18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मायादेवी सुब्बाको 'पश्चताप' लघुउपन्यास एक झलक

कृति/समीक्षा सदानन्द अभागी August 26, 2012, 6:12 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

मायादेवी सुब्बाद्वारा सिर्जित ”पश्चताप” लघु उपन्यास पहिलो संस्करण विष्णु राईले (गोरखपुर) सम्बत २०२० र दोस्रो संस्करण २०६६ सालमा नइ प्रकाशनले प्रकाशन गरेको छ। कृतिको आकार ५२ पृष्ठको छ। यसको मूल्य पचास रुपियाँ छ। कृतिको अघिल्लो आवरणमा मायादेवी सुब्बाको तस्बिर छ भने पछिल्लो आवरण पृष्ठमा सौजन्य भनि श्रीमती मीना देवान जोशीको तस्बिरको साथै बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको पश्चतापको बारेमा अमूल्यवाणी पोख्नु भएको छ। यस उपन्यास सम्बन्धमा इन्दिरा प्रसाई लेख्नु हुन्छ – 'पश्चताप' रामराज्यको आदर्शको सरोफेरोमा पारिवारिक र सामाजिक अखण्डता र सामाञ्जस्ताप्रति सचेत देखिन्छ ।' प्रकाशकीय शीर्षकमा नइ प्रकाशनको अभिव्यक्ति यस प्रकार छ – 'अम्वालिकादेवी र पवन कुमारी देवीको योगदानसँगसँगै सुब्बाले पनि नेपाली उपन्यासमा आफ्नो हस्ताक्षर बनाएकी छिन् । 'भन्नुपर्ने' शीर्षकमा सम्पादक लेखनी भनि (नाम नलेखिएको) 'कथा बस्तुको चित्रण गरिदा मनोवैज्ञानिक स्थान आदर्शवादमा प्रतिबिम्बित भएको सुस्पष्ट छदै छ।' श्री महेन्द्र–रत्न कलेजका तत्कालिन प्रिन्सिपल खगेन्द्रनाथ शर्मा लेख्नुहुन्छ –'यसमा नेपालको सामाजिक तथा अर्थिक छाप परेको देखिन्छ।' मायादेवी सुब्बाको सङ्िक्षप्त परिचय' शीर्षकमा बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाई लेख्नुहुन्छ– उनी मन बचन र कर्मले जनसेवामा जुट्ने प्रकृतिकी थिइन् । उनी जति नरम थिइन् त्यति नै क्रान्तिकारी स्वभावकी पनि थिइन्।' “पश्चताप” नारीहस्ताक्षरमा तेस्रो स्थान ओगट्न सफल उपन्यास हो भनिन्छ। अर्थात मायादेवी सुब्बा नेपाली भाषासाहित्यमा नारी उपन्यास लेखन क्रममा तेस्रो उपन्यासकारको रूपमा स्थापित नाम हो भनिन्छ ।

मायादेवी सुब्बाको जीवनी र कृतित्व–

बास्तवमा माया देवी सुब्बालाई नत देख्ने नै सौभाग्य मिल्यो नत उनको बारेमा यथार्थ बिबरण पढ्न नै पाएको छु। यसमा जे लेखेको छु त्यो सबै बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईज्यूको भूमिकालाई नै सङ्क्षेप्तिकरण गरेको छु भन्न ठीक होला। मायादेवी सुब्बाको जन्म सम्बत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा पिता सरदार मदनदास सुब्बा र माता वोधकुमारी सुब्बाकी जेष्ठ सुपुत्रीको रूपमा भएको थियो। उनको अध्ययन बुबाबाटै थालनी भए पनि दार्जिलिङको मिसिनरी गर्ल्स स्कुलमा शिशु कक्षादेखि एस एल सीसम्म भएको थियो। अध्ययन हुँदा हुँदै उनको बिबाह १६ बर्षको उमेरमा इलाम नेपालका निवासी एक सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील, नारीशिक्ष, नारीहित, नारीजागरणको क्षेत्रमा आफ्नो साराजीवन अर्पणकर्ता पदमबहादुर देवानसँग भएको थियो। यी दुबै समाजसेवीको जीवन सुखमयरूपमा वितेको देखिन्छ। यी दम्पतिका चार छोरी रुद्रकुमारी श्रेष्ठ, उषा महरा, मीना जोशी, र मुक्ता श्रेष्ठ साथै तीन छोरा अशोक देवान, उदय देवान, अनुप देवान छन्।

मायादेवीको लेखन तथा सम्पादन –

माया देवीले एक कथाकार, नाटककार, चित्रकार, गीतकार कविको साथै सम्पादकको रूपमा आफ्नो स्थान ओगटेको देखिन्छ। यिनको 'ममता' नामक कविता घाँसी'मा प्रकाशन भएको र यसले धेरै चस्का लगाएको, सरस्वती राईसँग मिलेर 'पालुवा' नामक हस्तलिखित पत्रिकामा प्रकाशन भएको पागल ! पागल ! नाटकले निकै चर्चा पाएको कुरा नरेन्द्रराज प्रसाईले लेख्नु भएको छ । मायदेवी सुब्बाका लेख रचनाहरू सौगात, जुनेली, महिला बोल्छिन्, भानु, पारिजात, रत्नश्री आदि पत्रिकामा प्रकाशन हुने गरेको जानकारी मिल्छ तापनि यी सबै आज आएर खोजको विषय भएका छन्। कृतिको रूपमा भने २०२०सालमा 'पश्चताप' उपन्यास र 'विलौना' कथासङ्ग्रह प्रकाशनमा आएका थिए।

समाजसेवा र माया देवीको देहावसान

मायादेवीले आफ्नो सारा जीवन समाजसेवामा बिताउनु भयो। उहाँ गुरुआमाको नामले चिनिनुहुन्छ। गरिब दु:खी असाहायलाई करुणा देखाउने, नारीउत्थानमा डटेर लाग्ने, सिक्षा सेवामा प्राप्त सुविधा तथा आफ्नो पौरखले आर्जन गरेको जति सरस्वती कन्या स्कुलमा लगाउने, २००३ सालमै नारीका लागि औपचारिक शिक्षाको थालनी, उनकै पहलमा २००९सालमा इलाममा सरस्वती कन्या हाइस्कुलको स्थापनाजस्ता गहन सामासजिक सेवामा आफ्नो सारा जीवन व्यतित गरेको यथार्थता भूमिकामा नरेन्द्रराज प्रसाईले. व्याक्त गर्नु भएको छ। अत यस्ती साहित्यकार, समाजसेवी, राष्ट्रप्रेमी, कुशल गृहणीको २०४९साल फाल्गुण १३ गते काठमाण्डौमा उच्चरक्तचाप र प्यारालाइसिस भएर देहावसान भयो।

उपन्यासको कथासार

बिराटनगर औद्योगिक नगरीमा सरमचन्द्र र केशवचन्द्र विद्वान र सज्जन, मिलनसार, मृदुभाषी, विनयी र दयालु उद्योगपति खानदानीय दाजुभाई थिए। सरमचन्द्रको बिबाह एउटा कुसल सहनशील, सुशीला, बिबाह अगाडी नै बाबुबाट साधुत्वको शिक्षा प्राप्तगरेकी, मसिनो मीठो बोलीबचन भएकी बुद्धिमानी र दूरदर्शी विमलासँग भएको थियो। यिनीबाट को शेखर नामको छोरा जन्म्यो। शेखर पनि पढाईमा डाक्टर भएर देशको सेवा गर्न थाल्यो। विमलाले सरमचन्द्रको अवशान पछि पनि आफ्नो खानदान, उद्योग, समाज र देवर र देउरानी तथा देवरको छोराप्रति राम्रो ध्यान दिन्थिन् । आफ्नो कुशल व्यवहारले गर्दा सबै क्षेत्रमा सफलताको साथमा अघि बढेकी थिइन् । केशवचन्द्रको बिबाह मुखाले इर्षा, डाहा गर्ने, अदूरदर्शी कचकचे लक्ष्मीसँग भएको थियो। उनीबाट शंकर नामको छोरा जन्म्यो। जो वि.ए पढ्दै थियो। शंकर एउटा मिथ्याभिमानी, दुष्चरित्र भएको, सिनेमा पिक्निकपार्टीमा भागलिने, रक्सी, नाचगान मोजमस्ती, आदिमा लिप्त हुने भएकोले घरबाट दिने गरेको खर्चले कहिल्यै पुग्दैनथ्यो।

केशवचन्द्रको गजवीर नामक साथी थियो । उसकी पत्नी बिते पछि गजवीरले आफ्नो सम्पतिको साथै दश बर्षीया टुहुरी छोरी विन्दुको विवाह शंकरसँग गरिदिने अन्तिम इच्छ्या प्रकट गर्दे स्वर्गारोहण हुन्छ । केशवले बिन्दुले एस एल सी पास गरे पछि शंकरसँग विवाहको प्रस्ताव लक्ष्मीसँग राखे तर लक्ष्मीले ठाडै अस्वीकार गरिदिइन् । केशवले भाउजू बिमलासँग मित्रको नासो भएको र त्यसलाई समाल्ने जिम्मा तिम्रो हुने छ भनेका थिए। केशवले काठमाण्डौको वोकिलसँग परामर्श गरेर केही सम्पति बिन्दुको नाममा लेखापढी गरेर छाडेका थिए । केशवको रङ्गेली रोडमा बससित ठोकिएर घटनास्थलमै मृत्यु भयो। लक्ष्मीले बिन्दुलाई आमाबाबु र आश्रयदातासमेत टोकुवी भनेर पिट्ने गर्दथिन् । बिन्दुलाई जरो आएर तीनदिनसम्म थलापरे पछि शेखरले इलाज गरेर निको लाग्यो तर लक्षमीले विन्दुलाई नस्वीकार्ने भए पछि बिन्दु विमलासँग नै बसेर एस एल सी पास गरी । शेखर काठमाण्डौको सरकारी अस्पतालमा काम गर्न थाल्यो।

शंकरको बिबाह शीला नामक धनाढ्यकी छोरीसँग भयो । शीला एउटी चरित्रहीन केटी भएकोले शंकर र शीलाको दाम्पत्य जीवन सफल हुन सकेन । शंकरले एक दिन शीलालाई पिस्तौलले आक्रमण गर्योा र मारिदयो साथै आँफू पनि एउटा पत्र लेखेर आँफै जीवनलीला समाप्त गरेको भनी पिस्तौलबाटै अन्त्य भयो । शंकरको बिबाह भए पछि शेखरले आमाको आग्रहमा विन्दुसँग बिबाह गर्योन।

यता लक्ष्मीको छोरा शंकरको निधन मात्र नभएर उसको र लक्ष्मीको अदूरदशीॆताले गर्र्दा सबै उद्योगहरू समेत घाटामा गए र उनको आर्थिक अवस्था दयनीय भयो र लक्ष्मीले आँफूले जीवनभर गरेका गलतकामको स्मरण गर्दै पश्चताप गर्दछिन् र विन्दुसँग माफ माग्दछिन्। विन्दुका सुनयनबाट आँसुबूँद टप्किन्छन्। शेखरले –'एउटा छोरो मरे पनि अर्को छोरा म छँदै छु बहिनी माधुरी र म तपाइँहरूका सन्तान रह्यौं विन्दु तपाइँकी बुहारी हो।' लक्ष्मीले उनको उमेर पनि शेखरलाई नै लागोस् भन्दै। छुटिएको चुला एकै ठाउँमा जोडियो र लक्ष्मीले विन्दुलाई ससुराले पढने गरेको आदिकवि भानुभक्तको रामायाण पढ्न लगाइयो। बिन्दु र माधुरीले लय हालेर बाच्न थाले भने शेखर र विमला बाहिर निस्केर मुखा मुख केही मुस्कुराए तर लक्ष्मी भने दत्तचित्तले रामायणको सिलोक सुनि रहेकी थिइन् । यतिकैमा उपन्यास समाप्त हुन्छ ।

उपन्यासले ओगटेको क्षेत्र

उपन्यासले अत्यान्त पारिवारिक घटनालाई समेटेको छ। एकै घरका दुई बुहारीहरूको बीचको सम्बन्धमा विमलाले आफ्नो घर, पति, छोरा, नोकरचाकरप्रतिको उदार भाव, कुसल नेतृत्व, देवर देउरानीप्रतिको कुशल र उत्तरदायी पूर्ण व्यवहार, आफ्ना खानदानको मानमर्यदाको पालना गर्दै आफ्नो छोरालाई डाक्टर बनाएर देवरले जिम्मा दिएको बिन्दुको बिबाह शंकरसँग गराउने प्रयत्न लक्ष्मीको अहम्ताले गर्दा असफल भए पछि देवरको प्रतिबद्धतालाई सफल तुल्याउन आफ्नै छोरा शेखरसँग गराएर एउटा कुशल गृहणी, सफल आमा, सफल जेठानीको रूपमा आफूलाई उभ्याउन सफल देखिन्छिन् । एउटी समाजमा प्रतिष्ठित जेठानीकी देउरानीको व्यवहार अहम्वादीताले गर्दा पतिको जीवन कहिल्यै सुखमय हुन सकेन, पतिको निधन पनि पत्नीकै कचकचको कारणले सोचमा डुबेर कार गएर बससँग ठोक्किएर हुन पुग्यो। लक्ष्मीको अहम् भावले गर्दा उद्योग घाटामा जानु, छोराको विवाह एउटी धनाढ्य चरित्रहीन केटीसँग गराउनु, छोराको दुखदाई मरण, पतिको चाहानालाई माटोमा मिलाउनु र आखिरमा जुन जेठानीलाई अति घृणाको दृष्टिले हेरिन्थ्यो तिनै जेठानीको शरणमा पुग्नुजस्ता घटनाक्रमलाई समेटेको छ उपन्यासले । जस्तो बीउरोप्यो त्यस्तै फल्छ र असलकामको असल नतिजा खराव कामको खराव नतिजालाई प्रष्ट्याउन सफल देखिन्छ उपन्यास। यो पारिवारिक क्षेत्रमा समेटिएको उपन्यास हो। उच्च आदर्श बोकेर समाजलाई शिक्षा प्रदान गरेको छ उपन्यासले।

पात्रहरूको चयन

एकै घरका जेठानी विमलाजस्ती सुपात्र र देउरानी लक्षमीजस्ती कुपात्रको मुख्यपात्रको रूपमा चयन गरिएका छन् भने सरमचन्द्र र केशवचन्द्रजस्ता सज्जन विद्वान उद्योगपति दाजुभाइको सुमधुर सम्बन्ध भएका नायक, विन्दुजस्ती एक टुहुरी बालिका, विमलाको शेखरजस्तो मातृभक्त छोरा लक्ष्मीको कुलतमा लागेको पथभ्रष्ट छोरा शंकर र चरित्रहीन भएकी शीला बुहारी जसको अनैतिक सम्बन्ध रमेश दाससँग रहेको, एउटी लक्ष्मीकी सज्जन छोरी माधुरीजस्ता अति सम्बन्धित पात्रहरूको चयन गरिएको छ उपन्यासमा।

परिवेश

यो उपन्यास दार्जिलिङ, इलाम, बिराटनगर, काठमाण्डौ, भारत र धरानंको परिवेशमा रचना गरिएको छ।

भाषाशैली

भाषा सरल छ। भाग्यमा लेखेको मेटेर मेटिदैन, भैसीका अगाडि बिन बजाउनु, भालुलाई पुराण सुनाउनु, आइमाइको छोटो बुद्धि, जसलाई इस्वरले बचाउँछन् उसलाई कसैले मार्न कुल्चिन सक्दैन, लाख टक्काको लाल आदि विविध खाले उखान टुक्काले सजिएको छ उपन्यास।

निष्कर्ष

करिब आज भन्दा ५० बर्ष पहिला लेखिएको उपन्यास घरयासी परिवेशमा लेखिएको छ। समाजमा देखिने, सरलता, विवेकशीलता, बुद्धिमत्ताको साथै विवेकपूर्ण धारणाले गर्दा एकै घरकी एक महिलाले कसरी उच्चता हाँसिल गर्न सक्दिरहिछन् र सोही घरकी एक महिलाले आफ्नो अहम्ताले गर्दा कसरी आफ्नो सर्बस्वलाई गुमाउनु पर्दो रहेछ भन्ने यथार्थता बोकेको छ उपन्यासले । आज पनि यो सामजिक घटनाहरू हरेक संयुक्त परिवारका घरघरमा घटिरहेको छन् र त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । उपन्यासले सजिव चित्र उतार्न सफल देखिएको छ । दु:खद र सुखद घटनालाई, अर्थिक, सामाजिक क्षेत्रलाई समेटेर सुकर्मको नतिजा सुफल नै हुन्छ भने कुकर्मको नतिजा कुफल नै प्राप्त हुन्छ भनि यथार्थताको कसौटीलाई समातेर अघिबढेको छ उपन्यास । यस्तो समाजकल्याणकारी उपन्यासकी कृतिकारको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्दै बिदाचाहान्छु ।

धन्यवाद

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।