14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पुतलीको फखेटामा बसेको पृथ्वी

कथा मनोज बोगटी July 16, 2012, 1:53 pm

जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ।

माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌।

मैले माकुराको जालो हटाइदिएँ।

‘तिम्रो नाम के हो?’

‘मिसुजा।’

‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ।

‘मिसुजा नै हो।’

‘पक्का?’

‘पक्का।’

उसले मलाई हात दिइन्‌, मैले समाएँ। बारीको कान्लाबाट उक्लँदा तिनको दाहिने कुममा क्यामेरा थियो।

उसको रातो फ्याल्टरमुनीको गोरो अनुहारमा माकुराका बच्चाहरू झुण्डिएका थिए।

‘तिमीलाई अब माकुराले खान्छ’ -मैले भने।

‘यसले त पुतली पो खान्छ, मलाई खान्छ र?’-भनिन्‌।

‘यति साना माकुराले पुतली खान सक्दैन’-मैले बुझाएँ।

‘आफ्नै आमा खानेले पुतली छोड्‌छ?’-मलाई सोधिन्‌।

मिसुजाले मलाई चिठ्ठी लेखिछन्‌।

-फुर्बा, मलाई माकुरा मन पर्दैन। तर माकुराले रोबर्ट ब्रुसलाई युद्ध जितायो। माकुरालाई विश्वमा नै बलियो गरी रोबर्टले गाडिदिएका छन्‌। के त्यसलाई उखेल्न सक्दैन भन्ठान्छ इतिहासले? इतिहासले मलाई धोका दिएको छ। खासमा माकुराले पुतली खान्छ। किन? रोबर्टले माकुरालाई पुरा हेरेनन्‌, जति मैले पुतली हेरेँ।

त्यो दिन म पुतलीलाई बँचाउन तिम्रो घुरेनमा पुगेको थिएँ। म त्यो पहेंलोमा कालो थोप्ला भएको पुतलीको क्लोजअप लिन चहान्थेँ। पुतली तिम्रो घुरेनमा गयो। पुतलीलाई लाग्यो होला म उसलाई खेदिरहेको छु। तर उ माकुराको जालोमा पर्‍यो।

मैले मिसुजाको क्यामेरा ओल्टाइपल्टाइ हेरेँ। तिनी रातोमाटोले लिपेको सिकुवामा मकैखोसेलाको भुइँपिरामा थिइन्‌। सिल्भरको मगमा तिनले चिसो पानी घट्‌घटी पिइरहेकी थिइन्‌।

‘मर्‍यो तिर्खा’-मैले सोधेँ।

‘फुर्वा’ उसको चिम्सिआँखाले मलाई मायाले हेरिन्‌ र भनिन्‌ ‘तिर्खा मर्दैन, यो अजम्बरी हो।’

‘के भनेको यस्तो।’

‘हो, फुर्वा’-मिसुजाले भनिन्‌- ‘तिर्खा नमरेकोले नै म छु। यो तिर्खाले नै मलाई तिम्रो घुरेनमा लग्यो। यो तिर्खा मरेको दिन संसारमा सजिवता रहँदैन। तिर्खा हुनुपर्छ, लागिरहनुपर्छ र मात्र म तिम्रो घुरेनमा आइपुग्छु।’

‘म तिम्रो कुरा बुझ्दिन मिसुजा।’

‘सबै कुरा बुझ्नको निम्ति हुँदैन फुर्वा।’

‘के को निम्ति हुन्छ त?’

‘कुराको निम्ति।’

‘के भनेको भनेको, बुझिन।’

‘त्यही राम्रो कुरा हो फुर्वा।’

उसले मेरो गालालाई सानासाना औंलीले मुसारिन्‌। रातो फ्याल्टरले बाधा नगरेको भए मेरो गाला चुम्थिन्‌।

मिसुजाले लेखिछन्‌,

-मैले पछि बुझेँ। पुतलीले मलाई नयॉं ज्ञान दियो। मैले त्यसलाई त्यतिबेला नै किन बुझिनँ? जुन बेला सिकाइन्छ, त्यो बेला सिकिएन भने उ सधैँलाई पछि पर्छ-पुतलीबाट मैले सिकें। जुन दिन म तिम्रो जिल्लाको पुलिस थानाको पिसाब गन्हाउने कोठामा थिएँ, म पछि नै परेको थिएँ।

‘तिम्रो गाउँ, विश्व हेर्ने आँखा हो। सुन्दरताको शिक्षा विश्वलाई पढाउने तिम्रो गाउँमा उड्‌ने पुतली अक्षर हुन्‌। तिम्रो गाउँको धाराले के भन्छ? तिम्रो घुरेनमा बस्ने माकुराले के भन्छ? त्यहॉं फँस्ने पुतलीले के भन्छ? तिम्रो देशले सुन्यो भने तिम्रो देश देश हुन्छ। तिम्रो डॉंडामा उड्‌ने पातले के भन्छ? तिम्रो गाउँले भन्छ ग्लोबलाइजेशनलाई, रुख र त्यसको जराले, ‘यसरी उभ।’ विश्व तिम्रो गाउँ जस्तो नउभेकोले नै छट्‌पटाइरहेको छ। फुर्वा, पुतली दर्शन यो हो।’ मिसुजाले जॉंदाजॉंदै मलाई भनिराखिन्‌।

म त्यही डॉंडामा उभिएर डॉंडाको चिलाउनेको रुखबाट झर्दै गइरहेको पात हेरिरहेको छु। म जस्तै छ, त्यो रुखहीन। हॉंगाहीन।

मैले त्यही दुबो उम्रिएको आँगनमा खालीखुट्टै उभिएको मिसुजालाई भनेकी थिएँ-

‘मिसुजा, मेरो देशले तिमीलाई पुतली देखायो, म खुशी छु।’

‘पुतलीको धनी तिम्रो गाउँ, धनी गाउँ हो, धनीको अर्थ देशले जान्यो भने’-भनी मिसुजाले।

‘कति राम्री मान्छे तिमी’-भनेँ।

‘तिमी पो राम्रो मान्छे।’

‘किन?’

‘म यो पुतलीबारे लेख्छु, पुतलीको किताब बनाउँछु। तिमी पुतली जस्तै चोख्खो छौं।’

त्यो दिन राजनैतिक पार्टीको जनसभाले ढाकेको भीडबाट उसलाई पुलिसले समातेर थाना लगिरहेको थियो। ‘राज्य देउ’ भनिरहेको थियो भीडले। मान्छेको भीडमा कुनै पुतली थिएन।

मलाई थानाको मान्छेले समातेर लग्यो।

‘यसलाई चिन्छौ?’- अफिसरले मलाई सोध्यो।

उ थिइ मिसुजा।

‘चिन्छु।’

‘यसलाई पनि हाल’-मलाई देखाएर त्यो पुलिस अफिसरले भन्यो।

म छक्क परेँ।

‘तिमीले यसो गर्न पाउने छैनौं महोदय, उ मिसुजा मात्र होइन, जीवनको अर्थ पनि हो। मलाई गाउँ चिनाउने मिसुजाले मेरो देशलाई पुतलीको कथा भन्नेवाला छिन्‌। तिनी भन्छिन्‌, तिम्रो देश पुतली जस्तै सुन्दर छ। यो सुन्दरता जोगाउ। महोदय, तिम्रो देशको प्रधानमन्त्रीले यस्तो कहिल्यै भनेको छैन। तिम्रो देशको राष्ट्रपतिले यसरी मलाई कहिल्यै भनेका छैनन्‌। आन्दोलनकारीहरूको भीडलाई मिसुजाले पुतली देखाउनेवाला छिन्‌। तिनको पुतली चिन्यो भने ‘राज्य देउ’ भन्नुपर्दैन। मुट्ठी उठाउनेहरूलाई पुतलीको पखेटा देखाउनेवाला छिन्‌। पुतलीको देश हुँदैन। देश भनेको तिमीलाई एक्लै पार्ने कोठा हो। यो कोठाबाट बाहिर आउ भन्नेवाला छिन्‌। जुन पुतलीबाट उसले मेरो देशलाई देश चिनाइरहेकी छन्‌, उसलार्ई थानामा थुनेर तिमी उसको देशलाई के भनिरहेका छौं, महोदय? उ त देशबाट बाहिर आएकी हुन्‌, तिमी देशभित्र किन थुनिरहेका छौं?’

मेरो मुख मिसुजाले थुनिन्‌।

‘फुर्वा, जसले पुतली देखेको छैन, उसलाई पुतलीको कथा थाहा छैन। पिसाब गन्हाउने यो कोठामा एउटा पुतली बस्न सक्छ, तर उसलाई थुन्न सक्दैन।’

मलाई मेरो देशसित रिस्‌ उठिरहेको थियो।

एउटा जापान मेरो गाउँमा थियो, जसलाई अहिले त्यही घुरेनको माकुराको जालोले लपेटिरहेको थियो। पुतलीको फोटो खिचेको आरोपमा कोही जेल जानसक्छ?

मिसुजाले किताब लेखिन्‌। तिनी पुतलीको निम्ति जेल बसिन्‌। तिनले विश्वलाई नै भनिन्‌- ‘विश्व तिमी जुन शान्तिको सपना देखिरहेको छौं, त्यो फुर्वाको गाउँ हो, त्यो गाउँको पहेंलोमा कालो थोप्ले पुतली हो। र त्यो पिसाब गन्हाउने पुलिसको कोठा हो, जहॉं पुतलीलाई थुन्न सकिन्न। पुतली हुन असभ्यता होइन, त्यो सभ्यता हो, जसले संसार चलाइरहेको छ। तिमी त्यो देश, देशको मन्त्री वा पुलिस पुलतीजस्तो शासक हुनसक्दैनौ?

विश्व शान्तिको निम्ति मिसुजीले गरेको पुतलीको कुराले नोबल पुरस्कार पाइन्‌।

म त्यो खबरकागज बोकेर त्यही पिसाब गन्हाउने पुलिस थानामा त्यहीँ उभिएँको थिएँ, जहॉं मिसुजा उभिएकी थिइन्‌।

म त्यो अफिसरलाई भनिरहेको थिएँ-‘थुन्यौं पुतली? अब थुन्‌ त जो विश्वभरि उडिरहेको छ। थुन्‌ त अब। बुझ्यौ, पुतलीको पखेटामा बसेको छ पृथ्वी, तिमी त्यो पृथ्वीको कीरा हौ।’

म रिसले घुरेनको माकुराको जालो भत्काइरहेको थिएँ जतिबेला मिसुजाले नोबेल थापिरहेकी थिइन्‌।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।