19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमीलाई माया गर्नुअघि...!

कविता निशान निष्कर्ष November 10, 2012, 8:48 pm

जमना फेरिएको छ,

तिमीलाई सञ्चो विसञ्चो त के सोधूँ ?

तर मलाई थाहा छ

तिमी मेरै नाममा मनको रोगी बनेकी छ्यौ ।

त्यसो नगर्नु है प्रियतमा ।

मेरी प्रियतमा

तिमीलाई यो सम्बोधन गरिरहँदा

सम्झिरहेछु गुलाबका थुङ्गाहरू

र सम्झिरहेछु — तिम्रो यौवन पनि ।

जहाँ,

मलाई स्पर्श गर्ने मन

सम्हालेर आफूभित्र बाँचिरहेको

तिम्रो विश्वासलाई कुल्चन हुन्न मैले ।

संघर्ष — आस्था हो,

समर्पण — प्रतिबद्धता हो,

यात्रा — सम्झौता हो, तिम्रो र मेरो ।

तिनै संघर्ष, समर्पण र यात्रामा

अडिक रहनु कर्तव्य हो हाम्रो ।

टेकेर यथार्थको धरातलमा

तिम्रो मनलाई सम्बोधन गर्न

म मेरो प्रत्येक खुसीलाई

झुण्डाउन चाहन्छु — साहसको पेण्डुलममा ।

अनि मेटाएर आफै अस्तित्व समर्पित छु तिमीमा ।

यात्राहरूमा सजक रहनु,

तिम्रो पाइलामा नबिझून् — काँडाहरू

तिमीले हिँड्ने बाटोहरूमा ओछ्याउन सकूँ म — फूलहरू

तर ख्याल राख्नु — भवरा र माउरीको ।

बाँधेर आलिङ्गनमा समाउँदै तिम्रो हात —

लाग्छ अनन्तसम्म हिडिरहूँ ।

कहीँकतै चोट लागे ममा

तिम्रो कोमल स्पर्शले

सन्तुष्टिको सास फेर्न सकूँ ।

समाजभन्दा पृथक रहेर मग्मगाउनु तिमी

जसको प्रभावले बिग्रिएका मनहरू डगमगमऊन्

र खोजून् सफलताको सोपान ।

मैले गर्ने प्रत्येक सफरमा तिमी

र तिम्रा प्रत्येक यात्राहरूमा म,

हामी सँगै रहनेछौँ ।

म चाहन्छु प्रेमको निम्ति फुलेको

गुलाबको हरेक पत्रमा देखूँ — तिमै्र प्रतिबिम्ब

र सजाऊँ हृदयको पानाभरि तिमीलाई ।

तर प्रियतमा,

तिमीलाई यसरी प्रेम गर्नुअघि

एकैछिन पर्ख है त ...

म छाम्दैछु मेरो देश

र खोज्दै छु बुद्धका दुई आँखा — फेरि एकपटक ।

जब कि,

हाम्रो प्रेमिल संसारमा

कदापि नसुनौँ विद्रोहको आवाज ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।