18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तेस्रो गाउँ

कविता प्रवीण खालिङ September 8, 2012, 5:01 pm

अझै पनि साहुलियत पर्खिबस्नुपर्छ

भिजेल पोल्टिक्सले निर्धारित भाग्य

अभावको सोमालियामा

अपुगको टुमटुम बाँच्छ।

बरू भुँइचालो जानुनी

राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो

वीरमानको दिवास्वप्न बोल्छ।

फायलमा बनिएको सटक भएर

कलेज सकेकी छोरी आइपुग्छे

ब्युटीपार्लर चलाउने योजना लिएर।

फ्रस्टेटेड वीरमानको वीर्यहरू

शब्द जन्माउन असमर्थ छन्

गाउँमा शब्दको अकाल थाहा पाएर

चौतारीमा नेताले बैठक डाक्छ

सेल्सगर्ल आश्वासन दिएर जान्छ

छ्या! आश्वासन पनि डुप्लिकेट।

गाउँलाई आश्वासन बज्र जस्तो लाग्छ

तर धरती र गाउँ एकै हो

धरती किसानको हलो सहन्छ जीवन उमार्न

गाउँ आश्वासन सहन्छ सपना उमार्न।

अझै पनि बीपीएल चामल पर्खिबस्नुपर्छ

साहुलियतले निर्धारित भाग्य

पैह्रो जानुनी बरू

राहत शिविरमा बस्नु कति मज्जा हुन्थ्यो

सबै सरकारी, भात अनि तरकारी ।

गाउँमा पानीको दुःख छ

फेसबुकमा अपडेट गरेको उसको स्टाटस

सरकार समक्ष पुग्यो कि पुगेन

राष्ट्रपतिले पढ्यो कि पढेन

प्रधानमन्त्रीले लाइक गऱ्यो कि?

देशको हजरौं वीरमानशालाहरूमा

पानी छैन, खाना छैन र छैन छाना-नाना

किन कि यो राष्ट्रपति, प्रधानमन्त्रीको गाउँ होइन

यो त तेस्रो गाउँ हो तेस्रो गाउँ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।