19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिव्य बिहानीको प्रतीक्षामा

कविता भूमिराज बस्ताकोटी July 16, 2012, 6:56 pm

पूर्वबाट उज्यालाको

एक झोक्का आएर स्पर्श गर्छ

म आनन्दले आँखा चिम्लन्छु

अनि हृदयको गहिराइ हाँसेको अनुभव गर्छु ।

क्षणभरमै काला धर्साहरू

पिँजडा जस्तै अगाडि प्रकट हुन्छन्

धमिलिन्छ प्रकाश, आप्mनो आकृति हराउँदै

त्यो साँच्चै दिव्य रूप थियो !

वा थियो बादलको टकराव ?

म विस्मृतिको खाडलभित्र बिस्तारै दबिँदै जान्छु ।

अविराम समय रथमा

म घस्रि रहेको अनुभव गर्छु

मरुभूमिका अग्ला पहाड

के के नमिले जस्तो

के के नपुगे जस्तो

के के नभए जस्तो

फेरि कतै सुदूर प्रदेशबाट

एक अँगालो उज्यालो बोकी

एक हुल परेवा

एड्दै आउँछन् आकृतिभरि

म शान्तिको लामो निःश्वास छोड्दछु ।

घिस्रि रहकोे छु सधैँ सधैँ

अस्पष्ट मार्गहरूमा

दुर्घटनाको सम्भावना बोकेर

जोगिँदै आएको अहिलेसम्म

रात पर्न थालि सके जस्तो छ

उज्यालो घोप्टियो कि कुन्नि पश्चिमतिर !?

तर म सधैँ सधैँ

‘त्यो’ दिव्य बिहानीको प्रतीक्षामा

पूर्वतिर हेरि रहेको छु ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।