14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

लीलाध्वज थापा र ‘मन’ उपन्यास

कृति/समीक्षा श्यामप्रसाद December 8, 2012, 11:31 am

२०१४ सालमा गद्य साहित्यतर्फको मदन पुरस्कार पाएको यो पुस्तक ‘नेपाली–भाषा–प्रकाशिनी–समिति’ का ग्रन्थकार श्री लीलाध्वज थापाको तेस्रो उपन्यास हो । यसभन्दा केहि पछि छापिएका भए पनि यसभन्दा अघि लेखिएका उहाँका उपन्यासहरू हुन् ‘शान्ति’ र ‘पूर्वस्मृति’ ।

हाम्रो आजको समाजमा आइमाईलाई कसरी भोगको वस्तु ठान्ने गरिएको छ र विशेष गरी तरुनीबरुनी आइमाई देखेपछि समाजमा प्रतिष्ठित कहलाएका र समाजको उन्नति गर्ने बाटोमा लागेका छौँ भन्नेहरू समेत कसरी गिद्ध सरीका बन्छन् भन्ने कुराहरू यस उपन्यासमा लेखकले कत्ति नडराइकन र मुलाहिजा नराखिकन देखाउन खोज्नुभएको छ । समाजमा भलाद्मी मानिएको चाइने सुब्बा, भष्मेश्वरहरू जस्ता ‘जोगी–महात्मा’ र स्वामी महाराज जस्तो ‘महापुरुष’ जस्ता धेरै पात्रहरूले उपन्यासकी नायिका मनप्रति गरेका घिनलाग्दा व्यवहार र तिनका दुश्चरित्रहरूको चित्रण गरेर समाजका थुप्रै छद्मभेषी तत्वहरूलाई उहाँले उदाङ्ग पारिदिनुभएको छ । आइमाईलाई नास्ने र उनीहरूको निम्ति पासो थाप्ने निर्घिनी काम आजको समाजमा लोग्नेमानिसबाट मात्रै होइन, आइमाई र आइमाईलेनै काम गरेका संस्थाबाट समेत हुन बाँकी रहेको छैन भन्ने कुरा पनि उहाँले गोदावरी र नारीसेवा सङ्घ जस्ताका कुकर्महरूको वर्णन गरेर छर्लङ्ग्याउनु भएको छ ।

नायिका भए अनुसार मन निर्धो चरित्रकी नभई दरो खालकी छे, निकै मनोबल भएकी । आफूलाई पेट बोकाउने मास्टर हृदयराजसँग भेट नभएपछि एक्लै–एक्लै लुकी–लुकी बाउन्न हन्डर खाएर भौतारिँदै हिँडिरहने स्थिति आइलाग्दा पहिले त अपहत्ते गरी मरूँ कि भन्ने भावना उसमा नआएको होइन; तर उसले सो कुभावनालाई छिटै अधैर्य र मुख्र्याइ हो भन्ने ठह¥याउँछे । अनि ऊ दरो अठोट गर्छे; ‘....त्यो मास्टरले धोका दियो भन्दैमा म किन अपहत्ये गरूँ ! — केही दिन पछि मेरो जीउ हल्का हुन सक्छ । एउटा न एउटा काम गरेर म आफ्नो जीवन– निर्वाह गर्न सक्छु; पशुले पनि पेट पालेर बाँचेका छन्,– मैले त दुई अक्षर पढेकी छु, म अझ पढ्न सक्छु.... अरूलाई पढाउन सक्छु, सिउन सक्छु, बुन्न सक्छु म, अथवा अरू नै कुनै इलम गर्न पनि सक्छु म ! (६६ पाता) पछि जिउ हलौँ भएपछि पनि मन नारीसेवा सङ्घमा लागेर इलम गर्ने, बालघरमा रहेको आफ्नो बालख ल्याउने र उसलाई हुर्काउने, बढाउने ठूलो तुल्याउने विचार गर्छे । यतिमात्र होइन त्यस बालक (जीवन)–लाई हुर्काई.... बढाई पढाएर यस कपटी समाजको विरुद्ध चल्ने क्रान्तिकारी बनाउने कुराको समेत ऊ कल्पना गर्छे । (२८० पाता)

“हारी हाए” भनेर रुँदै पोइको कुहिएको फोहोर गोडाको नङको बिखालु (पन्चामृत ?) पानी खाएर आत्मसन्तोष गरी बस्ने हाम्रा नेपाली आइमाईहरूले त अवश्य अहिलेनै आफ्नू मूर्ख दृष्टिकोण फेर्नुपरेको छ । हाम्रो देशमा त्यो दिन कहिले देख्नपाइएला, आफ्नु देशको कुनै महान् नेपाली आइमाईको जीवनी यसरी गमक्क परेर लेख्न–पढ्न पाइएला ?

‘मन’ मा सबभन्दा ठूलो खोट जुन देखिन्छ, त्यो हो मनोगतवाद अर्थात् समाजका दोषहरू देखाउनुपर्छ भन्दैमा समाजको वास्तविक स्वरूप नचिनी लेखकलाई जस्ता कुराहरू देखाउने रहर लाग्छ अथवा जस्ता कुराहरू जसरी देखाउँदा सजिलो पर्छ खुरुखुरु त्यसै गर्नु । जस्तै यस उपन्यासमा लेखकले आजको हाम्रो समाजमा सबैजसो राक्षस छन् भन्ने कुरा देखाउने बल गर्नुभएको छ । तर समाजको वास्तविक स्वरूप त्यस्तो छैन । हाम्रो समाज अनेक वर्गहरूमा बाँडिएको छ र यहाँ राक्षससरह (शोषकवर्ग) का मानिसहरूको गन्ती सर्वसाधारण जनता वा अन्दाजी नब्बे प्रतिशतभन्दा पनि बढी जनसङ्ख्यासितको दँजाइमा सारै कम छ अर्थात् समाजमा ‘राक्षस’ भन्दा मानिसहरू नै कताकता बढी छन् । यस तथ्यप्रति बेवास्ता गरिएको भएर नै लेखकले उपन्यासमा मनको दयनीय अवस्थाप्रति हृदयदेखि नै सहानुभूति भएका पात्रपात्रीको सिर्जना गर्न सक्नुभएको छैन । मनप्रति त्यस्ता हार्दिक सहानुभूति भएकाहरू भन्नु उसका आमा, बाबु र बहिनी नै छन् । त्यसपछि धाई बूढी (धामा) र बूढाको पालो आउँछ । यी मनका दोस्रो आमाबाबु सरह भएकाले यिनको सहानुभूतिलाई पनि उति महत्व दिन सकिन्न । उपन्यास भरिमा यस दृष्टिबाट अलिकति महत्वका पात्रपात्री भन्नु सूचीकर बूढा र सूचीकार्नी बूढी दुई जना छन् । तर उनीहरूकहाँ पुगेदेखि नै मनले लुगा सिएर आएको ज्याला जति सबै (दिनको बाह्र रुपियाँसम्म) उनीहरूलाई नै दिने गरेकीले उनीहरूलाई त के खोज्छस् काना ? आँखो भनेजस्तै भएको थियो । (३२६–२७ पाता)

आजको तह नमिलेको समाजव्यवस्थालाई फेरेर तह मिलेको राम्रो व्यवस्था बसाल्न र अहिलेका घिनलाग्दा रीतिथिती–चालचलनहरूलाई आफलेर असल परम्परा बसाल्न भोक, शोक र रोग जस्ता दुःखकष्टको भुंग्रोमा पिल्सिरहेका आजका गरिप वर्ग, आइमाई र पछि परेका–पारिएका जातजातिहरूले आ–आफ्नो संगठन बलियो तुल्याएर र त्यस्ता बलिया संगठनहरू जति सबैलाई एकगठ पारी सङ्घर्ष गर्नु अत्यन्त आवश्यक छ । यति नभएसम्म जनताको उद्दार वा समाजको उत्थान भन्ने कुरा एकदम असम्भव छ । त्यसैले असल साहित्यकारहरूको कर्तव्य यसरी समाजलाई अगाडि बढाउने काममा इमानदारीसाथ प्रतिभा र सीपलाई सकेसम्म बढी मात्रामा लगाउनु नै हो । तर ‘मन’ मा लीलाध्वजज्यूले जनसंगठनहरूप्रति पालना गर्नुपर्ने यस दायित्वलाई बिर्सिदिनुभएको कुरा छर्लंगै देखिन्छ । हो, जनताका संघसंस्थाभित्र घुसी तिनलाई भाँड्ने अथवा जनसंस्थाको नाउँमा नक्कली संघसंस्थाहरू रचेर पासो थाप्ने कुतत्वहरूलाई उदाङ्ग पार्नु पनि सारै जरुरी छ । तर त्यसो गर्दा साँच्चिकै जनसंगठनहरू वा जनतालाई संगठित पार्ने साँचो मनले लागेकाहरूलाई आक्षेप नपर्ने र उनीहरूको निम्ति काम गर्न असजिलो नपर्ने गरी जोगिएर लेख्नु झन् आवश्यक छ । त्यसो हुन नसकेको भएर नै मनका समाज सुधारक संघ र नारीसेवा संघ (४२ सौँ ४३ सौँ परिच्छेद) को बयान आजको परिस्थितिमा प्रगतिवादी तत्वलाई बल पु¥याउने खालको नभई प्रगति विरोधीहरूका कुरामा नै सही थाप्ने किसिमको हुन गएको छ । यस किसिमको वर्णनबाट स्वयम् लेखककै विचार बाझिन गएको पनि देखिन्छ । किनभने अघिल्ला दुवै उपन्यासहरू शान्ति र पूर्वस्मृतिमा लेखकबाट समाजमा सबै राक्षसैराक्षस नभई असल र खराब दुवैथरि तत्व छन् भन्ने कुरा देखाइएको छ । ती उपन्यास दल वा संघसंस्थाप्रति पाठकहरूको भावना बिग्रन नदिई नेता भइटोपलेका कुतत्वहरू प्रतिमात्र विरोधको भावना उमार्ने खालका छन् ।

अरू अनेक लेखकहरूले झैँ लीलाध्वजज्यूले पनि प्रेमलाई कर्तव्यदेखिन् बाहिरको कुरा ठान्नुभएको देखिन्छ । जस्तै ः ‘न उनी प्रेमको निम्ति कर्तव्यलाई पन्छाएर बाबुसित विरोध गर्न सक्तथे ।’ (१० पाता) र ‘...एकातिर प्रेम अर्कोतिर कर्तव्य भएर धनको आत्मा छट्पटाइरहेको थियो ।’ (४८ पाता) वास्तवमा प्रेमलाई कर्तव्य र दायित्वदेखि फरक राख्न सकिन्छ । कति भने कहिलेकाहीँ ठूलो कर्तव्य र सानो कर्तव्यका बीच एउटालाई छोड्नुपर्ने परिस्थिति आइलाग्न सक्छ । यथार्थका मानिसहरूले गरेजस्तै कथा–उपन्यासका पात्रहरूमध्ये पनि आआफ्नो अवस्था र चरित्रअनुसार ठूलो कर्तव्यको निम्ति सानो कर्तव्य छोड्ने वा सानो कर्तव्यको निम्ति ठूलो कर्तव्य छोड्ने हुन्छन् । वसन्त र धनजस्ता पात्रपात्रीहरू निर्धो विचारधाराका र साधारण छन् । त्यसैले उनीहरूले कर्तव्य र प्रेमलाई फरकफरक देखी जोख्नु अस्वाभाविक होइन, तर लेखक स्वयम्ले भने यस्तो विचार लिन सुहाउँदैन । केही गरी ती पात्रपात्री दरो मनोबल भएका र रुढीवादी विचारधाराका अघिल्तिर घुँडा नटेक्ने खालका भए आफ्नो प्रेमसम्बन्ध तोड्न नदिनु नै ठूलो कर्तव्य ठान्ने थिए । किनभने उमेर पुगेका मानिसले अरू कसैको करकापविना आफ्ना राजीखुसीले विहे गर्न पाउनु सामाजिक अधिकार हो । पुराना विचारका मानिसहरू (ती आमाबाबु नै भए पनि) यस्तो न्यायोचित कुरामा भाँजी हाल्न खोज्छन् भने त्यस्ताको अघिल्तिर लत्रनु कदापि कर्तव्य पालन गर्नु होइन ।

भाषाको दृष्टिबाट भने ‘मन’ राम्रै छ । बोलीचालीको सरल भाषा हुँदा थोरै पढेका मानिसहरूलाई बुझ्न पनि उति गाह्रो पर्दैन । मकैका जुंघे फौजहरूले हावामा तर्बार खेलिरहनु, सन्सारको बत्ती नै निभेजस्तो लाग्नु, निहुर्मुन्टे ‘न’ जस्तै भइरहनु, चरीचुच्चे ‘च’ को चुच्चो तेस्र्याउनु, रगतको आहाल जस्तै राता बादलका टुक्राहरू, झ्यालबाट आएको घामले आँखा घोच्नु र मनमनै सारा नेपाल छाम्नु जस्ता राम्राराम्रा उक्ति उपमाहरू पनि लेखकले निकै प्रयोग गर्नुभएको छ । कतै कतै अलि पात्तिएका कुरा पर्न गएका भए पनि हस्यौली–ठट्यौलीहरूको प्रयोगमा लेखकको राम्रो जेहन र सिप देखिन्छ ।

प्रुफसम्बन्धी विराम भने यस पुस्तकमा पाँच सयभन्दा कम होवैनन् । जस्तै चन्द्रविन्दु ( ँ ) चाहिनेमा धेरै ठाउँमा लाघ्रव ( ) को प्रयोग गरिएको छ, थुप्रै ठाउँमा ड, ढ र ख जस्ता अनेक अक्षर मुनिबाट थोप्ला भएका (जस्तै ः ड़, ढ़ र खÞ) पर्न गएका छन् । उही शब्दमा आउने इ, उ कारलाई कतै ह्रस्व र कतै दीर्घ रहन दिएर पनि मनपरी गरिएको छ । गर्ने, माता, ढाका, थिइन, उनी, पट्टी, मा, घर, भाँडा, आएनौँ, बोलिन, घारी, पर्थे, बुढा–बुढी र स्वास्नीमान्छे जस्ता शब्दहरू प्रुफको विरामले गर्दा गन, मान, ढाका, थिइन्, उ, पट्टि, म, घर, भाडा, आएनौ, बोलिन्, धारा, पथ, बढा–बढी र स्वास्नी मान्छे भई छापिएकाले अर्थको अनर्थ हुन गएको छ । मदन पुरस्कार गुठी जस्तो नाउँ चलेको संस्थाले प्रकाशित गरेको पुस्तकमा यो विघ्नसँग प्रुफसम्बन्धी खोटहरू देख्ता प्रकाशकको हेल्चेक्रयाइँप्रति दुःखमनाउ प्रकट गर्न करै लाग्छ ।

‘मन’ हेर्दै जाँदा आधुनिक भारतीय उपन्यासहरू हेरेका पाठकले झल्झली ‘अभिशाप’ उपन्यास सम्झन्छन् । गुजराती साहित्यका प्रसिद्ध उपन्यासकार श्री कन्हैयालाल माणिकलाल मुन्सीको यो उपन्यास अनेक घटना, पात्र र दृश्यसँग मनका कैयन घटना, पात्र र दृश्य कति ज्यास्ती मिलेका देखिन्छन् भने अचम्म नै मान्नुपर्छ । जस्तै ‘मन’ को स्वामी महाराज र ‘अभिशाप’ को महायोगी महाराज दुवैको चरित्र एककिसिमले ठ्याम्मै मिल्छ भने पनि हुन्छ । कहाँसम्म भने दुवैको उमेर, पहिरन र छलकपटका रूपहरू समेत उस्तै छ । त्यस्तै दुवै उपन्यासका नायिकाहरू मन र मणिको चरित्र र जीवनघाटका धेरै कुराहरू दुरुस्त उस्तै छन् । महायोगी महाराजले मणिप्रति जस्तो व्यवहार गर्छ र मणिउपर त्यसको जस्तो प्रभाव पर्छ त्यस्तै व्यवहार स्वामी महाराजले मनप्रति गर्छ र मनउपर पनि त्यस्तै प्रभाव पर्छ । दुवैको बस्ने ठाउँको बयान र ‘आश्रम’का नियमहरू पनि उस्तै उस्तै छन् । उता महायोगी महाराजले मणिभन्दा अघि कर्णिकालाई फसाएको हुन्छ, यता स्वामी महाराजले मनभन्दा अघि शारदालाई फसाएको हुन्छ । कर्णिका जस्तो कारण देखाएर मणिलाई भाग्नलाई सघाउँछे, त्यस्तै कारण देखाएर शारदाले मनलाई भगाउँछे । कर्णिका मणिलाई आफ्नो गहना दिन्छे र महायोगी महाराज कहाँबाट उम्केपछि आफ्नी दिदीकहाँ जानू भनी मणिलाई भन्छे । शारदा पनि मनलाई आफ्नो गहना दिन्छे र स्वामी महाराजकहाँबाट फुत्केपछि आफ्नी दिदीकहाँ जानू भन्छे । ‘अभिशाप’ मा वर्णित ‘समाजसुधारक संघ’ पनि उस्तै कोटीको छ । यस उपन्यासकी तुंगभद्रा र यस उपन्यासकी डिठ्ठिनी उस्तै काँटका छन् । तुंगभद्राले मणि थुनिएर बसेको कोठाको ढोका । त्यसपछि मणि पनि छानाबाट फाल हालेर भाग्छे, मन पनि छानाबाट फाल हालेर भाग्छे । दुवै उपन्यासमा यसरी मिल्ने अंशहरू अरू पनि कति छन् कति ! यसरी मिलेको देख्ता ‘मन’ का लेखकको साहित्यसेवाप्रति आस्था भएका पाठकहरूको हृदय चह¥याउँछ र सारै खल्लो मान्नुपर्छ ।

‘अभिशाप’ र ‘मन’ मा उस्तैउस्तै वा मिल्ने खालका कुराहरू यस्तो विधि छन् तापनि पहिलोका लेखकले (हुनत उहाँको दृष्टिकोण पनि उति प्रगतिशील वा वैज्ञानिक छैन) आफूले छोएको समस्याको समाधान समेत देखाउन खोज्नुभएको छ । तर ‘मन’ का लेखकले समस्यामात्र देखाएर उपन्यास सक्नुभएको छ, त्यसको समाधान देखाउन वा खोज्नतर्फ भने उहाँ लाग्नुभएको छैन । ‘अभिशाप’ का लेखकले ‘मन’ का लेखकले झैँ समाजलाई ‘राक्षसैराक्षस’ को बस्ती जस्तो नदेखाएर सह्रनी गर्नुपर्ने खालको चरित्र भएका अनेक पात्रहरूको पनि रचना गर्नुभएको छ । यसरी केही कुराहरू अभिशापभन्दा फरक छन् र घटनाक्रम तथा अनेक पात्रपात्रीहरूका चरित्र दुवै उपन्यासमा मिल्दैनन् । तापनि ‘मन’ को जस्तो ‘मौलिकता’ले साहित्यको स्तरलाई उकाल्नुको सट्टा बराल्ने नै काम गर्छ । सारांशमा भन्ने हो भने यो उपन्यास विचार शिल्प दुवै दृष्टिकोणबाट खोटो नै सिद्ध हुन्छ ।

प्रकाशित गर्नुभन्दा अघि यो समालोचना मैले लीलाध्वजज्यूलाई सुनाएको थिएँ । समालोचना सुनेपछि उहाँले २०१७, असोज ११ गतेको ‘हालखबर’ दैनिकमा “मेरो ‘मन’ उपन्यासको आलोचना” शीर्षक चिठी प्रकाशित गरी ‘...मैले कसैको कुनै पुस्तकको चोरी गरेको छैन, अनुवाद गरेको छैन, आफूले उपन्यास लेख्न बस्ता अरू कुनै पुस्तक पल्टाएर हेरेकोसम्म छैन....’ भनेर सफाइ दिनखोज्नुभएको छ । साथै ‘मन’को समालोचना लेख्नेप्रति बोक्रे र बैगुनी व्यक्ति, साहित्य र समाजका दुष्मन–कीटाणु र पुरस्कारका डाहाडे जस्ता सारै दुच्छर शब्दहरूको प्रयोग गर्नुभएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।