17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेताको आत्मा

लघुकथा विश्वराज अधिकारी November 18, 2012, 5:20 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

शिक्षित, सुशिल एवं सरल स्वभावको त्यो युवकमा अचानक आएको एक अनौठो परिवर्तनले गाउँका सबैलाई अति नै अचम्ममा पारेको थियो। पहिले, कहिलै झूठो नबोल्ने, कसैलाई नठग्ने, मिलनसार र सहृदयी व्यक्ति परिवर्तन भएर साँचो कुरा कहिले पनि नबोल्ने, अरुलाई झुक्याएर ठग्ने, अति स्वार्थी र अपराधी प्रवृतिको समेत भएको थियो। कहिले, तँ यो जातको म त्यो जातको, कहिले तँ यो क्षेत्रको म त्यो क्षेत्रको, कहिले तँ यो विचारधाराको म त्यो विचारधाराको, कहिले तँ शोषक, शासक, दलाल म शोषित भन्दै गाउँ घरमा हिँड्न थालेको थियो। त्यो युवकको त्यस्तो व्यवहारको बिरोध गर्नेलाई उसले ज्यानै समेत लिन धम्की दिन थाल्यो। अनौठो परिवर्तन त्यो युवकमा आएको देखेर सबैमा चिन्ता चुलिएर गयो। एक दिन गाउँका सबैले बल प्रयोग गरेर नै उसलाई गाउँकै मनोचिकित्सक कहाँ पुर्याए। चिकित्सकबाट न त उपचार नै हुन सक्यो न त कुन रोगले उसलाई सताएको हो भन्ने पत्ता लाग्न सक्यो। ठूलो शहरका कुनै चिकित्सकले रोग पत्ता लगाएर निको पार्न सक्ने हुन कि भने आशमा सबै गाउँलेहरु मिलेर त्यो युवकलाई एक ठूलो शरहरमा पुर्याए, एक प्रख्यात मनोचिकित्सकलाई देखाए। ती ठूला चिकित्सकले पनि न त उपचार नै गर्न सके न त कुन रोग लागेको हो भन्न सके।

त्यस गाउँका एक प्रौढ व्यक्तिले एक अन्तिम उपाय प्रयोग गर्न सबैलाई सहमत पारे। अन्तिम उपायको प्रयोग गर्दै त्यो युवकलाई एक झाँक्रीको घरमा पुर्याइयो। लामो समयको टुना मुना र झारफुक पछि त्यो झाँक्रीले घोषण गर्यो “यो युवकमा एक मृत नेताको आत्माले प्रवेश गरेको रहेछ।”

गाउँलेहरु मध्ये केहीले पत्याए केहीले पत्याएन। त्यो झाँक्रीले अर्को पनि घोषणा गर्यो “यो युवकको रोग म सँधैका लागि निको पार्न सक्छु। तर त्यस्तो गर्न, यो युवकमा आएको त्यो मृत नेताको आत्मा झिकेर कुनै जिवित तर त्यस्तै स्वभावको नेतामा त्यो आत्मा प्रवेश गराउनु पर्दछ। मृत नेताको स्वभाव र जिवित नेताको स्वभाव एउटै भएकोले केही फरक पर्दैन, मिल्न आउँछ। मृत नेताको आत्मा र जिवित नेता मिलेर बस्न सक्छन, एउटै किसिमको स्वभाव भएको कारणले गर्दा।”

एउटा गाउँलेले संका व्यक्त गर्यो “……………तर त्यस्तै स्वभाव भएको नेता कसरी खोज्ने?”

अर्कोले तत्काल उत्तर दियो “धन्दा, सुर्ता लिनु पर्देन, त्यस्ता नेताहरु थुप्रै देखिएका छन हाम्रो गाउँ घरमा, आज भोलि।”

अचम्म भयो! मृत नेताको आत्मा त्यो युवकबाट झिकेर त्यो झाँक्रीले एक जिवित नेतामा हाले पछि त्यो युवक पूर्ण रुपमा रोगमुक्त भएको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।