19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जन्म-दिनको जन्म

कविता डा. मल्लिका शाक्य August 27, 2012, 7:52 am

नाम – रूप

उदाउँदै - अस्ताउँदै छायाँहरु बाँचिरहेछन् मायाजाल

बाँच्नु भुमरी हो

असमापित, अनाहुतित, अनुत्कर्षित

एक्कासि म भित्रको खेताले तत्व

फुत्त निस्कन्छ

र कूँद्छ एउटा देउता

त्यसलाई म मेरो ब्रीफकेसमा साँच्दछु

बेला-बेलामा हाजिर गराँउछ आफूलाई त्यो

औपचारिकतावश

अध्यागमन कक्षहरूमा

चिन्तन-कोठीहरुमा

भोज-भतेरहरुमा

‘म’ पात्रको भूमिका खेल्छ देउता

उसको चहक, कहिलेकाहीं मलाई रुचाउनेहरुको मायासँग मिल्छ

अरु बेला दालचामलको मोलसँग

छायाँका बगालहरुसँग

अथवा खेताला हुनुको नियतिसँग

म सोच्छु, देउता मेरो मान्छे

देउता भन्छ, म मान्छे देउताको

उसको नामको सार मैले बोलाउनुमा त छ, न कि बिर्सनुमा

मेरो रूपको अर्थ उसलाई बनाउनुमा छ, न कि भत्काउनुमा

चल्ला र अण्डाको प्रश्न जस्तै

सनातन चलिरहन्छन् भुमरीहरु

असमापित, अनाहुतित, अनुत्कर्षित

त्यसकारण त हो खेताले तत्वमा देउता चढेको

बर्बराएको, हन्-हनाएको

अनि आजकै जस्तै कुनै एउटा दिन तोकेर

बकेको -

आ, मैले जन्म दिएँ तँलाई

जा, संसार आरम्भ भयो तेरो

बाँच् र मर्

कोर् एउटा कथा जसमा तेरो मुक्तिको मिठास होस्

कूँद् एउटा देउता जसमा तेरो अस्तित्वको आकार होस्

मेरो जन्मदिनको पहिलो आयाम - आएर भावीले लेख्छ निधारमा

मेरो जन्मदिनको दोस्रो आयाम – फूँकेर समाज काढ्छ मेरो नाम

मेरो जन्मदिनको तेस्रो आयाम – प्रेम

चौथो आयाम – विरह

पाँचौ आयाम – समचित्तता

छैठौं आयाम – जर्जरता

सातौं आयाम – विश्राम

अहा! सांच्चिकै स्वादिलो आख्यान!

भुलभुलैया भन्दा भुलिलो

मायाभन्दा मीठो

जा, तँलाई माफ गरें देउता मैले, आजलाई।

प्रेटोरिया, दक्षिण अफ्रिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।