारेमा सर्वहारा वर्गलाई सचेत गरी त्यस्ता शोषण विरुद्ध गोलबन्द हुन पनि आग्रह गरिएको पाइन्छ ।

अन्याय चुप लागेर सहेर बस्नु के जुनी ?

जनता देशको लागि बाँच्नु र मर्नु पो जुनी ।

(खोरिया, पृ. १६)

साहुकै हलो घिच्याउँछन् तिम्रा भाइ छोराहरु

तिनैका खेतबारीमा लादिन्छन् छोरी बुहारीहरु

दुई चार महिना पनि टर्दैन अर्गस र मजुरीले

सधैँ तिनैका कमारा बन्नु पर्छ गरिब गुरुवाहरुले ।

(खोरिया, पृ. १८)

परिश्रमीका सिर्जनाहरुमा वर्गीय समाजमा विद्यमान असमानताहरुको उजागर गरेको पाइन्छ । उनका रचनामा वर्गीय समाजमा श्रमजीवीप्रति सहानुभूति प्रकट गरिएको छ । वर्गीय दुस्मनलाई परास्त गर्न सर्वहारा श्रमजीवीहरु एक हुनु पर्ने कुरामा जोड दिँदै परिश्रमका कृतिहरुमा वर्गीय पक्षधरता अभिव्यक्त भएको पाइन्छ पाइन्छ ।

ठूला र लुला बसेको ठाउँमा अन्याय चल्दछ

समाजमा यस्तो कुरीति देख्दा हृदय जल्दछ

धेरैले थुके बग्दछ नदी, पहाड ढल्दछ

पसिना रोपे यो धरतीमा जुहार फल्दछ

(हुस्सु दलवीरे, पृ. १)

घरखेत नहुनेलाई कत्रो आपत पर्छ

गरिबले गरिबलाई माया गर्नु पर्छ ।

(खोरिया, पृ. २२)

गरिब तथा सबै किसिमका शोषितहरुको मिलनले सर्वहारावादी आन्दोलनलाई सफल बनाउन सहयोग गर्दछ तर शोषक वर्ग सधैँ सर्वहारा वर्गलाई फुटाएर आपूmमा आश्रित हुँन बाध्य बनाउने गर्दछ । यही याथार्थलाई बुझेर सबै सर्वहारा श्रमजीवी वर्ग एक भएर वर्गदुस्मनसँग प्रतिवाद गर्न परिश्रमीका रचनाहरुले सजग गराएका छन् ।

एकता गरौँ गरिब सबै फाटोलाई छोडेर

गोरुलाई मियो चाहिए जस्तै धानको दाइँमा

बलियो मियो चाहिन्छ यौटा वर्गीय भाइमा

तँछाड मछाड रडाको पर्छ भाइकै माझमा

(हुस्सु दलवीरे, पृ. ४७)

नारीको इज्जत गर्न नसक्नेले नारी अधिकारको भाषण दिने पाखण्डीहरुलाई खवरादरी गर्दै परिश्रमीका साहित्यिक कृतिहरु महिला मुक्तिको आन्दोलनमा आपूmलाई समाहित बनाउँन चुकेका छैनन् । उनका साहित्यिक रचनाहरुमा महिला मुक्तिका स्वरहरु यसरी व्यक्त गरिएका छन्,

श्रीमतीलाई घर कोठामा थुनेर

चुलो चौकोमा बन्दी बनाएर

छोरीलाई निरंशी तुल्याएर

नारी हकहितका नियम कानुनलाई

गर्भमा तुहाएर

समानताको भाषण छाँट्ने पाखण्डीहरुलाई

म खबरर्दारी गर्छु ।

(खोरिया, पृ. ३४)

साहित्यकार परिश्रमीका साहित्यिक कृतिहरुमा समाजमा व्याप्त असमानताहरु उदाङ्ग पार्दै त्यस्ता दण्डनीय र असमान, अमानवीय कुरीति तथा कुव्यवस्थाप्रति प्रहार गरिएको देखिन्छ ।

२.३. परिश्रमीका कृतिमा अभिव्यक्त वर्गीय मुक्तिका स्वरहरु

प्रगतिवादी साहित्यकारहरु इतिहासका राम्रा पक्षहरुलाई ग्रहण गरी भविष्यप्रति आशावादी हुनु पर्ने कुरामा जोड दिन्छन् (तिमल्सेना, २०६४ ः ६१) । परिश्रमीका कृतिहरुमा पनि इतिहासका राम्रा कुराहरुको उल्लेख गर्दै भविष्यप्रति आशावादी बनेर वर्गीय मुक्ति आन्दोलनमा लाग्न प्रेरित गरिएको पाइन्छ । श्रमजीवी जनतालाई अन्यार र अत्याचरबाट मुक्त बनाएर समतामूलक समाज निर्माण गर्ने महान अभियानमा समाहित गर्दै प्राप्त उपलब्धीको रक्षा गर्नुका साथै थप अधिकार प्राप्तिका लागि अगाडि बढ्नु सर्वहारावादी आन्दोलनको महत्त्वपूर्ण कार्य हो । यही सत्यलाई उजागर गर्दै जनताका आन्दोलनबाट प्राप्त उपलब्दीहरुप्रति परिश्रमीका कृतिहरुमा यसरी खुसी व्यक्त गरिएको छ ।

घाम छेक्ने पहाड ढल्यो

जीवनमा उमङ्ग सुरु भो ।

जनयुद्ध जनताको आन्दोलन

सफल भयो खुशी छ सारा मन ।

(जीवन यात्रा, पृ. ४४)

परिश्रमीका साहित्यिक रचनाहरुमा सर्वहारा मुक्तिका स्वरहरु सालिन तथा आक्रोसपूर्ण दुबै तरिकाले अभिव्यक्त भएका देखिन्छन् । उनका रचनाहरुले पाठकहरुलाई सर्वहारा वर्गीय कुनै पनि आन्दोलनमा समर्थन तथा सहभागी हुन प्रेरित गरेको पाइन्छ । प्यारोडी शैलीमा परिश्रमीका कविताहरुमा थोपा थोपा पानी जस्तै छरिएर रहेका मुक्तिगामी जनताहरुलाई एकै ठाउँमा आएर थोपा थोपा होइन बाढी भएर अन्याय र अत्याचारका निम्ति लड्न आह्वान गरिएको छ । गाउँ, सहर, बस्तीहरु र हरेक ठाउँबाट उठेर असमानता तथा सबै खाले विभेद बिरुद्ध आन्दोलित हुन पनि प्रेरित गरिएको पाइन्छ ।

काम गर्नु पर्छ सधैँ ढङ्ग पुर्याएर

फटाहा र चुसाहाको मिति पुर्याएर ।

(खोरिया, पृ. २२)

क्रान्ति आउँछ

अशान्ति भगाउँछ

शान्ति छाउँछ ।

(जीवन यात्रा, पृ.२७)

गाउँ गाउँबाट उठ गितलाई पुनर्लेखन गरिएको परिश्रमीको ठाउँ ठाउँबाट उठ कवितामा वर्गीय मुक्तिको स्वर यसरी अभिव्यक्त गरिएको छ ।

थोपा भएर बस्नेहरु होे बाढी भएर जुट

धनका लागि लड्नेहरु हो जनका लागि जुट

ठाउँ ठाउँबाट जुट, गस्ती गस्तीबाट जुट

स्वदेशको सिहार गर्नलाई जुट ।

(जीवन यात्रा, पृ.६३)

नेपाल अहिले पुनर्संरचनाको सङ्कर्मण कालमा छ । कसैले जातीय आधारमा मात्र राज्य बनाइनु पर्छ भन्छन् भने कोही जातीय पहिचान त हुनै हुँदैन भन्ने मान्यता अगाडि सारेका देखिन्छन् अनि कोही जातिय पहिचान तथा भौगोलिक सामथ्र्यका आधारमा प्रदेशहरु बनाइनु पर्दछ जसले गर्दा उत्पीडनमा परेका जातिहरुले सम्बोधन गरिएको महशुस गर्नुका साथै प्रदेशहरुले आप्mनो जेथाको सही परिचालन गरी राज्यको विकासमा योगदान दिन सकून भन्ने धारणा राख्छन् । यही नेपालको भविष्य निर्माणको सङ्कर्मण कालमा प्रदेशहरु कति र कस्ता हुनु पर्छ भन्ने विषयमा कवि परिश्रमीका कवितामा दुरगामी महत्वका प्रस्ट धारणा व्यक्त गरिएका छन् ।

सकेसम्म थोरै राज्य नेता हुनु पर्छ

सबै प्रदेशसित आप्mनै जेथा हुनु पर्छ

प्रतिष्पर्धा विकासमा गर्न लाउनु पर्छ

जाति धर्म भन्न थाले पछुताउनु पर्छ ।

(जीवन यात्रा, पृ. ६३)

विश्व सर्वहारावादी आन्दोलन र त्यस आन्दोलनबाट प्राप्त सर्वहारा वर्गको राज्य सत्ताबाट मात्र वर्गीय समाजको अन्त गरी वर्गविहीन समतामूलक समाजको स्थापना गर्न सकिन्छ भन्ने माक्र्सवादी दर्शनलाई आत्मसात गर्न रुचाउँने प्रगतिवादी लेखकहरु वर्गीय मुक्तिको त्यो तहमा नपुगिन्जेल व्यक्तिगत प्रलोभनमा आप्mनो लक्ष विर्सनु हुँदैन भन्ने सन्देश आप्mना पाठकहरुलाई दिन रुचाउँछन् । साहित्यकार परिश्रमीका साहित्यिक कृतिहरुमा पनि वर्गविहीन समाजका स्थापनार्थ वर्गीय मुक्तिका स्वरहरु मुखरित भएको पाइन्छ ।

शिखरमा नपुगुन्जेल

गह्रुङ्गा पाइलाहरु

ठेस लागेको रगत पुछ्दै

कच्ची बाटाको पुरानो इन्जिन झै

सुस्त सुस्त अघि बढि रहन्छ

अविरल यात्रमा मृत्यु पर्यन्त ।

(जीवन यात्रा, पृ. ३७)ं

लड्नु पर्छ हक लिन एकै ढिका भएर

मुक्त बनौं दासताको सिक्री तोडेर ।

(तिजको कोसेली, पृ. १३)

यी र यस्ता धेरै प्रसङ्गहरुद्वारा परिश्रमीका साहित्यिक कृतिहरुले वर्गीय मुक्तिका स्वरहरु ओकलेका छन् ।

३. निष्कर्ष

तिन दशकदेखि साहित्य सिर्जनामा लागिरहेका साहित्यकार परिश्रमीका कृतिहरुमा प्रगतिवादी चेतना अभिव्यक्त भएको पाइन्छ । सुरुमा गीत, कविता हुँदै हाँस्यव्यङ्ग्य निबन्धकारका रूपमा आप्mना साहित्यिक कृतिहरु पाठक सामु ल्यउन सफल साहित्यकार परिश्रमीका कृतिहरुले समाजमा पीडित र श्रमजीवी वर्गका पक्षमा आवाज उठाएका छन् । परिश्रमीका कृतिमा भेटिने यी प्रवृत्तिलाई स्वीकार गर्दै डा. रामनाथ ओझा लेख्छन्, परिश्रमीले समग्रमा सामन्तवादी, पूँजिवादी र प्रतिक्तियावादीका स्वार्थी, अदुरदर्शी, पाखण्डी सङ्कृण चिन्तनको आलोचना गर्दै बहुसङ्ख्यक शोषित, पीडित र श्रमजीवी वर्गका पक्षमा आवाज उठाउँने काम गरेका हुँनाले उनी सफल प्रगतिवादी साहित्यकारका रूपमा देखा परेका छन् (ओझा, २०६५ः३२५)। यसका साथै वर्गीय चिन्तनमा प्रष्टता, सरल तथा बोधगम्य भाषा शैली, हाँस्यको माध्यमद्वारा समाजमा देखिएका विकृति र विसङ्गतिप्रति तिखो ब्यङ्ग्य परिश्रमीका साहित्यिक कृतिमा पाइने सवल पक्षहरु हुन् भने नयाँ कृतिमा पुराना कृतिका सिर्जनाको पुनरावृत्ति गर्नु सीमा मान्न सकिन्छ (हेर्नुहोस्, तिजको कोसेली भाग–६ मा जम्मा ३० गीतहरु मध्ये २४ गीतहरु भाग १–५ बाट लिइएका छन् , रुन्चे हाँसोबाट जीवन यात्रामा पनि यस्ता साभारित अंशहरु भेटिन्छन् भने अन्य कृतिहरुमा पनि यस्ता पुनरावृत्ति पाइन्छ ।) समग्रमा अध्ययन गर्दा साहित्यकार परिश्रमीका कृतिहरु सर्वहारावादी वर्गीय चिन्तनलाई सरल पद्य तथ गद्य शैलीमा पाठक सामु पस्केर व्यङ्ग्य, बिद्रोह र वर्गीय मुक्तिका स्वरहरु अभिव्यक्त गर्न सफल देखिन्छन् ।

सन्दर्भ ग्रन्थ सूची:-

परिश्रमी, नारायण (२०४७). तिजको कोसेली – १. तनहुँ ः प्रगतिशील पुस्तक पसल ।

परिश्रमी, नारायण (२०४८). तिजको कोसेली – २. तनहुँ ः प्रगतिशील पुस्तक पसल ।

परिश्रमी, नारायण (२०४९). तिजको कोसेली – ३. तनहुँ ः सूचना पण्डित ।

परिश्रमी, नारायण (२०५१). तिजको कोसेली – ५. तनहुँ ः सिर्जना पण्डित ।

परिश्रमी, नारायण (२०५१). परिश्रमीका केही गीतहरु. तनहुँ ः सिर्जना पण्डित ।

अधिकारी, रवीलाल (२०५६). प्रगतिवादी समालोचना. पोखरा ः लेकाली प्रकाशन ।

उप्रेती, गंगा प्रसाद (२०५८). व्यक्ति कृति र प्रवृत्ति. काठमान्डौ ः प्रतिभा प्रकाशन ।

परिश्रमी, नारायण (२०६०). खोरिया. पोखरा ः सिर्जना पण्डित पहारी ।

परिश्रमी, नारायण (२०६१). तिजको कोसेली – ६. पोखरा ः शशी पण्डित ।

पौडेल क्षेत्री, यम बहादुर (२०६२). सोह्र सृष्टि ः सोह्रै दृष्टि. स्याङ्जा ः जीवन जङ्ग क्षेत्री ।

ढकाल, घनश्याम र साथीहरु (२०६२). यथार्थवादी नेपाली समालोचना. पोखरा ः गण्डकी साहित्य सङ्गम ।

परिश्रमी, नारायण (२०६३). पाटी प (दो.सं.). पोखरा ः नारायण परिश्रमी ।

परिश्रमी, नारायण (२०६४). हुस्सु दलवीरे, पोखरा ः सुन्दर पण्डित ।

बराल, कविराज (२०६४). नारायण परिश्रमीका कविता र गीतको विश्लेषण (अप्र. शोध पत्र). पोखरा ः पृ.ना. क्याम्पस ।

तिमल्सेना, पशुपतिनाथ (२०६४). प्रगतिवादी कविता ः मान्यता र प्रवृत्ति. पोखरा ओजन बुक्स एण्ड स्टेसनर ।

तिमल्सेना, पशुपतिनाथ (२०६५). नेपाली कविताको विवेचना. पोखरा ओजन बुक्स एण्ड स्टेसनर ।

सुवेदी, जीवनाथ (२०६५). रक्तिमका गीतहरुमा अभिव्यक्त नेपाली समाजको अध्ययन (अप्र. शोध पत्र). पोखरा ः पृ.ना. क्याम्पस ।

ओझा, रामनाथ (२०६५). नारायण परिश्रमीका रचनामा प्रगतिवादी चेतना. पोखरेली समालोचना (संपा. घनश्याम ढकाल). पोखरा ः गण्डकी साहित्य सङ्गम ।

परिश्रमी, नारायण (२०६५). रुन्चे हाँसोे. पोखरा ः साहित्य श्रृङ्खला ।

परिश्रमी, नारायण (२०६७). जीवन यात्रा. पोखरा ः साहित्य श्रृङ्खला ।

वर्मा, जनेश्वर (ई. १९६१). आधुनिक हिन्दी काव्य. मध्य प्रदेश ः कानपुर प्रकाशन ।

मिश्र, जनेश्वर (ई. १९६६). प्रेम चन्द ः एक माक्र्सवादी मूल्याङ्कन. कानपुर ग्रन्थम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।