19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कथाका प्लटहरु

कथा महेन्द्र महक July 20, 2012, 8:00 am

सीता कार्कीले आत्महत्या गरिन्–

एउटा समाचार ।

मलाई सम्झना छैन, कति गतेको कुन समाचारपत्रमा छापिएको समाचार हो यो ।

तीन वर्षअघि धन कमाएर सम्पन्न जीवन बाँच्ने लालसाका साथ इराक पसेकी सीता, द्रौपदी बनिछिन् । एक दिन निराशा र रोगले थला पार्दै गएपछि अवैध बाबुको वैध भु्रणलाई आपूmसँगै सिलिङ्गमा झुण्ड्याइछिन् उनले ।

यो समाचार पढेपछि मेरो दिमागमा एउटा कथाको प्लट बन्छ ।

तर, डराउँछु म । समाचारपत्र पढेर तयार पारिएको कथाप्रति पाठकको कस्तो प्रतिक्रिया होला भनेर । फेरि उसको शोकसन्तप्त परिवारप्रति मेरो कथाले गिज्याएझैं पो हुने हो कि ? वा उनीहरुको पीडालाई सम्बोधन गर्न मेरो कथा असमर्थ हुने हो कि भन्ने डर ! अझ त्यो भन्दा ठूलो डर–

हिजो आज कथाका प्लटहरुको खास कुनै भेल्यू छैन ।

यस्ता कथाहरु दिनहुँ यो समाजमा कति लेखिन्छन्, कति । कापीका पानामा लेखिएका कथाहरुभन्दा कति भयानक कथाहरु नलेखिएर छरिएका छन् र मजस्ता डरपोक कथाकारहरु सधैँ डराउँछौं, ती कथाहरुलाई अक्षरमा टिप्न ।

खासमा यो याम जग्गा प्लटिङ्गको याम हो ।

डाक्टर जग्गा दलाल ।

शिक्षक जग्गा दलाल ।

व्यापारी जग्गा दलाल ।

नेता जग्गा दलाल ।

क्रान्तिकारी नेताको सबैभन्दा ठूलो क्रान्ति जग्गा प्लटिङ्ग अनि दलाली ।

अब आपैm भन्नुहोस्, यस्तो याममा मेरो यस्तो कथाको प्लटको मूल्य कति होला ?

किनकि मेरो कथाको प्लटिङ्गमा घर बनाउन मिल्दैन ।

त्यसैले सीता कार्कीको आत्महत्याको कथाको प्लटिङ्ग अझै पनि खाली नै छ ।

हरि अधिकारीले एउटा कविता लेखेछन्–

सात महिनासम्म लास घर नआइपुग्दा त्रासदी भोग्नुपरेको परिवारमा लास आएसँगै खुशी आउँछ ।

विदेश कमाउन गएको छोराको लास, त्यो लास सपनाहरुको क्रयविक्रयको क्रममा नाफा–नोक्सानको हिसाब किताब बाबा आमालाई गर्ने अतिरिक्त जिम्मेवारीसहित एयरपोर्टमा ओर्लिएको थियो ।

एउटा उत्सव लास पाउनुको !

कविताले छोएको थियो मन– भित्रैसम्म चसक्कै !

शीर्षक सम्झना भएन मलाई ।

म अलि बढी नै बिर्सन्छु । माफी चाहन्छु, कविसँग !

अहिले अर्थशास्त्रमा नयाँ च्याप्टर थपिएको छ– मुलुकको अर्थतन्त्रमा रेमिटान्सको महत्व ।

र, देश हाँक्ने नेताहरु मख्ख पर्छन् रेमिटान्सले देश चलाउँदै गरेकोमा ।

त्यसैले मेरो साथी राजधानीका ठूला–ठूला पत्रिकाहरुमा खोज्दछ–

–साउदीको बहुप्रतिष्ठित कम्पनीमा कामदारको आवश्यकताका कोलमहरु

–मलेसियामा कामदारको आवश्यकता !

र ऊ खुशी हुन्छ– इराकमा कामदार जान पाउने सरकारको निर्णयप्रति ।

र चाहन्छ, यस्तै पाँच सात वटा धेरै धन कमाउन सकिने देशहरुमा नेपाली कामदारलाई सजिलै जान पाउने भइदिए कति जाती हुन्थ्यो !

र त ऊ दिनरात भौंतारिन्छ–

–कोरियन भाषा पढाइने सेन्टरका लागि ।

–हेब्रु भाषाको तालिम लिनका लागि ।

साँभmीपख जब ऊ लखतरान परेर कोठामा फर्किन्छ, उसको खल्तीमा एउटा सस्तो खालको रक्सीको क्वाटर हुन्छ अनि झोलामा केही पत्रिकाहरु ।

मुलाको सलाद पुरानो बासी पत्रिकामा राख्छ, र क्वाटर खोल्छ । धूलो नून पनि सलादसँगै पत्रिकामाथि राख्छ ।

अब ऊ पिउन बस्छ र पिउन बसाउँछ ।

एउटा गिलास पूरै भर्छ– पानी राख्दैन ।

अर्को गिलास आधा भर्छ– आधा पानी थप्छ ।

पानी नराखिएको गिलास आप्mनो लागि राख्छ, पानी राखिएको गिलास मलाई थमाउँदै भन्छ– जिन्दगीका मजा या तो रिस्क मे है या फिर ईश्क मे है !

र म उसलाई साथ दिन्छु–

मै शराबी तो नहीँ मगर कोई पिलाए तो मैं क्या करुँ ।

अनि हामी दुवै पिउन थाल्छौं ।

रक्सीको गिलासबाट आधा घुट्क्याउँछ, मुलामा नून लगाएर मुला टोक्छ । उसको मुहार विकृत देखिन्छ ।

पिउँदा पिउँदै उसले झोलाबाट पत्रिका झिक्छ ।

उसको उद्देश्य सुवर्ण अवसरहरुको खोजी हो, मलाई पनि हेर्नु छ ती पत्रिकाहरु, केही समाचारहरुका लागि ।

उसले ल्याएको समाचारपत्रको पहिलो पानाको समाचार यस्तो छ–

‘एघार वर्षमै बाबु !’

र, हाइलाइट गरिएको छ– ‘विदेश जानका लागि २१ वर्ष पुगेकै हुनुपर्ने भएपछि १३ वर्षदेखि १६ वर्षकी किशोरीले कागजात २१ वर्ष पुग्नेगरी ल्याएर आएका हुन्छन्, यस्तो थाहा पाएर हामीले नागरिकता दिने कि नदिने ?’ नागरिकसँग कुरा गरेका थिए, सहायक प्रजिअले ।

१३ वर्षको उमेरबाट बीचका ८ वर्ष नबाँचेरै सिधै २१ को भर्भराउँदो बैंशालु उमेरमा फड्को मार्नु यस युगको सबैभन्दा ठूलो छलाङ्ग हुन सक्छ । या, यसले देशलाई ठूलो आर्थिक लाभको संकेत गर्दछ ।

कुनै अर्थशास्त्री वा समाजशास्त्रीको नयाँ विषयवस्तु बन्नुपर्ने हो यो सामग्री ।

यसको अर्थ हुन सक्छ– सानीमायाहरु अब सधैँ ‘सानी’ भइरहन चाहँदैनन् र ‘ठूली’ भएर चाँडै हिमाली बतास र रातो माटोको सुगन्धलाई बिर्सेर आटो र सिस्नोको साटो बिरियानी, हटकेक वा स्याण्डविच खान धेरै टाढा जान चाहन्छन् ।

साँच्चै आपूm एक्काइसौं बसन्तमा पुग्ने बेलासम्म उनीहरु मनग्य धन कमाएर फर्कन्न चाहन्छन् ।

उनीहरुका लागि कोरिदिएको लक्ष्मणरेखा आधुनिक युगको इरेजरले कति सजिलै मेटिदियो ? कसैले थाहा पाएन !

कस्तो कच्ची पेन्सिल प्रयोग गरेछन्, लक्ष्मणले पनि !

बरु लक्ष्मीमातालाई भेटेर रेखा कोरिदिनुपर्ने ।

यो लक्ष्मणको ऐतिहासिक भूल थियो ।

उसो त इतिहास मरिसक्यो भन्छन्, म भने नयाँ–नयाँ संस्करण देखिरहेको छु । आखिर यो पनि त इतिहास हो । सानीमायाको १३ बाट २१ औं बसन्तमा बीचका ८ वर्ष बाँच्दै नबाँची अग्रगामी फड्को मारेको इतिहास ।

यसरी नै अग्रगामी फड्को मारेर धेरै टाढा जान चाहन्छ मेरो साथी पनि !

मलाई फ्रि भिसाका कोलमहरु देखाउँछ र भन्छ– भोलि इन्टरभ्यू दिन जानुपर्ला ।

शुक्रबारको एउटा अङ्क–

‘सुन्दरी व्यापार !’ आवरणकथा ।

खेतीपातीमा नेपालीहरुका लागि यो उखान चरितार्थ भएको छ– खोदा पहाड निकला चूहा !

पहाड बनेको छ– खादमल, सिँचाइ, बजार, औषधि अनि थुप्रै–थुप्र्रै ।

अनि चूहा लिएर परिवारको पालन पोषण गर्न गाह्रै छ ।

सायद त्यही भएर एउटा नयाँ खालको नाफाको व्यापार नेपालमा शुरु भएको छ– सुन्दरी व्यापार !

ग्राहक र व्यापारी दुवैले मनग्य कमाउन सकिने व्यापार हो सुन्दरी व्यापार । षोडसीहरुले यस्तो व्यापारका लागि अनिवार्य ‘डिस्को’ नृत्य जानेको हुनुपर्छ । एउटा अनिवार्य योग्यता हो यस पेशाका लागि– उमेर १६ देखि २३–२४ भन्दा माथि हुनु भएन । नाच्न जान्नुपर्छ । कपडामा कञ्जुस्याइँ जति ग¥यो त्यति नै फाइदा हुन्छ यो पेशामा ।

भिसा अनि अरब या अन्य कुनै पनि मुलुकमा जाने सम्पूर्ण कानूनी कारवाही दलालले आफैले मिलाइदिन्छ । बरु, सुन्दरीले यसमा धैर्यताका साथ भिसा नआउँदासम्म पर्खिनुपर्छ र भोलि विदेशमा आपूmले गर्नुपर्ने कामको रिहर्सल काठमाडौंको कुनै डिस्कोबारमा गर्दा हुन्छ ।’

अर्थात् वैशालु उमेरको नाँचो यसको प्रमुख योग्यता हो । अन्य कुरा यसैसँग जोडिएर आउँछन् ।

काठमाडौंको यो पनि नयाँ बिजनेस हो ।

बम्बैका कथा पुराना र मनगढन्ते लाग्न सक्छन् ।

अब नयाँ गन्तव्य, नयाँ सपनाहरुको उडान !

रम्भा, मेनका, निरु, कामना, लता, रुपा सबै सबैले पासपोर्ट बनाउन चाहन्छन् ।

तीन महिनाको टुरिस्ट भिसा ।

तीन महिनापछि नेपालको कुनै नगरपालिका क्षेत्रभित्र घर बनाएर बस्न सक्ने हैसियत हुन्छ उनको !

अर्को पक्ष पनि त छ ! तर त्यसबारे कसलाई के चासो ?

किनकि यस्तो गर्न उनीहरु साह्रै लोभिन्छन् ।

यो हो मेरो समाज र म बाँचेको युग ।

डर लाग्छ मलाई मेरो कलमले म बाँचेको यो युग र समाजको चित्रण गर्न सक्दैन ।

विच्छृङ्खलित ।

समाज अनि मेरो लेखाई पनि !

यस्तो विच्छृङ्खलता मेरो साथीलाई मन पर्दैन, त्यसैले उसलाई मेरो कथामा कुनै चासो पनि छैन । म केवल कथाका प्लटिङ्ग गर्छु, लेख्न पनि सकिरहेको छैन ।

बरु ऊ थोरै मात्तिएपछि गाउँका कथा सुनाउँछ ।

‘ऐ तैैंले थाहा पाइस्, मीनराजकी बुढी त जुँगे पुलिससँग भागी नि !’

‘कमलालाई उसको ससुराले ढुङ्गाछापे कान्छासँग रंगे हात फेला पारे नि !’

‘धनेले त उतै मलेसियामा फिलिपिन्सकी केटी बिहे गरेको छ रे ।’

‘सात वर्षदेखि केही अत्तोपत्तो नभएको तल्लाघरे मनबहादुरकी कान्छी स्वास्नी अस्ती भर्खर पोइल गई नि !’

‘को सँग भन न ?’ ऊ आपैm प्रश्न गर्छ ।

म टाउको हल्लाउँछु ।

‘बिजुलीको बासँग ।’ ऊ खिसिक्क हाँस्छ ।

‘नाती नातिना देख्ने बेला बूढालाई के कान्छी भित्र्याउन मन लागेछ र हो ?’ म चकित परेर प्रश्न गर्छु ।

साथी गाउँबाट शहर पस्यो । शहरबाट खाडी । म भने यूनिभर्सिटीको स्वप्नमय रोमाञ्चकारिक युगका बाँच्न थालें ।

दुई वर्षपछि साथी फर्कियो । मेरो डिग्री सकियो ।

दुवैले यही समाजमा बस्न र बाँच्नका लागि काम खोज्न थाल्यौं । मानौं, लामो समयदेखि त्यो काम कतै हराएको छ र हामीले उसलाई जहाँबाट जसरी भएपछि भेटाउनै पर्ने भएको छ ।

तर दुवै असफल ।

मेरो राजनीति मिलेन, विषय मिलेन, भनसुन मिलेन, पहुँच पुगेन र धेरै–धेरै कुरा पुगेन ।

सायद म केवल यूनिभर्सिटीसम्म पुग्न सक्थें, पुगें र रोकिएँ ।

साथीको पनि धेरै कुराहरु पुगेनन् । उसको मन पनि पुगेन गाउँसम्म, आफू हुर्केको ठाउँसम्म अनि आँखा पुगेनन् बाँच्नका लागि चाहिने आवश्यक सर्जामसम्म ।

ऊ खाडीको दुई वर्षको कमाइको बलमा यस देशमा आपूm अट्ने सुरक्षित ठाउँ चाहन्थ्यो र म दुई वर्षे डिग्री कोर्षपछि प्राप्त सर्टिफिकेटको बलमा ।

त्यस रात उसले रक्सी पियो, गाउँको कथा सुनायो, मैले पढेका यी समाचारका टुक्राहरु भएको समाचारपत्रमा छापिएका फ्रि भिसाका कोलमहरु देखायो र भन्यो, ‘भोलि त इन्टरभ्यू दिन जानुपर्ला !’

गाउँमा उसको जमीन बाँझो छ । शहरमा उसले एउटा प्लटिङ्ग गरेको घडेरी किनेको छ, आप्mनो दुई वर्षे खाडीको कमाईले । त्यस जमीनमा ऊ घर बनाउन चाहन्छ र घर बनाउन चाहिने स्रोत जुटाउन ऊ फेरि खाडी जाँदैछ ।

.......... ............. ................. ............. .............. .............. ...........

आज उसलाई त्रिभुवन विमानस्थलको गेटसम्म पु¥याएर आएँ । र म रित्तो भएर आएँ । उसले मेरा कथाका प्लटहरुलाई सुनेन । मेरा कथाका प्लटको अब कुनै भेल्यू छैन । न यसमा घडेरी बनाउन मिल्ने, न त कसैलाई रोजगार दिन मिल्ने, न त भोकालाई खाना दिने । आदर्श भरेर तयार पारिने मेरा कथामा केही न केही अधूरो हुन्छ नै । पाठकवृन्द यसपटक मैले कथा लेख्न सकिन, केवल प्लटिङ्ग गर्न मात्र सकें । यसमा घर त कहिले बन्ने हो ? मलाई पनि थाहा छैन ।

मेरो साथीलाई पर्खिनुपर्ला ? वा म आफै पनि कसैको पखाइको कारण बन्ने हुँ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।