18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गोष्ठी

कविता जगदीश घिमिरे August 17, 2012, 4:25 pm

ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा

ठूला टाउका ठूलो गिदी

ठूला कहलाइएका मान्छेका माझमा

वाद हुनेछ

विवाद हुनेछ

प्रतिवाद हुनेछ

भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ

हाम्रा पीरमर्काका कुराहरू

हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू

हामीमाथि श्रध्दा आस्था

आजका अन्धकार छिँडीका अन्धकारमा

भोलि घाम लाग्ने सपनाहरू

आयोजक कोही होस् समस्या कस्तै होस् बोल्ने कुर्लने

तिघ्रा ठटाउने पहलमान कुनै होस्

नाफा हुँदा नर नाफा नहुँदा नारी वा जे पनि हुने नेता कुनै होस्

समुद्र नै फड्कने सञ्जीवनी पर्वत उचाल्ने हनुमान् कुनै होस्

अभिनेता कुनै होस् पत्रकार कुनै होस् बुध्दि बेचेको

बुध्दिवादी–अवसरवादी कुनै होस् – केही फरक पर्दैन

कसैको पनि कसैसँग पति वा पत्नी

कसैसँग कसैको मुलुक

कसैको कसैसँग सिध्दान्त

साटिनुको केही अर्थ छैन

कसैको भाषण कसैका नाउँमा छापियोस् कसैको टाउको

कसैका गीँडमा पलाओस् कसैको नाकको टुप्पामा

चक्षु पलाओस् – केही अर्थ छैन

सब जनतालाई धोखा दिने हुन् –

पदका लागि

प्रतिष्ठाका लागि

शक्तिका लागि

पेटका लागि

नरका लागि

नारीका लागि

रक्सीका लागि

यिनीहरू रछानलाई चिनी–चिनी अरू अगाडि

नचिने झैँ गरिदिन सक्छन्

कुह्यानलाई प्रतिष्ठान भनिदिन सक्छन्

मुखलाई चर्पी स्वीकार गर्छन्

हाम्रा अगुवाहरूको लस्कर अघि लागेको छ

हामी बिचरा बचेराहरूलाई उपदेश दिँदै चन्द्र विजय गर्न

हामी निहुरिन सिपालु छौँ योग्य नागरिकझैँ

योग्य राष्ट्र–राष्ट्रवादीझैँ योग्य शिष्यझैँ योग्य पुत्रझैँ

योग्य रैतीझैँ योग्य पछुवाझैँ

यस नयाँ हिमयुगमा

यस हिमनदीको भेलमा

भनन बिन्ती हामी कहाँ छौँ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।