19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली विज्ञानकथाको सैद्धान्तिक सन्दर्भ

विचार नेत्र एटम August 11, 2012, 8:52 am

"ज्ञानभन्दा कल्पना अझै महत्त्वपूर्ण हुन्छ । ज्ञानको सीमा हुनु तर कल्पनाले भने सम्पूर्ण संसार, उत्तेजनापूर्ण प्रगति र क्रमविकासलाई समावेश गर्न सक्नु यसको मूल कारण हो ।"

— अल्बर्ट आइन्स्टाइन

१. पृष्ठभूमि

नेपाली साहित्यको विशाल क्षेत्रभित्र विज्ञानकथा अत्यन्त किनारीकृत अवस्थामा रहेको छ । नेपाली कथाको विकासक्रमको चर्चा गर्दा र यसका मोड–उपमोडहरूका कारणहरू पहिल्याउँदा विद्वान्हरूले विज्ञानकथालाई कुनै स्थान दिएको देखिन्न । विश्वसाहित्यमा विज्ञानकथाको लामो परम्परा छ । सन् १८१८ मा मेरी सेलीले फ्रेङ्केस्टाइन, अर, दि मोडर्न प्रोमेथस प्रकाशित गरेर रोबोटलाई परिचित गराएपछि विज्ञानकथामा प्राक्कल्पनाप्रसूत आविष्कारहरूको क्रियाकलाप र मानवीय प्रतिक्रिया पढ्न पाइएको हो । नेपाली साहित्यमा पनि आधुनिक नेपाली कथाको प्रथम चरणमै २०११ सालमा शङ्कर लामिछानेले ‘आत्माको मीमांसा’बाट प्रारम्भ गरेको विज्ञानकथाले छ दशक लामो यात्रा गरिसकेको छ । तर पनि यसको महत्त्व ठम्याउने ठोस प्रयास भने अध्येताहरूबाट हुन सकेको पाइन्न ।

नेपालीमा शङ्कर लामिछाने र विजय मल्लले प्रारम्भमा विज्ञानकथालाई स्थापित गराएका थिए भने अहिलेको युगमा कविताराम, सरुभक्त, विजय चालिसे आदिले विज्ञानकथालाई आख्यानको मूल धारमा स्थापित गर्ने प्रयास जारी राखेका छन् । त्यसोे भए पनि नेपाली कथाका स्तरीय सङ्कलन र आधिकारिक अध्ययनहरूमा विज्ञानकथालाई जानेर वा नजानेर बाहेक गरिएको देखिन्छ । साझा प्रकाशनबाट प्रकाशित भैरव अर्यालको साझा कथा (२०२५) तथा मोहनराज शर्मा र राजेन्द्र सुवेदीको समसामयिक साझा कथा (२०४०) का अनेकौँ अद्यावधिक संस्करणहरू आइसक्ता पनि वा प्रज्ञाप्रतिष्ठानजस्तो आधिकारिक निकायबाट प्रकाशित दयाराम श्रेष्ठका पच्चीस वर्षका नेपाली कथा (२०३९), भारतीय नेपाली कथा (२०३९) जस्ता कथाका विशिष्ट कृतिहरूमा विज्ञानकथाहरूले कुनै स्थान नपाउनु एवम् नेपाली कथाका समकालीन सन्दर्भहरू (२०४५) मा सङ्कलित विज्ञानकथाको समेत समुचित चर्चा नगरिनुले नेपालीमा विज्ञानकथा अध्ययनको अभावबारे चिन्ता प्रकट गर्न बाध्य बनाउँछ । वैज्ञानिकतालाई आधुनिक कालको मूल कसी मान्ने समालोचक मोहनराज शर्माले कथाको विकासप्रक्रिया (२०३५) मा समेत स्वैरकल्पनाको मात्र चर्चा गरेर विज्ञानकथालाई ओझेलमा पारेको देख्ता आश्चर्य र जिज्ञासा उत्पन्न हुनु स्वाभाविकै ठहर्छ । २०५५ सालमा महादेव अवस्थीद्वारा सम्पादित नेपाली कथा (भाग २) तथा २०६८ सालमा देवीप्रसाद गौतम र कृष्णप्रसाद घिमिरेद्वारा सम्पादित आधुनिक नेपाली कथा (भाग ३) मा समेत नेपाली कथाको विकासक्रमको चर्चा गर्दा विज्ञानकथाको योगदानको कुनै उल्लेख पाइँदैन । अर्कातिर त्रिविले निर्धारित गरेको स्नातकस्तरीय पाठ्यक्रमभित्र पहिले रहेको शङ्कर लामिछानेको ‘माया नं. ६५३’ लाई हटाएर विज्ञानकथाका नाउँमा विजय मल्लको ‘प्रवेशनिषिद्ध देश’जस्तो कमजोर कथालाई स्थान दिइएको छ । यसले पनि विज्ञानकथाप्रति विज्ञहरूको दृष्टिकोण फितलो र अध्ययन कमजोर रहेको देखाउँछ ।

यस्ता केही स्वीकारोक्ति र अधिकांशतः अन्यौलकै अवस्था रहेको बेला साझा प्रकाशनले सुनील पोखरेलको सम्पादनमा नेपाली विज्ञानकथासङ्ग्रह (२०६७) प्रकाशन गरेर एउटा उत्साहजनक परिवेश सिर्जना गरिदिएको छ । यसै पृष्ठभूमि र सद्यः प्रकाशित सङ्ग्रहबाट कुतकुत्याइएकाले प्रस्तुत लेखको सिर्जना भएको हो । त्यसैले यस लेखमा विज्ञानकथाको सामान्य सैद्धान्तिक पृष्ठभूमि, स्पष्टीकरण र सन्दर्भ दिँदै नेपाली विज्ञानकथाको लेखन र अध्ययनको वर्तमान चासो र चिन्ताबारे चर्चा गरिएको छ । यहाँ उद्धृत गरिएका सैद्धान्तिक चर्चाको मूल आधार आइज्याक आसिमोभ (सन् १९८३) को कृति हो भने नेपाली विज्ञानकथाका अधिकांश सन्दर्भहरूचाहिँ सुनील पोखरेल (२०६७) को सङ्कलनबाट लिइएका छन् ।

२. विज्ञानकथाको परिचय

विज्ञानकथा भनेको वैज्ञानिक ज्ञान र तर्कमा आधारित प्राक्काल्पनिक कथा हो । यसले विज्ञानका आविष्कार, विकास, वातावरणीय परिवर्तन, अन्तरीक्ष यात्रा, मानवेतर बौद्धिक जीव, अन्तर्ग्रहीय अवस्था आदिलाई कथानक र पृष्ठभूमि बनाएर मानवीय सरोकारलाई अभिव्यक्ति दिन्छ । यसमा मानव अस्तित्वको बौद्धिक, शारीरिक, मनोवैज्ञानिक सन्दर्भमा हुन सक्ने आधारभूत रूपान्तरणका प्रक्रियाहरू पढ्न पाइन्छ । अधिकांश विज्ञानकथाले वैज्ञानिक प्रगतिमा आइरहेको तीव्रताका कारण भविष्यमा मानवले बेहोर्नुपर्ने दुःखद अवस्थाको चित्रण गरेका हुन्छन् र तीमार्फत् अहिलेदेखि नै व्यावहारिक नियन्त्रणका लागि प्रयोक्ताहरूलाई सचेत गराएका हुन्छन् । वास्तवमा प्रयोगबाट प्रमाणित नहुँदासम्म कतिपय वैज्ञानिक व्याख्याहरु पनि काल्पनिकजस्ता लाग्छन् । स्टेफेन हकिङ (सन् १९९८) ले गरेको ब्रह्माण्डको सिर्जनाको व्याख्या, भूतकालको यात्रा, ब्ल्याकहोल वा ताराहरुको जीवनसित सम्बन्धित कतिपय तथ्यहरु विज्ञानकथाकै स्तरमा रहेका छन् । पूर्वस्थापित सिद्धान्तमा अडेर गणितीय एवम् तार्किक दृष्टिले पुष्टि गर्ने हुनले उनका समयसम्बन्धी नवीन चिन्तनहरुले अहिले संसार हल्लाइरहेका छन् ।

विज्ञानकथालाई अंग्रेजीमा ‘कअष्भलभ ाष्अतष्यल’ भनिन्छ र यसैलाई बुझाउनका लागि छोटकरी रूप ‘कअष्(ाष्’ वा ‘क्ँ’ पनि प्रयोग गरिन्छ । ‘साइन्स फिक्सन’ शब्दको प्रथम प्रयोग विलियम विल्सनले सन् १८५१ मा प्रकाशित अ लिटल अर्नेस्ट बुक अपअन अ ग्रेट ओल्ड सब्जेक्ट कृतिको दसौँ परिच्छेदमा गरेका हुन् । त्यसमा उनले विज्ञानकथाको परिभाषा गर्दै भनेका छन्— ‘विज्ञानकथामा उद्घाटित विज्ञानका सत्यहरूलाई आफैँमा काव्यात्मक र सही ठहरिने रुचिकर कथासित बुनेर उद्घाटन गरिएको हुन्छ ।’ विज्ञानकथाले ‘यसो भयो भने के हुन्छ ?’ भन्ने प्रश्नलाई केन्द्रमा राखेको पाइन्छ । त्यसैले यसमा स्थापित वैज्ञानिक सिद्धान्तका अतिरिक्त नवीन मूल्ययुक्त मान्यताहरू पनि प्रयोग गरिएका हुन्छन् । स्थापित वा निर्मित मान्यतालाई आधार बनाएर बुनिएका प्राक्कल्पित घटना, चरित्र र परिवेश आदिलाई कार्यकारणको शृंखलामा बाँधेर तर्कपूर्ण निष्कर्ष दिन सक्ने विज्ञानकथाले नै पाठकलाई सन्तुष्ट पार्न सक्तछन् । यसले मानवका नैतिक, दार्शनिक प्राविधिक खोजमा आधारित नयाँ र आश्चर्यजनक सम्भावनाहरू देखाउँछ । त्यसैले नयाँ सपना एवम् भविष्य खोज्दै हिँड्ने युवाहरू नै विज्ञानकथाका पाठक र प्रशंसक बन्छन् ।

विश्लेषणका क्रममा पोखरेल (२०६७) ले विज्ञानकथालाई यथार्थवादी साहित्य भनेका छन् तर यो गतल अवधारणा हो । रुसी वैज्ञानिक, विज्ञानकथाकार र विज्ञानकथाका समालोचक आसिमोभ लेख्छन्— ‘विज्ञानकथा पढ्न नसक्ने बिचराहरूका लागि यथार्थ नै एक मात्र साहरा बन्छ ।’ यस भनाइले विज्ञानकथा र यथार्थका बीचको भिन्नता बुझ्न सघाउँछ । एच्. बु्रस फ्राङ्कलिनले ‘साइन्स फिक्सनः दि अर्ली हिस्ट्री’ शीर्षकको लेखमा भनेका छन्— ‘विज्ञानकथा हाम्रो युगमा प्रचलित मुख्य अयथार्थवादी ढाँचाको कल्पनात्मक सिर्जना हो ।’ वास्तवमा विज्ञानकथाका घटनाहरू, पात्रहरू, तिनका क्रियाकलापहरू, परिवेश, भाषा आदि सबै परिकल्पित हुने हनाले यसलाई यथार्थवादी साहित्य भन्नै सकिँदैन । यसमा जीवनगत र सांसारिक दृष्टिकोण भने यथार्थवादी हुन्छ । विज्ञानकथा सपना र सम्भावनाको साहित्य हो, नैतिकताको साहित्य हो, मानवीय मूल्यप्रति सदा चिन्तित र त्यसको स्थापनाका लागि सदा प्रयत्नशील साहित्य हो । त्यसैले यसको उद्देश्य विज्ञानका आधारमा भएगरेका वर्तमानका कार्यप्रति चिन्ता प्रकट गरिन्छ र आदर्शतर्फ ढल्किन्छ । ईश्वरीय मूल्यप्रति नभई यो मानवीय भाइचाराको मूल्यप्रति आस्थावान् हुन्छ । समग्रमा विज्ञानकथा भौतिकता र आदर्शका मान्यताहरू सम्मिलित खास प्रकारको मानवतावादी साहित्य हो । अन्य साहित्यले तटस्थ सौन्दर्यलाई पनि हार्दिकतापूर्वक स्विकार्न सक्छ तर विज्ञानकथाले भने मान्छेको हितलाई मात्र सर्वोपरि स्थान दिएको हुन्छ ।

विज्ञानकथा जुनै अवस्थामा पनि मानवीय हित, प्रेम, सामाजिक न्याय, तथा पृथ्वीप्रतिको लगाव यसमा रहिरहन्छ, यिनबाट तटस्थ विज्ञानकथा अर्थहीन हुन्छ । यो विचारमूलक साहित्य हो, विचारपरिवर्तनका लागि रचिने साहित्य हो, मनोरञ्जन यसको उद्देश्य होइन । भविष्यप्रति चिन्ता र चासो प्रक्षेपण गर्नका लागि नै अधिकांश विज्ञानसाहित्यमा युटोपियाभन्दा डिस्टोपिया सिर्जना भएको हुन्छ र विचार प्रस्तुत गर्दा लेखकीय हस्तक्षेप पनि भएको पाइन्छ । यस अर्थमा आसिमोभ (सन् १९८३) ले विज्ञानकथालाई विज्ञान र प्रविधिले ल्याएको परिवर्तनप्रति मानवले सुविचारित रूपमा जनाउने प्रतिक्रियालाई वर्णन गर्ने साहित्यको एउटा प्रशाखा भनेका हुन् । विज्ञानकथामा वैज्ञानिक प्रकारले व्याख्या गर्न सकिने खालका परिघटनाहरू संयोजन भएका हुन्छन् र यो सामान्यतया भविष्यदर्शी हुन्छ । अहिले नै हामी परिवर्तित हुन सकेनौँ भने हाम्रो भविष्य निराशाजनक छ भनेर विज्ञानकथाले चेतावनी पनि दिन्छ ।

निष्कर्षमा भन्दा विज्ञानकथा भनेको प्रचलित वा निर्मित विज्ञानप्रविधिका सिद्धान्त, तर्क र मूल्यसूत्रमा आधारित उदात्त समाजनिर्माणका लागि सन्देशमूलक कथा हो ।

३. विज्ञानकथाका विशेषताहरू

विज्ञानकथा आख्यान भएकाले यसमा तीन कुरा ‘के हुन्छ ? ः घटना’, ‘कसले गर्छ ? ः पात्र’ एवम् ‘कहाँ र कहिले हुन्छ ? ः परिवेश’ महत्त्वपूर्ण हुन्छन् । अतः यो कथाप्रधान साहित्य हो । यसमा विचारतत्त्व पनि प्रबल रहन्छ । विज्ञानकथाले हाम्रो जीवनमा कथाको भूमिका अझै महत्त्वहीन नभइसकेको तथ्यतर्फ समेत सङ्केत गर्दछ । प्रकारगत र विषयगत विविधताले फरक पारे पनि यसमा पाइने सामान्य विशेषताहरू निम्नलिखित छन् ः

(क) नवीन परिकल्पना ः विज्ञानकथाले पूर्वस्थापित मान्यतामा आधारित रहेर नवीन परिकल्पनाको प्रस्तुति गरेका हुन्छन् । शङ्कर लामिछानेले ‘आत्माको मीमांसा’ कथामा ‘शक्तिलाई सिर्जना वा नष्ट गर्न सकिन्न, यसको रूपान्तरण मात्र हुन्छ’ भन्ने भौतिकविज्ञानको पूर्वस्थापित मान्यतामा टेकेर आत्माको रूपान्तरण भएको नयाँ घटना वर्णन गरेका छन् । आत्मालाई पनि उनले एउटा शक्ति मानेका छन् र त्यसैका आधारमा पुनर्जन्मलाई रूपान्तरणका रूपमा परिकल्पना गरी व्याख्या गरेका छन् । ‘पदार्थहरूको गीत’ कथामा शक्ति र प्रकाश इगोट्रोन नामक तत्त्वबाट निर्माण भएको भन्ने नवीन आविष्कारको चर्चा पाइन्छ । हाम्रो अहिलेको ज्ञानअनुसार शक्ति र प्रकाश अमूर्त तरंग मात्र भएकाले तत्त्वबाट तिनको निर्माण हुनै सक्तैन किनभने तिनको तौल हुँदैन, तिनले स्थान पनि लिँदैनन् । त्यस्तै यसमा अन्तब्र्रह्माण्डीय यात्रा, सम्मेलन तथा प्राणीहरूबीचको प्रेमको सन्दर्भ पनि सम्भव भएर आएको छ । यसमा कुराकानीका लागि विद्युत् चुम्बकीय सन्देश, सन्देश ग्रहण गर्ने वर्णपट, अरू ब्रह्माण्डका प्राणीसँग सञ्चार गर्न पदार्थ ब्रह्माण्डीय सङ्केत भाषा आदिको परिकल्पना गरिएको छ ।

(ख) सम्भावनामा सत्याभाष ः विज्ञानकथाका घटना, चरित्र, परिवेश आदि यथार्थ होइनन् तर तिनमा गरिएको अनुमान र सम्भावनाले पाठकलाई सत्याभाष गराउँछन् । त्यसो नहुँदा विज्ञानकथा केवल स्वैरकल्पना बन्छ । सत्याभास हुनका लागि कार्यकारण तार्किक रूपले संयोजित देखिनुपर्छ । विज्ञानकथाको शक्ति भनेको आविष्कार र अनुमानबाट स्थापित विचारको पुष्टि गरेर पाठकलाई यथार्थको भ्रम दिनु हो । त्यसैले विज्ञानकथा विज्ञानको विषय नभएर साहित्यको, कलाको सिर्जनशील विषय बनेको हो । रमेश खनालको ‘रोबोटको मानवीय अस्तित्व’ कथाको प्रारम्भमा रोबोटले हाटेलको ढोकामा पाहुनाहरूसँग हात मिलाउन खोजेको, आफूहरूको छुट्टै वस्ती हुनुपर्ने माग राखेको, चित्र बनाएको, गीतमा नाचेको आदि दृश्य देखिन्छ । कथाको अन्त्यमा सही नेता चयन गर्न नसक्ने भनी एउटा रोबोटले मान्छेलाई हुतिहारा साबित गर्न खोजेपछि मान्छेले रोबोटको मुखमा रक्सी छ्यापिदिन्छ । रोबोट र मान्छेको झगडामा अरू रोबोटहरूसमेत एकजुट भई पार्टीमा आएका मान्छेहरूलाई भकुर्न थाल्छन् । त्यसबाट बच्न कुनै व्यक्ति कन्ट्रोल रुममा गई रिमोट कन्टोल बन्द गरिदिन्छ र रोबोटहरु निष्क्रिय हुन्छन् अनि सबै स्थिति सामान्य बन्छ । यस कथाको प्रारम्भअनुसार अन्त्यको अनुमान तार्किक देखिन्छ, जसले गर्दा अहिले हुन नसक्ने घटना भए पनि यसले पाठकलाई सत्याभाष गराउन सकेको छ ।

(ग) वैज्ञानिक प्रविधिको उपयोग ः विज्ञानकथामा वैज्ञानिक आविष्कार, प्रविधि र भइरहेका साधनहरूको व्यापक उपयोग गरिन्छ । ब्रह्माण्डमा यात्रा गराउन सक्ने कम्प्युटर, बोलेको कुरा लेखिने टेलिस्क्रिन, सूक्ष्म सङ्केत समात्न सक्ने एन्टेना, वस्तुको दूरी र स्थान पत्ता लागाउने शक्तिशाली राडार, प्रकाशभन्दा गतिशील रकेट, ताराहरूबीच सम्पर्क गर्ने वेभफोन, अन्तरीक्षमा खेल्दा लगाउने स्पेससुट, मान्छेजस्ता देखिने तर सिन्थेटिक छाला भएका रोबोट, सिलिकन माइक्रोचिप्सबाट निर्मित मस्तिष्क आदि विज्ञानकथाका सामग्री नै हुन् । यान्त्रिक र साहसिक खालका विज्ञानकथामा यस्ता प्राविधिक कुराहरू अझै बढी उपयोगमा आउँछन् । विजय मल्लको ‘इन्जिनियरको टाउको’ कथामा प्रयुक्त सिमेन्टमा मिसाएर प्रयोग गर्दा अणुबमले समेत फोड्न नसक्ने बनाउने नीलो धुलो, भित्र पस्न मिल्ने तर बाहिर निस्कन नमिल्ने ढोका, मल्लकै ‘प्रवेशनिषिद्ध देश’ कथामा प्रयुक्त गोलाकार जहाज, देशको सीमा कुल्चनासाथ मान्छे जलेर धुवाँ बन्ने प्रविधि, असङ्ख्य रोबोट र यन्त्रहरू आदि प्राविधिक सामग्री हुन् ।

(घ) बाह्य मानवको प्रयोग ः विज्ञानकथामा अन्य ग्रह वा ब्रह्माण्डमा प्राणीहरू भएको देखाई त्यहाँबाट आएका अद्भुत मानवहरूलाई पनि पात्र बनाएर वर्णन गरिन्छ । यस्ता प्राणीलाई अंग्रेजीमा ‘यालियन’ भनिन्छ । यस्ता प्राणीहरू हामीजस्तो पदार्थले बनेका हुँदैनन् र तिनलाई हाम्रो समाजले सजिलै स्वीकार गर्न पनि सक्तैन । तिनको चरित्र अनौठो खालको हुनाले तिनका क्रियाकलाप पछिसम्म सम्झिइन्छ ।

समसामयिक विज्ञानकथामा प्रयोग गरिने यालियनका प्रमुख प्रजातिहरू पन्ध्र प्रकारका मानिन्छन् । ‘आलाग’ भनिने यालियन अत्यन्त क्षमतावान् छ र उसले मान्छेलाई गाईबस्तुजस्तो तुच्छ व्यवहार गर्दछ तर उसको स्वअनुशासन भने अति कडा हुन्छ । त्यस्तै यालियनका अन्य प्रजातिहरूमा ब्रह्माण्ड विजेता ‘साइक्लोस’, मान्छेसँग संसर्ग गर्ने ‘थ्य्राङ्स’, मङ्गल ग्रहको हरियो मान्छे ‘मार्सियन’, पृथ्वीलाई जितेर शान्तिसुव्यवस्था कायम गर्ने ‘ओभरलर्ड’, ब्रह्मास्त्र प्रयोग गर्ने द्विलिङ्गी जन्तु ‘ड्राक’, दयालु तर भोको देखिने र खाइरहन खोज्ने ‘ह्रोसी’ आदि पर्दछन् । ‘यिलान’ भनिने चार फुट अग्लो डायनोसारजस्तो यालियनको शरीर अत्यन्त तातो हुन्छ र यसको परिवार मातृसत्तात्मक देखिन्छ । यसले जीवित जन्तु र वनस्पति उपयोग गरेर डुङ्गा, सिरक आदि बनाउँछ । सरुभक्तका ‘पदार्थको गीत’, ‘छोरी ब्रह्माण्ड’, ‘शायद महाविष्फोट’ आदि विज्ञानकथाहरूमा विभिन्न प्रकारका यालियनहरू प्रयोग गरिएका छन् । उनका यालियनहरु अहम्लाई सिर्जनात्मक रुपमा प्रयोग गर्न रुचाउने हुँदा तिनले मान्छेसँग आदरणीय, प्रेमपूर्ण, सद्भावमूलक र सहयोगी व्यवहार देखाउँछन् ।

(ङ) मानवीय मूल्यप्रयोग ः विज्ञानकथामा मानवीय नैतिकता, मूल्य, चिन्तन आदि प्रयोग गरिएको हुन्छ । समयगत अन्तरालका कारण मान्छेमा कस्तो संस्कार आउँछ होला भन्ने प्राक्कल्पनाका कारण यस्तो नवीन सम्भावनाको खोजी हुन्छ तर ती सबै मान्यताहरू वर्तमानकै सम्बन्ध, नैतिकता आदिका आधारमा प्रस्तुत गरिन्छन् । विज्ञानकथा प्रचलित मानवीय, सामाजिक, कानुनी सम्बन्ध ध्वंसका लागि लेखिँदैन, तिनलाई बचाउने वा थोरै परिमार्जन गर्ने आकांक्षा भने हुन सक्छ । त्यसैले सरुभक्तको ‘पदार्थको गीत’ कथामा अर्कै ब्रह्माण्डमा पुगेर पनि म पात्र त्यहाँकी स्त्रीप्रति आकर्षित हुन्छ, उनीहरूबीच प्रेम हुर्किन्छ र स्त्रीसित बिदाइका हात मिलाएर स्नेह देखाउन चाहन्छ । त्यो स्त्री पृथ्वीको भन्दा भिन्नै पदार्थबाट निर्मित भएर पनि उसले म पात्रमाथि असीम आस्था र प्रेम देखाउँछे । शङ्कर लामिछानेको ‘ऊ कसको हो ?’ कथामा विलियम फ्रैन्क र हेनरी कापराको मिश्रण भएर बनेको फ्रैन्क कापरा कसको पति हो भनी छुट््ट्याउन अदालतले विशेषज्ञको टोली गठन गरेको देखिन्छ । रमेश विकलको ‘रोबोले सपना देख्न थाल्यो भने ?’ कथामा शक्तिमा आएको रोबो पनि सिंहासनमा बसेर राजाझैँ हुङ्कार गर्छ अनि मानव जातिलाई जोगाउनकै लागि प्रो.दिवाकरले रोबोटमा संवेदना जगाउने योजना भङ्ग गर्छ ।

(च) पृथक् परिवेश ः विज्ञानकथामा हाम्रो वास्तविक दैनिक संसारसित नमिल्ने असाधारण परिवेशविधान गरिएको हुन्छ । त्यसैले धेरैजसो पृथक् स्थान तथा अतीत वा भविष्यको समय यसमा अत्यधिक प्रयुक्त हुन्छ । नेपालीमा रचिएका अधिकांश विज्ञानकथामा स्थान अहिलेकै भए पनि रोबोटहरू मान्छेभन्दा शक्तिशाली बन्दै गएको भविष्यको अवस्थालाई परिवेश बनाइएको छ । ती कथामा मान्छेको स्थिति निरीह बनेको देखिन्छ किनभने उनीहरूले रोबोटलाई मालिक मानेर तिनको आज्ञा पालन गर्नुपर्छ । नयाँ आविष्कारको मोह, प्रतिस्पर्धा वा आफू मात्र शक्तिशाली बन्ने महत्त्वाकांक्षामा मान्छेले पृथ्वीलाई डिस्टोपिया बनाइरहेको तस्बिर हाम्रा अघि देखा पर्छ । मदनमणि दीक्षितको ‘कच, शुक्र र देवयानी’ कथामा वि.संं. ३१४६ मार्ग २८ गतेको मितिलाई भिन्न तरिकाबाट मापन गर्ने विधि बनाई मङ्गलाब्द ७०४६ छैटौँ आयामको सातौँ अंश भनिएको छ । त्यस युगमा मान्छे पदार्थबाट बनेका छैनन् र तिनको मृत्यु पनि हँुदैन । त्यसैले पृथ्वी, अन्तरीक्ष र शुक्र ग्रह यस कथाका घटनास्थल हुन् ।

कतिपय विज्ञानकथामा अहिलेकै जस्ता लाग्ने स्थान र समय भए पनि पात्रको मानवीय व्यवहार भने पृथक् ढङ्गले देखाइएको हुन्छ । विजय चालिसेको ‘प्रयोग÷प्रत्यारोपण’ कथामा तलब बढाउन माग गर्ने पेसाकर्मीलाई तह लगाउन वैज्ञानिक क्षमताको दुरूपयोग गरेर उनीहरूलाई आज्ञाकारी बनाउन सफल शासकको शासनकाललाई परिवेश बनाइएको छ । त्यस्तै ओम रिजालको ‘संवेदना’ कथामा मंगलग्रहका वासिन्दाको आक्रमणबाट पृथ्वीका मान्छेहरू ध्वस्त भएपछि पशुहरूले खुसीको जुलुस निकालिरहेको भविष्यदर्शी परिवेश देखिन्छ । गोविन्दप्रसाद कुसुमको ‘वैज्ञानिक १३६ ‘ए’को डायरी’ कथाको परिवेश चन्द्रलोकमा मरेको मान्छेलाई जीवित पार्न सक्ने वैज्ञानिकको अनुसन्धान सफल भइसकेको समयावधि सन् ४६६६—४७०० सम्मको हो । सिस्टम बिग्रिएका कारण प्रयोगशालामा कार्यरत वैज्ञानिकलाई सहयोगी कम्प्युटरले नै हत्या गरिदिएको सन्दर्भ यसमा आएको छ ।

विज्ञानकथामा पाइने भविष्यदर्शी परिवेशलाई स्पष्ट पार्दै आसिमोभ (१९८३) ले लेखेका छन्— ‘कसैले विज्ञान र प्रविधिको उन्नतिले भविष्यमा यही संसारलाई सुखस्वर्ग बनाउन सकिन्छ भन्ने सोच्छन् भने केही चाहिँ यही उन्नतिबाट निम्तिन सक्ने भयावह अवस्थाबाट सन्त्रस्त भई बरबराउँछन् । विज्ञानकथा प्रारम्भदेखि नै आशावाद र निराशावादका यी दुई विपरीत ध्रुवका बीच झुन्डिरहेको छ ।’ नेपाली सन्दर्भमा हेर्दा सरुभक्तका कथामा अन्तग्र्रहीय परिवेशलाई पनि मानवीय सौन्दर्य र प्रेमले परिपूर्ण युटोपिया सिर्जनाका लागि उपयोग गरिएको देखिन्छ तर अन्य कथाकारहरूले भने भविष्यमा मानवीय यान्त्रिकता, घृणा र प्रतिस्पर्धा तथा विघटित मूल्यले भरिएको डिस्टोपियालाई नै परिवेश बनाएको पाइन्छ ।

४. विज्ञानकथाका प्रकार

विज्ञानकथामा प्रयुक्त विषयवस्तुका आधारमा यसलाई विभिन्न प्रकारहरूमा विभाजन गर्न सकिन्छ । पोखरेल (२०६७) ले विषयवस्तु, धारणा र स्वभावका आधारमा विज्ञानकथालाई उदाहरणसहित चिनाएका छन् । अधिकजसो विज्ञाकथालाई कठोर र हल्का गरी दुई भागमा वर्गीकरण गरेको पाइन्छ । कठोर विज्ञानकथा सरुभक्तको ‘पदार्थको गीत’ जस्तो वैज्ञानिक सिद्धान्त, उपकरण र प्रविधिहरू उपयोग गरिएको कथा हो र यसमा सामाजिक मूल्यलाई यान्त्रिक कार्यले छोपिएको हुन्छ । हल्का विज्ञानकथा शङ्कर लामिछानेको ‘त्यो कसको हो ?’ जस्तो वैज्ञानिक प्रविधिका कारण उत्पन्न सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, दार्शनिक समस्या उद्घाटन गर्ने कथा हो । यी विभाजनको उपयोगिता पनि छँदै छ तर यहाँ भने सबै प्रकारका विज्ञानकथालाई अध्ययन गर्दा सजिलो पर्ने गरी यान्त्रिक, साहसिक र सामाजिक गरी तीन प्रकारमा बाँडिएको छ । यो विभाजन विषयगत मात्र नभएर कथात्मक योजनासित पनि जोडिन्छ । त्यसैले यो विभाजन साहित्यिक सन्दर्भमा निकै महत्त्वपूर्ण साबित हुन्छ । यसका लागि यहाँ आसिमोभ (१९८३) को अवधारणालाई आधार बनाइएको छ र उदाहरणका रुपमा एउटै घटनाशृङ्खलालाई कथात्मक स्वरूप दिइएको छ ।

(क) यान्त्रिक विज्ञानकथा ः यस्ता विज्ञानकथाभित्र वैज्ञानिकहरूले नयाँ आविष्कार गरेका हुन्छन् । यसमा आविष्कारको प्रक्रिया, त्यसले गर्ने कामको प्रकृति र त्यसको उपयोगिताका क्षेत्रहरूबारे विस्तृत विवरण पाइन्छ । यान्त्रिक विज्ञानकथाको उद्देश्य नै नयाँ आविष्कारलाई परिचित गराउनु हो ।

उदाहरणका लागि लेखक ‘क’ ले आफ्नो अधिकांश समय यन्त्र कसरी चल्छ र त्यसले कसरी काम गर्छ भन्ने वर्णन गर्नमा बिताउँछ । ऊ यन्त्र आविष्कार गर्ने मान्छेले भोगेका अनेकौँ असफलताहरूको संघर्षका कथा र अन्त्यमा पाएको सफल योजनाको चित्रण पनि गर्दछ । जब उसले यन्त्रको गति प्रकाशलाई पनि जित्ने भएको पाउँछ, उसको कथाको चरमबिन्दु त्यसैमा देखिन्छ । यो यान्त्रिक विज्ञानकथा हो । नेपालीमा सरुभक्तको ‘छोरी ब्रह्माण्ड’ यस्तै विज्ञानकथा हो किनभने यसमा पृथ्वीको रक्षार्थ नयाँ ब्रह्माण्ड सिर्जना गर्ने प्रक्रिया, आविष्कार र उपयोगितालाई उद्देश्य बनाइएको छ ।

(ख) साहसिक विज्ञानकथा ः यस्ता विज्ञानकथामा नाटकीयता सिर्जना गर्नका लागि आविष्कारलाई उपयोग गरिन्छ । यसले कथाको समस्यालाई समाधान गर्न पनि सक्छ वा झन् ठूलो समस्या निम्त्याउन पनि सक्छ । यसको मुख्य सरोकार नयाँ आविष्कारले कथानकका घटनालाई कसरी असर पार्छ भन्नेमा देखिन्छ ।

उदाहरणका लागि लेखक ‘ख’ ले अनायास एउटा प्रकाशभन्दा बढी गति भएको यन्त्र निर्माण गर्छ तर अपराधी मानसिकताको साथीले उसलाई धोका दिएर उक्त मूल्यवान् यन्त्र चोर्न खोज्छ । अपराधीले पहिले उसकी छोरीलाई अपहरण गर्छन् र बलात्कार गरेर मार्ने धम्की दिँदै छोरी बचाउने भए यन्त्र आफूलाई दिन अराउँछन् । वैज्ञानिकको एकजना सहयोगी छोरीलाई मुक्त गर्न जान्छ र त्यस कामका लागि उक्त आविष्कृत यन्त्रको सहयोग लिनु अपरिहार्य ठान्छ । अकल्पनीय गतिमा गएकोे यन्त्रद्वारा फाँसीमा झुन्ड्याउन ठीक पारिएकी केटीलाई उडाएर लैजान ऊ सफल हुन्छ । उक्त यन्त्रविना केटीकोे उद्धार सफल हुनै सक्तैनथ्यो । यो साहसिक विज्ञानकथा हो । नेपालीमा विजय चालिसेको ‘प्रलयको तयारीमा’ यस्तो कथा हो किनभने यसको पात्र केदार हिमयुगको चिसोबाट बच्न तातो खोज्दै आपूmले आविष्कार गरेको क्याप्सुलमा बसी पृथ्वीको केन्द्रतिर हिँडेको छ ।

(ग) सामाजिक विज्ञानकथा ः यस्ता विज्ञानकथाले नयाँ आविष्कारहरूले सामान्य मान्छेको जीवनमा राम्रा वा नराम्रा असर कसरी पार्छ भन्ने देखाउँछन् र ती कुराप्रति मान्छेको अवधारणा कस्तो छ भन्ने जानकारी दिन्छन् ।

उदाहरणका लागि लेखक ‘ग’ सँग प्रकाशको गतिभन्दा छिटो हिँड्ने यन्त्र छ तर ऊ बाँचेको समाजका लागि त्यस्तो यन्त्र घाँडो भइसकेको देखिन्छ । त्यस्तो यन्त्रकै कारण मान्छे सजिलै अन्य ग्रहहरूमा पनि जान सकेको छ, अन्तरीक्षमा भएका प्रयोगशालाहरू उसका लागि ब्रह्माण्डका खोज गर्ने स्थान बनेका छन्, कुनै ठाउँमा प्राकृतिक प्रकोप हुँदा सजिलै सामग्री पुयाउन सकिएको छ, देशदेशका सीमाहरू मेटिएका छन् तर ती यन्त्रहरू अत्यन्त गतिशील भएकाले टाढैबाट ब्रेक लगाउन नसकिँदा अत्यधिक दुर्घटना भएका छन् । यसले गर्दा मर्नेहरूको संख्या रोग वा बमप्रहारबाट हुनेभन्दा पनि बढी छ तर यन्त्रको प्रयोग अब जीवनपद्धति नै बनिसकेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ? यसको समाधान के हुन सक्छ ? यो सामाजिक विज्ञानकथा हो । नेपालीमा इन्दिरा प्रसाईंको ‘नौ नम्बरकी’ यस्तो कथा हो किनभने त्यसमा स्त्री यन्त्रमानवसँग संसर्ग गर्न खोज्ने रामबहादुरको शारीरिक उत्तेजना र मानसिक संवेगको रोचक विशलेषण भएको छ ।

५. विज्ञानकथाका कार्यहरू

अल्बर्ट आइन्स्टाइनले भनेका छन्— ‘संसार जिउनका लागि खतरनाक ठाउँ भएको खास कारण जताततै दुष्ट मान्छेहरू भएर होइन, बरु यसलाई सुधार्नका लागि कुनै काम नगर्ने मान्छेहरू हुनु हो ।’ विज्ञानकथाका लेखकहरू यसमा सङ्केतित अभाव पूर्तिका लागि आफ्नो तर्फबाट सक्दो साहित्यिक प्रयास गर्दछन् । तिनलाई यसरी बुँदाबद्ध गर्न सकिन्छ ः

(क) चेतना विस्तार ः विज्ञानकथाले विज्ञानमा अभिरुचि जगाउँछ र त्यसलाई प्रवद्र्धन गर्छ । यसले सामान्य मान्छेलाई वैज्ञानिक साधनहरूको प्रयोग र भविष्यका सम्भावनाहरूबारे बताउँछ र चेतनाको स्तर बढाउँछ । सरुभक्तको ‘एउटा प्रेमको कथा जुन घटित भएको छैन’ कथा पढेर पाठकलाई अहम्का कारण मान्छेजस्तै शरीर, भाव र क्रियाकलाप भएको यन्त्रमानवको आविष्कार तथा त्यसबाट केटीमा पर्ने भ्रमले नयाँ चेतना खुल्दछ ।

(ख) सिकाइ ः विज्ञानकथाले सिकाइ अभिवृद्धि गर्छ । विज्ञानमा आधारित हुनाले विद्यार्थीलाई वैज्ञानिक अवधारणाहरू बुझाउन विज्ञानकथा सहयोगी हुन्छ । स्टेफेन हकिङ र लुसी हकिङको जर्जको ब्रह्माण्ड यात्रा पढेर सामान्य मान्छे पनि ब्रह्माण्डको रचना र ब्ल्याकहोलको अवधारणाबारे स्पष्ट हुन सक्छ ।

(ग) सामाजिक प्रक्रियाको ज्ञान ः विज्ञानकथाले समाजशास्त्र र इतिहासका प्रक्रियाहरूको बुझाइलाई तीव्र पार्छ । यसले समाजमा प्राविधि विकासले पार्ने प्रभाव र प्रतिक्रियाहरूको वर्णन गरेको हुन्छ । यसले हाम्रो संस्कृति र त्यसमा वैज्ञानिक साधनले पार्ने अन्तर देखाउँछ । कवितारामको ‘गिनीपिग’ कथामा भविष्यको कुनै गर्तमा छोरीले बाबुसँग यौनसम्बन्धको याचना गरिरहेकी देखिन्छे । सदूर भविष्यमा सामाजिक, पारिवारिक नाताको मूल्य समाप्त हुने सङ्केत यसले गरेको छ ।

(घ) वैकल्पिक चिन्तन ः विज्ञानकथाले हाम्रो चिन्तनको पूर्वाग्रहलाई कम गर्दछ र नयाँ वैकल्पिक सोच राख्ने आँखा खोलिदिन्छ । यसले हाम्रा मूल्य, मान्यता र विश्वासहरूको पुनःपरीक्षण गर्न बाध्य पार्दछ । शङ्कर लामिछानेको ‘माया नं. ६५३’ कथाले मान्छेको जन्म स्त्रीगर्भबाट हुने कुरालाई नै चुनौती दिएको छ । यसमार्फत आमा र बच्चाको संवेगात्मक सम्बन्ध, स्नतपान, प्रसवपीडा आदि भविष्यमा काल्पनिक मात्र हुन सक्ने सम्भावना पनि औँल्याइएको छ ।

(ङ) सांस्कृतिक सुन्दरता ः विज्ञानकथा हाम्रो संस्कृतिको प्रतिबिम्ब हो किनभने यो पनि एउटा कलाको रूप नै हो । हामी बाँचेको जीवन, समाज र संसारको प्रतिनिधित्व यसबाट हुन्छ । यसले सपना देख्न, सुन्दर र कुरूपको कल्पना गर्न तथा प्रसंशा वा घृणा गर्न उत्प्रेरित गर्छ । अमोददेव भट्टराईको ‘सिर्जना र सृष्टि’ कथामा रञ्जु नेपालीलाई हिन्दू परम्पराअनुसार रोबोटले चाँदीको बट्टामा सिन्दुर ल्याएर सिउँदोमा हालिदिएको भयोत्पादक घटना देखिन्छ । मदनमणि दीक्षितको ‘कच, शुक्र र देवयानी’ कथामा प्रेम, सौन्दर्य र समर्पणको विपुल भाव पाइन्छ ।

(च) आश्चर्यजनक अनुभूति ः विज्ञानकथाले बह्माण्डका आश्चर्यजनक अनुभव सिर्जना गर्दछ । त्यसैले यस्ता कथाका पाठक संसारका कुराबाट कहिल्यै दिक्क हुँदैनन् । सरुभक्तको ‘छोरी ब्रह्माण्ड’मा पदार्थ नभई प्रतिपदार्थबाट निर्मित भिन्न ब्रह्माण्ड र त्यहाँ हुन सक्ने प्रक्रिया पढ्न पाइन्छ ।

(छ) भविष्यदृष्टि ः विज्ञानकथाले हामीलाई भविष्यका बारेमा सोच्न बाध्य गराउँछ । कति भविष्यदर्शनले त भय सिर्जना गर्दछन् । विजय मल्लको ‘प्रवेशनिषिद्ध देश’ कथाले देखाएजस्तो यान्त्रिकता र सीमारेखाको कुरा अमेरिकाको रक्षाखर्च यसै गरी बढ्दै जाने हो भने निकट भविष्यमै सम्भव देखिन्छ । विजय चालिसेले ‘विज्ञानको कैदी’ कथामा देखाएजस्तो टाइमक्याप्सुलभित्र बसेर पृथ्वीको गर्भमा लुक्न जानुपर्ने अवस्था आयो भने ? पृथ्वी, मानव र यसको सभ्यतासित सम्बन्धित भविष्यका बारेमा यस्ता अनेकौँ प्रश्नहरू विज्ञानकथाले पाठकका मनमा जन्माउँछ । यसले भविष्यको सुधारका लागि अहिलेदेखि नै प्रयत्न गर्नुपर्ने तथ्य सार्वजनिक गर्दछ । यो जागरण चेतना नै विज्ञानकथाको मूलभूत कार्य हो ।

६. विज्ञानकथा र नीतिशास्त्र

नीतिशास्त्र भनेको नैतिक मूल्य र नियमबारे अध्ययन गर्ने दर्शन हो । यसले सही र गलत विचारमा आधारित रहेर निर्णय गर्न मान्छेलाई अभिप्रेरणा प्रदान गर्दछ । विज्ञान र प्रविधिमा लाग्नेहरूले तटस्थ बौद्धिकता मात्र देखाउँछन्, त्यसको उपयोगसित उनीहरूको खासै सम्बन्ध हुँदैन तर विज्ञानकथाकारमा विवेक पनि हुनुपर्छ । त्यसैले विज्ञानकथामा प्रतिबिम्बित हुने मुख्य नैतिक र आचरणगत सारवस्तुको परीक्षण र विश्लेषण नगरी त्यसले पाठकमा पार्ने प्रभावको आकलन गर्न सकिँदैन । त्यसैले विज्ञानकथा कुन उमेरका र कस्तो मनस्थिति भएका पाठकलाई पढ्न दिने भन्ने कुरासँग नीतिशास्त्रको सम्बन्ध हुन्छ भन्ने मान्यता पिन्स्की (सन् २०१०) को छ । यसका लागि निम्नलिखित तीन बुँदामा ध्यान दिनु आवश्यक छ ः

(क) समस्या समाधानमा विज्ञान–प्रविधिको उपयोग ः यसअन्तर्गत आधुनिक समाजमा मान्छेले विज्ञान–प्रविधिको उपयोग र दुरूपयोग, भौतिक वा मानसिक वातावरणमा तिनको वैकल्पिक उपयोग तथा नैतिक आचरणका दुविधा समाधान गर्नका लागि वैज्ञानिक चिन्तनको प्रभावकारिता पर्दछन् । नेपालीमा रचिएका अधिकांश विज्ञानकथामा मान्छेले विज्ञान–प्रविधिको दुरुपयोग गरेको देखिन्छ । यसले वर्तमानमा मानवीय नैतिकता ह्रास भइरहेको र भविष्यमा मान्छे अझै दानव हुँदै जाने देखाउँछ । विजय मल्लको ‘इन्जिनियरको टाउको’ कथामा आफूले अरूलाई थुन्न बनाउँदै गरेको उच्च प्रविधियुक्त जेलघरमा इन्जिनियर आफैँ थुनिएको छ भने सरुभक्तको ‘छोरी ब्रह्माण्ड’ कथामा चाहिँ पृथ्वीका मान्छेलाई जोगाउनका लागि प्रविधि उपयोग गरी वैकल्पिक ब्रह्माण्ड निर्माण गरेको देखिन्छ । शङ्कर लामिछानेको ‘त्यो कसको हो ?’ कथामा फ्रैन्क कापरा कसको पति हो भन्ने नैतिक, कानुनी दुविधा समाधान गर्न अदालतले विशेषज्ञहरूको टोलीलाई जिम्मा दिएको पाइन्छ । यसप्रकारको लेखकीय नैतिक आचरणअन्तर्गत विज्ञानकथामा विज्ञानका पूरै गलत सिद्धान्तको उपयोग गर्नुहुँदैन भन्ने पनि पर्छ । उदाहरणका लागि अत्यधिक तापबाट बच्न सक्ने कुनै तार्किक लुगा नलगाई विज्ञानकथामा मान्छे सूर्यको सतहमा उत्रिएको देखाउनु लेखकको नैतिक बेइमानी हो ।

(ख) व्यक्तिगत र सामाजिक व्यवहार ः यसअन्तर्गत अन्य ‘पक्षहरू’प्रति व्यक्ति र समाजको प्रतिक्रिया वा लैङ्गिकता, जाति र वर्गमा आधारित व्यवहार पर्दछन् । विज्ञानकथामा प्रयोग हुने ‘अन्य पक्षहरू’मा विभिन्न ग्रहहरूबाट आएका अपरिचित प्राणीहरू, परिवर्तित मानव वा निर्मित मानव (प्रतिरूप, रोबोट) आदि पर्दछन् । सरुभक्तको ‘पदार्थहरूको गीत’ कथामा पृथ्वीवासीका तर्फबाट अन्तर्निहारिका सम्मेलनमा भाग लिन अर्को ब्रह्माण्डमा गएको ‘म’पात्र त्यहाँकी सहयोगी सुन्दरीसँग मित्रता र प्रेमसम्बन्ध स्थापना गर्छ । उसमा पृथ्वीको प्रेममा पाएको धोकाको क्षतिपूर्ति गर्ने लालसा देखिन्छ । भेट हुँदा र बिदाइ लिँदा ऊ सुन्दरीसँग हात मिलाउन खोज्छ तर सुन्दरीले अस्वीकार गर्छे । सुन्दरीले आफूलाई यस्तो गर्दा ‘म’ पात्र आक्रोशित हुन्छ तर उसले त्यसो गरे विद्युतीय असन्तुलन हुन गई ‘म’ पात्रको मृत्यु हुने कुरा बताएपछि ऊ सन्तुष्ट बन्छ । यसमा ‘म’ पात्रको मानवीय अहम् र धोकाको घृणा अन्य ग्रहका जीवसमक्ष पनि प्रकट भएकाले उसको आचरणमा खराबी देखिन्छ । त्यस्तै, लेखक धोका दिने नारीप्रति त्यति सद्भाव राख्तैनन् र साटो फेर्न चाहन्छन् भन्ने कुरा सरुभक्तको ‘एउटा प्रेमको कथा जुन घटित भएको छैन’ मा पुष्टि भएको छ । विश्वविद्यालयको कक्षामा आफ्नो प्रेम गर्न अस्वीकार गर्ने केटीसँग बदला लिनका लागि केटाले उसलाई अत्यन्त सुन्दर ‘यामा’ (यन्ड्रायड वर्गको यान्त्रिक मानव) निर्माण गरेर केटीसँग प्रेम र विवाह गर्न लगाएको देखिन्छ । अन्त्यमा सुहागरात मनाउन कोठामा जाँदा मात्र केटीले सुन्दर केटो यामा भएको थाहा पाउँछे र उसको प्रतिशोध पूरा हुन्छ ।

(ग) संसार निर्माणमा विज्ञानको भूमिका ः यसअन्तर्गत युटोपिया र डिस्टोपिया तथा तिनको निर्माणमा विज्ञानको भूमिका वा अस्वीकृति आदि पर्दछन् । उदाहरणका लागि विजय मल्लको ‘प्रवेशनिषिद्ध देश’ कथामा डिस्टोपिया सिर्जना गर्नुमा विज्ञानको भूमिका सर्वोपरि देखिन्छ । मान्छेको यस्तो कुपित स्वार्थ देखेर पाठकहरूमा दिकदारी पैदा हुन्छ । सरुभक्तको ‘पदार्थहरूको गीत’ कथामा अन्तब्र्रह्माण्डीय प्राणीसँग समेत प्रेम, सद्भाव र एकताको सम्मेलन हुन सक्ने देखाएर युटोपिया संसारको निर्माणमा विज्ञान आवश्यक रहेको देखाइएको छ । यसले पाठकहरूमा मान्छेप्रति आस्था र विश्वासको भावना जागृत गर्दछ । सन् २००६ मा लन्डनको रोयल सोसाइटीबाट पदक ग्रहण गर्दै स्टेफेन हकिङले भनेका थिए— ‘एउटै ग्रहमा मानव जाति लामो समयसम्म रहनु खतराजनक हुन्छ । छिटो वा ढिलो उल्कापात वा आणविक युद्धजस्तो विपत्तिले हामीलाई यहाँबाट बढार्न सक्छ । यदि हामी एकपटक अन्तरिक्षमा छरिएर मानववस्ती बसाल्न सक्यौँ भने हाम्रो भविष्य सुरक्षित हुन सक्छ । सौर्यमण्डलमा पृथ्वीजस्तो कुनै ग्रह नभएकाले हामीलाई अर्कै तारामा बसाइँ जानुपर्छ । एपोलो जस्तो इन्धनप्रयुक्त रकेट प्रयोग गर्दा सबैभन्दा जनिकको तारासम्म पुग्न पचास हजार वर्ष लाग्छ । यो व्यवहारमा असम्भव भएकाले विज्ञानकथाले पृथक् बाटो विकसित गरेका छन् र तिनले तपाईंहरुलाई तुरुन्तै लक्ष्यमा पु¥याउँछन् ।’

भविष्यमा संसार डिस्टोपिया बन्न सक्ने आधार भनेको अहिले देखिने मानवीय प्रवृत्ति हो । यसै सन्दर्भलाई स्पष्ट पार्ने आइन्स्टाइनको भनाइ निकै घतलाग्दो छ— ‘दुई कुरा असीमित हुन्छन् ः ब्रह्माण्ड र मान्छेको मूखर्ता ।’ हुन पनि मूर्खताकै कारण नै मान्छे मात्तिन्छ, घमन्डी एवम् स्वेच्छाचारी हुन्छ र ऊ हिरण्यकशिपु, हिटलर, मुसोलिनीजस्ता क्रूर दानवमा बदलिन्छ । एउटै व्यक्तिको मदमत्तताले यस सुन्दर संसारलाई समाप्त गर्न पनि सक्छ । विजय मल्लको ‘अन्तिम भोज’ कथामा भौतिक उन्नतिले पूर्ण भयौँ भन्ने दुष्ट मान्छेहरूले पृथ्वीलाई नै नष्ट गर्ने गरी बम विष्फोट गराउने योजना बनाएको देखिन्छ । यस्तो अवस्थामा विज्ञानकथा र नीतिशास्त्रको अन्तर्सम्बन्ध खोजी गर्नु जरुरी छ र यसो गर्दा सामाजिक नीतिशास्त्र, मनोविज्ञान र भौतिक विज्ञानको अध्ययन गर्नुपर्छ । राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक परिवेशमा नैतिक मूल्यहरू पहिल्याउनका लागि विज्ञानकथाका पात्रहरूको व्यक्तिगत जीवनपद्धति, नैतिकता, एकता, मूल्यहरू र प्राथमिकताहरू आदि बुझ्न सकिन्छ । यस्तो अध्ययनबाट मान्छेका भिन्नभिन्न क्षमता, दक्षता पहिचान गरी अरूको अस्तित्व, कार्य, विश्वासप्रति आदरको भावनाको विकास गर्न सकिन्छ । त्यस्तै, जीवनमा आफ्नो धार्मिक–सांस्कृतिक सङ्कीर्णताभन्दा उदार, पवित्र, कारुणिक आदि पक्षहरूमा बहुआयामिक अन्वेषण गर्न सकिन्छ । नेपालीमा सरुभक्तका अधिकांश विज्ञानकथाहरूले मानवीय सहअस्तित्वका लागि अहम्शून्यताको सिर्जनात्मक विचारलाई अघि सारेका छन् ।

७. विज्ञानकथा र स्वैरकल्पना

विज्ञानकथा र स्वैरकल्पना दुबैमा अतिशय काल्पनिकता पाइने हुनाले कतिपयलाई यी दुईबीच अन्तर छैन कि भन्ने भ्रम पनि पर्छ । यस्तो भ्रम सामान्य पाठकमा मात्र होइन, कहिलेकाहीँ अध्ययनशील समालोचकमा पनि परेको देखिन्छ । दयाराम श्रेष्ठ (२०३९) ले विजय मल्लका विज्ञानकथालाई स्वैरकल्पना मात्र ठानेका छन् भने त्यसैको अनुकरण मधुसूदन गिरी (२०५९) ले गरेका छन् । नेपाली कथामा स्वैरकल्पनाको प्रयोगसम्बन्धी समालोचनामा गिरीले विज्ञानकथालाई पनि स्वैरकल्पनाअन्तर्गत राखेर चर्चा मात्र गरेका छैनन्, उनले विज्ञानकथा र स्वैरकल्पनाका बीच खास अन्तर नरहेको पनि बताएका छन् । उनले शङ्कर लामिछाने, विजय मल्ल, सरुभक्त आदिका विज्ञानकथालाई समेत मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, परशु प्रधान आदिका स्वैरकल्पनात्मक कथालाई जस्तै एउटै ढाँचा र आधारमा विवेचना गरेका छन् । यसले पछि आउने समालोचकहरूलाई समेत अलमल्याउने हुनाले विज्ञानकथा र स्वैरकल्पनाका बीच भिन्नता ठम्याउनु अत्यावश्यक देखिएको छ । त्यसैले यहाँ यी दुईमा पाइने भिन्नतालाई उदाहरणसहित प्रस्तुत गरिएको छ । तलका कथांश (क) र (ख) हेरौँ ः

(क) ‘पङ्खावती’ ः मोहनराज शर्मा

अहिले हो कि उहिले हो, एउटी थी केटी । केटीको नाउँ पङ्खावती ।

पङ्खावती तरुनी थी र राम्री पनि । जस्ता टोलछिमेकका अरू तन्नेरी केटी थिए त्यस्तै ऊ पनि थी, तर उसका एक जोर पखेटा पनि थिए । पखेटा फिँजाउँदा ऊ कथाकी सुन्दर परीजस्ती देखिन्थी, तर ऊ परी नभएर पखेटा भएकी मानवकन्या थी । त्यसैले उड्नुबाहेक उसका सारा कुरा मानवीय थिए वा हुन्थे ।

पङखावतीका पखेटा जन्मजात थिए, ऊ जोर पखेटासँगै जन्मेकी थी । उसको जन्म साधारण आमाबाट भएको थियो, तर पखेटाले गर्दा ऊ असाधारण बन्न पुगेकी थी । उसलाई असाधारण तुल्याउने जोर पखेटा ताडका पङ्खजस्ता बाटुला–बाटुला र बडाबडा थिए । काँधमा दुईतिर उम्रेका पङ्खाजस्ता पखेटाका कारण नै उसको नाउँ पङ्खावती रहन गएको थियो । (शर्मा, २०४५ः१९९)

(ख) ‘प्रयोग÷प्रत्यारोपण’ ः विजय चालिसे

— त श्रीमान् ! हामीले यहाँको आदेशअनुसार एउटा नयाँ पुस्ताको मानिस तयार गरेका छौँ ।

— के यो मानिसले मैले भनेजस्तै काम गर्न सक्छ ?

— निश्चय नै सक्छ । तर तपाईं कस्तो काम गराउन चाहनुहुन्छ, त्यो त्यसमा भर पर्छ । तपाईंले चाहेको मानिसमा हुनुपर्ने विशेष गुण यस पुस्ताको मानिसमा प्रत्यारोपण गर्नुपर्छ, त्यही जिन, रक्ताणु र मस्तिष्क कोषलाई विशेष रूपमा प्रत्यारोपण गर्नुपर्छ । एउटै गुण भएका यी चीजहरू एक समूहलाई प्रत्यारोपण गरेर हामी नयाँ पुस्ताको आज्ञाकारी मानव तयार गर्न सक्छौँ ।

— के तपाईं लौहमानवको त कुरा गर्दै हुनुहुन्न, रोबोटको कुरा ?

— होइन श्रीमान् ! त्यो युगले अब बिदा लिँदै छ । हामी फलामे होइन, साँच्चिकै रगत–मासुको आज्ञाकारी मानिस तयार गर्ने परीक्षणमा निकै सफल भैसकेका छौँ । (चालिसे, २०४७ः१)

माथिको उदाहरण (क) को कथामा पखेटा भएकी केटीको कुरा छ । साधारण आमाबाट बिनाप्रयास अरू सबै काम, कुरा, व्यवहार मानवजस्तै भएर पनि परीजस्तै पखेटा हुने र उड्ने केटीको जन्म हुनु कुरा हो । यस कथांशमा पङ्खावती अद्भुत रूपमा जन्मनुको कुनै तार्किक व्याख्या पनि गरिएको छैन र आवश्यक ठानिएको पनि छैन किनभने यसमा कथाकारलाई आश्चर्यजनक पात्र दिनु मात्र परेको हो, पाठकलाई विश्वास पार्न खोजिएको होइन । त्यसैले यसमा पखेटा पलाउनुको कारण नखोजी तिनको वर्णनबाट आद्भुतिकता सिर्जना मात्र गरिएको छ । अतः यो स्वैरकाल्पनिक कथाको अंश हो ।

अर्कातिर उदाहरण (ख) मा केही मान्छेहरूको समूहले मालिकको चाहनाअनुसार गुण भएका नयाँ पुस्ताका मानवहरू निर्माण गरिरहेको देखिन्छ । ती नयाँनयाँ प्रयोगमा मात्र अभिरुचि भएका, आजीवन प्रयोगशालमा भिडिरहने डाक्टर वा वैज्ञानिकहरू हुन् । यस्ता मानवको सिर्जना भविष्यमा सम्भव छ किनभने मान्छेका मृगौला, आँखा, रगत आदि अंगहरू चिकित्सकहरूले प्रत्यारोपण गरिरहेका छन् भने टिस्युकल्चर गरेर चाहेअनुसार विशेषता भएका अनेकाँै बोटबिरुवा र पशुपक्षी उत्पादन भइरहेको छ । वर्तमानको यही वैज्ञानिक आधारमा टेकेर अङ्ग प्रत्यारोपण तथा आज्ञाकारी विशेषताका मानिस बनाउने कुरा गरिएकाले यसको सिर्जनाप्रक्रियासमेत तर्कसम्मत देखिन्छ । त्यसैले यसमा कारणको स्पष्टीकरण समेत दिइएको हो । अतः यो विज्ञानकथाको अंश हो ।

बुँदागत रूपमा हेर्दा विज्ञानकथा र स्वैरकल्पनामा पाइने केही भिन्नताहरू यसप्रकार छन् ः

१. विज्ञानकथाको आधार विज्ञान हुनाले यो सम्भव हुन सक्छ तर स्वैरकल्पनाको कुनै यथार्थमूलक आधार नहुनाले त्यो असम्भव हुन्छ । स्वैरकल्पना कुनै समयमा सत्य ठहरिएला वा जीवनमा लागु हुन सक्ला भनेर रचिएको पनि हुँदैन ।

२. विज्ञानकथा तथ्यमा अडेको हुन्छ तर स्वैरकल्पना केवल कल्पनात्मक हुनाले तथ्यसँग त्यसको कुनै सम्बन्ध रहँदैन । त्यसैले विज्ञानकथामा जस्तो स्वैरकल्पनालाई तथ्यगत हो भनी देखाउने कुनै आवश्यकता पर्दैन ।

३. विज्ञानकथा वास्तविक जीवनका वस्तु र वैज्ञानिक प्रविधिसँग कुनै न कुनै रूपबाट जोडिएको हुन्छ तर स्वैरकल्पनाको वस्तविक जीवनमा कुनै साइनो हुँदैन । त्यसैले स्वैरकल्पना प्रतीकात्मक वा अन्योक्तिमूलक हुन सक्छ ।

४. विज्ञानकथामा भन्दा स्वैरकल्पनाका कथानक, पात्र वा सारवस्तुमा अलौकिक स्वरूप र जादुगरीको अत्यधिक प्रयोग पाइन्छ । विज्ञानकथामा कुनै प्रकारको विद्युत्चार्ज गरिएको लट्ठीले छोएर मान्छेलाई बेहोस बनाउने कुरा हुन सक्छ तर राक्षसले सुनको लट्ठीले छाएर राजकुमारीलाई बेहोस गराउने कुरा स्वैरकल्पनामा मात्र सम्भव हुन्छ ।

५. स्वैरकल्पनाको तुलतनामा विज्ञानकथाका काल्पनिक तत्त्वहरू अधिक सम्भावनायुक्त हुन्छन् । सिंह र मान्छेको क्रोमोजोम संख्या फरक हुने भएकाले वर्तमान खोजका आधारमा नृसिंहको सिर्जना केवल स्वैरकल्पना हो भने एउटा मान्छेको शरीर र अर्काको टाउको जोडेर शङ्कर लामिछानेले विज्ञानकथामा फ्रैङ्क कापरा बनाउनु यथार्थमा पनि अधिक सम्भव छ ।

६. बाह्य रूपमा हेर्दा विज्ञानकथाको कथानक, पात्र र सारवस्तु यथार्थसँग विपरीत देखिए पनि ती त्यस कृतिभित्रकै कुनै आविष्कार वा पूर्वस्थापनाहरूका तार्किक सूत्रमा बाँधिएका हुन्छन् तर स्वैरकल्पनामा त्यस्तो तार्किक सूत्रको अभाव हुन्छ । परशु प्रधानको ‘चेष्टा ! चेष्टा !! चेष्टा !!!’ कथामा पोखरीमा डुबेर निस्कँदा केटीको लिङ्ग परिवर्तन भएको घटना स्वैरकल्पना हो । अर्कातिर अमोददेव भट्टराईको ‘सिर्जना र दृष्टि’ कथामा रञ्जु नामकी केटीलाई रोबोटले भगाएर पत्नी बनाउन लगेको छ तर त्यसअघिका घटना, वैज्ञानिकको समस्या समाधान प्रक्रिया र सुन्दरी रञ्जुका क्रियाकलापहरूलाई हेर्दा रोबोटको कार्य पनि तर्कसम्मत देखिन्छ । रञ्जुमा जिद्दी प्रवृत्ति छ र उनी प्रकृतिले सबैको सुरक्षा गर्छ भन्ने मान्यतामा दृढ छिन् । उनले मेसिनलाई ‘आफू कुरूप भएर बिहे हुन नसकेकाले उपयुक्त वर कहाँ होला’ भन्ने प्रश्न सोधिन् र मेसिनको उत्तरमा सर्वोत्कृष्ट वर मिलाइदिने प्रस्ताव आयो । उनले त्यो कुरा स्वीकार गर्नासाथ मेसिनबाट एउटा कालो ठूलो रोबोट निस्क्यो र रञ्जुको सिउँदोमा सिन्दुर हालेर कोठाभित्र पस्यो । मान्छेहरूले भित्तामा हिर्काउन थालेपछि रोबोट छानो फोडेर आकाशमा बेपत्ता भयो । यसरी विज्ञानकथाले पाठकमा यथार्थको भ्रम सिर्जना गर्दछ ।

७. विज्ञानकथामा सम्भव हुने खालका वैकल्पिक इतिहास, समय, वस्तु आदिका प्रक्रियाबारे वर्णन गरिन्छ तर स्वैरकल्पनाले कहिल्यै हुन नसक्ने खालका वस्तुको वर्णन गर्दछ । रमेश विकलको ‘के ऊ साँच्चै स्वर्ग गयो ?’ कथामा हाम्रा पुराणमा वर्णित स्वर्ग भनेको पृथ्वीका मान्छेभन्दा उन्नत प्राणी बस्ने अर्को कुनै ग्रह हुन सक्छ भनेर अल्बर्ट शर्मा विचित्रको यान लिएर खोजमा हिँड्छ र हराउँछ । उसको चिन्तनमा वैकल्पिकता छ, न्यसैले अरू उसलाई हाँसोमा उडाउँछन् । विजय चालिसेको ‘प्रलयको तयारीमा’ कथामा हिमयुगको आगमन हुने सन्दर्भ छ तर पृथ्वीको हिमयुग त करोडौँ वर्षअघि बितिसकेको छ । हिउँबाट बच्न वैज्ञानिक केदार क्याप्सुलमा बसेर सपरिवार पृथ्वीको केन्द्रतिर जान्छ किनभने सतहमा भन्दा पृथ्वीको केन्द्रमा बढी तातो हुन्छ । अरू कथामा पृथ्वीबाट अन्य ग्रह वा अन्तरिक्षमा शरण लिन गएको देखिन्छ तर यसमा वैकल्पिक बाटो खोजिएको छ । अर्कातिर मोहनराज शर्माको ‘माछो कथा’ स्वैरकाल्पनिक हुनाले यसमा नदीमा माछा मार्दा बल्छीमा उनिएर बगरमा पछारिका माछाहरू सुन्दरी मत्स्यगन्धा, आदर्शवादी मत्सेन्द्र र खलनायक मच्छेमान बनेका छन् । त्यसैले स्वैरकल्पनामा दिवास्वप्नको विशेषता पाइन्छ ।

८. जतिसुकै प्रयास गरे पनि स्वैरकाल्पनिक कथाको परिवेशमा पुग्ने कुनै सांसारिक बाटो हुँदैन किनभने भूतप्रेत, जादुगरी तथा अलौकिक शक्तिले हाम्रो ब्रह्माण्डमा काम गर्दैनन् तर विज्ञानकथामा भने समयक्रममा विज्ञानले समाजमा ल्याउने परिवर्तनका कारण सत्याभास हुने त्यस्तो कुनै बाटो खुला हुन्छ । खगेन्द्र सङ्ग्रौलाको ‘बाँसुरीधर’ कथामा गुलेलीधरसित एउटा गुलेली छ, जसले हानेको मट्याङ्ग्रो पखेटामा फेरिन्छ र गरिबका खुट्टामा टाँसिन्छ । त्यस्तै, उसले फू...मन्तर गनासाथ त्यो मट्याङ्ग्रो फलामको हात भएर निरीह मान्छेको हातमा जोडिन्छ र त्यस मान्छेले गुन्डाहरूलाई कायल पार्छ । स्वैरकल्पनामा यस्ता अलौकिक र जादुमा आधारित परिवेश र घटनाहरू हुन्छन् । तर, विज्ञानकथामा असम्भव कुरा पनि सत्यजस्तै लाग्छ । इन्दिरा प्रसाईंको ‘नौ नम्बरकी’ विज्ञानकथा भएकाले पृष्ठभूमि पढ्दै जाँदा यसको मान्छे उत्पादन गर्ने प्रयोगशाला, नम्बर लगाइएका मान्छे र रामबहादुरको नौ नम्बरकी केटीप्रतिको मोह, कोठामा लगेर गरेको सम्भोगको तयारी तर केटीको थिथिलता स्वाभाविकजस्तो लाग्छ ।

९. मूलतः स्वैरकल्पना र हाम्रो यथार्थका बीचमा निरन्तरता विच्छेद हुन्छ तर विज्ञानकथा र हाम्रो यथार्थका बीचमा निरन्तरता रहन्छ । रोचक स्वैरकल्पना प्रयुक्त किशोर पहाडीको ‘सर्वज्ञ र सेक्स’ कथामा टेबलको गिलासमा राखिएको कलमले कथाकार पात्रकी पत्नीको अनैतिक क्रियाकलाप देख्छ तर त्यही कलमद्वारा कथाकार आफ्नी पत्नीको आत्मीयता र विश्वासबारे डायरी लेख्छ । कथा पढ्न थाल्दा नै हाम्रो यथार्थ र उक्त स्वैरकल्पनाका बीच सम्बन्ध चुँडिन्छ अनि ती घटनाको प्रतीकात्मक वा अन्योक्तिमूलक अर्थ खोज्न थालिन्छ । विज्ञानकथा पढ्दा भने त्यसको संचरनामा पाठक आफैँ पसेको अनुभूत गर्छ । महेशविक्रम शाहको ‘प्रकृति र मान्छे’ कथामा युगौँपछि यन्त्रमानवको बाजेले नातिलाई मान्छेका बारेमा कथा सुनाएको देखिन्छ तर पनि ती बाजेनाति मानवीय प्रवृत्तिका हुनाले हाम्रै नजिकका जस्ता लाग्छन् । यो कथा पढ्दा हामीलाई पराई परिवेशको लाग्दैन ।

समग्रमा स्वैरकल्पना चारओटा विश्वव्यापी नियमहरूमा आधारित हुन्छ ः अभिलाषा, दूरबोध, रहस्यमय जादु र तन्त्रमन्त्रको शक्ति तर यी कुरामा आधुनिक मानवको विश्वास छैन । वास्तवमा विज्ञानकथामा रहस्यलाई बुझ्न सकेर पाठक परिवर्तित हुन्छ भने स्वैरकल्पनामा रहस्यले आश्चर्यचकित पार्ने हुनाले मात्र मन पराइन्छ ।

४. समापन ः नेपाली विज्ञानकथाको लेखन र अध्ययनमा चासो

शरद् छेत्री (सन् १९८०) ले शङ्कर लामिछानेका विज्ञानकथाहरूको समालोचना गर्दा नेपाली समाजको दयनीय अवस्था र विज्ञानकथाको आवश्यकता औँल्याएर लेखेका छन् ः

... विज्ञान आधुनिकताको वाहक, यथार्थताको चेतना र जीवननिर्णयको सम्यक् दृष्टि हो— तसर्थ विज्ञान फैलिएको आकाश अनुभव नगर्नु जस्तो दुर्भाग्यको विषय मानव समाजका निमित्त प्रस्तर युगबाट अझसम्म सभ्य नबन्नुको द्योतक हुन्छ । त्यसर्थ जनसमूहमा विज्ञानको किरण वितरण विस्तार गर्ने कार्यको नितान्त आवश्यकता पर्दछ । यो आवश्यकता अहिलेको समाजलाई प्रत्येक बिहान सूर्य उदाउने कार्य जस्तै महत्त्वपूर्ण छ । अतः विज्ञानको आविष्कार र प्रवाहलाई पुरोहितको मंत्रोच्चारण जस्तो नीरस तवरले नभनेर कुनै पात्र–पात्रीमा घटनाक्रम विकसित गर्दै कथाको रूपमा प्रसार गरे जनसमूहमा त्यो अति ग्राह्य बन्न सक्छ । किनभने हाम्रा पाठकहरू अझसम्म विज्ञानको बुनियाद नभएका धर्मभीरु एवम् पुरानो वेदान्त दर्शन तथा सांख्य दर्शनले ग्रस्त भएका छन् । तिनीहरू जीवनको ठीक अर्थ बुझ्नुभन्दा ज्यादातर संसार मिथ्या हो भन्न रुचाउँछन् । त्यसर्थ तिनीहरूमा एकै चोटि विज्ञानको सत्यताले आक्रमण गर्न अति अयथार्थिक र अप्रिय बन्दछ— तर कथाको आवरणमा विज्ञानको सत्य भित्र्याए समयान्तरमा त्यही अपाच्य विज्ञान क्रमशः पाच्य र प्रिय बन्दै जानेछ । (४७)

छेत्रीले गरेको उपर्युक्त विवेचनाबाट नेपाली विज्ञानकथाको क्षेत्र सङ्कुचित रहिरहनुका दुईओटा कारण देखिन्छन् ः एउटा नेपाली पाठकको रूढिवादी चेतना र अर्को विज्ञानको सत्य अस्वीकार गर्ने प्रवृत्ति । उनले सङ्केत गरेको समयताका नेपाली विज्ञानकथाको आवरणमा विज्ञानको सत्य राम्ररी भित्रिन सकेको पनि थिएन तर अहिले त्यस्तो अवस्था छैन । विज्ञानकथाका लेखकहरू बालसाहित्यदेखि नै सचेततापूर्वक लागिरहेका छन् । यस सन्दर्भमा कविताराम, गोरखबहादुर सिंह, विजय चालिसे, विनय कसजू, ध्रुव घिमिरे, कपिल लामिछाने आदिको सक्रियता प्रशंसनीय देखिन्छ । यान्त्रिक, साहसिक र सामाजिक तीनै खाले विज्ञानकथाहरू नेपालीमा रचिएका छन् । सरुभक्तका विज्ञानकथाले विज्ञानकथालाई निरन्तर प्रमुख कार्यक्षेत्र बनाएर विश्वमानवतावाद र अन्तग्र्रहीय प्रेमको सुसन्देश पनि दिन सकेका छन् । शङ्कर लामिछाने, विजय मल्ल, रमेश विकल, मदनमणि दीक्षित, कवितारामजस्ता नेपाली कथाका हस्तीहरूले पनि विज्ञानकथा सिर्जना गर्नु गौरवको कुरा हो भने समसामयिक कथामा आफ्नो दह्रो परिचय देखाइरहेका विजय चालिसे र सरुभक्तका अतिरिक्त गोरखबहादुर सिंह, इन्दिरा प्रसाईं, गोविन्दप्रसाद कुसुम, अमोददेव भट्टराई, महेशविक्रम शाह आदि पनि विज्ञानकथामा प्रवेश गर्नु उत्साहबद्र्धक सङ्केत हो । मृत शरीरलाई पुनर्जीवन दिन सफल वैज्ञानिक चमत्कारको कथा समेटिएको उमेश उपाध्यायको कालान्तरमा फेरि (२०५८) र वातावरणीय चासोका साथ कम्प्युटर उच्चप्रविधिको प्रयोग गरिएको टङ्क चौलागाईंको जिरो कटेज (२०६८) जस्ता नेपाली विज्ञान उपन्यासहरु प्रकाशन हुनुलाई वर्तमानको एउटा शुभसङ्केत मान्न सकिन्छ ।

विज्ञान र र प्रविधिको उच्चस्तरीय प्रयोग गरिरहँदा पनि नेपालीमा कम विज्ञानकथा लेखिनु, कम पढिनु र कम चर्चा गरिनुको कारण खोज्नु जरुरी छ । यसको एउटा कारण हो— विज्ञानकथाको लेखन, पठन र अध्ययनमा युवाहरूको शिथिलता । अर्को कारण हो— विज्ञान पढेका र यसको ज्ञान भएकाहरूले विज्ञानसाहित्यमा देखाउने निष्क्रियता । तेस्रो कारण हो— पाठकहरूको मनमस्तिष्क हल्लाउन सक्ने सामाजिक विज्ञानकथाको कमी । चौथो कारण हो— विज्ञानकथालाई नकारात्मक र महत्त्वहीन ठान्ने कथासमालोचकहरूको अवधारणा ।

नेपाली विज्ञानकथाको प्रकाशनको सात दशक बितिसेको छ । यस क्रममा सरुभक्तका एक अभिनवको आत्मकथा (२०४), छोरी ब्रह्माण्ड (२०४७), यामागल (२०५४) र पदार्थहरूको गीत (२०६३) गरी चारओटा विज्ञानकथाका सङ्ग्रहहरू सार्वजनिक भइसकेका छन् । यान्त्रिक र साहसिक प्रकारका भएकाले उनका विज्ञानकथा ब्रह्माण्डका नवीन सिद्धान्त, अन्तर्ग्रहीय यात्रा, बाह्य मानवसँग सम्बन्ध तथा रोबोटहरूको चलखेलमा अधिक रमाएका छन् । केही जटिलता र बढी लामा भए पनि तिनमा मानवतादी विचारको सघनता पाइन्छ ।

नेपालीमा विज्ञानकथाबारे भएका समालोचनाको चर्चा गर्दा वासु रिमाल यात्री (२०२७) बाट प्रारम्भ गर्नुपर्छ । उनले शङ्कर लामिछानेका विज्ञानकथालाई आत्माजस्तो अप्रमाणित कुरालाई महत्त्व दिएको, प्रविधिको प्रक्रिया देखाइएको भनी नकारात्मक रूपले मूल्यांकन गरेका छन् । यसरी सुरु भएको विज्ञानकथाको अध्ययनमा शरद् छेत्री (सन् १९८०), लक्ष्मीशरण अधिकारी (२०५२), विजय चालिसे (२०६१, २०६८), सुनील पोखरेल (२०६३, २०६७) हुँदै इशान गौतम (२०६७) सम्म आइपुग्दा आशाका नयाँ किरणहरू देखिएका छन् । २०६७ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको विज्ञानकविता गोष्ठी विज्ञानसाहित्यप्रति अभिरुचि जगाउने दिशामा एउटा असल सुरुवात हो । यस्ता कार्यमा दुई दशकअघि गठित नेपाल विज्ञानसाहित्य समाजजस्ता संस्थाहरूसमेत सक्रिय हुन सकेदेखि यसमा जागरण पनि आउन सक्छ ।

समष्टिमा भन्दा विज्ञानकथा आधारभूत रूपमा विज्ञानले समाज र व्यक्तिमाथि पार्ने तथ्यपरक वा सम्भावित प्रभाव चित्रण गर्ने आख्यान हो । तीव्र परिवर्तनशील प्रविधि, जीवविज्ञान र चिकित्साक्षेत्रमा उठेका नैतिक प्रश्नहरू तथा आमसञ्चारका कारण हुर्किंदै गरेको कृत्रिमताले गाँजेको आजको विश्वमा देखिएका दुर्दशा र तिनको समाधानबारे चिन्तन गर्ने–गराउने क्षमता विज्ञानकथामा छ । त्यसैले यसलाई अति सैद्धान्तिक यान्त्रिकता, निराशापूर्ण भविष्यको सन्त्रास वा हल्का मनोरञ्जनको सीमामा मात्र नबाँधी सामाजिक पुनर्निर्माणको साधनका रूपमा उपायोग गर्न सकियो भने नेपाली विज्ञानकथाको भूमिका नेपाली साहित्यको इतिहासमा पनि उल्लेखनीय ठहरिनेछ ।

सन्दर्भ विवरण:-

अधिकारी, लक्ष्मीशरण. २०५२. ‘विज्ञान साहित्यका स्रष्टा र सिर्जना’. मधुपर्क. २८ः११. पृ.५—९ ।

आसिमोभ, आइज्याक. सन् १९८३. आसिमोभ अन साइन्स फिक्सन. न्यू योर्कः डबलडे ब्रोडवे पब्लिसिङ ग्रुप ।

एटम, नेत्र. २०६२. सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा. काठमाडौँः तन्नेरी प्रकाशन ।

क्यासिओ, जमाइस. सन् २००५. “लर्निङ इथिक्स फ्रम साइन्स फिक्सन”. वेब. ृदाखिला ६.२४. सन् २०११

http://ieet.org/index.php/IEET/more/253/

गिरी, मधुसूदन. २०५९. ‘स्वैरकल्पना र नेपाली कथामा यसको प्रयोग’. समकालीन साहित्य. १२ः३. पृ.७१—९७ ।

गौतम, इशान. २०६७. ‘विज्ञानआख्यानको पुनव्र्याख्या जरुरी’. राजधानी (दैनिक). फागुन ८ ।

गौतम, देवीप्रसाद र कृष्णप्रसाद घिमिरे (सम्पा.) २०६८. आधुनिक नेपाली कथा (भाग ३). ललितपुरः साझा प्रकाशन ।

चालिसे, विजय. २०४७. प्रयोग÷प्रत्यारोपण. ललितपुरः साझा प्रकाशन ।

२०६१. ‘विज्ञानकथा र नेपाली विज्ञानकथा अध्ययनको आवश्यकता’. दायित्व. १८ः५०. पृ.११४—११७ ।

२०६८. ‘विज्ञान कथासाहित्य र नेपालको स्थिति’. समकालीन साहित्य. अंक २, पूर्णांक ६४. पृ.९—२२ ।

छेत्री, शरद्. सन् १९८०. केही रेखांकन ः केही समालोचना. दार्जिलिङः श्याम ब्रदर्स प्रकाशन ।

पिन्स्किी, मिसेल. सन् २०१०. फ्युचर प्रिजेन्टः इथिक्स यान्ड÷याज साइन्स फिक्सन. न्यू जर्सीः एसोसिएटेड युनिभर्सिटी प्रेसेज ।

पोखरेल, सुनील. २०६३. ‘नेपाली विज्ञानकथाको विश्लेषण’. नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।

(सम्पा.) २०६७. नेपाली विज्ञानकथासङ्ग्रह. ललितपुरः साझा प्रकाशन ।

रिमाल यात्री, वासु. २०२७. ‘गौँथलीको गुँड ः एक दृष्टि’. मधुपर्क. ३ः६. पृ.७४—८५ ।

शर्मा, मोहनराज. २०४५. ‘पङ्खावती’. नेपाली कथाका समकालीन सन्दर्भहरू. सम्पा. दयाराम श्रेष्ठ. काठमाडौँः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पृ.१९९—२०५ ।

२०५०. कथाको विकासप्रक्रिया. दोस्रोपटक, ललितपुरः साझा प्रकाशन ।

श्रेष्ठ, दयाराम. सम्पा. २०३९. पच्चीस वर्षका नेपाली कथा. काठमाडौँः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

सम्पा. २०४५. नेपाली कथाका समकालीन सन्दर्भहरू. काठमाडौँः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

सरुभक्त. २०४७. छोरी ब्रह्माण्ड. काठमाडौँः भारद्वाज प्रकाशन ।

२०५४. यामागल. काठमाडाँैः तन्नेरी प्रकाशन ।

२०६३. पदार्थहरूको गीत. काठमाडाँैः रत्न पुस्तक भण्डार ।

हकिङ, स्टेफेन. सन् . सन् १९९८. अ ब्रिफ हिस्ट्री अफ टाइम. दि अपडेटेड एक्सपान्डेड टेन्थ एनिभर्सरी इडिसन. न्यू योर्क, लन्डनः बान्टम बुक्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।