19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देवकोटालाई सम्झँदै

कविता नरनाथ लुइँटेल November 17, 2012, 9:41 pm

मानवताको गाउँदै गाथा सिर्जना कोरेथे

धर्तीमै पाइला टेकेर चन्द्र–धरातल हेरेथे

स्वच्छन्दताको विमान चढी गगन चाहर्थे

छाँगाको वेग, छहरा बनी कविता ओराल्थे ।

प्रकृति आउँथ्यो प्रतिभासँगै खेलेर वयली

काव्यको खानी युगको वाणी उनको सुसेली

हृदयभरि अटेसमटेस प्राचीन सभ्यता

कोसी र रोसी बनेर बग्यो काव्य र कविता ।

डढेलो जस्तै हुरहुर बल्ने आगोको चेतना

एउटै पङ्क्ति कविताभित्र ब्रम्हाण्ड चिन्तन

शुभ्रता टिप्ने अक्षर–कलम तारा र जूनका

मानिसलाई ईश्वर देख्ने ती आँखा उनका ।

आज त उनका मदनहरू हजारौँ हजार

गाउँ नै शून्य ओइरिइरेछन् इराक–कतार

नेपाली भाग्य जस्ताको तस्तै सपना कोरेको

स्याहाँर गर्छन् ती मुनाहरू विदेशी गोरेको ।

आँसु र रगत ती सराबरी के चिन्नु खुनीले

इज्रेल पुगी लुटिनुपर्छ म्हेन्दु र लुनीले

लौ आज पनि उनको बुद्ध धर्धर रूँदैछ

प्रमिथस–नेता अहंकार बोकी डढेर मर्दैछ ।

सत्ता र भत्ता सर्वश्व ठान्ने भेँडाको बथान

चर्दैछ अझै, मासियो होला भन्ने यो नठान

श्रमको रस पसिना सबै अर्कैले प्यँुदै छ

प्रतिभालाई पागल देख्ने प्रवृत्ति ज्युँदै छ ।

सबैका निम्ति सनकी तिमी पागल लागेथ्यौ

अन्त्यको बेला, आफन्तसँग साइनाइड मागेथ्यौ

त्यो तिम्रो व्यथा, दुर्दान्त कथा त्यसैले बोल्दछ

पीडाका सबै भक्कानाहरू त्यसैले खोल्दछ ।

शताब्दी पनि बितेर गयो, भाषाको भूमिमा

कृतघ्न हामी, श्रद्धाका सुमन के चढाउँ तिमीमा ?

नक्कली ढाँचा झिकेर आज भावुक हुँदैछौँै

सालिकमाथि गोहीका आँसु खसाली रुँदैछौँ ।

काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।