17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समसामयिक कविताहरुको सङ्ग्रह “मेघा”

कृति/समीक्षा छविरमण सिलवाल November 11, 2012, 4:45 am
छविरमण सिलवाल
छविरमण सिलवाल

सिर्जना प्रस्फुटित हुनको लागि केहीले रोक्दो रहेनछ । मान्छे जतिसुकै व्यस्त रहे पनि मनका भावनाहरूले समयको पाउवन्दिलाई हटाई दिँदो रहेछ । यस्ता धेरै उधाहरणहरू हाम्रा सामु रहेका छन् । नेपालको औद्यौगिक घरानामा हुर्किएका बसन्त चौधरीका कविताहरूको प्रसंङ्ग कोट्याई रहेको छु मैले यति बेला । माया बल्झेछ, तिम्रो नाममा, रिफ्लेक्सन्स अफ लभ, वल्ली लभ र वेष्ट अफ बसन्त चौधरी लगायत पाँच ओटा गीति एल्वम प्रकाशित भैसकेका चौधरीको “मेघा” कवितासङ्ग्रह हालै मात्र प्रकाशित भएको छ । श्री लूनकरणदास–गंङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्धारा प्रकाशित उक्त पुस्तक भित्र नेपाली भाषाका छयालीस कविता र हिन्दी भाषामा छतिस कविताहरू रहेका छन् । उनका कविता निकै मर्मस्पर्शी रहेका छन् । ह्ृदय देखिनै उव्जिएका भावना भित्र मानवीय संम्वेदनाहरूको पोका भन्दा पनि हुन्छ उनका कविताहरूलाई ।

आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर साहित्य, गीतसङगीतमा पनि चौधरी अब्बल ठहरिएका छन् । यसअघि “संवाद” र “राष्ट्रियता नदुखोस्” समसामयिक लेखका दुई कृति प्रकाशित भईसकेका छन् । कविताको चाहिँ पहिलो सङ्ग्रह हो उनको “मेघा” । पहिलो सङ्ग्रहमै उनका कविताहरू अब्बल ठहरिएका छन् । समसामयिक विषयवस्तुहरूमाथि लेखिएका उनका यी कविताहरूले अब बसन्त चौधरी गीतकार मात्र नभएर कविका रूपमा आफ्नो परिचय बनाउँन सफल देखिन्छन् । “जिस चित्र को मैं पूरा न कर सका उसमे तुम्हे आकार भरना हैंं......।” “मेघा” शिर्षकको हिन्दी कविताको एक अंश हुन् यी माथिका हरफहरू । छोरीको जन्मदिनको उपलक्ष्यमा उनले दिएका शब्दरूपी उपहारबाट नै पुस्तकको नाम रहेको छ “मेघा” ।

जीवन जगत्का शाश्वत सत्यको उजागर गर्दै पवित्र उद्देश्यका लागि लेखिएका शाश्वत कविताहरू लाग्छन् उनका सिर्जनाहरू । “रागात्मक प्रणयचेतना भित्रका संवेदनाहरूलाई शब्दले समातेर, अनुरागका मनोस्पर्शशील बिम्बलाई कोमल भावहरूमा उनेर अनि जीवन, वर्तमान र आस्थाका मृदु अनुभूतिलाई कल्पनाका बिम्बहरूमा उतारेर मनले÷ह्ृदयले मात्र पढिन सक्ने कविता लेख्ने सर्जक बसन्त चौधरी उच्च उदात्त प्रणयचेतनाका कवि हुन् । उनका कवितामा गीतको माधुर्य, संङ्गीतको निनाद, भावको तरलता र सौन्दर्यको भिन्नै कला पाइन्छ ।” उक्त हरफहरू चौधरीका कवितामा डा.लक्ष्मणप्रसाद गौतमले लेखेका टिप्पणीबाट मैले सापट लिएको हुँ । डा.गौतमले भनेझैं उनका कविता भित्र बौद्धिक सम्वेदना पनि छरपष्ट छरिएका छन् । नेपाली र हिन्दी दुबै भाषामा रहेका उनका बयासी ओटा कविताहरूले समग्र जीवनका भोगाईहरूलाई नजिकबाट चियाई रहेका छन्, साथै जीवन जीउनुको सार्थकतालाई औल्याई रहेका छन् ।

“हामीविचको दूरी छोटिएन भने, ठान्ने छु मेरै मायामा कुनै खोट रहेछ, जीन्दगी एउटा मिठो चोट रहेछ.........!” दृश्यमा तिमी छैनौ शिर्षकको कविताका यी हरफहरू निकै मार्मिक छन्, जीवन्त छन् । “धेरै दुःखले साँचेका यी सपनाहरूमा, धेरै पटक धूलो उडेका छन्, पानी बगेका छन्, चिसो उम्रेका छन्, तातो फुलेका छन्, अब यो अन्तेम ऋतुमा अन्तेम श्लोक देऊ यिनीहरूलाई ।” नयाँ वर्ष नयाँ सपना शिर्षकको कविताका यी हरफले वर्तमानका पीडालाई उजागर गरिरहेका छन् । उनको चाहना भनेकै पुराना कुरालाई भुलेर नयाँ वर्ष जस्तै नयाँ सोच लिएर अघि वढ्नु नै हो । सिर्जना प्रस्तुत गर्ने शैली निकै शालिन छन्, कविका । सरल ढंगमा लेखिएका चौधरीका कविताहरूमा समसामयिक सामाजिक विकृति र राजनीतिक व्यंग्यले प्रभावपूर्ण अभिव्यक्ति भएका छन् । जीवनका वास्तविक भोगाइमा आधारीत उनका कविताहरूमा शिष्ट र सौम्य भाषामा मानवीय संवेदना र भावानुभूतिहरूलाई कविताका माध्यमबाट आम जनमानस सामु पोखिरहेका छन् । उनका कविताहरूमा राष्ट्रप्रेमका भावनाहरु ओतप्रोत भएका छन्, आफ्नो मातृभूमिप्रति नतमस्तक छन् । “अनिँदा आँखाहरूको मीठो निद्रा आमा” र “माँ” शिर्षकको कविताले आमाको संवेदना र भावनाको कदर गरिरेहेको छ । उनका कवितामा निरासाजनक कतै भेटिदैन । यसकारण बसन्त चौधरीलाई आशावादी कविका रूपमा लिन सकिन्छ । “मानेँ मैले जीवनभित्र निकै गहिरो रात छ, त्यहीँ उज्यालो पार्न साथीहरूको साथ छ........!” यस्ता धेरै राज भएका मिठा कविताहरू मेघा सङ्ग्रहभित्र पढ्न सकिन्छ । उनी कवि भन्दा पनि गीतकारका रुपमा चिनिएकाले हरेक कविताहरू गीत जस्तै लाग्छन् । सचित्र प्रस्तुत गरिएका छोटा कविताशंले पुस्तकको शोभा वढाएका छन् । बसन्त चौधरीको यो पहिलो कवितासङ्ग्रह भएपनि उनले कवितामा आफ्नो स्थान सुरक्षित बनाई सकेको अनुभूति हुन्छ । सरलता र सहज प्रस्तुतिमा समाजका गहनतम कुराहरु प्रस्तुत गर्ने कलाले गर्दा चौधरी सशक्त कविका रुपमा प्रस्तुत भएका छन्, मेघा कवितासङ्ग्रह मार्फत । हिन्दी र नेपाली दुवै भाषामा बेग्लै स्वादमा रमाउन सक्छन् कविता प्रेमिहरु मेघा पुस्तक मार्फत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।