अनन्त समयका बार्दलीमा बसेर
आङका जुम्रा टिप्दै
नगरा र च्याब्रुङ्गको धुनसँगै
हातका औंला भाँच्दै
दुखान्त गरिबीका पञ्चाङ्ग पल्टाउँदै
जेठी कमेना—
साख्खै उनै ‘जेठी कमेना’
बतासे निश्कर्ष निकाल्दै
निःशर्त जीवन भोग गरिरहेकीछन्
इँवाखोलाका प्रत्येक थोपा थोपामा
मनैको भित्री गहिराइमा
स्वमनको धाँधलीले गरिरहन्छ—सँवाद
मनका छालहरुसँग, सागरका रङ्गहरुसँग
मुटुका धमनीमा भरिएका हावाहरुसँग
जीवनका हरियालीसँग, थाकेका विसँगत सुस्केराहरुसँग
अनि अमरत्वका लागि
शालीन नग्नताका
र
श्रृजनशील पागलपनका लागि
अन्ततः
लह लह झुल्दै गरेका
जीवनका लालुपाते र मृत्युका हरियालीका लागि
पैतालाहरु जमिनमा बजार्दै हिँड्ने
चेतनाको महफिलमा—म जमेको छु
यस टापूमा मान्छेका टुपीबाट
तैलिय कुवा निकालिएका अग्निज्वालामा
समाहित छु—म
“हाकिमको खोकीले
स्वतन्त्र मान्छेको मथिँगलमा
भूकम्प भोगेको मैले देखेको छु”
भोग्दा भोग्दा
हिजो सम्मानका खादा ओढाउनेहरु
आज वितृष्णा र वैमन्स्यको कात्रो खोज्न उदत्त देखिन्छन्
त्यो पनि देखेकै छु
मान्छेको भावको ‘भावक’ हुन सकिन भने
मेरो चेतनाको विम्वबाट ‘माटो’ निकाले हुन्छ
धुला भरि भरि फूल फुलाउने ‘माली’ म
मानव अवशेषको ‘मापक’ हुन सकिन भने
मेरो मुटुबाट ‘इँवाखोला’ सुकाइ दिए हुन्छ
मान्छेको विसँगत अस्तित्वमा
सुन्दरता मैले देख्न छाँडे भने
मेरी जेठी कमेनाको समयहीन विम्व
मान्छेको बस्तीबाट भुत्याहा बस्तीतिर डेरा सरे हुन्छ
कतै उभयचरीय चेतनाको द्वन्दमा
तिम्रो र मेरो बीचमा
अहमताको पहाड ठड्याएँ भने
मपाइँत्वको बस्ती बसाए भने हुन्छ
मान्छेको कित्ताबाट थुतिदिए हुन्छ—मलाई
मानव सार्विकताको आंगनमा पुरिदिए हुन्छ—मलाई
असार यात्राको अथाह जीवनबोध भन्दै हिँड्ने
सारहीनताको कुरूक्षेत्रमा अर्थ खोज्न होमिदिए हुन्छ—मलाई