जमना फेरिएको छ,
तिमीलाई सञ्चो विसञ्चो त के सोधूँ ?
तर मलाई थाहा छ
तिमी मेरै नाममा मनको रोगी बनेकी छ्यौ ।
त्यसो नगर्नु है प्रियतमा ।
मेरी प्रियतमा
तिमीलाई यो सम्बोधन गरिरहँदा
सम्झिरहेछु गुलाबका थुङ्गाहरू
र सम्झिरहेछु — तिम्रो यौवन पनि ।
जहाँ,
मलाई स्पर्श गर्ने मन
सम्हालेर आफूभित्र बाँचिरहेको
तिम्रो विश्वासलाई कुल्चन हुन्न मैले ।
संघर्ष — आस्था हो,
समर्पण — प्रतिबद्धता हो,
यात्रा — सम्झौता हो, तिम्रो र मेरो ।
तिनै संघर्ष, समर्पण र यात्रामा
अडिक रहनु कर्तव्य हो हाम्रो ।
टेकेर यथार्थको धरातलमा
तिम्रो मनलाई सम्बोधन गर्न
म मेरो प्रत्येक खुसीलाई
झुण्डाउन चाहन्छु — साहसको पेण्डुलममा ।
अनि मेटाएर आफै अस्तित्व समर्पित छु तिमीमा ।
यात्राहरूमा सजक रहनु,
तिम्रो पाइलामा नबिझून् — काँडाहरू
तिमीले हिँड्ने बाटोहरूमा ओछ्याउन सकूँ म — फूलहरू
तर ख्याल राख्नु — भवरा र माउरीको ।
बाँधेर आलिङ्गनमा समाउँदै तिम्रो हात —
लाग्छ अनन्तसम्म हिडिरहूँ ।
कहीँकतै चोट लागे ममा
तिम्रो कोमल स्पर्शले
सन्तुष्टिको सास फेर्न सकूँ ।
समाजभन्दा पृथक रहेर मग्मगाउनु तिमी
जसको प्रभावले बिग्रिएका मनहरू डगमगमऊन्
र खोजून् सफलताको सोपान ।
मैले गर्ने प्रत्येक सफरमा तिमी
र तिम्रा प्रत्येक यात्राहरूमा म,
हामी सँगै रहनेछौँ ।
म चाहन्छु प्रेमको निम्ति फुलेको
गुलाबको हरेक पत्रमा देखूँ — तिमै्र प्रतिबिम्ब
र सजाऊँ हृदयको पानाभरि तिमीलाई ।
तर प्रियतमा,
तिमीलाई यसरी प्रेम गर्नुअघि
एकैछिन पर्ख है त ...
म छाम्दैछु मेरो देश
र खोज्दै छु बुद्धका दुई आँखा — फेरि एकपटक ।
जब कि,
हाम्रो प्रेमिल संसारमा
कदापि नसुनौँ विद्रोहको आवाज ।