14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

टक्बरको एक रात र चियाबारी

कविता रुपेश राई September 8, 2012, 3:28 am

कमाने म आफै गर्व

गर्छु। मेरो पसिना पुछिदिने तिमी छौ नी!

पसिना झरोस् यहाँ र मलिलो बनोस्

चियाबारीहरू। मैले देख्ने गरी। भन्छु। तर

अझसम्म मेरै पसिनाका रङ्गहरू मलाई थाह छैन...।

लिलाम गरिरहे छौ। पसि... ना... निर्यातमा तरेली-तरेली।

बासनाका छापहरू। चियाबारीबाट।

नौ औँलाहरूमा तिम्रै हैकम छ

केवल एउटा मात्र चल्छ मेरो।

चाँदमनीदेखि दार्जिलिङका सर्बत्रै चियाबारी हुँदै

टक्बरसम्म। मैले सोचेँ। अलपत्रै परेको उकालो र साँगुरो बाटोमा।

पस्टाउँदैन मेरो सपना। जसरी गाप हाली बस्छन् इच्छहरू पनि।

निचोरिएर अनुहारबाट पसिनाले

जिब्रो खोज्दै ओँठमा लत्पतिएर। अस्तित्वबोध गराइरहेथ्यो।

रूमाललाई के थाहा? पसिनाको अस्तित्व।

सोहोरिबस्छ केवल सोहोरी बस्छ। टुसाउँदै गरेका

मुस्कानहरू कमानका अनुहारबाट। अन्त कतै

मैले नजानिने गरी। नखोजिने गरी।

‘वाव नाइस पिक्स’ को कमेन्ट पनि सम्झेँ फेसबुक्मा!

अनि ‘चियाबारी साहित्य’ का कविताहरू। व्यङ्ग्यात्मक र मर्मस्पर्शी।

साँच्चै चि... सो पस्छ शब्दहरूमा,

कविताको । त्यो पिक्स। हेरेर साँच्चै तिमी रमायौ?

व्यङ्ग्यात्मक प्रश्न पनि गर्छु। आफैलाई। अँहँ...।

पनि भन्छु। मनमनै, गोयल छु जस्तो।

तिमी कमानेतर। त्यही चियाबारीमा। एउटा, भ्रामक पोज

हिर्काउँ जस्तो भयो होला। त्यही मुनाहरूमा लुटुपुटिएको;

नकल गर्ने मन भयो होला! अनि कल्पना गऱ्यौ होला

कसले, कतिपल्ट लाइक गऱ्यो-

‘नाइस...

नाइस पोज!

नाइस पिक्....’

अनि के नै छ र...! तिमीलाई फुर्क्याउने शब्द >>सरररररर

कल्पना कुद्यो।

रात नपरेर निद्राहरू आँखामा,

ओछ्यान टोहोल्याइ रह्यो बिहानसम्म। फर्लङै उज्यालो

भएथ्यो- ‘इ, यी नै हुन् हाम्रा चियाबारीहरू’ मित्रको

निर्दोष वाक्यमा। टेबलको चियाले रिफ्रेश

भएन हिजोको ओभर डज कल्पना। अझ

बिडम्बना लागिरहेछ। हिजो उसले नधकाइ

बनेकी। आफ्नोवोधका कुरा।

मैले बिडम्बना मानेँ। निर्दोष वाक्यलाई।

हो। तिमीहरू पनि त्यसै भन्छौ?

उसको अज्ञान्तालाई शङ्का नगरी

प्रश्न गरेको तिमीहरू। चियाबारीका मानिस।

नुन हालेको चिया तिमीलाई मात्र थाहा छ!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।