19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डन्ट टच मी ओ कविताहरू !

कविता चन्द्र घिमिरे October 6, 2012, 2:17 am

बिहान

चिऽऽऽसो स्वप्नदोष सुरुङबाट म उम्कन्छु जब

दुर्गन्धित अन्डरवेयर अनुहार पखाल्छु

जन्डिस स्टोभ सल्काउँछु

चिया उमाल्न

धुजिएको अखबार मार्का कमिजमा आइरन कुदाउँछु

सरकारी वनजस्तो पातलो दारी मिलाउँछु

छिमेकी घर हेर्छु

झ्यालमा ओएसिस युवती देखे

पैले, कपाल मिलाउथँे

बैँस सुसेल्थेँ

कविता कोर्दथेँ

आइन्दा डन्ट टच मी ओ कविताहरू !

दिउँसो

स्लो पोइजन खाना होटेलमा उधारो खान्छु

एउटा श्रम–शिविरजस्तो जागिर

जहाँ धाउँछु

दिनभरि स्वाभिमानको छाला काढ्छु

घरी–घरी घडीमाथि शंका उमार्छु

गर्भवती टाइपिस्टबारे

सामाजिक प्रदूषण फैलाउँछु

र पनि कविता कोर्दथेँ

आइन्दा डन्ट टच मी ओ कविताहरू !

बेलुका

अल्छे ढोका मेरो स्पर्शले

ब्यूँझन्छ आङ तानेर क्यारऽऽऽ

ओछ्यानमा पल्टेर

आरक्षित दुर्भाग्यजस्तो सिलिङको कालो माकुरो ताकेर

गाउँमा उमेरले लखेटेका बाआमा सम्झन्छु

बैँसले बहिष्कृत

र पनि अविवाहित ठूल्दिदी कल्पन्छु

नपढेर गाउँमा साइरन बजाउँदो भाइलाई सम्झन्छु

कर्तव्यबोधले मैलाई लात हान्छ कस्सेर

र पनि कविता कोर्दथेँ

आइन्दा डन्ट टच मी ओ कविताहरू !

साँझपख

पसलको एक छेउ

ट्रान्जिस्टर नारायणगोपाल सुसाइरा’ हुन्छ

“जीवनदेखि धेरै धेरै नै थाकेर......”

अर्को छेउ म

मृत्युभन्दा तीऽतो रक्सी खिप्दै उक्लन्छु

मतालु सिंढी टक–टक–टक–टक

साँघुरो गल्ली

अतिक्रमण गर्छु एकाएक जब

सडकछाप कुकुर गाली भुक्छ ‘साऽऽऽला’

जति बेला पुग्छु डेरा

घरपट्टिकी छोरी कविता

मैले म्वाइँ खाएदेखिन् मकहाँ धाउन छाडेकी छे

कौसीबाट लुकेर

सिमसिमे नजरको टर्चलाइटले

चियो गरिरा’ हुन्छे ।

आजभोलि

कविताहरू मदेखि रुष्ट छन्

मेरा नियतिसँग असन्तुष्ट छन्

ओ कविताहरू !

नटोक मलाई

अरू मात्न देऊ

क्रमशः स्खलित हुन देऊ

मर्लिन मुन्रोले आत्महत्या गर्दा

रात मलाई हाराकिरी गर्न देऊ

बिन्ती !

तिम्रो टापूमा मलाई डाक्ने नगर

मेरो दुःस्वप्नको हाट तिमी नभर

प्लिज, समान्था फक्स बजाउने नगर “टच मी...”

महंगीमा मेरो माया

कवितासरि सस्तिएछ

अस्वीकृत कविताको लाम

बजारमा सूचिकृत हुन सकेन

अस्ति भट्टीमा धरौटी बस्न सकेन

भिसा नमाग, ओ कविताहरू !

आइन्दा कविता लेख्दिन

डन्ट टच मी ओ कविताहरू !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।