19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा सन्तान जन्माउनु पर्छ प्रिय

कविता संकल्प खनाल September 28, 2012, 6:41 pm

हुर्राहरुको जमातले बाँझी भने तिमीलाई

बैकल्याहरुको जमातले लाछी भने मलाई

उल्टो गतिको समाज हेरेर,

भावावेशमा गरिएको

तिम्रो मेरो निर्णय

परिवर्तन गर्नुपर्छ ।

एउटा सन्तान जन्माउनु पर्छ ।

आँखा हँुदा हुँदै अन्धो बनेको

ठुले जस्तो होइन,

क्षमता भएर पनि कायर बनेको,

लुले जस्तो होइन

र, आफ्नै आमा नङग्याएर,

रमिता देखाउदै

पैसामा बिक्ने कुलंगार

कुले जस्तो होइन ।

एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

पुरुषत्वको जामा पहिरिएका,

नारित्वको दमनका सन्तुष्ट,

प्यासी समाजका मर्दहरु,

नपुंसक बनेको देख्दा

छोरै जन्माउनु पर्छ भन्ने छैन,

सन्तान, सन्तान बन्न सकोस्

छोरी नै किन नहोस्

तर, आफु भित्र बिद्रोह गर्न नसकेर,

परिस्थितिलाई दोष दिदै,

बाध्यता अलापिरहेका छोरीहरु

जस्तो पनि होइन ।

सन्तान, सन्तान बन्न सकोस्

अन्धाहरुका आँखा खोल्न सक्ने बनोस्,

लाटाहरु भित्र बोल्न सक्ने बनोस्,

रुढी र विकृत संस्कार,

लोभ र मोह उन्मुख व्यवहार,

अन्याय र अत्याचारका जालाहरु

पोल्न सक्ने बनोस् ,

एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

गरिबीमा उ विश्वविद्यालय पढने छैन,

प्रमाण पत्रका खात लागउदै

देखावटी सफलतामा बढने छैन,

उ निर्धाहरु माथिको अन्याय पढ्नेछ,

उ मजदुरको मजदुरी र ज्याला पढ्नेछ ,

उ पढ्नेछ असमानताका भड्खालाहरु ।

पिडा र दःुख खानेछ उ,

साहस ओकल्ने छ उ,

समानताको अभियानमा

समयको वेगलाई पछ्याउदै

संघर्षको अग्रपंक्तिमा हास्नेछ,

निरन्तर, निरन्तर संघर्षमै रमाउनेछ ।

हत्या गरिएका हजारौ सपनाका

लासहरु नियाल्दै

म नयाँ सपना बुनेको छु

त्यसैले

एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

हो, एउटा सन्तान जन्माउनु पर्छ प्रिय ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।