19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहरभित्र के-को हल्ला

कविता सुधीर छेत्री October 13, 2012, 8:06 am

1 ए लिप्स्टिकका एफ्रोदिते सुगन्धहरू

मांसल शब्दहरू खोजेर

अभिव्यक्त हुनलाई

उन्मादका चिल्ला तिघ्रा बजाएर

सिग्मण्ड फ्रायडका गाउँ खोज्दैछन्।

छातीबाट उम्केर

सहरका आँखामा चुप्लुङ्ग डुब्नपुग्छन्

पुष्ट डल्फिनहरू।

2 ए मेरो सङ्गीतको सुफी श्वास

मुरलीका प्वालहरूबाट निस्केर

ध्वनि-प्रदुषणका बादलमा

बाल्न गएको छ

ससाना सूर्यका बल्बहरू।

3 ए कालो सुट लाउने एकहुल भलाद्मीहरू

चर्चा गरिरहेछन्

के सम्बन्ध छ,

काइँली औँलामा लाएको सुनको औँठी

अमार्त्त्य सेनको अर्थशास्त्रमाझ।

4 ए हेर्दा-हेर्दै कमिलाको एकहुलले

असहाय गनेउलाको अपहरण गरेर लगे।

यो ताजा काण्डको सीधाप्रसारण देख्ने

एकमात्र म,

ज्ञात भयो

अपहरण हुनबाट यसपल्ट बॉंचेको रहेछु।

5 ए शनिवारको दिन

व्यापारका विशेषज्ञहरूले

सुनको भाउमा गुन्द्रुक बेचलाई

बजारको कमुलो अङ्ग चिमोटेर

आर्त्तनादको दोकान थापेको छ।

6 ए उपभोक्ताका अक्षौहिनी सेना

हातमा धिब्रीहरू बोकेर

विक्रेताको मनमा उज्यालो छर्न हिडेहोलान्

त्यसै र

डम्बरचौकहरू खोकिरहेछन्

बल्झेको हुकिङ्कफ

छातीमा बम झैं पड्काउँदै।

तर कविहरू

सब्जीवाल्नी बड़ीको काखमा

क्रय-विक्रयको रातो खाता देखेर

सूर्योदय र सूर्यास्तका सम्झना गरिरहेछन्।

7 ए शब्दहरू

हौसलाको बॉंदरे टोपी लाएर

सङ्घर्षको जाडोमा

ठिही-युद्ध लडी नै रहेका छन्,

सहरभित्र के को हल्ला।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।