14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मृत शरिरलार्इ नियाल्दा

संस्मरण/स्‍मृति सुरेन उप्रेती October 31, 2012, 5:07 pm

कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले

भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग

जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन

। अझै जूनको राज कायमै थियो । एउटा १५ , १६ बर्षको जस्तो देखिने केटो

आँखा मिच्दै होटलबाट ऒर्लियो । दुर्इ हातलार्इ छातीमा खप्टिएर बाँध्यो र

बस स्टेण्डमा गयो । मोविल र तेलको कालोले रँगिएको पेण्टको गोजीबाट गाडीको

चावी निकाल्यो । मकर नुहाएर जाडोले लुग लुग काम्दै गरीकी बृद्दा जस्तो

सितै सितले ढाकिएको गाडीलार्इ स्टार्ट गर्यो । गाडीले थर्रर काम्दै तमाखु

खाँदा हुक्काको नलीबाट निस्किए को धुँवा झैं डल्ला ऒकल्यो । अझ

एक्सिलेटर थिचेर ढ्याँइ ढ्याँइ गर्दा आकाशै कुहिरी मण्डल भयो । चकमन्न

भएर सुतेको बजारको सातो नै जाने गरी टयाँ टयाँ पारेर हर्न बजायो । अझ

ढोकामा ढयाँग ढयाँग हिर्काएर ल है विर्तामोड विर्तामोड भनेर चिच्यायो ।

उसको यो नियमित कार्य थियो । अरूले दस पाँचको जागिर खाए जस्तै । मात्र

यती हो कार्यालयमा काम गर्नेहरू कागजमा कारोवार गर्छन् र ठूलो पैसाको

आर्जन गर्छन् । कर्मचारी,बर्मचारी , तस्कर र सामान्य समेतले सम्मान

दिन्छन् । मान र प्रतिष्टाका पदकले विभूषित हुन्छन् । घोषित अघोषित उपहार

र टोकन थाप्छन् । तर उ भने पैसाको कारोबार गर्छ र कम अझ मुस्किलले

बाँच्ने दाम मात्र हात पार्छ । प्रत्येक दिन फरक फरक यात्रुहरू आउँछन् ।

कहिले कँही सानो रकमका निहुँमा पनि हातपात गर्छन् । अपमान र अपशब्दले

नुहाइ दिन्छन् । भाडा तिर्न न परे हुन्थ्यो भनेर टाउको लुकाउँछन् । उ जति

छुचो हुन सक्यो र पैसा अशुल्न सक्यो गाडी मालिक तेती नै खुशि हुन्छन् ।

जागिरको आयू लम्मिन्छ । अझ ड्राइवरलार्इ खुशि पार्नु त छँदैछ । ड्रार्इवर

खुशि भयो भने बेला बेलामा स्टेरिङ पनि छुन पार्इन्छ । अरूले पढेर

विधावारिधि को सपना सजाए जस्तै उसको अन्तिम लक्ष पनि ड्राइवर हो ।

ड्राइवर हुनका लागि गाली मुक्का र अपशव्दहरू पनि सहन्छ र अभ्यस्त बन्न

प्रयास गर्छ ।

आज म पनि दिन जन्मनु भन्दा अगाडि नै हतारिँदै बस चढन आएको छु । बसपार्कको

ठिक अगाडी बाजेहोटल छ । होटलमा चिया खानेहरूको सँख्या बढ्दो छ । म पनि

सँख्या बढाउन त्यँही पुग्छु र चियाको अर्डर गर्छु । होटलकी शाहुनी र बसका

गुरूजीको भलाकुसारी चल्दै छ । मोटे मोटे मान्छे बाँस र नाइलनको डोरीले

बनाएको मुढामा बसेर मालपुवा पकाउँदै छन् । उनको बोलीको शैली हेर्दा शाहु

जी हुन भन्ने अड्कल काट्न मुस्किल पर्दैन । शाहुनी ड्राइवरका कुरामा

खित्का छोडेर हाँस्छिन् । यो कुरा शाहुलार्इ मनपरेको छैन । शाहुको

अनुहार र आँखाको हेराइले प्रश्ट्याउँछ । मान्छेहरू मालपुवा र चिया खाँदै

छन् । म पनि चियाको ग्लासलार्इ दुर्इहातका विचमा राखेर हातलार्इ तातो

बनाउन खोज्छु ।

मेरो मन पनि अरू यात्रीहरू झैं गाडी चढ्न आतुर छ । वेलुका चाँडै विराटनगर

पुग्न पाए भोलीदेखि शुरू हुने तालिमको तयारी राम्रो हुने थियो भन्ने लोभ

छ । म तिनै तालीमका कुरा मनमा खेलाउँदै छु । ड्रार्इभर चियाको ग्लासलार्इ

टेवुलमा राख्छन् र यात्रुहरूलार्इ बसमा गएर बस्न अनुरोध गर्छन् । म पनि

आफ्नो झोला च्यापेर बसको टिकटमा सिट नम्बर हेर्दै बस तर्फ तानिन्छु ।

बसको ढोका नजिक पुग्दा एक जना परिचित मित्र फेला परे । उनी सँगै एकजना

त्यस्तै २०,२२ बर्षकी केटी पनि छन् । उनी बहिनीलार्इ गाडी चडाउन आएका

रहेछन् । उनकी बहिनी पनि त्यही तालिममा भाग लिन विराटनगर जाँदै रहिछन् ।

छोटो कुराकानीमा ती मित्रले सर्सर्ति भने । ल तपार्इ भए पछि म गए जस्तै

भयो । बहिनीले तेती धेरै यात्रा गरेको छैन । दुहवी गएर चमाको घरमा

बस्छे र भोली बिराटनगर जान्छे भनेर साथीले विदाका हात हल्लाए । हाम्रो

बसले पनि र्इलाम बजार सँग विदा लियो ।

हाम्रो बस विहानीको तुँवालोको पर्खालमा गएर झ्वाम्म रोपिन्थ्यो । हामी

सबैको जिउनै सिरिङ हुन्थ्यो । नजिकै नपुगे सम्म केही पनि देख्न नसकिने

गरी तुँवालोले ढाकेको थियो । विपरित दिशाबाट आउने गाडीलार्इ आवाजबाट

मात्र अड्कल काट्नु पर्थ्यो । गाडिको लाइट त झर्न लागेको तारा जस्तो

पिल्पिल मात्र गर्थे । चिया बगान, अम्लिसो र रेशम खेतिको रमणिय

दृश्यलार्इ पनि तुँवालो र कुहिरोको पर्खालले कैदी बनाएर राखेको थियो ।

बस गोलाखर्क हुँदै मार्इखोला तर्फ ऒरालो लाग्यो । ऒरालोमा ब्रेकलगाउँदै

घुम्तिमा गाडि घुमाउँदा यात्रुहरू कहिले एकातिर ढल्कन्थे त कहिले अर्का

तिर गएर ठोकिन्थे । मार्इखोला तरेर उकालो लागे पछि आर्इतबारे न

पुगुन्जेलको यात्रामा खासै परिवर्तन आएन । आर्इतवारेलार्इ दाँया पारेर

फिकलतिर लागे पछिको यात्रामा भने निकै सुधार आएको छ । सूर्यले डाँडामाथि

खुट्टा टेकी सकेको छ । चिसो सिरेटोले हिर्काए पनि यात्रुका अनुहारको

अव्यक्त संन्त्रास बिस्तारै विलाउँदै छ । यात्रुहरू आफ्ना स्वेटर,ज्याकेट

र न्याना न्याना कपडा लगाउँदै चिसोको प्रतिकारमा शान्तिपूर्ण तरिकाले

जुट्दै छन् । फिक्कल पुगे पछि गाडिले चिया ब्रेक भन्दै छोटो विश्राम लियो

। यात्रुहरू चरनमा छरिएका भेडा बाख्रा झैं बजारमा छरिए । कोही होटेलका

टवार्इलेट तिर गएर लाइन लागे । कोहि चिया सेलरोटी ,चना, अण्डा र पुरी

तरकारी खान थाले । मलार्इ पनि पकाउँदै गरेको तातो तातो जेरी स्वारीले

लोभ्यायो । खाइ सक्न नपाउँदै त्यही जोशिलो १५, १६ बर्षे केटाले गाडिको

ढोका ढक ढक गर्दै यात्रुहरूलार्इ वोलाउँन थाल्यो । सबै यात्रुहरू आ आफ्ना

सिटमा गएर वसे । गाडि विर्तामोड तर्फ गुड्यो । गाडिले

कन्याम,शान्तिनगर,बर्ने ,सरेडाँगी हुँदै चारआलीमा आएर पूर्वपश्चिम

राजमार्गलार्इ भेट्टायो । विर्तामोड आइपुग्दा विहानको ९३० भएको रहेछ ।

विराटनगर है विराटनगर भनेर एउटा बसको ढोका समातेर अर्को तन्नेरी कराउँदै

थियो । घरिघरि ढोकामा हिर्काउँदै जाउँ जाउँ गुरूजी पनि भन्थ्यो ।

यात्रुहरू हतारिँदै बस चड्दै थिए । निर्मला र म पनि हतार हतार बस तर्फ

बढ्यौ। विराटनगर जाने भने पछि सिटको व्यवस्था हुने भयो । सात र आठ

नम्वरको सिट हामीलार्इ दिए । निर्मलालार्इ झ्यातिरको सिट दिएर म विचमा

बसेँ । हाम्रा झोलाहरू आफ्नै सीटमुनी छिरायौं । छेउको नौ नम्वरका सिटमा

एकजना भारतिय मूलका जस्ता लाग्ने मानिस आएर बसे । स्कुल र कलेज जाने समय

भएको हुनाले एकै छिनमा खुट्टा राख्ने सम्म ठाउँ नरही गाडी भरियो । एउटा

सामान्य बस भित्र कतिमान्छे अटाउन सक्छन् भन्ने परिक्षण गरिए जस्तो थियो

मान्छेको भिड । गिनिजबुक अफ वर्ल्र्ड को रेकर्ड भए त्यसले पनि माथ खाने

खालको । गाडी भित्रमान्छेहरू पाँचमिनेटमै पशिनाले खल्खल्ती भएका थिए ।

सासफेर्न नै न सकिने जस्तो भएको थियो । मत झन दुर्इजनाका विचमा

स्याण्डविच भएर बसेको थिएँ । गाडी गुडे पछि भने अलिअलि हावा छिरेर बाच्न

चैं बाँचिन्छ होला भन्ने आशा पलायो । बसले सुरूङगा क्याम्पस जाने एकहुल

बिधार्थीहरूलार्इ ऒराल्यो तर सुरूङगाबाट झन धेरैमान्छे चढे । बसका दुबै

ढोका बाहिर अरिँगालको गोलो जस्तै मान्छे झुण्डिएका थिए । विपरित दिशाबाट

आएको बसलार्इ सार्इड दिँदा त बस पल्टिए झैं लाग्थ्यो । यस्तै त्रासका विच

पनि गर्मीले गर्दाहोला मलार्इ भने निन्द्राले आक्रमण गर्यो र म झकाउन

थालेँ ।

बस गन्द्रयाङ गन्द्रुङ गर्दै गुडदै थियो । सार्इकल र रिक्साका आवाज आर्इ

रहेका थिए । रिक्सालार्इ सार्इड दिएको होला भनेर म अझै आँखा बन्द गरी

रहेको थिएँ । दमकजाने रतुवा खोलाको पुलतरे पछि बसले बाटो छोडेछ । बस

पशुहाट लाग्ने ठाउँमा पल्टिएछ । सबै मान्छेहरू हाम्रो सार्इड तिर खनिए ।

विचरा निर्मलामाथि हामीसबै खप्टियौं । त्यसपछि बस फेरि अर्को तिर

पल्टियो । हाम्रो टाउको हुटमा गएर टाँसियो । फेरि पल्टियो हामिले गएर

अर्कातिरका मान्छेलार्इ थिच्यौं । अन्त्यमा गएर बसले आकाशतिर चक्का

फर्काएर विश्राम लियो । बसको हुटले जमिनमा गएर आत्मसमर्पण गर्यो । बसको

इन्जिन चलिरहेको थियो । मोविल र डिजेल पोखिएर अगाडि तिर बस्ने मान्छेहरू

माथि खनिंदै थियो । मोविल खनिएर मान्छेका अनुहार नै नचिनिने भएका थिए ।

गाडिका शिशा फुटेर मान्छेहरूका शरिर भरि निर्दयी तरिकाले गाडिएका थिए ।

एक बल्ड्याङ पल्टिने वित्तिकै अब मरियो भन्ने निश्चित भयो । कोलाहल

,रूवार्इ र चिच्याहटले ठूलो विपतिको पुष्टी गर्दै थियो । अन्ययात्री झै म

पनि अर्धचेत अवस्थामा पुगेँ । मैले सेतो कपडाले ढाकेर मृत शरिरहरूलार्इ

लहरै चौरमा सुताएर राखेको देखेँ । ती मृत शरिरहरूमध्धे मेरो पनि एउटा

थियो । लासमाथि झिँगाहरू उडिरहेका थिए । पुलिसले सनाखत गराउँदै

आफन्तलार्इ लास बुझाउँदै थिए । मेरोचाहिं लास बुझ्ने मान्छे फेलापरेको

थिएनन् । घर पाँचथरमा , बसाइ काठमाण्डौमा र ड्राइभिङ लाइसेन्समा धरानको

ठेगाना थियो । त्यहाँ आउने मान्छेलार्इ पहिचानका लागि कपडा उठाएर

देखाउँथे । कसैले चिन्न सकेका थिएनन् । धरानमा मान्छे खोज्न पठाइएको तर

फेला नपरेको कुरा हुँदै थियो ।

गाडिले उँधोमुण्टो लगाएर टाउको टेके पछि मैले आफैंलार्इ चिमोटें ।

गालामा प्याट्ट हिर्काएँ । म त मरेको रहेनछु । छेउमा बसेकी निर्मलालार्इ

पन्छाएर फुटेका झ्यालबाट वाहिर निस्किएँ । निर्मलालार्इ पनि बाहिर

निकालें । हातखुट्टा र सारा शरिर काँप्दै थियो । हतार हतार माथि बाटोमा

उक्लियौं । निर्मलाको एउटा खुट्टाको सेण्डल रहेनछ । उनले बाटो सम्म चढ्दा

पनि थाहा पाएकी थिइनन् । हाम्रा झोलाहरू पनि गाडिभित्रै थिए । म झोला

खोज्न गाडिभएका ठाउँमा ऒर्लिएँ । स्थानिय वासिन्दाहरूको भिडले गाडिलार्इ

घेराहाली सकेका रहेछ । मेरो र निर्मलाको झोला मरी तरी गाडिबाट निकालेँ ।

निर्मलाको सानो साइड व्याग र एउटा सेण्डल चाहिँ फेला परेन । उनका चिठ्ठी

र पैसाहरू त्यसै व्यागमा थियो रे । जे हराए पनि हामी भने जीवित नै थियौं

। स्थानिय केटाकेटीहरू गाडिका भित्र भित्र पसेर छापामार्दै थिए ।

उनीहरूका अभिभावकहरू सामान समाउँदै अरू सामान खोज्नलार्इ उक्साउँदै थिए ।

बसको खलाँसी भाइ ड्रार्इवर हुने सपनाहरू अधुरै छाडेर ढलेको थियो । उसको

क्षतविछत लास घोप्टो परेर रगतको आहालमा डुवेको थियो । केहि मान्छेहरू

अँगभङग भएर चिच्याउँदै थिए । एम्वुलेन्स आएर शक्त घाइतलार्इ उठाउँदै थियो

। हामी रिक्सामा चढेर पश्चिमजाने बसस्टपमा सम्म गयौं । बिराटनगर जाने

बस लागेको रहेछ । बस चढेर विराटनगर तर्फ लाग्यौ । टाउको गह्रुंगो भएर

दुख्दै थियो । बाटाभरी त्यहि यूवकको आकृति आँखा अगाडि आइरह्यो । उसका

परिवार र आफन्तको बारेमा अनेक कुरा सोच्यो यो मनले । यो घटना भएको करिव

१९ बर्ष भइ सकेछ । अझै पनि बस चढदा झस्किन्छ यो मन । पत्र पत्रिकामा

दिन दिनै छापिने बस दुर्घटनाका खबर पढ्दा पिडाले छट्पटिन्छ यो मन ।

क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।