म तिमीलाई प्रेम प्रस्ताव नराखी माया गर्छु
के माया गर्नु प्रेम प्रस्ताव नै खाँचो छ र ?
हो म तिमीलाई बेजोड माया गर्छु
किन कि तिम्रै साथले मलाई चिनेको छ
तिम्रै ताकतले मलाई बोकेको छ ।
आज ‘तिमी’हरु नभएका भए
मेरा अनेकौं साथीहरु खै कता हुने थिए
मेरा अनेकौं बैरीहरु खै कता हुने थिए
त्यसैले म तिमीलाई
बेस्सरी माया गर्छु ।
तिमी नभएका भए
मेरो गाउँ, गाउँ हुने थिएन
मेरो देश, देश नै हुने थिएन ।।
मैले भुईँ कक्षादेखि तिमीलाई माया गरेका हूँ
समयको गतिमा तिम्रो पहिरन अनेकौं बद्लियो
तर तिमी बद्लिएनौं
न त तिम्रो ताकत नै बद्लियो ।।
तिम्रो साथ पाएदेखि
थुप्रै मान्छेहरु बम्किन्दै गए
षडयन्त्रका अनेकौं एमबुसहरु थाप्दै गए
तिम्रो ताकतबाट डराएकाहरु अचेल
चौकबाट भुक्न थालेका छन्
बारुदको धराप थाप्ने चुनौति दिन थालेका छन्
तर उनीहरलाई के थाहा होला र ?
तिमी बारुदभन्दा जोडले पड्किन सक्छौ भनेर ।।
हो तिमीलाई म
हृदयबाटै अनेकौं माया गर्छु
किन कि तिमी मेरो
दृष्टि हौ
दृष्य हौ
बाटो हौ
माटो हौ
के चाहीँ होईनौ र
मेरो नसा नसामा कुद्ने रगतहरुमा
संधै भरिदिने क्रान्तिका बिज हौ
शान्तिका सन्देश हौ
दुधमुखे नानीको ओंठमा अडेको मुस्कान हौ
बृद्ध बाजे-बोज्युका सहारा हौ
यसैले म तिमीलाई बेजोड माया गर्छु
मेरो प्रिय ! फाउण्टेन पेन !!!
कालेबुङ, भारत