विश्वभरि नै उपन्यासबारेमा बहस भैरहेको छ । केवल आख्यानको रुपमा उपन्यासको अस्तित्व संदिग्ध भैसकेको र अब तत्थ्यात्मक आख्यान अर्थात् फ्याक्ट फिक्सनका रुपमा यसको विकाश हुने कुरा विद्धानहरुले गर्न थालेका छन् । प्रसिद्ध नोबेल पुरस्कार विजेता क्यारिबियाई लेखक भी.एस.नायपालले पनि विधागत रुपमा उपन्यासको संभावना समाप्त भैसकेकोले अब भविष्यमा उपन्यासको सिर्जना संभव नहुने कुरा व्यक्त गरेका छन् । त्यसो भए के अब उपन्यासले यथार्थको बाहकको काम गर्न अक्षम भैसकेको हो त ?
बहस यथावत् छ र यही बहसलाई नेपाली उपन्यास लेखनको केन्द्रमा स्थापित गर्दै जगदीश घिमिरेको नयाँ उपन्यास सकस बजारमा आएको छ । सकसले कल्पना र यथार्थ,इतिहास र वर्तमान अनि व्यक्ति र समाजका चाहना अनि राज्यसत्तासितको त्यसको अन्तद्र्धन्दलाई विशाल क्यानभासमा एकत्रित गरेको छ । यसले विधागतरुपमा उपन्यासको प्रचलित परिभाषालाई शालीन किसिमले फेरि परिभाषित गर्नपर्ने आवश्यकतालाई पाठक र अध्येताहरुमाझ सर्लक्क स्थापित गरिदिएको छ । विधा भन्जन गर्ने नाउँमा यसले सुकरातको डायरीको जस्तो कौशलहीन र आलोकाँचो कथावाचन पद्धति विपरीत एउटा आकर्षक र सर्वथा नवीन शैलीलाई अपनाएको छ । त्यसैले पनि सकसले इतिहास र त्यो इतिहासभित्रको मानवीय संघर्षको गाथालाई अत्यन्त आकर्षक ढंगले अभिव्यक्त गर्न सफल भएको छ । यही कारणले सकसभित्रको आख्यानले हामीलाई एकसाथ इतिहासको यर्थाथ र वर्तमानको असजिलो धरातलमा रोचकताका साथ अल्मल्याइराख्दछ । डा.गोविन्दराज भट्टराईकृत सुकरातको डायरीका तथ्यहरुले पाठकको पठन सामथ्र्यमा अनावश्यक र सकसपूर्ण हस्तक्षेप गर्दछन् भने सकसले पाठकलाई आफूभित्रका शब्द र भावको राजमार्गका डोर्याउँदै लैजान्छ । त्यसैले पाठकहरु सकसको पठनसँगै इतिहास र यथार्थको यात्रामा सहजताका साथ सामेल हुन्छन् । उनीहरुले यो यात्रामा आनन्दको अनुभूति गर्दछन् ।
केही वर्ष यता नेपाली आख्यानको आयाम फराकिलो हुँदै गएको छ । नारायण ढकाल, नारायण वाग्ले,संजीव उप्रेती,अभय श्रेष्ठ, बुद्धिसागर,अमर न्यौपाने, तारालाल श्रेष्ठसँगै सविन बास्तोला, टंक चौलागाई जस्ता नयाँ आख्यानकारहरुको आगमनले आख्यानलेखनलाई आकर्षक कर्मसँगै यसलाई चुनौतीपूर्ण विधाका रुपमा विकाश गर्दै लगेको छ । अर्कोतिर कृष्ण अविरल, स्वागत नेपालजस्ता केही लेखकहरु आख्यानमार्फत् दुस्साहसिक विषयलाई साहित्यको सतहमा बलियो हस्तक्षेपका साथ स्थापित गरिरहेका छन् । किशोर नेपालजस्ता सशक्त निबन्धकारको औपन्यासिक अवतरणले पनि पाठकलाई सुखद अनुभूति दिएको छ । शारदा शर्मा, मनिषा गौचन, आन्विका गिरी,उमा सवेदी, हरिमाया भेटवाल,उर्मिला थपलिया लगायतका अहिलेका जाज्वल्यमान नारी लेखकहरु नवीन बान्कीका आख्यानहरुको लेखन र पनर्लेखनमा व्यस्त भएका छन् । यी सामथ्र्यवान लेखकहरुको आगमनले नेपाली आख्यानमा ध्रुवचन्द्र गौतम जस्ता उपन्यास सम्राटको एकाधिकारलाई अन्त्य गरिदिएको छ । कृष्ण धरावासीजस्ता समर्थ आख्यानकारहरुका अगाडि चुनौतीको सगरमाथा नै खडा गरिदिएको छ ।
यी लेखकहरुले तीव्र किसिमले आम पाठकलाई नेपाली आख्यानप्रति आकर्षित गरिरहेका छन् । यिनै लेखकहरुका कारण कतिपयले अहिलेको समयलाई आख्यानको स्वर्णिम युग पनि भनिरहेका छन् । साहित्यको शहरमा भेटिने हरेक दोस्रो लेखकले आफू अब आख्यानमा आउन थालेको जनाउदिन थालेका छन् ।
यी सबै खालका परिवन्दले पुराना लेखकलाई नयाँ लेखकसित अघोषित नै सही प्रतिस्पर्धा गर्नै पर्ने स्थितिमा उभ्याइदिएको छ । जसले यो चुनौतीलाई स्वीकार गर्यो, त्यो टिक्यो । जसले सकेन, त्यो डाइनोसर भएर लोप भयो । तर जगदीश घिमिरेको सकस प्रकाशित भएपछि उनलाई नयाँ आख्यान लेखकहरुको बढ्दो हालिमुहालीका माझ उभिएका जब्बर लेखक मान्नै पर्छ । वास्तवमा सकसले जगदीश घिमिरेको आख्यानकारितालाई गजबले धारिलो र प्रभावकारी बनाएको छ । यतिखेर उनी नयाँ छिमलका लेखकहरुमाझ अझै नयाँ भएर देखापरेका छन् । यस्तो लाग्छ, प्रौढ जगदीश घिमिरेभित्र लुकेको एउटा युवक जगदीश घिमिरेले लेखेको हो यो आख्यान । उनले सकसमा जुन विषयवस्तु उठाएका छन्, त्यो विषयलाई पाठकहरुमाझ पस्कने जुन शैली निर्माण गरेका छन्, भाषाको प्रान्जल स्वरुपलाई जुन ढंगले प्रयोग गरेका छन्, चरित्रहरुको विविधतालाई जुन ढंगले एकत्रित गरेका छन्, त्यस
हिसाबले जगदीश घिमिरेले नयाँ लेखकहरुमाझ पनि तगडा चुनौती पेश गरेका छन् । मानौँ अब नयाँ आख्यानकारहरुका अगाडि जगदीश घिमिरे भनिरहेका छन्—‘साथी हो । मेरो चुनौती स्वीकार गरेर आख्यानजगतमा आफूलाई टिकाऊ या डाइनोसर भएर विलुप्त होऊ । उनले यी दुई बाहेक तेस्रो विकल्प फिटिक्कै दिएका छैैनन् ।
विषयगत हिसाबले पछिल्लो दशक नेपाली आख्यान क्षेत्र विविधतापूर्ण रहेकै हो । पल्पसा क्याफे, प्रेतकल्प, कर्णाली ब्लुजले सर्वथा नयाँ विषयलाई आख्यान साहित्यमा सशक्ततापूर्वक स्थापित गरेका छन् । यी आख्यानहरु भाषिक बान्की, कथावाचनको सर्वथा नवीन टेक्निक र नयाँ चरित्रहरु निर्माण एवं पदार्पणका दृष्टिले पनि महत्वपूर्ण छन् । विश्वमा निम्तिनसक्ने वातावरणीय त्रासदी लगायत साइबर युद्धका कुरा पनि नेपाली आख्यानकारहरुले रोचक किसिमले प्रस्तुत गर्न थालेका छन् । त्यसैले अबका दिनमा प्रकाशित हुने आख्यानले आफ्नो मौलिक र फरक खालको अनुहार देखाउनै पर्ने भएको छ । जगदीश घिमिरेको सकसले त्यो चुनौतीलाई सहर्ष स्वीकार गरेको छ । त्यसैले नेपाली आख्यान साहित्यमा सकस एउटा नवीन उपलब्धीको रुपमा रहने छ ।
लीलाम र सावितीजस्ता उपन्यासमार्फत जगदीश घिमिरेले लगभग चार दशकअघि नै नेपाली साहित्यमा आफ्नो ओजपूर्ण भुमिका स्थापित गरिसकेका हुन् । सकसले उनको त्यो भुमिकालाई अहिले अझ सार्थक बनाएको छ ।
सकसको विषयबस्तुको आयाम निक्कै फराकिलो छ । यो एउटा कालखण्डको कथानकमा सीमित छैन । यसमा इतिहास भैसकेका चरित्रहरु पुनः आफ्नो सक्कली र नक्कली अनहारमा फर्किएर आएका छन् । इतिहासमा बेपत्ता भैसकेका चरित्र र वर्तमानको संघर्षपूर्ण जीवन भोगिरहेका चरित्रहरुको फ्युजनले उपन्यासलाई पठनीय बनाएको छ । इतिहासको आख्यानिक पक्ष सकसमा अत्यन्त उल्लेखनीय किसिमले आएका छन् । यसैले गर्दा सकस उपन्यासहरुको भीडमा बेग्लै पहिचान बोकेर उपस्थित हुन सफल भएको छ ।
नेपाली आख्यानमा एउटा समस्या अझै पनि छ । कतिपय मै हुँ भन्ने लेखकहरु कोठामा कोच्चिएर मनोगत विषय उठाएर आख्यान सिर्जना गरिरहेका छन् । नेपालमै पनि समय, परिस्थिति र परिवेशमा आएको परिवर्तनलाई तिनीहरुले अचम्मैले आत्मसात गर्न सकिरहेका छैनन् । कल्पनाको उडान र भाषिक सामथ्र्यको धरातलमा मात्र तिनीहरुका आख्यान उभिएका छन् । यथार्थको नाउमा मनोगत भ्रमको सिर्जनामा वासनात्मक तहसम्म लिप्त भएका पांगतुरे लेखकहरुको बाक्लै जमात नेपाली साहित्यमा अझै पनि दादागिरी देखाइरहेछ । तिनीहरुले अब जगदीश घिमिरेको सकस पढ्नै पर्छ । किनभने विषयलाई केवल मनोगत र भाषिक शिल्पले मात्र जीवन्त बजाउन सक्दैन,त्यसका लागि विषय सम्बद्ध अध्ययन र चिन्तन पनि चाहिन्छ भन्ने कुरा सकसले दह«ोसित प्रमाणित गरिदिएको छ । सकसमा यो सबै कसरी संभव भयो भन्ने बुझ्नकालागि पनि सकस पढ्न जरुरी देखिएको छ ।
सकस राजनैतिक भंगिमा बोकेको उपन्यास हो । यसले वर्तमान राजनीतिलाई आख्यान मार्फत बहसको सतहमा ल्याएको छ । यो बहसमा उत्रँदा सकसभित्रका कतिपय राजनैतिक प्रसंग कतिपयका लागि पूर्वाग्रहपूर्ण भयो भन्ने बहाना पनि भैदेला । तर जब लेखकको निजी अब्जर्वेशनका कुरा उठ्लान्, जब लेखकको निजी विचार र अनुभवको सत्तालाई स्वीकार गरिएला तब यो बहसले पक्कै उपयोगी रुप धारण गर्ने छ, सकसलाई हाम्रो इतिहास, हाम्रो विगत र हाम्रो वर्तमानलाई हेर्ने स्वतन्त्र लेखकीय हैसियतको उपलब्धीको रुपमा सम्मानित पनि गरिएला । सकसले पाठकहरुसित एकखालको उदार पाठकीय चेतनाको जायज आग्रह राखेको छ । पाठकहरुले उदारता अवश्य देखाउने छन् । पाठकहरुको यही उदारताले आख्यान लेख्न कम्मर कसिरहेका नयाँ पराना लेखकलाई प्रेरित गर्ने छ र उनीहरु आफ्नो साँघुरो लेखनकक्षबाट बाहिर निस्किएर समाज अध्ययनको यात्रामा लाग्ने छन् । नेपाली आख्यान साहित्यको लागि त्यसले गजबकै ऊर्जाको काम गर्ने छ ।
सकसमा पातलो खालको केन्द्रिय कथानक छ । तर यसलाई बाक्ला बाक्ला सहायक कथानकले यसरी थामेका छन् कि उपन्यास लेखनका लागि भारीभरकम कथानक चाहिन्छ भन्ने लगभग ध्वस्त भैसकेको मान्यतालाई जाँदाजाँदै ‘लु जा’ भन्दै फेरि मजाले जोरदार एक दनक दिएको छ सकसले । यसमा यथार्थ घटनाक्रमलाई प्रशस्तै आख्यानीकृत गरिएको छ । त्यसले यथार्थप्रति आआफ्नै खालको बुझाइ पनि निर्माण गर्दछ । शायद यसैलाई मारियो वोर्गेस ल्योसाले लेवल अफ रियालिटी भनेका हुन् ।
सकसले एकदमै मिहिन संवेदना, गहिराई र विस्तारसहित देश, समाज र व्यक्तिमाथि पर्ने प्रभावहरुको अध्ययन कथात्मक धरातलमा उभिएर गरेको छ । सकसको यो महत्वपूर्ण पक्ष हो । यो उपन्यासले यथार्थको निराशाजनक पक्षलाई पस्कियो भनेर आरोप लगाउने केही ठालुहरु पनि भटाभट यही मेसोमा निस्किएलान् । तर हामीले बुझनु के पर्छ भने कुनै पनि साहित्यले निराशाको वकालत गर्दैन । त्यसले कैलेकाहीँ निराशाको कहालीलाग्दो परिवेश पाठकको अगाडि उभ्याएर ‘हे मित्रहरु, अब त अति भो, केही त सोच न अब’ भन्ने आग्रह पनि कतै न कतै कनै न कनै रुपमा गरिरहेकै हुन्छ । जसले जे आरोप लगाओस्, हरेक साहित्यकार आशावादी नै हुन्छ । उसले घनघोर निराशा लेखेर भोलिपल्ट आत्महत्या गर्दैन । बरु भोलिपल्टका अखवारहरुमा आफ्नो लेखनको समालोचना खोज्न थाल्छ । आफ्नो लेखनले कति पाठकहरु प्रभावित भए भनेर डाटा खोज्दै हिँड्छ । त्यही त हो आशा । त्यही नै त हो आफ्नो लेखनप्रतिको विश्वास । समग्र साहित्य आशा र विश्वासको दस्तावेज हो । सकस पनि त्यस्तै दस्तावेज हो, जसले हामीलाई हाम्रो आगामी भविष्यप्रति सोचमग्न बनाउँछ र वर्तमानसित आफ्नो भविष्यको सुनिश्चितताको जोडदार हिसाब किताब पनि माग गर्दछ ।
आख्यान लेखकहरुको लागि सबैभन्दा चुनौतीको विषय नै उपन्यासमा अभिब्यक्त हुने कथानक र चरित्रलाई सहाउँदो शिल्पको निर्माण हो । किनभने त्यही शिल्प र त्यसभित्र अटाउने अक्षर, शब्द, बिम्ब, प्रतीक आदिको सुनियोजित प्रयोगले नै आख्यानलाई पठनीय बनाउँछ । शरणार्थी, पल्पसा क्याफे, प्रेतकल्प, कर्णाली ब्लुजजस्ता आख्यानहरु शिल्पकोे स्वादिलो प्रयोगकै कारण स्मरणीय बनेका हुन् । विषयले मात्र पाठकलाई आकर्षित गर्छ भन्ने दम्भ अबका लेखकहरुले नगरेकै जाति । त्यसैले सकसको एउटा उल्लेख गर्नै पर्ने सशक्त पक्ष यसको शिल्प पनि हो । जगदीश घिमिरेले रोजेको शिल्पले नै सकसको विषय, परिवेश, चरित्र आदिलाई विश्वसनीय बनाएका छन् । जगदीश घिमिरेले सकसमा अटाएका कथानकहरुलाई सहज र प्रवाहमय बनाउनका लागि आफ्नै खालको सुन्दर कथाभाषाको निर्माण गरेका छन् । त्यसले गर्दा उपन्यासको झण्डै तीन सय पृष्ठको खँदिलो बिस्तारलाई छिचोल्न पाठकले उतिसारो सकस गर्नु पर्दैन । उपन्यासको गति र कथानकलाई उनले आफ्नो पकडबाट फुत्किन दिएका छैनन् । उपन्यासका पात्रहरुलाई उनले उतिसारो हस्तक्षेप गरेका छैनन् । तिनलाई आफ्नो स्वतन्त्र पहिचानका लागि संघर्षरत रहने छुट लेखकले मजैले दिएका छन् ।
सकसमा विगतदेखि वर्तमानसम्म नेपाली जनताले के कस्ता सकसहरु भोग्न पर्यो भन्ने कुरालाई कथानकको स्वरुप दिइएको छ । विषय चयनले नै उपन्यासको क्यानभास फराकिलो हुनै पर्ने वाध्यता देखाउँछ । जगदीश घिमिरेले यसलाई वाध्यता बन्न दिएनन् । उनले विषयको व्यापकतालाई बडो सहताका साथ प्रयोग गरेका छन् । समग्रमा रामेछाप र त्यसवरिपरि निरन्तर घटिरहने राजनैतिक र सामाजिक क्रियाकलापका राम्रा नराम्रा पक्षलाई पछ्याउँदै जाँदा उपन्यासले थाहै नपाई थुप्रै राष्ट्रिय सवालहरुलाई प्रखररुपले सतहमा ल्याएको छ । जनताको भाग्य र भविष्यसित जोडिएका ती सवालहरुको उत्तर सकसमा पाइँदैन । तर सकसले ती सवालहरुलाई सशक्त ढंगले सबैको सामुन्ने राखिदिएको छ । सकसमा जगदीश घिमिरेको विषय प्रतिको गम्भिरता, शिल्पप्रतिको सचेतता र भाषिक प्रयोगप्रतिको सहजता हदैसम्म मुखरित भएको छ । यसको पृष्ठभूमिमा आख्यानकारको गहन अध्ययन, विषय चेतना, राजनैतिक चिन्तन, अन्वेषणको क्षमताले मजाको काम गरेको छ । सकस लेखकको आँट, धैर्य, अध्ययन र चिन्तनको गोडमेलले तयार भएको फसल हो । यो कृति हातमा लिँदा हामी यसका प्रमुख पात्र शरद र कुमारीको दुःखपूर्ण जीवनी पढ्न बस्छौँ । तर उठुन्जेल हामी नेपालको समग्र राजनीतिको सकसपूर्ण क्षणलाई पनि पढिसक्छौँ । देशको राजनैतिक दुरावस्था र त्यसका कारणले समाजमा ओइरिएको बेथिति, अनि समाजभित्र क्रमशःविभाजित हँुदै गैरहेका मान्छेहरु र तिनका क्रमशः टुक्रिँदै गएका सपना, उसका अगाडि देखा परेका नमीठा र कहालीलाग्दा यथार्थहरुको सजिव प्रस्तुतिका आधारमा सकसलाई यो दशककै एक उत्कृष्ट कृति भनिदिँदा कसैलाई टाउको दुख्ला जस्तो मलाई लाग्दैन ।
जाँदाजाँदै एउटा कुरा भन्नै पर्ने लाग्यो मलाई । सकस पृथ्वीनारायण शाहको पालादेखि तपाईले यो किताब हातमा उठाउँदा र यसको अन्तिम हरफ पढिरहँदासम्मको कथानकलाई समेटिएको जीवन्त र अद्भूत आख्यान हो ।