18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुपचाप

कविता प्रवीण खालिङ October 20, 2012, 2:19 pm

स्सस्स्स्स्स......

हल्ला नगर

अहिले सबैको मन सुतेको छ

तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना

चेतना ब्युँझियो भने

यसले के के विगार्छ

थाहा हुँदैन के के ढाल्नसक्छ

पैह्रो जान सक्छ, आसन जानसक्छ

राशन जानसक्छ अनि त प्रशासनै जानसक्छ

त्यसैले हल्ला नगर।

सहनु भनेको हार्नु होइन

मौन रहनु भनेको चुपचाप होइन

चुपचापले धेरै चाप सिर्जना गर्छ

त्यसैले चुपचाप बस्नेहरूसित शब्द साह्रै डराउँछ

आवाजसित शान्ति डराए जस्तै।

चुपचाप बस्न थालेपछि

पहिले आवाज हराउँछ

त्यसपछि शब्द हराउँछ

अनि त अक्षरहरूको अकाल लाग्छ

उजेलोको राज शुरु हुन्छ

अक्षर भनेको अन्धकार हो कालो हो

त्यसैले कालोको कुनै रङ हुँदैन

कालोको जात हुँदैन

अनि सिर्जना हुँदैन

र श्रोत हुँदैन

उजेलोमा बाँच्नेहरूलाई

थाहा हुँदैन धिब्री बुझ्न साथै

पुनः अध्यारो कै राज हुन्छ

अध्याँरोको छाया हुँदैन

छाया खोज्नु पनि त उजेलोको सहारा चाहिन्छ

आकार नभएरै अन्धकार निराकार छ

त्यसले सबैलाई चुपचाप राख्नसक्छ

चाहे थाङ्ना मै किन नहोस सुताउन सक्छ

मसान कै किन नहोस शान्ति घोषणा गर्नसक्छ

तर चेतना उठ्न पाएको दिन पो थाहा हुन्छ

यो चुपचाप, यो शान्ति

मसानको हो कि मन्दिरको हो

त्यसैले अहिले हल्ला नगर

कतै चेतना उठेको दिन मसानको शान्ति थाहा

पाएर धेरैको शान्ति हराउनसक्छ

भ्रान्ति हराउनसक्छ

सस्स्स्स्स...

हल्ला नगर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।