19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झन्डालाई डिभी पर्यो भने के हुन्छ ?

कविता प्रोल्लास सिन्धुलीय December 14, 2012, 7:19 pm

पहाडलाई डिभी

पर्यो भने के हुन्छ ?

पुछारका टारी बोक्छ

सिरानका ढुङ्गे पाखा बोक्छ

बीचका नाङ्लेगरा बोक्छ

त्यतिले भारी नपुगेर

भौँतारिन्छ गाउँभरिका टारी, पाखा र गह«ाहरूमा–

‘सयकडा पाँच दिन्छु,

लौन मलाई भारी पुर्याइदेऊ ।’

तराईलाई डिभी

पर्यो भने के हुन्छ ?

ऊ बगेर गइरहेको माटो सोरसार पार्छ

बाँधले डुबाएको खेतको फगटा गन्छ

दिनदहाडै लुटेर बाँकी रहेको गोठ सिनित्त पार्छ

बूढो बाउलाई भन्छ–

‘चिन्ता नगर बा ! मलाई पहिले उड्न त देऊ’

तर आफैँ चिन्तित रहन्छ ।

हिमाललाई डिभी

पर्यो भने के हुन्छ ?

एडमण्ड हिलारीले कुल्चेको शिर छाम्छ

तेन्जिङ नोर्गेले फ्यालेको नागरिकता छाम्छ

काँधमा चढेको कुहिरो अनुहारलाई घुक्र्याउँछ–

‘बुझिस्

मेरो छालामा तेरो देशको लेबल टाँसिने भो !’

झन्डालाई डिभी

पर्यो भने के हुन्छ ?

न उसको कुनै ढुङ्गेपाखो, टारीखेत अथवा नाङ्लेगरा हुन्छ

न उसको बग्दै गरेको माटो

बाँधले डुबेको खेत

अथवा

दिनदहाडै लुटिएको गोठ हुन्छ

न उससँग

कुनै विदेशीले कुल्चेको शिर हुन्छ

कुनै स्वदेशीले फ्यालेको नागरिकता हुन्छ

न काँधमा चढेको कुहिरो अनुहार नै हुन्छ ।

सिवाय अस्मिता

झन्डासँग केही हुँदैन

सिवाय अस्तित्व झन्डासँग केही हुँदैन

चन्द्रसूर्य खुइलिउन्जेल अनुहार काखी च्यापेर

अमेरिकन राजदूतावासको ढोकामा

पुच्छर हल्लाएर घन्टौँ कुर्दै

अस्मिता र अस्तित्व धरौटी राखेपछि

बल्ल उसलाई अमेरिका जाने भिसा मिल्छ ।

यो देशमा

हिमाललाई,

पहाडलाई,

तराईलाई होइन,

राष्ट्रिय झन्डालाई

डिभीको चिठ्ठा पर्ने खतरा छ ।

(सरिता भाउजूको डिभी चिठ्ठा क्यान्सिल भएपछि)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।