(एक)
गमलामा उम्रदै गरेको
गुलाबले गास पाएन
जीउँदो भयेर हुर्किनलाइ
एक कठ्ठा बास पाएन ।
मालिक मारे पाप
पाले पुण्य
तपाईको घरको दलिनमा
लटरम्म फुल्नेछु ।
एक दिन आउनेछ
यो सन्धी सबै खारेज हुनेछ
गह्रा गह्रामा फूल्नेछु
खोसिएको माटो जब
मैले पाउनेछु ।
(दुई)
यो घर भत्काउने
कति आदेश आए
कति उपदेश आए
हावा, हुरी र झरी
कति अाए आए
बन्दुक बोकेर पनि हजुर
धम्किपत्र आए
यो घर भत्काउन
कति आदेश आए
कति उपदेश आए
तर !
मैले धुरी खाँबालाई भने
तैँले यो जग छोडदै नछोडनु
रुखले जरो समाएझैँ समाउनु
(तिन)
यी जुरुक्क उचालिएका
तामुलका बोटहरुमा
कसैले थेग्न नसक्ने
आवेगहरु छन
अनुभूतिहरु छन
बाह्र जनाको पेटको माड
सात बर्ष पर्खेका सपना
यसपालीको तामुल बेचेर
छोरीको बिहे गर्नेछु
बुढाको ठहर
पानमा चुना थोरै हालेर खानु
यसपाली त फल राम्रो भएछ
बुढिको आशा
यो आसाम हो दाई
संगठन भन्दा ठूलो
संबिधान भन्दा ठूलो
तामुलको बोट !!!
गोवालपाडा , असम