14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मनोज वोगटी

कविता मनोज बोगटी December 14, 2012, 12:46 pm

पाखुराबाट झरेको छ बलको बुढोे पात

र टाउकोमा पलाएको छ विचारको हॉंगा।

आँखाबाट उडेको छ अन्धो चील

र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ।

हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर?

आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा?

र हिलो खेलिबस्ने पानीको सुडौल शरिरको के मोह?

त्यसको नाकमाथि टल्किरहेको एक थोपा पृथ्वी

जसरी बन्द छ आफैमा

त्यसरी नै थुनिएको छ अर्थ शब्दभित्र।

जसरी थुनिएको छ इन्द्रेणीभित्र रङ।

जसरी थुनिन्छ फुलको कारागारभित्र कुनै ओजस्वी वीर्य

जसरी थुनिन्छ मुखभित्र जिब्रो

छातीभित्र मुटु

नाकभित्र सास

पानीभित्र माछा

घामभित्र आगो

माटोभित्र बीउ

र नामभित्र मनोज वोगटी।

सधैँ छेउबाट बग्छ एउटा रगतजस्तो खोला

र उर्लिन्छ त्यसको बैमानी छाल

त्यसको शीरै छोएर, त्यो हल्लिँदैन।

शरीरभरि रगत थापेर त्यो सधैँ बॉंच्छ

निधारबाट सधैँ फैलिन्छ रातो रङ

धमिराहरू चढ्छन् सधैँ एउटा अहंको कोमल टाउकोमा, त्यो ढल्दैन।

करङहरूमा रगत भर्छ तर मर्दैन।

विचारको खस्रो हातले छाम्दैबस्छ समयको सिङ

र विश्वास गर्छ आफ्नै छालामा।

त्यसलाई थाहा छ

ऐनाको आफ्नै अनुहार हुँदैन।

बॉंच्छ मृत्यु जिउँदोहरूभित्र नै।

पानीको आफ्नै तिर्खा हुँदैन।

हावाको आफ्नै सास हुँदैन।

त्यसलाई थाहा छ

हज्जारपल्ट मेटिएको नाम त्यसैको हो

हज्जारपल्ट गाडिएको सास त्यसैको हो

घरको भूगोल हुँदैन तरै पनि

हज्जारपल्ट सारिएको बास त्यसैको हो।

अहिले भुइँभरि गिदी छरेर बसेको छ त्यो मान्छे

टाउकोबिना बॉंच्दा के हुन्छ?

अहिले अभरै परेर बसेको छ त्यो मान्छे।

त्यसलाई आमाको स्तन चुसेको थाहा छैन

तोते बोलेको याद छैन।

त्यसलाई थाहा छ

अक्षर चिनेको मात्र थाहा छ।

त्यसैकारण

कहिल्यै लेख्न नसकेको कविता सोंचेर बसेको छ त्यो मान्छे।

कहिले उम्किने हो विचारको भट्टु केटो

उमेरको साङलाबाट

यस्तै सोच्दै बसेको छ त्यो मान्छे।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।