14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भन्सार

कथा यमुना अर्याल October 31, 2012, 5:13 pm

“भन्सारमा त पैसाको बोटै छ की क्याहो कैलाशे तैँले त कमाउनु कमाइस्, यसो हामीलाई पनि चान्स मिलाइदेन ” सँगै खरिदार पास गरेर हुलाक विभागमा पोष्टिङ् भएको केशबले प्रश्न ते¥साउँछ । “हेर केशव भन्सारमा त यी मूला सचिवको भन्दा बढी कमाइ हँदो रै’छ, भन्सारमा काम गरेर अरु ठाऊमा सरुवा हुनुप¥यो भने त एकपटक फेन्ट हुन्छु होला म त । कति न सचिव भए भन्दै फूर्ति लगाउँछन काठमाण्डौमा जावो एउटा घरसम्म बनाउन सक्दैनन । अस्ति देखिनस् पुतलीसडकमा लुखुरलुखुर पहिलेको भूपू सचिव हिडिरा’थ्यो । अहिलेसम्म भाडा तिरेर बस्छ रे भन्या । जावो सरकारले दिने महिनादिनको तलवले के पुग्छ र ? उतिबेला निकै सोझो कर्मचारी भो मोरो मुख्य सचिव हुन पनि सकेन । चाकडी गर्न जान्दो रैनछ कसका बुद्धिले मुख्य सचिव हुनु ? लुरुलुरु पढ्यो सचिव सम्म भो , उसलाई पुग्यो रिटायर्ड भो बूढो । यस्तो पाराले नेपालमा चल्दैन केशव ।

भन्सार त धन्सार हो केशव कहिलेकाँही त खानासम्म टाइममा पाइदैन , दिनमै कति हजार हुन्छ तलव त चोखो बँच्छ , भन्सारमा भन्दा मान्छे किन मरिहत्ते गर्छन भन्ने कुराको राज बल्ल बुझदैछु” । कैलासको कुराले खिन्न हुन्छ केशव, “आखिर यस्ले र मैले एउटै पदमा नाम निकाल्यौँ उसले भन्सारतिर चड्कायो मैले हुलाकतिर फरक यत्ति हो । पोष्टिङ् भएको दुइवर्ष भा’ छैन चितवनमा कति आना जग्गा लिइसक्यो रे, काठमाण्डौमा घडेरी खोज्दै छु भन्छ , छोराछोरीलाई पहिलेका स्कुलबाट निकालेर रातो बंगालामा पढाउने शुर गर्दैछु भन्छ यो सब कहाँबाट हुन्छ ? कसरी हुन्छ ? यहाँ आफूलाई मिठो दुइछाक खानसम्म धौधौ भइरा’छ । भन्सारमा जान किन यति ज्यान फालेर लाग्छन भन्थे यस्तो हुँदो रहेछ त को जान्थेन” ।

“हुलाक विभागमा कार्यरत केशवको अफिसमा काम भनेको घाम ताप्ने र पत्रिका पढने भन्दा केही छैन । काम भए पो गर्ने ? काम पनि छैन दाम पनि छैन । मलाई त यो हुलाक विभाग खारेज गर्दे पनि हुन्थ्यो जस्तै लाग्छ बेलाबेलामा । दिन काट्न पनि वाक्कै लाग्छ कहिलेकाँही त । के दिनमा खरिदार भैइएछ ? छोडौँ भने बल्लबल्ल घुँडा धसेर लोकसेवा आयोग पास गरेर पाको सरकारी जागिर कसरी छोँडू , गरु भने यस्तो निरिह भएर कतिन्जेल गरुँ ? कतिबेला त आफ्नै बिज्नेस गरेर बसौँ जस्तो लाग्छ फेरी रातदिनको बन्द हडतालले बिज्नेस पनि कतिदिन चल्ने हो ठेगानै छैन त्यो भन्दा त खुरुखुरु महिना वित्दा तलव त आउँछ भन्ने लाग्छ । हेर कैलास तँ निकै लक्की रैछस यार मेरो त बिजोग छ । यो महँगीमा घरपरिवार कसरी पाल्ने टेन्सन पो छ त मलाई ” । केशवको कुरा एकोहोरो सुनिरहेको कैलासले मुख खोल्यो , “कहाँ हिम्मत हार्छस् केशव ? यसो ट्राइ गर्न त , सरुवाको प्रोसेस् मिला , नेताको चाकडी गर , सचिवलाई चिल्लो घस् , देखिनस् तेरै विभागको एकजना रेशम हो की रमेश भन्ने मालपोतमा सरुवा भा’ को ? उसले कति कमाइसक्यो मालपोतबाट । उसलाई खाना खानपनि फुर्सद छैन अहिले पैसाको बिटो देखाउँदै थियो अस्ति । टेक्निक चाहिन्छ केशब टेक्निक । नाम पो राष्ट्रसेवक काम त खास्टसेवक हो क्या बुझ । यस्तो सोझो पाराले तँ नासू पनि हुँदैनन कतै सरुवा पनि हुँदैनस् सधैभरी मरन्च्यासे खरिदार भन्दा तेरो स्टाटस् केही हुनेवाला छैन “ ।

कैलाशको कुरा एकटकले सुनेको केशवको मनमा अनेकथरी कुरा खेल्न थाले , “नाम राष्टसेवक कर्मचारी व्यवहार भने कसरी धन कमाउने , कसरी अर्कोको भन्दा सान देखाउने , कसरी शैर गर्ने भन्दा अर्को छैन । यही भएर त नेपालको हाल बेहाल भा’ हो नी । साँच्चै यतिका कर्मचारी छन सबैले राम्रोसँग काम गर्नेभए कति प्रगती हुन्थयो होला ? देश कहाँबाट कहाँ गइसक्थ्यो होला ? कुनै पनि राजनीतिक दलसँग आवद्ध हुन पाइदैन भने पनि जुन पाटीको सरकार आउँछ त्यही पाटीको कार्यकर्ता भएर सरुवाको चाँजोपाँजो मिलाउन पाखुरा बर्टाछन राष्टसेवक कर्मचारी । थुक्क राष्टसेवकको बेइज्जत । कमाइ नभएपनि मलाई हुलाकै ठिक छ कसैको एक पैसा घूष लिएको छैन कसैले औँला ठड्ओस त मलाई ? कसैका बा को केही लाग्दैन । म सच्चा राष्टसेवक कर्मचारी हुँ मलाई जनताको रगत पसिना चुसेर करोडपति खास्टसेवक बन्नुछैन । कमा कैलासे जति सक्छस कमा मेरो त सुख्खा तलव मात्रै हो । जहिलेसम्म पुग्छ यसैले निर्वाह गर्छु म नेता मन्त्रीको गोडा मोलेर सरुवा हुन चाहन्न ”।

कैलाश धिर्कादै भन्छ “तँ जस्ता बेकुफको जमाना गइसक्यो , तलाई माँखाले पनि गन्दैन यस्तै गरिस् भने, तँ जस्ता सोझाको दिन गइसक्यो भनेपनि हुन्छ केशव । बेलैमा बुद्धि लगा , पछि पछुतो होला तँ लाई राष्टसेवक भनेर कसैले गन्नेवाला छैन । पैसा भनेपछि शिवका पनि तीन नेत्र । अस्ति प्रदीपले तीन लाखकाो चाँजोपाँजो मिलाएर एयरपोर्टमा सरुवा भएको थाहा पाइनस् ? अहिले उसलाई देखिस् भने तँ तीन छक पर्छस् , ऊ त अहिले अठार घण्टा ड्यूटी गर्छ पैसा पनि कमाउनु कमायो मोराले । कम्तिमा बीस पटक त ऊ मन्त्रीकहाँ धायो होला, नेतालाई त कति रिक्कोएस्ट गर्यो कति साध्यै छैन । सोझो औलाले घ्यू आँदैन चाकडी गर्ने बेलामा गर्ने हो क्या पछि पछुताएर केही हुँदैन ।” केशल अवाक भएर कुरा सुनिरह्यो मौन समर्थन जनाइरह्यो मात्रै । ऊ सिद्धान्ततर्फ फर्कन्छ , आखिर पैसाकै लागि यति विघ्न मरिहत्ते गर्नेभए किन राष्टसेवक , खास्टसेवक कर्मचारीको बिल्ला भिराए भै गो नी । सामान्य प्रशासन मन्त्रालय खारेज गर्दे भइ गो नी, हुलाक विभागलाई निस्तेज पार्दे भइगो नी । किन बेकारमा यी कमाइ नहुने ठाऊमा कर्मचारी भर्ती गराउने ? राष्टसेवक भन्ने शव्दको के अर्थ भो त ? एउटा जावो खरिदार कैलासे त यत्रा गफ गर्ने भो हिजोको आजै भने बर्षैादेखी भन्सारमा पौडी खेलेका हाकिम सा’ ब को सम्पत्ति कति होला ? उनका सन्तान सेन्ट जेवियर्समा पढ्छन कि बाहिर पढ्छन कुन्नी ? कति ठाऊमा घरघडेरी जोरी सके होलान, बैँकमा कति थुपारे होलान त्यसको के लेखाजोखा छ ? धिक्कार नेपालको ब्यरोक्रेसी ”।

“कन्ट्याक गर्दै गर केशव मेरो सेल नम्बर लि राख्न त । अफिस आवरमा त म कल रिसिभ गर्न पनि भ्याउँदिन बाँकी समयमा कल गर पच्चिस हजारमा किनेको मोवाइल सेट देखाउँदै कैलाशले भन्यो । यसो सरुवाको प्रोसेस चाल्दै गर यस्तो जावो हुलाकको खरिदारले महिनाभरीमा कमाउने तलव त राम्रो ठाऊमा परिस् भने एक घण्टामा कमाउँछस केटा आँट गर । बेलैमा बुद्धी पु¥याइस भने तेरो पनि चकाचक हुनेछ । ल म जान्छु वाइ सि यू लेटर । ”यति भन्दै कैलाश आफ्नो धन्दातिर लाग्यो । केशवले आफ्ना सहपाठी हेर्छ कोही परराष्ट्र मन्त्रालयमा पोष्टिङ् भएर विदेशमा विन्दास जीवन विताइरहेका छन, कोही भन्सारमा पैसाको बिटो सोहोर्दै छन , कोही नापीमा जग्गा भन्दा बढी पैसा नापी रहेका छन , कोही मालपोतमा पैसाको बिटो कमाइरहेका छन । तर सँगैको लोकसेवा पास गरेको म हिजोको च्यातिएको सर्ट सिलाउन पाएको छैन, हिजो किनेका गोल्डस्टार जुता भन्दा अरु किन्न सकेको छैन, दुइहजार पर्ने साघुँरो कोठा भन्दा अर्को कोठा जोर्न सकेको छैन घर घडेरीका कुरा त काँ पाएर सोच्नू ? एकपटक सोच्न मन लाग्छ आखिर म पनि त राष्ट सेवक निजामती कर्मचारी हुँ कैसाशे जस्ता पनि राष्टसेवक कर्मचारी । किन यति विभेद छ एउटै दर्जाको कर्मचारीको बिचमा ? किन यस्तो विभेदको अन्त्य हुँदैन ? किन यति असमानता ? निजामती सेवा ऐन पनि जलाँइदिऊ जस्तो लाग्छ बेलाबेला त । ”

एकदिन कैलाशको चिठी केशव कार्यरत हुलाकमा आइपुग्छ हतारहतार केशले चिठी खोल्छ र बाँच्छ “हाइ केशव । के छ तेरो हाल खवर ? लामो समयसम्म बेखवर भा’ को ले यो पत्र लेखेको । सायद तेरै हातमा पर्छ होला किनकी तेरै अफिसको नाऊमा पठाएको छु । तलाइ ट्रिट दिने सोँचमा छु । सानैदेखीको साथी होस । मैले न्यूरोडमा साडे तीन करोडमा घर किने । मेरो फ्याम्ली अव न्यूरोडमै बस्छन म यतैतिर हुन्छु । मैले दुइसय जनालाई इन्भाइट ग¥या छु तँ पनि लक्की होस किनकी मेरा सिमित साथीहरुको बिचमा सेलेक्ट भा’ छ्स । विहान दश बजेदेखी स्टार्ट हुन्छ राती नाचगान पनि गर्ने भन्याछन ल आइजा है । म अफिसियल काममा अलि बिजी छु । थ्याङक्यू डियर फे्रन्ड्स केशव ओके वाइ फर टुडे । ”

सँगैका साथी हवाइजहाज माथि म भैसी गोठाले भन्ने गीत सुनेको केशव कैलाशको चिठी पढेर रुनु न हास्नुको मोडमा देखियो । पत्रको जवाफ दिनै प¥यो ऊ कापी र ककलम लिएर लेख्न बस्यो “हाइ कैलास । धन्यवाद पत्रको लागि । खप्परमा ल्यारैछस कैलाशे गर्नु गरिस् । पद खरिदार भएपनि पैसा कमाएर खरवपति भइस् तेरा साखासन्तानलाई हुने जति कमाइस् अव तँलाई के को पीर भो र ? मलाई त चाकडी गर्न पनि आँउँदैन , तँ जस्तो चिल्लो घस्न सिपालू पनि भइएन , तँ हिजो कुन हैसियतको मान्छे कहाँ पुगिस म जहाँको त्यही छु । धन्य कैलाशे बेलैमा भन्सार चड्काइस् । तँ जस्ताले अरवौ कमाउँछौ तर म जस्ता राष्टसेवक कर्मचारीको हालत हेर त के विजोग छ ? तैले तीन करोडमा घर किनिस् म तीन हजारको कोठा खोज्न सकिरा ’ छैन । सम्झिस् ब्यस्त भएर पनि त्यही ठूलो कुरा हो मेरो लागि । आज जागिर खाएको दश वर्ष भयो तर सरुवा भा’ छैन, चाकडीमा अडेको नेपालको कर्मचारी तन्त्रलाई मेरो सलाम । तँ जस्ता अरवपति खरिदारलाई सादूभाव । म जस्ता असली कर्मचारीलाई सधै सौतोका व्यवहार गर्ने देश चलाउने चालकलाई हृदयदेखी स्वागतम् । आजकाल त काम गर्नपनि जाँगर मरिसक्यो । अव दसवर्ष यही थोत्रो कुर्सीमा विताउँछु कसैलाई गुहार्न जान्न । म असली राष्ट्रसेवक कर्मचारी बन्न चाहन्थे त्यही धोको पुरा भो अरु केही हात लागेन । घरमा सबैले गाली गर्छन तँ सँगै लोकसेवा पास गरेको कैलाशेको कत्रो प्रगती भो तँ मरन्च्यासेले केही गर्न सकेनस् । श्रीमती खाली कचकच गर्छे काठमाण्डौ लगेन भनेर, बाको सधै अध्यारो मुख छोराले पैसा कमाएन भनेर, दाइभाउजु अशं लिएर भिन्नै बसे भाइको कमाउने छाँट नदेखेर, माइतीमा आएका दिदी बहिनी ठुस्किदै घर जान्छन कान्छो दाइले जावो यति दक्षिणा दियो भन्दै । गाउलेले कुरा काट्छन त्यो केशवले भन्दा त मैले हलो जोतेर मजाले कमाएको छु । छोराछोरीले राम्रो स्कुलमा पढाएन बाबाले भन्दै झम्टिन खोज्छन तर मेरो पिडा न त सरकारले सुन्छ न त सम्बन्धित सरोकारवालाले ।

बोलवालको बिक्ने भा छ कर्मचारीतन्त्र भन्ने कुरा मेरा घरपरिवार सँगीसाथीलाई के थाहा ? निजामती किताब खानामा मेरो फाइल होला त्यही हो मेरो इतिहास । म सबैबाट वायस भा’छु पैसा कमाउन नसकेर । सरकारले त्यती दिन्छ त मैले कहाँ बाट खोजेर मेरा घरपरिवारलाई पैसाको बोट देखाइदिऊ ? सक्छौ जागिर नखाऊ सक्दैनौ जागिर खाऊ भनेको साँचो रहेछ । नेपालका निजामती कर्मचारी राष्टसेवक होइनन खास्टसेवक हुन । अर्कोजुनीमा जन्मन पाएभने पनि यही हुलाकको कर्मचारी हुन पाऊ किनकी स्वर्गमा मलाई ठाऊँ छ कसैको एक पैसो खा’ को छैन केही अकूत सम्पत्ति जोरेको छैन जे छ चोखो कमाइमा मिठो नमिठो खा’को छु । धन्य हुलाक मलाई भष्ट्रचारी कर्मचारी त बनाएनस् मलाई कसैले धारे हात लगाएनन्, कसैको सराप लागेन । ल कैलाशे तेरो घरमा निम्ता मान्न आउँछु । पत्र पठाउँदै गरेस् बाइबाई । उही तेरो पुरानो हितौसी केशव ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।