15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘स्वप्नलोकको पदचाप’ पढेपछि

कृति/समीक्षा छविरमण सिलवाल December 22, 2012, 3:26 am
छविरमण सिलवाल
छविरमण सिलवाल

‘प्रत्येक डिपार्टमेन्ट स्टोर, रेष्टुरा, पसल आदि इत्यादिका आफ्नै प्राइवेट पार्किङ व्यवस्था, पब्लिक पार्किङ व्यवस्था, सडकमै सशुल्क पार्किङ व्यवस्था गरिए पनि पार्किङ समस्या भने चर्कै हुँदोरहेछ यस्ता नगरहरूमा । कहिलेकाहिँ त गन्तव्य स्थानभन्दा धेरै टाढै पार्किङ गर्नुपर्दाे रहेछ । सेन्ट लुइसजस्तो सानो शहरमा त त्यो समस्या छ भने न्यूयोर्क, डि.सी., सिकागोजस्ता ठूला र विशाल नगरको समस्या चर्कै छ । वासिङ्टन डि.सी.मा त हामी भुक्तभोगी नै भएका थियौं । स्वप्नलोकमा एकमहिना विचरण गरी फेरि स्वदेशमा विपना भोग्न जाँदै छौं । प्रत्येक अवलोकन र भोगाइले स्वप्नलोकलाई पनि आत्मसात गरिसकेका छौं । स्वप्न स्थायी हुँदैन । त्यसैले स्वप्नलोकको विचरण पनि क्षणिक हो । स्वप्नलोकको विचरणमा धेरै समय व्यतित गर्न सकिन्न, गर्नु पनि हुँदैन । नत्र स्वप्न भङ्ग हुन्छ । म स्वप्नमै रमाइरहन चाहन्छु सुखद अनुभूति समेटेर । स्वप्नलोक अमेरिकाको वास्तविक जीवन भोग्न चाहन्न म । वास्तविक जीवन त आफ्नै प्यारो लाग्छ मलाई ।’ अमेरिकालाई धेरै नेपालीहरू सपनाको देश भन्ने गर्छन् । त्यता जानको लागि थुप्रै पैसा खर्च गर्छन पनि । ‘बर्मा गए कर्म संगै, नेपाल गए कपाल संगै’ भने झैं मान्छे जहाँ गए पनि आफ्नो कर्मसंगै लिएर जान्छन् । दुःख सुख सबै बोकेर गएका हुन्छन् । त्यहाँको व्यस्त जीवन शैलीमा एडजस्ट हुन नेपालीलाई निकैै कठिन हुने नै भयो । आफ्नो देशमा गर्न लाज लाग्ने सानो तिनो काम उनीहरू त्यहाँ सजिलै गरिरहेका हुन्छन् । अमेरिकाको व्यस्त जीवनशैलीले अनुशासित बनाए पनि यहाँ आए पछि उस्तै रहने हुनाले हामीले उनीहरूको अनुशरण गर्न सकेका छैनौं, उतै पलायन हुने क्रम वढिरहेको छ । छोराबुहारी स्नातकोत्तरमा दीक्षीत भएको सुखद अवसरमा करिव एक महिना अमेरिकाको भ्रमणमा पुगेका तेजप्रकाश श्रेष्ठकाले यो अवधिमा घुमेका अनुभवलाई पुस्तकका रुपमा ल्याएका छन्, ‘स्वप्नलोकको पदचाप’ मार्फत । कथा, कविता, उपन्यास, लोक साहित्य, लोकसंस्कृति, बालसाहित्य आदि विधाहरूमा करिब चार दर्जन पुस्तकहरू प्रकाशित गरीसकेका तेजप्रकाश यात्रा साहित्यमा कलम चलाई रहेका छन् । साँ–ग्रिला पछ्याउँदै, दौडाहा घुमाउरा बाटाहरूमा र पाइलाका डोबहरू उनका अन्य नियात्राका पुस्तकहरू हुन् । चिलगाडीमा सरर, हात्ती लस्क्यो, झुण्डिएको बगैचा उनको बालनियात्राका पुस्तकहरू हुन् । हुनतः थुप्रै लेखकहरूले अमेरिकाको भ्रमण गरेर पुस्तक प्रकाशन पनि गरेका छन् । सबैले देखेका भोगेका विचारलाई सम्प्रेषण गरेका छन् । सबैको देखाई भोगाई एउटै भए पनि प्रत्येकको प्रस्तुत गर्ने शैली फरक हुन्छ नै । आफ्नो सतह विर्सनेहरू पनि थुप्रै भेटिन्छन् । तर तेजप्रकाशका कलमले भने सधै आफ्नो सतहको महिमा गान गाइरहेका हुन्छन् । उनी जहाँ गए पनि आफ्नो माटोको सुवास बोकेर हिड्छन् । हेरौंः–‘गगनचुम्बी भवनहरूले भरिएको न्युयोर्क महानगर अशान्त छैन हाम्रो काठमाडौजस्तो । घना जनघनत्वले भरिएको यस महानगरमा काठमाडौंमाझैं थुप्रिएका आप्रवासीहरूको जमघटले अझ कोलाहलपूर्ण, अशान्त र अव्यवस्थित हुनुपर्ने हो । तर शान्त छ एट्लान्टिक महासागरजस्तै ! सधैं गञ्जागोल हेरिरहेको, भोगिरहेको आँखा र मस्तिष्कले जिन्दावाद र मूर्दावादको हुल खोजिरहेका थिए मेरा आँखाहरूले ! तर मानव भिडमा पनि शान्त न्यूयोर्क मुसुक्क हाँसिदियो ।’ प्रस्तुत पुस्तक भित्र २१ ओटा यात्रा निवन्धहरू रहेका छन् । लेखकले यात्राक्रममा देखिएका, भोगिएका र भेटिएका विविधता भित्रका अनुभूति हुन् यी निवन्घहरू । जहाँ जस्तो देख्छन् त्यस्तै लेखेका छन् तेजप्रकाशले । त्यहाँका विकासका उच्चतम विन्दु देखि मान्छेका यान्त्रिक जीवनशैलीलाई निकै मार्मिक, सरल र सहजताका साथ प्रस्तुत गरेका छन् उनले । शालिन व्यक्तित्वका धनि श्रेष्ठ स्वप्नलोकमा नेपालीहरूले भोगेका पीडा देखेर दुःखी हुन्छन्, र, उनीहरूका पीडा यसरी पोख्छन् पुस्तकमा –‘श्रम र आस्था खर्लप्पै नबेची कहाँ बाँच्न सकिन्छ र त्यहाँ । स्वाभिमानलाई थाँती राखेर बाँच्ने उपक्रममा कैयौँ नेपालीहरू हराउँदारहेछन् स्वप्नलोकमा ! नेपालमा जस्तो स्वच्छन्द वातावरणमा कहाँ बाँच्न पाइँदोरहे र त्यहाँ ! यान्त्रिक वातावरणमा रम्दारम्दै आफै पनि यन्त्रमा रूपान्तरित हुन बेर लाग्दोरहेन छ । त्यहाँ जीवन भोग्नेहरूको दयनीय र असन्तुष्ट अवस्था कहालिलाग्दो भेटेको छु मैले । स्वदेश फर्कन खोज्दाखोज्दै पनि कैयौ युवायुवतीहरू माखेसाङ्लोमा जेलिएको पाएको छु मैले । नेपाली माटोको सुगन्ध खोजेर कहाँ पाइन्छ र त्यहाँ । घुम्ने ठाउँ हो अमेरिका, भोग्ने ठाउँ होइन । एक फन्को अमेरिकाको भ्रमण गर्नु रमाइलै अनुभूति हो । यस्तै अनुभूति समेटेर हाम्रा पाइला फर्किरहेका छन् स्वदेशतर्फ । सौरभ र अनिता पनि फर्कने छन् निकट भविश्यमै ।’ लेखक आशावादी छन्, आफ्नो उद्देश्य पुरा भएपछि उनका छोरा बुहारी स्वदेश फर्कने छन् । नेन्सन मन्डलाको एउटा भनाई म यहाँ सम्झिरहेको छु, ‘जवानहरू स्वदेश फर्कनु पर्छ ।’ हाम्रो देशको राजनीतिक अस्थिरताले निम्त्याएका विविन्न अवरोधहरूले युवाहरू पलायन खोजिरहेका छन् । हामी आशावादी हुनु पर्छ, कुनै दिन त अवश्य राम्रो हुनेछ । स्वप्नलोकका पदचापभित्रको मूल सन्देश यही हो । हामी जहाँ गए पनि अलिकति स्वदेशको सुगन्धित माटो लिएर जान सिकौं, अरूको दयामा होइन आफ्नै भूमिमा पसिना सिञ्चन गर्न सिकौं भन्ने मूल भाव यत्रथतत्र छरिएका छन् । प्रतिभारश्मि प्रकाशन शोभितपुर, थानकोटद्धारा प्रकाशित प्रस्तुत कृति पठनीयका साथै सङ्ग्रहनीय रहेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।