19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बहुभाषी साहित्यकार देवकोटा र आर्थिक व्यवस्थापन

विचार जीवनाथ सुवेदी July 14, 2012, 7:07 am

सार

लक्ष्मी प्रसाद देवकोटा गरिब थिए र गरिबीकै कारण उनको जीवनमा अनेकौँ समस्या आए भनेर उनका बारेमा चर्चा गरेको धेरै भेटिन्छ तर यस समालोचनात्मक लेखमा यो विषयमा फरक कोणबाट हेर्ने प्रयास गरिएको छ । देवकोटाको सामान्य परिचय, बहुभाषी साहित्यकारका रूपमा चर्चा र उनको आर्थिक वा व्यावहारिक जीवनको बारेमा विश्लेषण यस लेखमा गरिएको छ भने उनका अन्य पक्षका बारेमा चर्चा नगरिनु यस लेखको सीमा मान्न सकिन्छ ।

मूख्य शब्द

(पाण्डुलिपी, भोरल भाक्का, यात्रा वर्णन, आर्थिक व्यवस्थापन, ख्याति प्राप्त, प्रतिभाशाली)

विषय प्रवेश

लक्ष्मी प्रसाद देवकोटाको जन्म उच्च मध्यम वर्गीय परिवारमा वि.सं. १९६६ कात्तिक २७ गते पं. तिल माधव देवकोटा र उनकी कान्छी धर्मपत्नी अमर राज्यलक्ष्मीका साहिला सुपुत्रका रूपमा लक्ष्मीपूजाका दिन काठमाडौको धोवीधारा टोलमा भएको थियो । लक्ष्मीपूजाका दिन जन्मेका हुँनाले उनको नाम लक्ष्मी प्रसाद राखिएको भए पनि जन्म नक्षत्रका हिसावले तीर्थ माधव राखियो जुन नामबाट उनका अन्त्यष्ठिपछिका कर्महरू गरिदै आइएको पाइन्छ । आप्mनो परम्परा र संस्कृति अनुसार वि.सं. १९७४ मा उपनयन संस्कार गरिएका देवकोटाको वि.सं. १९८१ फागुन महिनामा इन्द्रचोक काठमाडौका चालिसे ब्राह्मणकी छोरी मनदेवीसँग विवाह भयो । उनीहरूका चार छोराहरू प्रकाश, कृष्ण प्रसाद, पद्म प्रसाद र दीपक प्रसाद तथा पाँच छोरीहरू सावित्री, माहिली (जन्मेको दुई महिनामा मृत्यु भएको नाम थाहा हुँन नसकेको ) अभ्बिका, मीरा र मुना गरी नौ सन्तान भएको देखिन्छ ।

धाइआमाको स्याहार सुसार र पारिवारिक सम्पन्नतामा हुर्केका देवकोटाको शिक्षा दीक्षा पाँच वर्षको उमेरदेखि घरैमा आप्mना बुबाबाट नेपाली र संस्कृत अनि दाजुबाट अङ्ग्रेजी विषयको ज्ञान प्राप्त गरे भने एघार वर्षको उमेरमा दरवार हाइस्कुलमा पाँच कक्षामा भर्ना गरियो । उनले वि.सं. १८८२ मा पटनाबाट प्रथम श्रेणीमा म्याट्रिक पास गरे । देवकोटा वि.सं. १९८३ मा त्रिचन्द्र कलेजमा आई. एस्सी.मा भर्ना भएर वि.सं. १९८५ मा द्वितीय श्रेणीमा पास भए । वि.सं. १९८७ मा उनले पटना विश्वविद्यालयबाट बी.ए. पास गरे जवकी त्यो वर्ष नेपालबाट बी.ए. पास गर्ने उनी मात्र एक जना थिए । उनको प्रतिभाबाट प्रभावित भएर होला राणा सरकारले प्रशासनिक पद दिई वि.सं. १९८८ मा बी.एल. पढ्न पटना विश्वविद्यालयमा पठायो र उनले १९९० मा बी.एल. पास गरे । औपचारिक रूपमा शैक्षिक योग्यता बी.ए., बी.एल. बनाए पनि अङ्ग्रेजी विषयमा एम.ए. गर्ने उनको चाहना भने सफल हुन सकेन ।

बहुभाषी साहित्यकारका रूपमा देवकोटा

लक्ष्मी प्रसाद देवकोटाले साहित्यमा सानैदेखि रुचि राखेको पाइए पनि प्रकाशनका दृष्टिले वि.सं. १९९१ मार्ग १५ गते गोरखापत्रमा प्रकाशित पूर्णिमाको जलधिबाट उनी नेपाली साहित्यमा देखिएको पाइन्छ । वि.सं. १९९१ को फागुनदेखि प्रकाशित सारदाका प्राय सबै अङ्कमा उनका रचनाहरू प्रकाशित भएको देखिन्छ । पछि प्रकाशित भए पनि वि.सं. १९८७ देखि वि.संं. १९९० सम्म उनले केही साहित्यिक रचनाहरू गरेको हुनु पर्दछ । वि.सं. १९९२ मा प्रकाशित मुना मदनले उनलाई नेपाली काव्य साहित्यको फाँटमा चिनायो र त्यतिबेलाका ख्यातिप्राप्त साहित्यकारहरूसँग भेट गरायो । प्रकाशनका दृष्टिले उनका रचनाहरू मा पहिलो कविता पूर्णिमाको जलधि (वि.सं. १९९१ गोरखापत्र), पहिलो निबन्ध आषाढको पन्ध्र (वि.सं. १९९३,सारदा), पहिलो कथा उनको मने (वि.सं. १९९६, सारदा), पहिलो पद्य नाटक सावित्री सत्यावदन (वि.सं. १९९७), पहिलो खण्डकाव्य मुना मदन(वि.सं. १९९२), पहिलो महाकाव्य शाकुन्तल (वि.सं. २००२) हुन् । देवकोटाका कृतिहरूका नामका बारेमा पनि अनुसन्धान गर्न सकिने गहन विषय हो तर तिनका विषयमा प्रवेश गर्न नसक्नु यो लेखको सिमा हो । यस कारण यिनले लेखेका महाकाव्य, खण्डकाव्य, फुटकर कविता, नाटक, निबन्ध, कथा, उपन्यास, समालोचना आदि हेर्दा यति मात्र भन्न सकिन्छ कि उनी एक बहुमुखी प्रतिभाशाली साहित्यकार हुन् ।

The Donkey’s Criticism Against Human Civilization, Life is the richest fast.., Promethean pain I bear, To God आदि देवकोटाका अङ्ग्रेजी भाषामा लेखिएका कविता हुन् । उनले महात्मा गान्धीका सम्झना सँगालिएका 52 Sonnets अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह लेखेको कुरा बिभिन्न विद्वानहरूबाट चर्चा भएको पाइन्छ तर उनका यी मध्ये दुईवटा Sonnets वि.सं. २००६ श्रावण ३१ गतेको BLITZ मा प्रकाशित छन् । देवकोटाको अङ्ग्रेजी भाषामा रचित मौलिक निबन्ध सङ्ग्रहको पाण्डुलिपि मदन पुरस्कार पुस्तकालयमा सुरक्षित रहेको छ । उनका छोरा पद्म प्रसादका अनुसार देवकोटाले लुनी खण्डकाव्यको जस्तै लयमा अङ्ग्रेजी अनुवाद, भिखारी कविताको अङ्ग्रेजी अनुवाद र यात्री कविताको भावसँग मिल्ने अङ्ग्रेजी भाषामा रचिएका छन्दोबद्ध कविता सङ्ग्रह रचना गरेका छन् । यतिमात्र होइन देवकोटाको अङ्ग्रेजी भाषामा रचित छन्दोबद्ध महाकाव्य शकुन्तलानेपाल साँस्कृतिक संघ, डिल्लीबजारमा सुरक्षित रहेको पाइन्छ भने अङ्ग्रेजी भाषामा रचित संयोगिताहराइरहेको बुझिन्छ । Big Game Shooting In Nepal सिकारको यात्रा वर्णन गरिएको ई.ए स्मिथिजको नाममा प्रकाशित पुस्तकमा देवकोटाको नाम अनुवादकको रूपमा मात्र उल्लेख गरिएको छ तर नित्यराज पाण्डेका अनुसार यस पुस्तकका लेखक देवकोटा हुन् र स्मिथिज भने यसका संसोधक मात्र हुन् (जोशी, २०४५ ः ३७५) ।

सिकन्दर देवकोटाको संस्कृत भाषामा लेखिएको महाकाव्य हो । वि.सं. २००२ तिर दस सर्ग जति लेखी तयार पारिएको यो महाकाव्य अपूर्ण छ । देवकोटाले पद्म शमशेर प्रधानमन्त्री भएपछि उनको स्वागत अभिनन्दन गर्दै नवभाषोद्गार शीर्षकमा कविता लेखे जुन कवितामा संस्कृत, नेपाली, हिन्दी, नेवारी, बङ्गाली, उर्दू, अङ्ग्रेजी, फ्रेन्च र जर्मन गरी नौ भाषाको प्रयोग गरिएको थियो (जोशी, २०४५ ः ३३९–३४०) । यो कविताबाट पनि सहजै भन्न सकिन्छ उनी धेरै भाषा जान्दथे र यसको प्रयोग साहित्य सिर्जनामा गर्दथे ।

वि.सं. २००० सालतिर देवकोटाले पहेलो रङ्को कागजको दुई पत्र बनाई प्रत्येक पत्रमा अठ्ठाइस कोठा खिचेर सत्ताइस भाषाका शब्द सङ्कलन गरी अठ्ठाइसौँ अन्तर्राष्ट्रिय भाषाका शब्द बनाउँन थालेका थिए र उनले त्यसको नाम भोरल–भाक्का राखेका थिए । दुर्गा प्रसाद अर्यालका अनुसार देवकोटाले त्यसैबेला त्यो भोरल–भाक्काको पचास पृष्ठ जति तयार पारेका थिए तर दुःखको कुरा देवकोटाको विश्वभाषा बनाउने सपना भने पूरा भएन ।

देवकोटा नेपाली भाषामा मात्र होइन विभिन्न अन्यभाषामा पनि कलम चलाउँने बहुभाषी साहित्यकार हुन् ।लक्ष्मी प्रसाद देवकोटा नेपाली काव्य साहित्यमा मात्र नभएर गद्य र पद्य दुबैमा प्रख्यात नाम हो । उनले नेपाली साहित्यलाई दिएको योगदान अतुलनीय छ ।

देवकोटा गरिब होइनन् आर्थिक व्यवस्थपनमा कमजोर थिए

देवकोटालाई गरिब भएका कारण मानसिक सन्तुलन गुमाउँनु परेको तथा अनेक समस्याहरू खेप्नु परेका घटनाहरू उनका विषयमा खोज तथा अनुसन्धान गर्ने विद्वानहरूले प्रस्तुत गरेको पाइन्छ । उनले दुःख पाएको वा समस्यामा परेको सत्य हो तर त्यो सव गरिबीको कारणले भनिनु न्यायपूर्ण हो जस्तो लाग्दैन । जो मानिस आमा र धाइआमाको स्याहारमा हुक्र्यो त्यो कसरी गरिब हुन सक्छ ? जसको काठमाडौमा खेत, बारी र घर थियो त्यो कसरी गरिब हुन सक्छ ? जसले जीवनको लामो समय विभिन्न उच्च सरकारी कर्मचारी तथा मन्त्रीसम्म बन्ने अवसर पायो त्यो कसरी गरिब भयो ? जसले घरमा दिनमा तेह्र घण्टासम्म टिउसन पढाउँथ्यो (रिसाल, २०५८ ः ७६ ) त्योसँग कसरी खाना खाने पैसासम्म भएन ? यी प्रश्नहरू धेरै जटिल छन् । यस्तो विषयलाई सामान्य मानेर हामीले लक्ष्मी प्रसाद देवकोटालाई सधैँ गरिबको बिल्ला भिराइदिने हो भने अव गरिबको मापदण्ड र त्यसको परिभाषा पनि बदल्नु पर्ने हुन सक्छ । देवकोटाले प्रसस्त पैसा कमाएका हुनु पर्छ किनभने उनको जीवनको अधिकांश समय टिउसन पढाएर र सरकारी जागिर गरेर बितेको छ तथा जीवनको बाल्यकाल एवम् विद्यार्थी कालमा उनको पारिवारिक सम्पन्नताका कारण आर्थिक अभाव हुनु पर्ने कारण देखिदैन । नेपाली राष्ट्रिय काँङ्ग्रेससँग सम्मिलित भई वि.सं. २००४ मा वनारसमा युगवाणीको संपादन गर्न थालेपछि राणा सरकारद्वारा उनको सम्पति रोक्का गर्नुका साथै त्रिचन्द्र कलेजको प्राध्यापनबाट हटाइएपछि (जोशी, २०४५ ः १०२–१०३) उनले चरम आर्थिक सङ्कट भोग्नु परेको थियो जसका कारण उनले आप्mना रचनाहरू बेचेर बिहान बेलुकाको छाक टार्नु परेको थियो । उनले जीवनमा आर्थिक अभावका कारण अनेक समस्याहरू झेल्नु परेको कुरा पनि सत्य हो तर यो उनी गरिब भएका कारणले नभएर आर्थिक व्यवस्थापनको कमजोरी र राजनीतिक परिस्थितिका कारणले भएको हो ।

देवकोटाका सबै गुणहरू मात्र थिएनन् उनका केही कमजोरीहरू पनि थिए जसको कारणले उनले आप्mनो जीवनको कुनै काल खण्डमा विभिन्न समस्याहरू भोग्नु परेको थियो । एक ठाउँमा हराएको बस्तु अर्कै ठाउँमा खोज्ने, खानाको ठेगान नहुने अथवा भनौँ आप्mनो स्वास्थ्यको बारेमा सचेत नहुने, रातभर जुवा खेल्ने र आय व्ययको हरहिसाव नराख्ने उनका कमजोरीहरू थिए (जोशी, २०४५ : ३३१) भन्ने कुरा उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।शिक्षित र समय तथा समाजलाई नजिकबाट चिनेका देवकोटाले परिवार र आप्mनो भविष्यका लागि आर्थिक अभाव हुन सक्छ भन्ने कुरा थाहा नपाएका पक्कै होइनन् तर उनले समयमा नै व्यवहारमा उतारी आर्थिक व्यवस्थापन गर्न सकेको भए सायद उनले आप्mनो जीवनको उत्तरार्धमा त्यति धेरै दुःख पाउँनु पर्ने थिएन होला । अभाव र गरिबी एउटै कुरा होइन । आपूmसँग आवश्यक रकम हुदा पनि वस्तुको आपूर्ति नहुदा अभाव हुन सक्छ । जस्तै ः पेट्रोलियम पदार्थको अभव भएका बेला कुनै पनि सम्पन्नशाली आप्mनो सवारी साधन चलाउन सक्दैन किनकि यो उसले उत्पादन गर्ने होइन तर ऊ बाटोमा पैदल हिड्दै गर्दा हमी उसलाई गरिब भन्न सक्दैनौँ । हामीलाई उनको जीवनीले पारदर्शिता तथा अनुशासन हाम्रा हरेक व्यवहारमा लागु हुनु पर्दो रहेछ भन्ने सन्देश दिएको छ । सुख बाड्ने धेरै मिल्लान् तर दुःख बाड्न कोही चाहदैनन् । मानिस सुखभोगका लागिभन्दा बढी दुःखसँग संघर्ष गर्न तयारी अवस्थामा रहनु पर्छ भन्ने सत्यलाई हामीले बुभ्mन जरुरी छ ।

सन्दर्भ–ग्रन्थसूची:-

जोशी, कुमार बहादुर (२०४५), महाकवि देवकोटा र उनका महाकाव्य, काठमाण्डौं ः साझा प्रकाशन ।

दुबे, चन्द्रेश्वर (२०३९), एश्किलस, शेलीर देवकोटा, मणिपुर ः ज्योति–प्रकाशक ।

प्रश्रित, मोदनाथ (२०४७), वैचारिक विकासका सन्दर्भमा लक्ष्मी प्रसाद देवकोटा, काठमाण्डौं ः साझा प्रकाशन ।

बन्धु, चूडामणि (२०५८), देवकोटा, काठमाण्डौं ः साझा प्रकाशन ।

रिसाल, राममणि (२०५८), नेपाली काव्य र कवि, काठमाण्डौं ः साझा प्रकाशन ।

त्रिपाठी, वासुदेव र साथीहरू (२०६०) नेपाली कविता भाग ४,काठमाण्डौं ः गुनिलो प्रकाशन ।

सम्पादक मण्डल (२०४४) साझा समालोचना,काठमाण्डौं ः साझा प्रकाशन ।

(लेखक उप.प्रा. हुन् ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।