19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दर बुकी फूल तिमी

कविता जे. बी. शेर्पा October 27, 2012, 7:46 am

एउटा कालखण्डपछि ,

आजै त हो,

मैले तिमीला , बेस्सरी सम्झिएको ,

समयको पत्र पत्र मुनि किचिएर ,

विस्मृतप्राय तिमी !

धन्य छ ट्युलिप ,

तिम्रै रंगीन दुनियाँले ,

आज मलाई ,

मेरो बिरानोझैँ बुकी फूल सम्झाई दियौ !

आजै त हो,

टप्प टिप्न मन रुने ,

सुन्दर ट्युलिपहरुमाझ पनि ,

मेरो आँखाको नानीमै बिझाएनौ तिमी !

क्षमा प्रार्थी छु ,

निर्दयतापुर्वक चुँडालेर, किचिमिची कति भए ,

अपराध बोधको गहिरो घाउ दुख्न थालेकोछ ,

तर पनि आनन्दित छु, आन्दोलित छु ,

कमसेकम मैले नाक खुमच्याउँदै छोएकै यादमा !

तर आज ,

म कति तढपिएँ ? बेसुरमै ,

तिम्रो नयनस्पर्शको अभावमा ,

सायद तिमी विस्मित हुन्छौ ,

म बोध गरिरहेछु ,

हो अपूर्व सुन्दर अनि ,

औधि मायालु थियौ तिमी !

समयछालले हुत्त्याएर ,

अर्को गोलार्धमा पछारिएको म ,

भौतारिंदै !

अनि अर्को गोलार्धमा ,

अजर तिमी ,

मेरो नजिकै लागिरहेछ ,

मेरो मितझैं लागिरहेछ !

मृगतृष्णामा म ,

यी ट्युलिपकाफुलहरुसित ,

र लिएको रंगीन सापटीमै ,

पलपल पछुताउँदै !

तिम्रो व्यग्र प्रतिक्षामाछु ,

मेरो औधि प्यारो ,

सुन्दर बुकी फूल !

एन्त्वर्प,बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।