18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झरी

कविता प्रवीण खालिङ September 23, 2012, 2:19 am

छाता भुलेछु

तिमीसितै ओतिन्छु

तिमी आधा भिज म आधा

नभिजेको आधा आधा एक हुन्छ

यो झरीले कति मन छुन्छ।

बाँच्नलाई निहुँ चाहिन्छ

त्यसैले झरीमा छाता भुल्छु

तिमीलाई हेरेको कहाँ हो र?

मैले त मोक्ष खोजेको

त्यसैले यत्रो भीडमा पनि तिम्रै छाता रोजेको।

झरीमा ट्याक्सी पर्खनुको मजै अर्को हुन्छ

झरी परिरहोस ट्याक्सी नआवोस पटक्कै नआवोस

ट्यास्की त छाताको दुश्मन जस्तो हुन्छ

प्रतिक्षाले पनि यहाँ मन छुन्छ

एकापट्टि तिमी भुटभुटिनु

अर्कोतिर म

बोल्नु भन्दा अनुभव गर्नु

मोक्षै हो यसरी मर्नु।

बेस्सरी परिदियोस यो झरी

छ्याङ्ग हुन्छ नी दिन

छ्याङ्ग हुन्छ नी मन

आधा आधा भिजेको हाम्रो भाव

त्यही त हो अर्धनारीश्वर महादेव।

सिक्किम,गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।