19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शान्तिनारायणकृत ‘भावावेश’को अन्तरकुन्तर

कृति/समीक्षा राजेन्द्र पहाडी November 10, 2012, 8:52 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

समाजमा व्याप्त अन्याय, अत्याचार, असहिष्णुता, अतिसार, अचाक्ली, अनुशासनहिनता र अव्यवस्थालाई सहन गर्न नसक्नेहरुको जमातमा कवि लेखकहरु अग्रमोर्चा मै लामबद्ध भएका हुन्छन् । बलियाले निर्धालाई, धनीले गरिबलाई, उपरी संरचनामा हालीमुहाली जमाएकाले तल्लो संरचनामा पिल्सिएकालाई, शासकले शासितलाई, मालिकले नोकरलाई र कथित हुकुम्बासीले सुकुम्बासीलाई गर्ने फरक व्यवहारलाई नरुचाउनेहरुको आवाज सनैः सनैः मुखरित हु“दै आएको वर्तमानमा मात्र होइन, हिजैदेखिको अत्यन्त कठिन परिस्थितिमा पनि कवि, कलाकार र लेखकहरुले आफ्नो कलमका माध्यमबाट विषमताका विरुद्ध लल्कार दिएकै अवस्था थियो । परन्तुः आजको अवस्था बेग्लै भएको छ । चित्त नबुझेको कुरा प्याच्च भन्न पाइन्छ । मन खाएकोलाई राम्रो भन्दै भजन गाउन पाइन्छ । मन नपराइएकालाई भित्तै पु¥याएर सत्तोसराप गर्न पाइन्छ । तथापि औसत मानिसले मौजुदा अवस्था, घटना या परिघटनाका बारेमा देखाउने प्रतिक्रिया भन्दा साहित्यकारहरुको समझ, अन्तरदृष्टि र उद्बोधन पृथक ढंगको हुने गर्दछ । स्रष्टा सर्जकहरु नाथे आना, सुका पैसाका गाली गर्न रुची राख्दैनन् । साहित्यकर्मीहरु बस्तुनिष्ठ, ठोस र अनौपचारिक हुन रुचाउ“छन् । उनीहरु सहज, सरस र सरल हुन जाती मान्छन् । विषयलाई भा“चीकुची भन्दा पनि सपाट चित्रण गर्न मन पराउ“छन् । उनीहरुको सिर्जन प्रस्तुती सु–संस्कारयुक्त र शालिन हुन्छ भन्ने अपेक्षा गर्दछ समाजले ।

आफ्ना रचनाहरुले जनभावनालाई झङ्कृत गरोस्, व्यू“झाओस् र सतर्क गराओस् भन्ने अपेक्षा राखेर नै होला साहित्य सर्जकहरु समाजको मीठो पक्ष्ँमा थप गुलियो चास्नी चढाउ“छन् भने तीतो परिस्थितिलाई सुधार गर्न रचनात्मक झापट हान्छन् । शब्दस“ग खेलेर पाठकको मर्मलाई चिमोट्ने कर्ममा तल्लिन सर्जकहरु कहिले थाकका थाक सुखका पुलिन्दा तयार गर्छन् भने कहिले दुःख पीडाका हिसाब किताब खोतल्छन् । सम्भवतः जीवन भोगाइका दुईवटै पाटा उदाङ्गो पार्ने यिनको चाहनाले सधैंसधैं लेख्न घच्घचाई रहन्छ साहित्यकारहरुलाई । यसै भएर भनिएको होला साहित्यलाई समाजको ऐना भनेर ।

अहिलेका लागि प्रसङ्ग पर्वते स्रष्टा शान्तिनारायण श्रेष्ठकृत मुक्तक सङ्ग्रह ‘भावावेश’ को हो । पर्वत जिल्लामा जन्मे हुर्केर यही“को साहित्यिक श्रृबृद्धिमा अनवरत आफूलाई खियाइरहेका स्रष्टा शान्तिनारायण श्रेष्ठ (७३) पनि समाजलाई जागृत गर्न, सुसुचित गर्न र झक्झकाउनका लागि सिर्जना गर्ने कवि हुन् भन्दा अन्यथा होओइन । यिनले नेपाली साहित्यका धेरै विधामा आफ्नो कलमको मसी खर्चेका छन् । जीवनको उत्तरार्धमा पनि नथाकिकन निरन्तर लेखनधर्ममा लाग्नु यिनको सामान्य कर्म बनेको छ । समाजमा भोगे देखेका कुरालाई टपक्क टिपेर साहित्यिक लेपन लगाउन खप्पिस यिनले अन्य विधाका अलवा मुक्तकका माध्यमबाट आफूलाई बढी आक्रामक बनाएको प्रतित हुन्छ ।

समाजमा देखिने विविध खाले अचाडुपनलाई सतहमा ल्याउन र खबरदारी गर्न यिनका मुक्तकहरु सशक्त रुपमा प्रस्तुत भएको पाइन्छ । नेपाली समाज बहुलतामा आधारित छ । विविधता हाम्रो समाजको सुन्दरता हो । हो, समाजमा जाती, वर्ग, धर्म, सम्प्रदाय, लिङ्ग, क्षेत्र आदिका आधारमा विभेदका सीमारेखाहरु छन् । तिनलाई छोड्न, तोड्न वा घटाउन सम्बन्धित क्ष्ँेत्रका मानिसहरुले केही न केही त्याग गर्न जरुरी छ । तर आजको दुनियामा कोही पनि आफ्नो पुरानो अवस्था, बुझाई र अवस्थितिलाई छोड्न राजी छैन । मैमत्तापन र बडप्पनले धेरैलाई गा“जेको छ । मै खाउ“ र मै बा“चुको वृत्ति सर्वत्र हावी छ । तर पनि सत्य के हो भने नया“मा रुपान्तरित हुने हो वा फेरिने हो भने पुरानोलाई जस्ताको तस्तै काखी च्यापेर सम्भव छैन । तसर्थ मुक्तकका माध्यमबाट स्रष्टा शान्तिनारायणले आफू, आफ्नो परिवार, संस्था, समाज हु“दै देशलाई नै परिवर्तनको दिशामा लम्क्याउन चाहान्छन् । उनी परिवर्तनको गुञ्जाइस स्व–परिवर्तनबाट सम्भव भएको देख्छन् ।

नेपाली समाजले दैनन्दिन भोगिरहेका हत्या, हिंसा, लुटपाट, बेइमानी, धोकाधडी, भ्रष्टाचार, पापाचार, ठगी आदिका कारणले जनमानसमा बढेको निराशा, हताशा र कुण्ठालाई समन गर्न आशावादी दिशानिर्देश गर्नमा पनि यिनले शब्द खर्चिएका छन् । लेखनको सुरुवाती दिनहरुमा आफ्नो अधिकांश लेखनलाई माया प्रेमको परिधिमा सीमित गरेका शान्तिनारायणले पछिल्लो समयमा समय सान्दर्भिक र जनसरोकारका विषयवस्तुमा लेख्न थालेको देखिन्छ । प्रस्तुत सङ्ग्रहमा पनि यिनले समकालीन घटना सन्दर्भहरुलाई आफ्नो मुक्तक लेखनको विषयको रुपमा चयन गरेको प्रष्ट बुझ्न सकिन्छ । सानैदेखि लागेको बानी, को छोड्ला नानी भनेझैं यस सङ्ग्रहभित्र शान्तिनारायणका प्रशस्त प्रेमिल याचना र कामनाहरुले यथोचित स्थान पाएकै छन् । यति हु“दाहु“दै पनि समाजको बेढंगलाई मुक्तकमा उतार्न भने यिनी सफल देखिन्छन् ।

आफ्नो ब्रम्हले देखेका कुरा नहिच्किचाइकन लेख्ने यिनले अरुले के प्रतिक्रिया जनाउलान् भन्ने कुरामा त्यति ध्यान दिएको पाइदैन । मुखले चाकडीको चिप्लो दल्ने तर पछिल्तिर तल्लोस्तरको कुरा काट्ने प्रवृतिलाई यिनले रुचाउ“दैनन् । जसलाई जे भन्नु छ अगिल्तिरै भन्न जाती हुन्छ भन्ने मान्यता राख्ने यिनले आफ्ना मुक्तकहरुमा स्वच्छन्दवादी लेखनको प्रयोग गरेको देखिन्छ । आफूलाई खुल्ला पुस्तकको रुपमा परिचित गराउन लालायित यिनले अमुक पात्रपात्राको बढाइचढाइ बखान गर्न समय र शब्द खर्च नगरी यथार्थको पटाक्षेप गर्न रुचाउ“छन् । साहित्य सिर्जनाका माध्यमबाट लेखक कविहरुलाई हाकाहाकी सवालजवाफको निम्तो दिने हकी स्रष्टाका रुपमा यिनको परिचय नै बनिसकेको स्थिति छ धवलागिरि क्ष्ँेत्रमा । प्रस्तुत सङ्ग्रहका मुक्तक पनि यिनको सोही अडान र परिचयका उपजका रुपमा बाहिर आएकाछन् ।

मूलतः राजनैतिक खिचातानी, सा“स्कृतिक अराजकता, आर्थिक विषमता, धार्मिक अहम, सामाजिक विश्रृङ्खलता तथा सत्ता–सम्पत्ती– शक्ति र सम्मानका भोकाहरुले मच्चाउने गरेको वेथितिप्रति नाराजगी जनाउनु यिनको लेखनको मूल ध्येय बन्ने गरेको पाइन्छ । त्यसो त सुन्दर, सभ्य, समृद्ध, सम्पन्न र खुशहालमा आधारित समाज व्यवस्थाको स्थापनाका लागि चालिनुपर्ने कदमका बारेमा पनि यिनका मुक्तकमा सामयिक सुझाउ, सल्लाह र अभिमतहरु प्रस्तुत गरिएको देखिन्छ । ‘भावावेश’ सङ्ग्रहमा समाविष्ट कतिपय मुक्तकहरुले देशले भोग्नुपरेको अन्यौल, असजिलो र संक्रमणकालले सिर्जना गरेको दिशाहिनतालाई सटिक ढंगले उठान गरेकाछन् । धनीहरु रातारात धनी बन्दै जाने र गरिबहरु कङ्गाल बन्दै गएको परिदृश्यले मुक्तककारको मुटु चिमोटेको छ । उनी मातृभूमिले भोग्नु परेको असामयिक आर्तले थिल्थिलिएकाछन् ।

देशमा उपलब्ध स्रोतसाधनमा हुनेखानेहरुको मात्र बर्चश्व कायम हु“दा भएखानेहरुको अवस्था जोखिमपूर्ण र तन्नम बनेको कुरामा मुक्तककारले सरोकारवालाहरुको ध्यानाकर्षण गर्न चाहेका छन् । वास्तवमै अट्टालिकामा बसेर तृणमूल तहका नागरिकको हदैसम्म वेवास्ता गर्नु लोकतन्त्रको मर्म हुनै सक्दैन । यतातर्फ सम्बन्धित निकाय र पदाधिकारीको ध्यान जानसके नवीनताको आलोकमा सबैको मुहारमा मुस्कुराहट देख्न सकिन्थ्यो भन्ने तथ्यमा शान्तिनारायण आशावादी देखिन्छन् । उनले आफ्ना केही मुक्तकमा मुलुकको अवस्था सुधार्न याचना पनि गरेकाछन् । प्रशासन, सुरक्षा, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा देखापरेका गलत प्रवृत्तिहरुलाई औंल्याउ“दै उनले सुधारका लागि कदम चाल्न सविनय आग्रह गरेकाछन् मुक्तक मार्फत ।

फगत लेख्नका लागि लेख्नु र आफू रहेबसेको समाज र नागरिकप्रति जिम्मेवार भएर लेख्नु पृथक विषय हो । साहित्य लेखनमा जवाफदेहिताको अपेक्षा गरिनुलाई अन्यथा मान्न पनि मिल्दैन । तसर्थ मुक्तक लेखनमा शान्तिनारायण के कति इमान्दार हुन सकेका छन् छिनोफानोको कसी लगाउने न्यायधिश भनेका विज्ञ पाठकहरु नै हुन् । पाठकको नजरमा अब्बल हुनका लागि विषय छनोट, प्रस्तुतिको शैली र भावाव्यक्तिको संरचना चुस्त हुनुपर्छ भन्ने कुरामा साहित्य सिर्जनाको लामै अनुभव सङ्गालेका शान्तिनारायणलाई सुझाइरहनुपर्ने विषय नै होइन । प्रस्तुत सङ्ग्रहलाई सरसर्ती विचरण गर्दा यिनको भावना प्रस्तुतीको शैली सरल, सरस, सुललित र बोधगम्य नै देखिन्छ । विषयको जटिलता एवम् गहनता नभएका कारणले पाठकले मुक्तकहरुमा आफ्नै परिवेशका घटनाहरुको झल्को महशुष गर्न सक्दछ । कतिपय स्थानमा मुक्तकीय विषयवस्तु दोहोरिएको महशुष गर्ने अवसर पाठकलाई प्राप्त नहुने होइन, तथापी लोकलयमा बाचन गर्न सकिने गरी शब्दहरु प्रयुक्त भएकाले पाठकीय धैर्यता कायम रहन सक्छ । थुप्रै मुक्तकहरुमा मनोरञ्जनात्मक खुराकहरु पनि परेकाले मुक्तक पढ्न बोझिला छैनन् । पढु“–पढु“ लाग्ने खालका छन् ।

उमेरका हिसाबले बहत्तरको नेटो काटेका हुनाले मुक्तककारले आफ्नो लम्वेतान जीवन–जगत भोगाइका अनुभवलाई पनि यो वा अर्को कोणबाट मुक्तकहरु भित्र प्रवेश गराएका छन् । यस अर्थमा उनका मुक्तकहरु भाव–गम्भीर, समाज सचेत, चोटिला, पेचिला र रमाइला समेत बनेकाछन् । विचार, दर्शन र अमुक वादको भारी नबोकाइएका हुनाले सङ्ग्रीहित मुक्तकहरु सबै उमेर समूहका पाठकका लागि उत्तिकै रसिला र चोपिला लाग्न सक्ने विश्वास गर्न सकिन्छ । सामाजिक चेतनाकरण, सर्वाङ्गिण जागरण तथा आम शसक्तिकरणको खुराकको रुपमा यी मुक्तकहरुले भूमिका निर्वाह गर्न सकेभने मुक्तककारको लेखकीय मेहेनत सार्थक भएको ठहर्ने छ ।

अन्त्यमा, गाउ“घरको आटोपिठो खाएर नेपाली साहित्यिक फा“टलाई सुरम्य पार्न लागिपरेका मुक्तककार शान्तिनारायणको सिर्जनधर्मलाई साधुवाद भन्नै पर्छ । पाका पुस्ताका अग्रज स्रष्टा शान्तिनारायण श्रेष्ठको १६ औं कृतिका रुपमा आएको‘भावावेश’ मुक्तक सङ्ग्रहले समस्त पाठकहरुको माया तथा सद्भाव प्राप्त गर्न सकोस् भन्ने कामनाका साथ थप साहित्य सिर्जनाको क्ष्ँेत्रमा उनको उन्नती प्रगतिका लागि सुभेच्छा प्रकट गर्नु नै उचित हुन्छ यतिखेर । अस्तु ः

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।