14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आँसुको लिपि

कविता साम्ब ढकाल August 17, 2012, 3:17 am

डबडबाएका आँखाले भुल्भुलाएका आँसु

गालामाथि डाम बनाएर हिँड्न थाले पछि

त्यो डाम आँसुकै लिपिजस्तो लाग्दो रहेछ ।

आँसुले बाधाका सबै खरपस नाघ्न अह्राएको थियो

अनेकौँ यामहरू अँध्यारैमा बितेको कथा आमाले आँसुले नै सुनाईन्

आँसुका धेरै महानदी बगे आँखाबाट फाल हाल्दै अनुहारको छङ्गाछुर भीरैभीर

साहसको हिमाल काँधमाथि बोक्ने धैर्यता

आँसुकै नदी किनारामा अल्झेको छ ।

आँसुका लिपि नपढ्न आँसुबाट टाढा रहेँ हरपल

अभेद्य मनका पर्खालहरूमा आँसु निषेधका पर्चा खुबै टासें

हिँडे कन्टकाकीर्ण बाङ्गाटिङ्गा र लामालामा बाटाहरू

सहें बचन आफन्तजस्ता पराईको र पराईजस्ता आफन्तका अनेकन

लक्षभेदनका हरेक प्रहार असफल हुँदा हुँदै प्रहारहरू गर्न छोडिएन

बलात् पढ्न लगाईयो अहोरात्र आँसुका लिपिहरू ।

आँसुका नाजुक ढिक्काहरू परेलीमै अड्याईयो

दुश्मनले गनिरहेको यातनाका अल्टिमेटमजस्तै

दिनहरू बिहानी भएर आउँदा

बाँकी गहभरीको आँसु लुकाउनै सकेनन् मान्छेहरूले

गाउन थाले आँसुको लिपिमा आफ्नै गीत ।

सकेसम्म गाउनै नपरे हुन्थ्यो भनि रहे पनि

आँसुगीत जीवनका गल्छेडामा अल्झिरहेका हुँदारहेछन्

जिन्दगीका आयाम नयाँ आयतनमा तन्काउन

मैले जब्बर अठोट लिएर बसेको छु आँसुका लिपि नपढ्न

म भन्न सक्दिनँ

कसले लेख्न लगायो आँसुको लिपि मान्छेलाई ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।