17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घनश्याम ढकालको ‘आजको महाभारत’ कथाहरूमा चरित्र योजना

कृति/समीक्षा डा. यदु नन्दन उपाध्याय December 9, 2012, 1:38 am

१. विषय प्रवेश

प्रगतिवादी कथाकार घनश्याम ढकाल (२०१०–२०६८) को चौथो कथा सङ्ग्रहका रूपमा आजको महाभारत २०५५ सालमा प्रकाशित भएको हो । ढकालका यसअगि भरिया र यात्री (२०४६), शहिद मानचित्रमा नपरेको शहिद (२०४८), समर्पणको बाटोमा (२०५१) जस्ता तिन वटा कथा सङ्ग्रह प्रकाशित भइ सकेका थिए । त्यति मात्र होइन उनले नाम कमाउने रहरमा ( २०४२), दरिद्रता मुक्ति (२०४५) जस्ता निबन्ध सङ्ग्रह, फैसला हारजितको (२०४४) जस्तो कविता सङ्ग्रह, गाउँभित्र (२०४७) र रातो आकाश जस्ता (२०६०) उपन्यासका साथै माक्र्सवादी सौन्दर्य शास्त्रको विवेचना (२०५७), द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद (२०६४) जस्ता सौन्दर्य चिन्तन र दर्शन सम्बन्धी कृतिहरू पनि प्रकाशित गरेका छन् । यसो भएकाले ढकालको सृजन एवं लेखन बहुमुखी रहेको छ र उनको लेखनको केन्द्रीय विचार समाज परिवर्तनको माक्र्सवादी मान्यतामा आधारित छ । प्रस्तुत लेखमा भने उनको चौथो कथा सङ्ग्रह आजको महाभारत का चरित्र योजनाका बारेमा मात्र चर्चा गर्न खोजिएको छ ।

२. ‘आजको महाभारत’ का कथाहरूको चरित्र योजना

घनश्याम ढकालको आजको महाभारत कथा सङ्ग्रहभित्र विभिन्न शीर्षकका १५ वटा कथाहरू सङ्कलित छन् । ती सबै कथाहरूले नेपालमा २०५२ सालबाट थालिएको माओवादी जनयुद्धलाई सकारात्मक रूपमा ग्रहण गरी त्यसप्रति समर्थन तथा तत्कालीन सत्ता र त्यसका सञ्चालक सत्ता पक्ष र प्रतिपक्षी राजनीतिक दलहरूप्रति विरोधको जन चेतनाको निर्माणमा बल पु¥याउन खोजेका छन् । यस सङ्ग्रहका कथाहरूमा माओवादी जनयुद्ध थालिएको दुई तिन वर्षभित्र भएका गतिविधि समेटिएका छन् र तिनमा नेपाली जनता तत्कालीन शासन सत्ता विरुद्ध भित्र भित्र सङ्गठित र आन्दोलित भइ रहेका र राज्यसत्ताद्वारा सो जनयुद्धको नियन्त्रणका नाममा व्यापक दमन र धरपकड अगि बढाइएको सन्दर्भ प्रस्तुत गरिएको छ । उक्त दुई पक्षका बिचको द्वन्द्वमा तत्कालीन समाजको परिवर्तनका निम्ति कार्यरत राजनीतिक कार्यकर्ता, किसान, शिक्षक, नारी लगायतका निम्न वर्गका सर्व साधारणमा के कस्तो सक्रियता र जागरण उत्पन्न भएको थियो र उक्त सक्रियतालाई निस्तेज पार्न तत्कालीन सत्ताका प्रहरी र त्यसको आड पाएका शक्तिका साथै राजनीतिक दलहरूको भूमिका कस्तो थियो भन्ने सन्दर्भलाई समेत कथाका चरित्र योजना मार्फत प्रस्तुत गरिएको छ । यस सङ्ग्रहका कथामा साठीको दशकदेखि प्रारम्भ भएको माओवादी विद्रोह, त्यसको पृष्ठभूमि, त्यसले जन मानसमा सृजना गरेका आकाङ्क्षा, त्याग, बलिदान र अदम्य साहसलाई प्रस्तुत गरिएको छ (गौतम, २०६२ ः ४०८) । यसमा परिवर्तनकामी विचारलाई सकारात्मक रूपमा आत्मसात गर्ने तथा परिवर्तनका विरुद्ध सक्रिय रहने दुवै थरी चरित्रको योजना तिनको वैचारिक प्रतिनिधित्वका आधारमा गरिएको छ ।

३. ‘आजको महाभारत’ कथाका चरित्रको प्रतिनिधिमूलकता

घनश्याम ढकालको आजको महाभारत कथाभित्रका अधिकांश कथाका चरित्रहरू समाज परिवर्तनको प्रक्रियाप्रति सकारात्मक देखा पर्छन् र सक्रियतापूर्वक सहभागी पनि भएका छन् भने कतिपय चरित्र यथास्थितिको पक्ष पोषण गर्ने नकारात्मक छन् । यस सङ्ग्रहका किसान, राजनीतिक कार्यकर्ता, माओवादी विचारको समर्थन गर्ने शिक्षक, नारी आदि चरित्रले बर्सौँदेखि नेपाली समाजको अर्ध सामन्ती व्यवस्था र त्यसको उत्पादन सम्बन्धका आडमा उत्पीडित भई कष्टकर जीवन बिताउन बाध्य भएका नेपालीको प्रतिनिधित्व गरेका छन् र त्यस व्यवस्थाका विरुद्ध थालिएको माओवादी गतिविधि मार्फत आमूल परिवर्तन हुने र गर्नु पर्ने कुरामा पनि विश्वस्त भई सक्रिय देखिन्छन् । त्यस्तै यस सङ्ग्रहका नकारात्मक चरित्रका प्रतिनिधिमा गाउँका जग्गावाल, विभिन्न व्यवसायको मालिक्याइँ गर्ने व्यक्ति, प्रहरी, राजनीतिक दल आदि प्रस्तुत गरिएका छन् र तिनीहरूले पनि आफ्नो शोषण र शासनको राजमाथि कतैतिरबाट बाधा नपरोस् भनेर परिवर्तनकामी गतिविधिमाथि नियन्त्रण कायम गर्ने प्रयत्न गरेका छन् । रचनाभित्रको एउटा पसले, कर्मचारी वा मजदुरमा बिस, पचास वा सय पसले, कर्मचारी र मजदुरका अति महत्त्वपूर्ण विशेषता, वर्ग लक्षण, स्वभाव, रुचि, हाउभाउ, विश्वास र बोलीचालीका ढङ्गहरूको सार सङ्घनित रूपमा खिँच्न सके प्रतिनिधि चरित्रको सृजना मानिन्छ (गोर्की, २०६५ ः २४) र ढकालका कथाहरूलाई यस मान्यता अनुसार पनि अध्ययन गर्न सकिन्छ । अर्थात् कथाहरूका प्रमुख चरित्रहरूबाट ढकालले त्यस प्रकारको स्वभाव भएका धैरै व्यक्तिका बानी बेहोरा, क्रियाकलाप, आचरण आदि पक्षहरूलाई मिसाएर एउटा एउटा चरित्रको निर्माण गरेका छन् ।

आजको महाभारत कथाभित्रका ‘ठेला’ कथाको अनन्त, ‘ठेक’ कथाको राम सदन, ‘दसैँको खुसियाली’ कथाको रनवीर निम्न वर्गका किसान श्रमिकका प्रतिनिधि चरित्रका रूपमा प्रस्तुत छन् र तिनले उच्च वर्गीय उत्पीडनबाट उन्मुक्तिको बाटो पनि खोजि रहेका छन् । यस क्रममा ‘ठेला’ शीर्षकको कथाका अनन्तबाट साहुको रिनका कारण पुस्त्यौली जमिन बेचेर सहरतिर बसाइँ जान विवश निम्न वर्गीय नेपाली जनताका जीवनको यथार्थ प्रकट भएको छ । परिवारको पालन पोषणका निम्ति कहिले सानो होटल चलाउने, कहिले डकर्मी बनेर ढुङ्गा बोक्ने, कहिले सिकर्मीबनेर काठ चिर्ने र कहिले अपमान र तिरस्कार सहँदै ठेलामा तरकारी बेचेर जीवन निर्बाह गर्न खोज्ने अनन्तको जीवनले निम्न वर्गीय नेपाली किसान तथा मजदुर वर्गको प्रतिनिधित्व गरेको छ । आर्थिक अभावले छोराछोरीलाई स्कुल पठाउन नसकेको, पसलको भाडा र रासनको पैसा तिर्न नसकेका कारण होटल चलाउँदाका कुर्सी र टेबल साहुद्वारा लुटिएको, फरक राजनीतिक आस्थाका कारण फर्निचरको मालिकसँग मात्र होइन आफन्तै(जेठान)बाट समेत तिरस्कृत गरिएको अनन्तको पारिवारिक जीवन कथा यथार्थ र मार्मिक छ । यस कथामा उक्त प्रतिकूल स्थितिमा परिवर्तन ल्याउन निम्न वर्गका विचारलाई अगि बढाउने राजनीतिक पार्टीमा सङ्गठित हुनु पर्ने तथा यथास्थितिका विरुद्ध सशक्त प्रतिकारको थालनी पनि गर्नु पर्ने मान्यता गङ्गे लगायतका निम्न वर्गका श्रमिकको प्रतिरोध गतिविधिले पनि देखाएको छ । यस कथाको कथा वाचक ‘म’ पात्र परिवर्तन पक्षधर राजनीति कर्मी हो र उसले अनन्त र समाजका गतिविधिलाई नियालि रहेको छ र परिवर्तनप्रति समर्थन पनि जनाइ रहेको छ । यस कथाका पसलको घरभेटी साहु, ढुङ्गा, सिमेन्ट र काठको काम गराउने र सरकारको विरोध गरेकाले अनन्तलाई कामबाट समेत हटाउने मालिकहरू, अनन्तको जेठान जस्ता चरित्रले परिवर्तन विरोधी यथास्थितिवादी सामन्त र शोषक वर्गको प्रतिनिधित्व गरेका छन् ।

ढकालको ‘ठेक’ कथाको राम सदन पनि आर्थिक दुरवस्थाका कारण गाउँकै सामन्त शोषक पूर्णचन्द्रको खेत उब्जनी हुन नसक्ने भए पनि १० मुरी धान दिने गरी ठेकमा कमाउन बाध्य हुन्छ तर भने अनुसार उब्जनी नहुँदा आफ्ना मानिस सहित आएको पूर्णचन्द्रले एकाएक गोठको भैँसी नै फुकाउन लाग्दा राम सदनका साथै चित्रे, सन्ते जस्ता निम्न वर्गका व्यक्तिहरूबाट प्रतिरोध गर्नु परेको सन्दर्भ प्रस्तुत गरिएको छ । राम सदनको बाबु यमलाल बिरामी भई सिकिस्त भएको दुखद र संवेदनशील परिस्थिति समेतको ख्यालै नगरी भैँसी फुकाउन लागेको पूर्णचन्द्रको प्रसङ्गले उच्च वर्गीय अमानवीयता र निम्न वर्गीय विवशताको यथार्थ स्थिति चित्रित गरेको छ । यस कथामा ‘जसको जोत उसको पोत’ को न्यायपूर्ण व्यवस्था नरहेकाप्रति निम्न वर्गका जनतामा जागेको असन्तुष्टिलाई पनि निम्न वर्गीय पक्षधरताका साथ उठाइएको छ । साथै यस कथामा निम्न वर्गका गरिबले अस्पताल गएर पनि उपचार नपाउने अनि चिकित्सक जस्ता पवित्र पेसाका व्यक्तिले पनि गरिबहरूसँग अमानवीय व्यवहार देखाउने गरेको नकारात्मक यथार्थलाई पनि प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत कथाको राम सदन, यमलालका साथै चित्रे, सन्तेले निम्न वर्गीय परिवर्तन पक्षधर जनताको प्रतिनिधित्व गरेका छन् भने पूर्णचन्द्र जस्ताले गरिब दुखीको सेवा गर्ने नाममा शोषक सामन्त, यथास्थितिवादी र अमानवीय कर्म गर्ने दुष्ट चरित्रको प्रतिनिधित्व गरेका छन् । यसमा शोषणको भित्री यथार्थ बुझेर शोषक विरुद्ध बल प्रयोग नै गर्नु पर्ने मान्यता पनि प्रस्तुत गरिएको छ ।

ढकालको ‘दसैँको खुसियाली’ कथाको रनविर पनि निम्न वर्गकै नेपाली किसानको प्रतिनिधिमूलक चरित्र हो । उसले परम्परागत रूपमा शोषण गरि रहेका गाउँका खत्री गाउँको शोषणबाट मुक्ति पाइएला भनेर गरिब वर्गको निलमले भनेका पार्टीको सदस्यता लिने र उसलाई वडाध्यक्षको चुनावमा पनि विजयी बनाउन सघाउने कार्य गर्दछ । चुनाव जितेपछि भने त्यही निम्न वर्गको निलमले गरिब वर्गलाई नै काममा दलाएर उही शोषण गरि आएका खत्री गाउँको सेवा गर्ने, तिनैलाई खुसी पारी रक्सीको भोज ख्वाउने जस्ता काम गरेपछि रनविरले त्यस प्रकारका गरिबको हित विरोधी पार्टीबाट विद्रोह गरेको छ । यसबाट चुनावी उपयोगले मानिस सामन्तको सेवक बन्ने, भ्रष्टाचारमा लिप्त रहने र आफ्नो निम्न वर्गीय हैसियत पनि बिर्सने गलत प्रवृत्तिको विकास हुने सन्देश दिन खोजिएको छ । यसरी यस कथाका खत्री गाउँका खत्रीहरूले सामन्त शोषकको, निलमले निम्न वर्ग र परिवर्तनका कुरा गरे पनि पदासीन भएपछि भित्री रूपमा शोषक सामन्तकै सेवा गर्ने व्यक्तिको तथा रनविर जस्ता चरित्रले आम नेपाली निम्न वर्गका गरिबको प्रतिनिधित्व गरेको देखाइएको छ । साथै गरिबका लागि दसैँ जस्ता चाडपर्व पनि खुसियाली होइन ऋणको बोझ लिएर आउँछन् भन्ने मार्मिक यथार्थको उद्घाटन पनि यस कथामा गरिएको छ ।

ढकालको ‘धु्रवमानको अन्त्य’ कथाको अमान सिंह, ‘आतङ्कवादी’ कथाको गुप्तमान, ‘बिग्रेको छोरो’ कथाको गम्भीर मान, ‘जीवन मूल्यको खोजी’ को सलिम ‘बिरेन हाम्रो पारिवारिक सदस्य बनि सकेछ’ को वदी्र प्रसाद जस्ता चरित्रले पनि नेपाली परिश्रमी किसानको प्रतिनिधित्व गरेका छन् । अमान सिंहलाई आफ्नो घरमा कमारो जस्तै बनाएर बिस वर्षदेखि राखेर उसका जीवनको सम्पूर्ण श्रम उमेर निखार्दा पनि धु्रवमानको शोषणको तिर्खा मेटिन्न । यसैले असह्य किसिमको अत्याचार भएपछि धु्वमानमाथि भौतिक कारबाही नै गर्नु परेको सन्दर्भ प्रस्तुत गरिएको छ । उसले जाली तमसुक बनाई गरिबको घर जग्गा हडप्ने, गाउँका छोरीचेलीमाथि बलात्कार गर्ने र गरिब निमुखा आफन्त (ससुरा समेत) लाई बापतीको धम्की दिई शोषण गर्ने अत्याचारी धु्रवमानका खेतको धान लुट्ने जस्ता प्रतिरोधी कारबाहीका साथै अन्त्यमा हत्या नै गर्नु परेको सन्दर्भ प्रस्तुत गरिएको छ । ‘आतङ्कवादी’को गुप्तमानको घरखेत पनि शान्तिध्वजले हडपेका कारण ऊ भूमिगत भएर शोषणमूलक परिपाटीकै अन्त्य गर्ने राजनीतिक अभियानमा लागेको छ । यसरी हेर्दा धु्वमान र शान्तिध्वज जस्ता चरित्रले सत्ताका र शोषणको परम्पराका आडमा दोहनको यथास्थितिलाई जोगाइ राख्न चाहने नकारात्मक चरित्रको तथा अमान सिंह, गुप्तमान जस्ता चारित्रले शोषित एवं पीडित निम्न वर्गका जनताको प्रतिनिधित्व गरेका छन् । ‘जीवन मूल्यको खोजी’ को सलिम पहिले अल्छी र निस्क्रिय भएर समय बरबाद गरि रहेको तर भूमिगत राजनीतिक कार्यकर्तासँग भेट भई मानव श्रम र सिर्जना सम्बन्धी चेतना प्राप्त गरेपछि उसको किसान जीवन पद्धतिमा नै व्यापक परिवर्तन आएको यथार्थ प्रस्तुत गरिएको छ । यस कथाले मानवभित्रको शक्ति र सामथ्र्यलाई जगाएर पनि सही जीवन मूल्यको खोजी हुने र समाजलाई समुन्नत र समृद्ध बनाउन सकिने यथार्थको उद्घाटन गरेको छ । समग्रमा हेर्दा ढकालका कथामा बाध्यता, विवशता र अज्ञानताका कारणबाट शोषित तथा पीडित बन्न पुगेको जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ (गौतम, २०६२ ः ४०३–४) । यसरी आजको महाभारत कथामा शोषक सामन्तलाई समाजको गतिहीनता, प्रतिगामिता र यथास्थितिका प्रतिनिधिका रूपमा तथा किसान र सर्व साधारण श्रमिक जनतालाई परिवर्तनको कर्ममा क्रियाशील प्रतिनिधि चरित्रका रूपमा प्रस्तुत गरिएको छ ।

आजको महाभारतका कथाहरूमा शोषणमूलक समाज व्यवस्थालाई समाप्त पारी समृद्ध जनवादी व्यवस्थाको स्थापना गर्न भनी प्रतिबद्ध राजनैतिक रूपले सचेत र माओवादी आन्दोलनमा सक्रियतापूर्वक लागेका राजनीतिक कार्यकर्तालाई पनि चरित्रका रूपमा प्रस्तुत गरिएको छ । सामान्यतया ढकालका कथामा प्रस्तुत भएका किसान लगायतका सर्व साधारण पनि कथान्तमा यथास्थितिका विरुद्ध विद्रोहमा सहभागी हुने मनस्थितिमा पुगेकै देखिन्छन् तर सँगसँगै कतिपय चरित्र चाहिँ पार्टीका कार्यकर्ताका रूपमा प्रस्तुत भएर नेतृत्व गर्ने र जन परिचालनको भूमिकामा प्रत्यक्ष रूपमै सक्रिय भएका पनि छन् । यस्ता चरित्रलाई पनि ढकालले प्रतिनिधिमूलकताका आधारमा प्रस्तुत गरेका छन् । उनका यस्ता चरित्रहरूमा ‘आजको महाभारत’को सुनन्दा ‘बिरेन हाम्रो परिवारको सदस्य बनि सकेछ’ कथाको बिरेन, ‘छापामारको खोजी’का रवि र पुष्प, ‘एउटा विद्रोह’को पुष्कर, ‘बिग्रेको छोरो’को पुनम, ‘कमरेड मुखिया’को बुधराम, ‘आतङ्कवादी’ कथाको गुप्तमान आदि रहेका छन् ।

यस सङ्ग्रहको शीर्षक राखिएको ‘आजको महाभारत’ कथाले तत्कालीन नेपाली सामाजको द्वन्द्वलाई सजीव र मार्मिक रूपमा प्रस्तुत गरेको छ । यसमा सुनन्दा, विशाखा आनन्द लगायतका सकारात्मक तथा दुर्गासिंह, असई, दले आदि नकारात्मक चरित्र बनेर प्रस्तुत छन् । माओवादी जनयुद्धको थालनी भएका बेलाको यथार्थ उतारिएको यस कथामा सुनन्दा चरित्र मार्फत श्रमको कमाइ गरेर रगत र पसिना बगाउने श्रमिक वर्गले स्वभिमानपूर्वक बस्ने र बाँच्ने अवसर नपाएकामा गम्भीर चिन्ता व्यक्त गरिएको छ । उसको जेठो छोरो समाज परिवर्तनका निम्ति काम गर्दा जेल परेको छ भने कान्छो छोरो आनन्द भूमिगत राजनीति गरि रहेको छ । उसले छोरी विशाखालाई पनि वर्गीय मुक्ति अभियानमा दृढतापूर्वक लाग्ने प्रेरणा प्रदान गरेको छ । दुर्गासिंह भने तत्कालीन सत्ताका आडमा सामन्ती शासन चलाउने नकारात्मक चरित्रको प्रतिनिधि एवं यथास्थिति र प्रतिगामी चिन्तन लिएको क्रूर व्यक्ति हो । उसले निरीह गाउँलेलाई विभिन्न निहुमा ऋण बोकाउने, चेलीबेटीमाथि हातपात गर्ने, कमजोर आर्थिक स्थिति भएका गाउँलेलाई आफ्ना घरखेतका काममा कज्याउने, चुनावका बेला बुथ कब्जा गर्ने, राज्यका प्रहरीलाई आफ्नै आदेशमा परिचालन गर्ने जस्ता काम गरेर जनताको हुर्मत लिएको छ । उसैले दले भन्ने नोकरलाई सुराकी गर्न लगाई सुनन्दाका घरमा चलेको माओवादी वैठकको सूचना पत्ता लगाएर आफ्नै निर्देशनमा प्रहरी लगेर आक्रमण गर्न लगाई त्यहाँ कोही नभए पनि सुनन्दाको निर्मम तरिकाले हत्या गराएको छ र घरमा चिहिलबिहिल मच्चाएको छ । यसो भएकाले दुर्गासिंह मार्फत तत्कालीन शासक दलद्वारा गरिएको अत्यन्त क्रूरतम कर्मको सन्दर्भ अभिव्यक्त भएको छ । सुराकी गर्ने दलेमाथिको कारबाही शक्तिशाली दुर्गासिंहलाई कमजोर बनाउन गरिएको प्रारम्भिक आक्रमण भएको र अन्ततः उसमाथि पनि विजय पाएरै छोडिने दृढता पनि प्रकट गरिएको छ । साथै यस कथामा प्रस्तुत भएको सूर्यदेवले सुनन्दाको मृत्युपछि आहत बनेको परिवारलाई सान्त्वना दिने नाममा आफ्नो पार्टीमा प्रवेश गराउने फोहरी चाल रचेको नकारात्मक सन्दर्भ पनि प्रस्तुत गरिएको छ । समग्रमा यस कथाका चरित्रबाट तत्कालीन नेपाली समाजमा माओवादी पार्टीबाट थालिएको आमूल परिवर्तनको सशस्त्र एवं दीर्घकालीन गतिविधि र त्यसका विरुद्धमा देखिएका नकारात्मक प्रवृत्तिहरूको चित्रण गरिएको छ र कतिपय घटनामा पराजय भोग्नु परे पनि अन्ततः निम्न वर्गका स्वाभिमानी जनताको जित भएरै छोड्ने यथार्थको उद्घाटन पनि गरिएको देखिन्छ ।

ढकालको ‘बिरेन हाम्रो परिवारको सदस्य बनि सकेछ’ कथाको बिरेन पनि समाज परिवर्तनका निम्ति सक्रिय भूमिगत राजनीतिक कार्यकर्ता हो । आर्थिक रूपले गरिब बर्गकोृ, पत्नीले सघाएकीले राजनीतिक काम गर्ने अवसर प्राप्त गरेको, आफूलाई सेल्टर दिने घरका काममा समेत सहभागी हुने, राज्यका आक्रमण र जासुसी गतिविधिबाट जोगिन सचेत राजनीतिक व्यक्ति हो । उसले तत्कालीन माओवादी पार्टीका कार्यकर्ताको प्रतिनिधित्व गरेको छ । ‘छापामारको खोजी’का रवि र पुष्प पनि समाज परिवर्तनका निम्ति समर्पित राजनीतिक छापामार हुन् । उनीहरूले गाउँमा गरिब निमुखा र असहाय जनतालाई लुटेर जाली लालपुर्जा र तमसुक बनाउने, सुन चाँदी आदि वस्तु नगद धितो राख्ने निल बहादुर जस्ता शोषक सामन्तमाथि कारबाही गर्ने छापामारको भूमिका निर्वाह गरेका छन् । यिनीहरूबाट तत्कालीन माओवादी कार्यकर्ताले कसरी सर्व साधारण जनतालाई एकत्रित गरी जन विरोधीमाथि कारबाही गर्थे, उनीहरूले लुटेका वस्तु कसरी सुरक्षित गर्थे, तोकिएका ठाउँमा अनुशासित तरिकाले पुगेर जनतासँग कसरी घुलमिल भई उनीहरूका भावनालाई बुझ्ने र थप कारबाहीका योजना बनाउँथे भन्ने कुराको जानकारी गराइएको छ ।

‘बिग्रेको छोरो’ कथामा पनि चोरी गर्ने, लागु पदार्थको सेवन गर्ने, बलात्कार र अन्य ज्यादती गर्नेलाई बिग्रेको नभनिने तर समाज परिवर्तनको माओवादी गतिविधिमा लागेको व्यक्ति (पुनम) लार्इृ बिग्रेको मान्ने गलत सामाजिक प्रवृत्तिप्रति आपत्ति जनाइएको छ । पुनमले गरिब, दुखी तथा श्रमिक जनताका लागि काम गरेको यथार्थ थाहा पाएपछि भने पहिले ऊ साँच्चै बिगे्रको हो कि भनेर चिन्तित देखिएका बाबुआमा खुसी भएका र प्रहरीले पक्रेर सोधपुछ गर्दा पनि निर्धक्क आफ्नो छोराले कुनै गलत काम नगरेको कुरा व्यक्त गरेको कुरो यस कथामा देखाइएको छ ।

आजको महाभारत को ‘एउटा विद्रोह’ कथाको पुष्कर पनि माओवादी राजनीतिक कार्यकर्ताका रूपमा प्रस्तुत भएर समाजमा विद्यमान जातीय भेदभाव विरुद्ध धर्मराउँदा धर्मराउँदै पनि अन्त्यतः विद्रोहका निम्ति अगि बढेको देखाइएको छ । अरुसँग छुवाछुत विरोधी कुरा गर्ने तर आफ्नै घरमा आइ पर्दा सो कुरालाई पचाउन नसकी अस्वीकार गर्ने पुष्कारका बाबुआमाको भूमिका कमजोर देखिए पनि अन्त्यतः पार्टीको सक्रियता र आडले सो सामाजिक विद्रोह सफल भएको छ र समाज परिवर्तनका निम्ति त्यस प्रकारको विद्रोह आवश्यक रहेको कुरा यस कथाले यथार्थपरक रूपमै औँल्याएको छ । यस कथामा नेपाली समाजको जातीय भेदभाव र उत्पीडनको अन्त्यका निम्ति पराम्परागत संस्कार विरुद्ध विद्रोह आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ र त्यस्तो भूमिका पार्टीको काममा सक्रिय व्यक्तिबाटै अघि बढाउनु पर्ने मान्यता पनि प्रस्तुत गरिएको छ । नेपाली समाजभित्र देखिने उक्त किसिमका समस्या र त्यसमा संलग्न चरित्रहरूलाई ढकालले प्रतिनिधित्वकै आधारमा प्रस्तुत गरेका छन् ।

ढकालका कथामा कतिपय शिक्षक वा बुद्धिजीवी पनि समाज परिवर्तनको माओवादी गतिविधिप्रति आस्थावान् र स्वाभिमानी बनेर वैचारिक रूपले सघाइ रहेको प्रसङ्ग पनि प्रस्तुत गरिएको छ । ‘आतङ्कवादी’ कथामा गाउँको सामन्त शान्तिध्वजले निम्न वर्गको गरिब गुप्तमानमाथि गरेका शोषणको कुरो निर्धक्क अन्याय हो भनि दिने मणिन्द्र माओवादी जनयुद्धलाई नैतिक र वैचारिक रूपले समर्थन गर्ने बौद्धिक चरित्रको प्रतिनिधि हो । ऊ शान्तिध्वजकै सूचनाका आधारमा प्रहरीबाट पक्रिएको छ । ‘छापामारको छोरो’ कथाको शिक्षकले पनि पूर्ण अभिमानका साथ प्रहरीका लाभकारी पदमा नियुक्ति र प्रलोभनको कुरालाई तिरस्कार गरि दिएको छ । यसका साथै ढकालका कथाका कतिपय शिक्षक चाहिँ कुरामा जातीय भेदभावको विरोध गरे पनि आफ्नै घरमा सो अवसर आइ लाग्दा स्वीकार गर्न नसकेर मानसिक छटपटीमा परेको सन्दर्भलाई पनि ‘एउटा विद्रोह’ कथाको पुष्कारको बाबु (शिक्षक)का चरित्र मार्फत प्रस्तुत गरिएको छ । उनका कथाका यस्ता चरित्रले नेपाली समाजको मनस्थिति र सांस्कृतिक रूपान्तरणको सङ्क्रमणशील यथार्थलाई व्यक्त गरेको पनि देखिएको छ । कतिपय शिक्षकले नकारात्मक भूमिका खेलेको सन्दर्भ पनि ‘बिग्रेको छोरो’ कथाको पुनमलाई पढाउने शिक्षकले ऊ माओवादी पार्टीमा लागेर बिग्रेको भन्ने टिप्पणी गरेको देखाएर पनि प्रस्तुत गरिएको छ ।

ढकालका ‘मनभित्र खुलेको लाली गुराँस’ ‘बिरेन हाम्रो परिवारको सदस्य बनि सकेछ’ ‘एउटा विद्रोह’ जस्ता कथामा नारी चरित्रलाई पनि क्रियाशील भूमिका प्रदान गरिएको छ । ‘मनभित्रको लाली गुराँस’ कथाकी सन्ध्याले मध्य रात्रिमा आफ्नो घर प्रहरीले घेरेको चाल पाएपछि श्रीमान् सहितका भूमिगत माओवादी कार्यकर्तालाई खुसुक्क भाग्न लगाएर तिनलाई जोगाउन र प्रहरीको ध्यान अन्यत्र मोड्न आफ्नो ज्यान जोखिममा हालेरै भए पनि अर्कातिर भाग्न खोजेको देखाएकी छ । उक्त घटनामा सबै प्रहरी सन्ध्यालाई पक्रन दगुर्दा कार्यकर्ता भाग्ने परिवेश निर्मित हुन्छ तर पछि सन्ध्याले प्रहरी यातना सहनु पर्छ । यस प्रकारको जोखिम मोल्ने नारी कार्यकर्तालाई देखाएर ढकालले माओवादी जनयुद्धमा नारीका भूमिकाको स्मरण पनि गराउन खेजेका छन् । त्यस्तै ‘बिरेन हाम्रो परिवारको सदस्य बनि सकेछ’ कथाकी हिमाले पनि भूमिगत राजनीतिमा सक्रिय बिरेनलाई सेल्टर दिने, उसको सुरक्षाको तालमेल मिलाउने, उसँग आत्मीय आस्था राख्ने मात्र होइन उसको सुरक्षाको राम्रो प्रबन्ध मिलाउने क्रममा गाउँमा सेल्टर विस्तार समेत गराउन भूमिका खेलेको पनि देखाइएको छ । भिमाले पनि घर परिवारको रेखदेखको सबै जिम्मा आफूले लिएर पति बिरेनलाई राजनीतिक काम गर्ने अवसर प्रदान गरेर महत्त्वपूर्ण भूमिका खेलेको देखाइएको छ । ‘एउटा विद्रोह’ कथाकी लताले त झन् सक्रिय राजनीतिक महिला कार्यकताको भूमिका निर्वाह गरेकी छ । ढकालका सबै कथामा नारी चरित्र आएका छन् र ती धेरैजसोले घर परिवारभित्र सीमित रहेर र पुरुष कर्मलाई सघाउने काम मात्र गरेका पनि देखिन्छन् ।

आजको महाभारतका विभिन्न कथाहरूमा परिवर्तनका चर्का कुरा गर्ने चरित्रका आडम्बरी प्रवृत्तिको उद्घाटन पनि राम्ररी गरिएको छ । यस्ता कथाहरूमा ‘कामरेड मुखिया’को गोकर्ण, ‘एक नम्बर’को भुवन सर, ‘ब्रह्मसत्य जगत् मिथ्या’को चतुरानन्द जस्ता चरित्रका स्वभावलाई लिन सकिन्छ । ‘कामरेड मुखिया’ मा आफ्नो पुख्र्यौली संस्कार सामन्ती प्रवृत्तिको भए पनि पढाइका क्रममा लहैलहैमा लागेर कम्युनिस्ट बनी समाजमा पनि परिचित भएको तर भित्री व्यवहारमा भने सामन्ती प्रवृत्ति मेटिन नसकी अर्कालाई अनेक लाञ्छना लगाउँदै अपमान गर्ने व्यक्तिका गलत क्रियाकलापको उद्घाटन गरिएको छ । यस कथाको चरित्र गोकर्णले आफू कम्युनिस्ट भएको दम्भ देखाए पनि पार्टीको नीति अनुसार नचलेको, बुधराम जस्ता असल र तल्लो वर्गबाटै उठेर विकसित भएका इमान्दार कार्यकर्तालाई हनुमान, नेताको दास आदि भनेर उडाउने गरेको, ऐयासी जीवन र विलासी प्रवृत्ति देखाएको, जनस्तरबाट स्थानीय फटाहामाथिका कार्बाहीको विरोध गरेको र अन्त्यतः झुठो वक्तव्य दिएर अर्को राजनीतिक दलमा प्रवेश गरी अवसरवादी चरित्र प्रदर्शन गरेको सन्दर्भ प्रस्तुत गरिएको छ । ‘एक नम्बर’ कथामा पनि क्याम्पसमा पढाउने भुवन सरका भित्री यथार्थको उद्घाटन गरिएको छ । यसमा आफूलाई केन्द्रमा राखेर पार्टीका नीति र क्रान्तिको परिभाषा गर्ने, इमान्दार र कर्मशील अरु राजनीतिक कार्यकर्तालाई दलाल, अवसरवादी, पोप्यपुत्र र चाकरीबाज जस्ता आरोप लगाएर मान मर्दन गर्ने भुवन सरको अद्वितीयताको चित्रण गरी उसभित्रका दुस्प्रवृत्तिमाथि व्यङ्ग्य पनि गरिएको छ । यस कथाले २०५२ सालमा नेपालमा थालिएको माओवादी जनयुद्ध र त्यसमा सहभागी हुन डराएपछि त्यसको विरोध गरी आफूलाई असल र युद्धमा सहभागीलाई गलत भनी लाञ्छित गर्ने अवसारवादी व्यक्तिका दुस्प्रवृत्तिको उद्घाटन गरी त्यस प्रवृत्तिमाथि कसिलो व्यङ्ग्य गरेको छ । ’ब्रह्म सत्य जगत् मिथ्या’ कथाको चतुरानन्दबाट आफू सच्चा माक्र्सवादी र क्रान्तिकारी भएको दावी गर्ने तर तत्काल क्रान्ति थाल्ने वस्तुगत र आत्मगत परिवेश नबनेको मात्रै होइन अन्तराष्ट्रिय परिस्थिति समेत अनुकूल नभएको भनी क्रान्तिबाट भागि रहने प्रवृत्तिको चित्रण गरी त्यस्ता व्यक्तिका निस्क्रिय एवं कायर प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । यसरी ढकालले आफ्ना कथाहरूमा माक्र्सवादी आन्दोलनभित्रका व्यक्ति चरित्रका कुप्रवृत्तिको उद्घाटन पनि राम्ररी गरेको पाइन्छ ।

आजको महाभारतका कथाहरूमा ढकालले सर्व साधारण नेपाली जनतामा जाग्दै गरेको शोषणका विरुद्धको चेतना, शासक वर्गले लादेका उत्पीडन र अन्यायका जाली कुरा र षडयन्त्रबारेको जानकारी र त्यस शोषण र षडयन्त्रबाट मुक्ति प्राप्त गर्न थालिएको र थाल्नु पर्ने प्रतिरोध गतिविधि आदि कार्यमा संलग्न चरित्रहरूलाई तत्तत् क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी आयोजित गर्ने प्रयत्न गरेका छन् । ‘ठेला’ कथाको अनन्त ऊ एउटा व्यक्ति मात्र नभएर ऊजस्ता रिनले थला परेका, पुरानो वा सामन्ती प्रकारको उत्पादन सम्बन्धका कारण एउटै पेसामा टिक्न र परिवारको लालनपालन गर्न नसकी पेसा परिवर्तन गर्न बाध्य भएका, भिन्न राजनीतिक आस्थाका कारण सताइएका, परिवर्तन पक्षधर राजनीतिक दलमा सङ्गठित भएका, छोराछोरीलाई स्कुल पठाउन असफल भएका आदि क्षेत्रका धेरै मानिसका महत्त्वपूर्ण विशेषतालाई एकत्रित गरी निर्माण गरिएको निम्न वर्गीय आम किसान र मजदुरको प्रतिनिधि चरित्र हो । त्यस्तै ‘ध्ुवमानको अन्त्य’ कथामा पनि अनेकौँ गरिब नेपालीलाई आफ्नो घरमा कमारो जस्तै बनाएर श्रम शोषण गर्ने र उसको अवसानपछि पनि उसको छोरालाई पनि कमारो नै बनाउने षडयन्त्र रचेर ऋण चुक्ता नभएको जाली कागज बनाउने, गाउँका छोरीचेलीमाथि आफूले बलात्कार गर्ने र गरिब निमुखा आफन्तमा बुहारीमाथि बलात्कार गरेको वा यस्तै अन्य बापतको धम्की दिई शोषण गर्ने, माओवादी गतिविधिबाट भयभीत बनेका विभिन्न अत्याचारी व्यक्तिहरूका विशेषतालाई सारमा खिँचेर एउटा ध्रुवमानको प्रतिनिधिमूलक चरित्र निर्मित भएको छ । यो कुरा ‘ठेक’ कथाको राम सदन वा ‘आजको महाभारत’ कथाको दुर्गासिंहमा वा अरु अरु कथाका अरु अरु पात्रहरूमा पनि लागु भएको देखिन्छ । यस प्रकारको चरित्रगत प्रतिनिधित्वको निर्माणमा ढकालको पार्टी पक्षधरताको विचारले केही कृत्रिमता खडा गरे पनि तत्कालीन नेपाली समाजको यथार्थ झल्किन्छ । घटनाहरूको बुनाइ र चरित्रको सक्रियतामा पनि प्रगतिवादी सिद्धान्त प्रक्षेपणको अत्यधिक सजगता र आग्रहले उनका कथालाई पूर्ण रूपमा सहज, स्वाभाविक र हृदय संवेद्य बनाउन नसकेको अनुभूति प्रायः हुने गर्छ । साथै नेपाली समाजमा अहिले निकै चर्चामा रहेका जनजातिमाथिका शोषणका कुरा, क्षेत्रीय विभेद र असमानताका कुरा, तराई वा मधेसका उत्पीडनका कुरा र लैङ्गिक विभेदका कुरालाई यस सङ्ग्रहका कथामा उठाइएको छैन । यसरी आर्थिक र राजनीतिक शोषणका उनै रूपहरूको पुनरावृत्ति, ग्रामीण परिवेशको उद्घाटन, कथाहरूमा पुरुष चरित्रकै प्रमुखता, नेपालका विभिन्न समुदायगत समस्याको उद्घाटनमा निस्पृहता र पार्टीगत पक्षधरता जस्ता केही परिसीमा देखिए पनि ढकालका कथाको मुख्य पक्ष माओवादी विद्रोहका पक्षमा वैचारिक सन्देश दिनु नै रहेको देखिन्छ ।

४. निष्कर्ष

घनश्याम ढकालको लेखकीय व्यक्तित्वको महत्त्वपूर्ण पाटो माक्र्सवादी वैचारिक प्रतिबद्धता र पार्टीगत निष्ठा हो । उनको लेखनले नेपाली प्रगतिवादी सैद्धान्तिक अभियानलाई महत्त्वपूर्ण गुन लगाएको छ र यसबाट पछिल्लो पुस्ताले धेरै कुरामा सैद्धान्तिक स्पष्टता प्राप्त गर्न सक्छ । उनको व्यक्तिगत जीवन र सिर्जनात्मक जीवनमा प्रायः एकरूपता पाइन्छ । उनको आजकोे महाभारत कथा सङ्ग्रहले मूल रूपमा नेपाली समाजमा २०५२ सालबाट थालिएको माओवादी जनयुद्ध र त्यसमा सक्रिय भएका परिवर्तन पक्षधर तथा परिवर्तन विरोधी शक्तिहरूको वैचारिक एवं सशस्त्र युद्धको प्रारम्भिक गतिविधिलाई चरित्रगत प्रतिनिधित्वका आधारमा उतारेको छ । त्यसमा किसान, मजदुर, शिक्षक लगायत आम रूपमा निम्न वर्गका सर्व साधारण जनता परिवर्तनका पक्षधर शक्ति तथा सत्ताको आड पाएर बसेका जग्गावाल सामन्त, प्रहरी, तत्कालीन राज्यका सत्तापक्ष र प्रतिपक्षी राजनीतिक दलका कार्यकर्ता परिवर्तन विरोधी शक्तिका रूपमा चित्रित छन् । यस सङ्ग्रहका कथाहरूमा प्रायः चरित्रहरूलाई प्रतिनिधिमूलक भूमिकामा नै प्रस्तुत गरिएको छ र त्यसमा मओवादी जनयुद्धको वैचारिक मान्यतालाई नै बल प्रदान गर्ने गरी वैचारिक प्रस्तुतिलाई मुख्य महत्त्व दिइएको छ । यसका कथाहरूले मुख्य रूपमा नेपाली किसानमाथि भइ रहेका शोषणका विविध रूपका साथै आंशिक रूपमा मजदुर अनि शिक्षक लगायत विभिन्न कर्ममा संलग्न सर्व साधारण जनतामाथि भएका शोषण, अन्याय, दमन र उत्पीडन तथा जातीय भेदभावका पक्षहरूलाई प्रस्तुत गरेका छन् । ती कथाहरूमा त्यस किसिमको उत्पीडन वसौँदेखि नेपाली समाजमा जारी रहेको र शस्त्रबल सहितको राज्यका विरुद्ध निहत्था जनताको आन्दोलनले पटक पटक पराजय भोग्नु परेकाले कम्युनिस्ट पार्टीका कमान्डरीमा सशस्त्र सङ्घर्ष नै गर्नु परेको स्थितिबोध गराउने प्रयत्न पनि गरिएको छ । त्यस अन्तर्गत माओवादी कारबाही र त्यसको दमन र नियन्त्रणका निम्ति प्रहरीले गरेका निर्मम एवं बर्बर किसिमका कारबाहीको चित्रण पनि कथाहरूमा गरिएको छ । त्यसमा ढकालले परिवर्तन पक्षधर र त्यसमा पनि माओवादी शक्तिका पक्षमा आफ्नो पक्षधरता प्रस्तुत गरेका छन् र त्यस अनुसार घटनाको विकास र चरित्रको भूमिकालाई आयोजित गर्दा कतिपय पक्षहरूमा सहजता, स्वाभाविकता र विश्वसनीयताको कमी पनि फेला पर्छ । यस सङ्ग्रहका कथाहरूमा मुख्यतः ग्रमीण परिवेशलाई केन्द्र बनाई सामन्ती राज्य व्यवस्था र त्यसका शताब्दिऔँदेखिका अत्याचार विरुद्ध थालिएको माओवादी जनयुद्धको औचित्य पुष्टि गर्ने प्रयत्न गरिएको छ । यसका कथाहरू कलात्मक सौन्दर्य निर्माणमा पूर्ण सफल हुन नसके पनि वैचारिक रूपले सशक्त देखिएका छन् र घनश्याम ढकालको प्रगतिवादी कथाकारितालाई सम्मानजनक रूपमा स्थापित गरेका छन् ।

सन्दर्भ सामग्री:-

गोर्की, म्याक्सिम (२०६५), छानिएका वैचारिक रचनाहरू, सम्पा. तथा अनु. निनु चापागाईं, काठमाडौं ः

खोजी प्रकाशन गृह ।

ढकाल, घनश्याम (२०५५), आजको महाभारत, पोखराः विजय ढकाल ।

गौतम, देवी प्रसाद (२०६२), “काव्य साधनामा मोदनाथ प्रश्रित”, यथार्थवादी नेपाली समालोचना, सम्पा. घनश्याम ढकाल, पोखरा ः गण्डकी साहित्य सङ्गम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।