19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महाकवि देवकोटा

कविता गोपाल भण्डारी November 12, 2012, 9:42 pm

देवकोटा अति प्यारा महाकवि दिवाकर ।

दिन्छन् ज्योति नअस्ताई रहन्छन् नभमा स्थिर ।।1 ।।

धराप्रवाहले लेख्छन् कविता अति सुन्दर ।

लक्ष्मीप्रसाद हो नाउँ भारतीपुत्र हुन् तर ।। 2।।

शास्त्रीय छन्दका सिन्धु शशी हुन् लोकछन्दका ।

नेपाली मन जित्ने हुन् प्रतिभा रत्न देशका ।। 3 ।।

उदार मनका धीर ज्यादै उच्च विचारका ।

दयालु दिलका दीय दानी दीव्य दिमागका ।। 4 ।।

शैलजा सरिता जस्तो फुर्तिलो हुन्छ लेखनी ।

रसिला कविता भित्र पाइन्छ शक्ति मोहनी ।। 5 ।।

सिन्धु झैं गहिरा केही कविता क्लिष्ट अर्थमा ।

खुला आकाश जस्ता छन् केही सरल भावमा ।। 6 ।।

नेपाली कवि शार्दुल महामानव हुन् गुरू ।

नेपालमा यिनी तुल्य कवि छैनन् कुनै अरू ।। 7 ।।

अनुवाद गरे शुध्द यिनका काव्य दक्षले ।

कवित्व कृतिको मुल्य बुझ्छ समस्त विश्वले ।। 8 ।।

नेपाली काव्यका यी हुन् प्राण अमर देवता ।

मुनामदनले लिन्छ उत्कृष्ट स्थानमान्यता ।। 9 ।।

प्रेमी साहित्यका छात्र सबले अर्पिई मन ।

लक्ष्मीलाई चिनाउँ र बनाउँ विश्वका धन ।। 10 ।।

छन् कालिदास जस्ता यी नेपाली काव्यभूमीमा ।

सरस्वती सधैं दीन् छिन् साथ आड कवित्वमा ।।11 ।।

यिनका कृतिका पात्र स्वचालित र काबिल ।

वास्तविक र जीवन छन् प्राकृत र छुने दिल ।। 12 ।।

कुनै खोटबिनाको छ यिनको कीर्ति सौरभ ।

यिनका कविता पढ्दा लाग्छ यी हुन् स्वय भुव ।। 13 ।।

लक्ष्मीका रचना काव्य स्वादु नौनी समान छन् ।

अथवा कल्पनाकाम्य द्रुतगामी विमान हुन् ।। 14 ।।

आमाका दिल जस्ता छन् कविता अति कोमल ।

या हुन् वसन्तका फूल मनोहर र निर्मल । 15 ।।

उच्च हिमाल जस्तो छ यिनको मुख मण्डल ।

ऋषि हुन् सिध्दीसम्पन्न यिनमा छ तपोबल ।। 16 ।।

समीर उतरी जस्ता कविता शुध्द शितल ।

आमाका काख जस्ता छन् न्याना प्यारा र निश्चल ।। 17 ।।

सच्चा अर्धाङगिनी जस्ता पति जस्ता दिने बल ।

हिमाली झरना जस्ता कृति छन् नित्य निर्मल ।।18 ।।

देवकोटा जयन्तीको पुनित उपलक्ष्यमा

गोपालको हार्दिक यो सम्झना हो र बन्दना ।। 19 ।।

काठमान्डू, हाल : बोष्टन, सयुंक्त राज्य अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।