17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मापसे, लापसे र चुसे

हास्यव्यङ्ग्य भवानी बराल August 31, 2012, 3:45 pm

नेपालीहरु नाम जुराउन खुबै सिपालु छन । अझ गुण अनुसारको नाम जुराउन झनै खप्पिस छन् । मान्छेको विशेषता अनुसार नाम जुराउने प्रचलन त नेपाली समाजको पहिल्यै देखिको हो । जुन बारमा जन्म्यो त्यहि बारको नाम राख्ने चलन अझै गाउँघर तिर छ । बुधबार जन्मेको पुलिङ्ग छ भने बुधे, स्त्री लिङ्गि छ भने बुधरानी, आईतबार जन्मेको पुलिङ्ग छ भने आईते, स्त्री लिङ्गि छ भने आईतरानी आदि । ठाउँको नाम, पद, स्थान विशेषबाट पनि नेपालीहरुको चिनारी हुने गर्छ । उहिले नै उहिले धेरै नै पहिले महिलाहरुको नाम त पुरुषकै पदलाई थोरै स्त्री लिङ्गि बनाएर पनि काम चलाईन्थ्यो । जस्तो कि जम्दारकी स्वास्नी जम्दार्नी, हल्दारकी स्वास्नी हल्दार्नी, इन्सपेक्टरकी घरवाली निस्पेटर्नी ईत्यादी । भूगोल, बोट विरुवाको नामबाट पनि मान्छेको नाम राखिन्थ्यो । कटहरको बोट छेउमा घर हुने कटहरे, काभ्रोको रुख छेउमा बस्ने काभ्रे, सुन्तलाको बगान छेउमा घर हुने सुन्तले, उस्का घरका आईमाई जति सुन्तली । त्यस्तोमा धेरै पुरुष छन भने सुन्तले जेठा, माईला, साँईला, कान्छा महिला भए सुन्तले जेठी, माईली, अन्तरी, जन्तरी, कान्छी आदी ।

नामलाई छोटकरी बनाउनेमा पनि नेपालीहरु सिद्धहस्त नै छन् । यस्तैमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको छोटकरी नाम ‘माकुने’ त प्रख्यात नै छ । यसरी नै अरु नेताको नाम छोटकरी गरे भनेपनि कमोवेश चल्ती नै होला अपवादलाई छोडेर । जस्तोकी नेपाली कांग्रेसका सभापति शुशिल कोईरालाको नाम छोटकरीमा ‘शुको’ हुने रैछ । कांग्रेसमा उनको हैसियत हेर्दा उनलाई यो नाम सुहउँदो नै छ । कांग्रेसमा उनको भाउ शुको बराबर नै छ । यस्तै पुष्पकमल दाहालको ‘पुकदा’, झलनाथ खनालको ‘झनाख’, शेरबहादुर देउवाको ‘शेबदे’, रामचन्द्र पौडेलको ‘राचपौ’, खड्गप्रसाद (केपी) ओलीको ‘खप्रओ’, बाबुराम भट्राईको ‘बाराभ’ आदि । यसमध्ये नेका सभापति कोईरालाको छोटकरी नाम बहुतै सुहाएको लाग्छ । अरुको पनि दामासायीले ठिकै जस्तो लाग्छ । माधव नेपालको त काईदाले सुहाएको छ ।

यसपटक भने नेपाल प्रहरीले मादक पदार्थ सेवन गर्नेहरुलाई छोटकरी नाम ‘मापसे’ जुराएर हंगामा मच्चायो । मापसे यति व्यापक भयो कि यसले सेवन गर्नेलाई मात्र आतंकित बनाएन ‘मापसे’ गराए वापत आनासुकी कमाउने व्यवसायीलाई पनि धरापमा पु¥यायो । नेपालमा आन्तरिक पर्यटनलाई बढवा दिने यो क्रियाकर्म नहुँदा राजधानीका भट्टी पसलेहरुले झिँगा मार्नु प¥यो रे । राजधानीका राँके बजार सुक्यो । क्याबिन रेष्टुँरा, क्यासिनो, पप, डान्सबार, रिसोर्ट, छाप्रे भट्टी खाली भए । तर, मापसेलाई महिलाबृन्दले समर्थन गरे । भट्टी साहुनीसंग रत्तिन पुगेका पोईलाई मापसेले उकासेकोमा उनीहरु खुसी हुनु स्वभाविक थियो । घरघरम बेलैमा सज्जनबृन्द साँझ बत्ती बाल्न पुगे । उता पुलिसलाई पनि काईदा भयो । नक्कली विल भर्पाई बनाएर मापसेबाट खल्ती गरम बनाए । अलीअली राजस्व ढुकुटीमा गयो । आधाउधी पुलिसका घरमा सुकुटीमा गयो । जे भयो सबैको भलो भयो । अब यो मापसे देशव्यापी हुने पुलिसले ऐलान गरिसकेको छ । सरकारलाई राजस्व, ड्यूटीमा बस्ने पुलिसलाई, कमाण्ड गर्ने पुलिसका हाकिमलाई सबैलाई काईदाको फाईदा भयो । घरवालीलाई लोग्नेको बेहोरा सुधार्ने राम्रो योजना तथा कार्जेकरम भयो ।

मापसेको अपार सफलता पछि पुलिसले राजधानीबाट ‘चुसे’ कार्जेकरम ल्याएको छ । चुसे अर्थात चुरोट सेवन । सार्वजनिक स्थलमा चुरोट सेवन गरेको भेट्टायो कि अब आईन्दा पुलिसले च्याप्प समात्छ र डाँड्नसम्म डाँड्छ । अलिकति सरकारको राजस्व बापत डाँड्छ । आनाकानी गरे आफ्नै ‘खाजस्व’ को लागि डाँड्ने वाला छ । होस गर्नुस यो कार्जेकरम राजधानीमा सुरु भैसकेको छ । हाम्रो गाउँघरतिर पनि आउनेवाला छ ।

यी त भए पुलिसले गर्दै गरेका कार्जेकरम । तर पुलिसले हातखुट्टा नहाली नहुने अर्को कार्जेकरम छ ‘लापसे’ अर्थात लागु पदार्थ सेवन । यो लापसेले पनि उधुम मच्चाएको छ । लापसेको कारण भोलीका कर्णधार, कर्णधार्नी भुसुक्कै भएका छन् । लापसेले घरगाउँ उजाड पारिसकेको छ । लापसे गर्न नपाउँदा घरका पुन्युसम्म बाँकी रहेका छैनन् । लापसेको कारण कर्णधारको कान मात्र होईन मल विस्राम गर्ने चाक पनि सुकीसकेको छ । लापसे, मापसे, चुसे भन्दा कहाँ न कहाँको माप्पाको छ । यसले होनाहार युवायुवतीलाई जै नेपाल बनाईसक्यो । यसमा चैं पुलिसको हातखुट्टा, नाक, कान, घाँटी र आँखा नपर्नु रहस्यपूर्ण छ ।

गन्ती गर्दै ल्याउँदा यस्ता थुप्रै ‘से’हरु छन् । देशलाई नै ‘सुलिफ्याँत’ बनाउने यस्तै एउटा ‘से’ छ । त्यो ‘से’ हो ‘घुसे’ अर्थात घुस सेवन । मापसे, चुसे, लापसे भन्दा डरलाग्दो दुव्र्यसन घुसे हो । यसले त मुलुकलाई नै ‘सेण्टीफ्ल्याँट’ बनाउँछ । मापसे आफ्नै पैसाले खाने हो । चुसेको खर्च पनि आफ्नै गोजिबाट जान्छ । लापसे घरकै नाखामुन्द्री चोरेर, भँ‘डाक‘ुडा, डाडुपुन्यु बेचेर खाने हो । तर, घुसे गर्नेले त देशै बेच्छ । जनताको उठीबास लाउँछ । यो घुसेमा पो पहिले कार्जेकरम लैजानु पर्छ । मापसे, लापसे र चुसेमा मात्र लगेर के हुन्छ । घुसे बन्द भयो भने मापसे, लापसे र चुसे स्वतः बन्द हुन्छ । तर पुलिसले मापसे, चुसेमा किन आँखा गाडेको होला ? चुसे पछि उसले अर्को कार्जेकरम ‘खैसे’ अर्थात खैनी सेवन पनि ल्याउन बेर छैन । तर, यो खैसे मधेसमा फेल खान्छ । पहाडमा पनि खैसे बढ्दै गएको छ । तर, जे सुकै भएपनि घुसे पहिले बन्द ग¥यो भने अरु ‘से’हरु भारी बात छैन । सबैले घुसे क्रिर्जान्वयनमा जोड दिउँ । चुरेरो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।